Translate

Sunday, July 1, 2012

एसएलसीको हाउगुजी

कोहीकोही मानिसमा अचम्मको क्षमता हुन्छ । उनीहरु मोबाइलको रिचार्ज कार्ड कोट्याएर चौध अंक एकपटक हेरेको भरमा सम्झन सक्छन् । ‘आइडेटिक मेमोरी’ भनिने दिमागको एउटा तत्व बलियो हुने यस्ता मानिसहरु अंकमात्र नभै हरेक कुरा एकदमै मिहीन रुपमा सम्झन सक्छन् भनिन्छ । आम मानिसले बुझ्ने भाषामा यसलाई ‘फोटोग्राफिक मेमोरी’ भनिन्छ । त्यस्ता मानिसहरुलाई देख्दा मलाई डाढो लाग्छ किनभने अंक र मितिको सन्दर्भमा मेरो आफ्नो स्मरण शक्ति झण्डैझण्डै शून्य छ भनिदिए हुन्छ । आफूले किनेको कुनै सामानको मोल कति थियो भन्ने कुरा एक हप्ताभित्र मैले बिर्सिसकेको हुन्छु । मेरो आफ्नो लगायत परिवारको जन्मदिन र साल म कहिले पनि हेक्का राख्न सक्दिनं । कतिसम्म त भने आफ्नो सवारी साधनको नम्वर समेत मलाई सम्झना रहँदैन र निक्कै बेर घोरिएर मात्र म त्यो सम्झन सक्छु । साथीभाइ र इष्टमित्रका फोन नम्वरहरुको त कुरा नै नगरौं ।

यो कुरा मैले यहाँ किन गरेको भने, त्यति हुँदाहुँदै पनि एउटा यस्तो संख्या छ, जुन म अहिलेसम्म पनि प्याट्ट भन्न सक्छु । पाँच अंक र एउटा अक्षर भएको यो संख्या भने अपवादको रुपमा मेरो स्मरणशक्तिमा अमिट भएर रहेको छ, ७४६११ क्यू । त्यो मेरो एसएलसीको सिम्वल नम्वर हो । अरु संख्या, अंक र मिति क्षणभरमै पोलेर खाने मेरो हुस्सु मगजले आज झण्डै तीन दशक हुने बेलासम्म पनि किन त्यो एउटा चाहिँ सम्झिरहेको होला त ? एसएलसी भन्ने परीक्षालाई एउटा डरलाग्दो हाउगुजी बनाउने गरिएको छ । त्यसले विद्यार्थीको मनमस्तिष्कमा कतिसम्म प्रभाव पार्छ र मानसिक दवाव उत्पन्न गर्छ भन्ने कुराको यो भन्दा ठूलो अर्को कुनै उदाहरण खोज्न अन्त कतै जानु पर्दैन । 

एसएलसी भनेको फलामको ढोका हो, यसलाई पार गर्न अति नै कठीन हुन्छ, यो पार नगरे जिन्दगीमा केही पनि गर्न सकिंदैन, पार गर्दा पनि सकेसम्म बढी अंक ल्याएर उत्तीर्ण हुनुपर्छ भन्ने असंख्य अरु हाउगुजीहरुको गुजुल्टो बनाइएको छ एसएलसीलाई । एउटा यस्तो गुजुल्टो, जो आफ्ना चारैतिर निस्किएका धारिला चुच्चामुच्चाहरुका साथमा भकुण्डे भूत जस्तो भएर विद्यार्थीहरुको वरिरपरि गुडिरहन्छ, घुमिरहन्छ र आतंकित बनाइरहन्छ । तसर्थ दशौं कक्षामा पुग्नासाथै विद्यार्थीको आनीबानी र मानसिकता नै परिवर्तन हुन थाल्छ । घर परिवारले पनि अब एक वर्ष हो उसले आफ्नो जिन्दगीको स्पष्ट रेखा कोर्ने भन्ने तनाव थप्न बाँकी राख्दैनन् । पढेर, बुझेर, नबुझेर, घोकेर, चोरेर वा जे गर्न सकिन्छ गरेर धेरैभन्दा धेरै अंक ल्याउनुपर्छ भन्ने मान्यतारुपी भाइरसले ग्रस्त हुन्छन् अभिभावकहरु । त्यही भाइरस उनीहरुले आफ्ना सन्तानको दिमागमा भरिदिएका हुनछन् । त्यसैका कारण थोरै अंक ल्याएर उत्तीर्ण हुनेहरु हीन भावनाको सिकार बन्छन् । असफल हुनेहरु आफ्नो र परिवारको पीडा सहन नसकेर आत्महत्यासम्म गर्न पछि पर्दैनन् । एसएलसीको परिणाम पश्चात देशका बिभिन्न भागमा विद्यार्थीहरुले आत्महत्या गरेका समाचार आइरहेका हुन्छन्। 

हरेक वर्ष यस्ता घटना दोहोरिंदा पनि यसको मनोवैज्ञानिक पक्षको बारेमा किन संवेदनशील हुँदैन हाम्रो समाज, परिवार र शिक्षा व्यवस्था ? एक कक्षा देखि दश कक्षासम्म पुग्दा साधारणतया पनि तीसवटा परीक्षा हाँसीहाँसी उत्तीर्ण गर्ने बिद्यार्थीलाई यो पनि एउटा त्यस्तै परीक्षा मात्र हो भन्ने किसिमका मनोवैज्ञानिक परामर्श दिएर सहज बनाउने तिर किन गम्भीरतापूर्वक सोच्दैनौं हामी ? तर होइन, परिवार त तनाव थप्न मात्रै खोज्छ । ‘जिम्मेवार’ अभिभावकहरु बरु सेण्टर पर्ने स्कूलहरुमा चिनेजानेका कोही गार्ड छन् कि भनेर खोज्नमा ऊर्जा खर्च गर्छन् । सेण्टरको वपिरि घुमीघुमी चिट कसरी भित्र पठाउन सकिन्छ भनेर दाउ खोज्छन् । अनि आफ्नो सन्तानको भविष्य सुनिश्चित बनाउने आफ्नो दायित्व पूरा भएको आत्मवञ्चनामा रमाउँछन् ।

अचेल त शिक्षाको नाममा अरबौंको व्यापार गर्न सल्केका प्राइभेट कलेजहरुका कारण पनि यो समस्या झन्झन् विकराल हुँदै गएको छ । उत्कृष्ट अंक ल्याउनेका लागि कलेजहरुले गर्ने तानातानले गर्दा हरेक अभिभावक त्यो तानिने नाडी अर्कोपटक आफ्नो सन्तानको होस् भन्ने सपना देख्न थाल्छ । सरकारी कलेजहरुको दुर्गति, सरकारले तिनका स्तर सुधार्न देखाएको उदासीनताका कारण नीजि कलेजमा पढाउन नसके विद्यार्थीको भविष्यको प्रश्न उठ्छ । त्यस्ता कलेजहरुको खर्च धान्नका लागि अभिभावकहरुले लौ त भनौं भने आफ्नो हाड नै घोट्नुपर्छ । नाम चलेका कलेजहरुका शुल्क त सुन्दै पनि रिंगटा लाग्ने र चिट्चिट् पसीना छुट्ने हुन्छन् ।  त्यस्तोमा आफ्नो सन्तानले राम्रो अंक ल्याइदिए ‘राम्रा’ नीजि कलेजहरुले सिंत्तैमा, अझ परे उल्टो पैसा दिएर तिनलाई पढाइदिन्छन् भन्ने लोभ उनीहरुलाई लाग्नु अस्वाभाविक मान्न पनि सकिन्नं । 

पढाइमा हेलचक्र्याइँ गर्नु हुँदैन, पढाइको महत्व आफ्नो ठाममा छ तर एसएलसीमा बढी अंक ल्याउँदैमा त्यो अरु भन्दा महान प्राणी हुने होइन र कम अंक ल्याउने कम विद्वान हुने होइन भन्ने कुरा बिद्यार्थीहरुलाई बुझाउनुपर्छ । एसएलसी कुनै फलामे ढोका होइन, त्यसमा कुनै कारण एकपटक असफल हुनु भनेको विष खानु, पासो लगाएर झुण्डिनु वा कतैबाट फाल हाल्नुपर्ने अपराध होइन भन्ने कुरा हरेक अभिभावकले आफ्ना सन्तानलाई राम्ररी बुझाउनुपर्छ । अनि बुझाउनुपर्छ, माथि भनेजस्तै गरेर ल्याएको अंकले मात्र मानिसको भविष्य निर्धारण हुँदैन, राम्रो भविष्यका लागि सबैभन्दा ठूलो कुरा एसएलसीको नम्बर मात्र होइन ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment