Translate

Sunday, June 17, 2012

आफूलाई नपरेसम्म

बायाँ फन्को ८६

बिजुलीको खम्बामा चीम बलिरहेको थियो । हातैले भ्याउने उँचाइमा त्यसलाई बन्द गर्ने स्वीच थियो । तर पनि बिहानको साढे आठ बजेसम्म कसैले त्यसलाई निभाउने कष्ट गरेको रहेनछ । यो दृश्य काठमाण्डौको एउटा सार्वजनिक सडक छेउको हो । यस्ता दृश्यहरु आम हुन् । हामी सबैले बारम्बार यस्तो देखेका छौं । तर देखेको बेला गएर त्यो बत्ती निभाउने चाहिँ हामी मध्ये कति जनाले गरेका छौं त ?

हेर्दा सामान्य कुरा नै हो, तर कतै यसले हाम्रो संस्कारको पोल त खोलिरहेको त छैन ? हामी पनि अचम्मका मान्छेहरु हौं । यो मुलुकमा लोडशेडिंगले कहिले पनि नछोड्ने भो भनेर लौ त भनौं भने दिनको पचासौं पटक सत्तोसराप गर्छौं ।  लोडशेडिङ्गको यस्तो चर्को मारमा परेको बेला फत्फत् र गनगन गरे कहिल्यै पनि थाक्दैनौं । तर पनि खम्बामा दिउँसै बलिरहेको चीम देख्दा अलिकति हात लम्क्याएर बत्ती निभाउने जमर्को साधारणतया हामी गर्दैनौं । यसरी खेर गइरहेका खम्बाका बत्तीहरुले कति धेरै ऊर्जा नाश गरिरहेका होलान् भनेर हामी सोच्दैनौं किन भने हामीलाई थाहा छ त्यसको बिल हाम्रो मिटरमा चढ्दैन । आफूले इन्भर्टरको जोहो गर्ने ल्याकत छ भने हामीलाई लोडशेडिंगले चिन्तित गर्दैन । 

त्यस्तै कुनै सार्वजनिक धारामा खलखली पानी बगिरहेको पनि ठामठाममा हामीले देख्ने गरेका छौं । घरमा अनावश्यक रुपमा पानी खेर फ्याल्दा पनि यही सहरका कति मान्छेहरु अरु सार्वजनिक धारामा एक गाग्रोे पानीका लागि घण्टौं लाममा लागेर मारामार गरिरहेका छन् भन्ने कुरा बिर्सन्छौं हामी । आफ्नो घरमा डीप बोरिंगबाट वालछ्याल् पानी आउँछ भने हामी दङ्ग पर्छौं । अघिल्लो वर्षकोे आँकडा अनुसार काठमाण्डौंमा दिनको बाह्र करोड लिटर पानी भुईमुनिबाट तान्ने गरिन्थ्यो । अहिले तीब्र गतिमा भएका निर्माणका कारण थपिएका कलकारखाना र भवनहरुका कारण त्यो संख्या निकै नै बढिसकेको हुनुपर्छ । यसै कारण हामी उभिएको धरती मुनि पानीको सतह नै निकै तल पुगिसकेको छ । कुनै दिन त्यसले भयावह परिणाम ल्याउन सक्छ भनेर हामी सोच्न पनि चाहँदैनौं । आज आफ्नो घरमा टन्न पानी आउन्जेल हामी भोलिका लागि र अरुका लागि टाउको दुखाउन चाहँदैनौं । 

पानी र बत्तीका कुरामा मात्र होइन, हामी अरु बढी महत्वपूर्ण र सम्वेदनशील कुरामा पनि लघुकालीन समाधानमा मात्रै रमाएका हुन्छौं । आज, भोलि र हद से हद एक महीना सम्मका समस्या मात्रै हाम्रा लागि महत्वपूर्ण लाग्छन् । त्यो भन्दा पछि त के भयो र पशुपतिनाथ छँदैछन्, तिनैले सब ठीक पार्छन् । एक पटक ध्यानपूर्वक हाम्रा विगत केही समयका राजनैतिक, सामाजिक, अर्थिक कुराहरुलाई नियालेर हेरौं त, हामीले दीर्घकालीन योजना भनेको के हो भन्ने त बिर्सी पनि सकेका हौं कि भन्ने भान हुन्छ । 

आफ्नो चर्चित पुस्तक ‘इट, प्रे, लभ’ मा एलिजावेथ गिलवर्टले इटालियन र अमेरिकनको एउटा बानीका बारेमा रमाइलो कुरा लेखेकी छिन् । उनी भन्छिन्, एउटा अमेरिकनलाई अर्को हप्ताको बुधबार डिनरको लागि आमन्त्रण गर्दा उसले या त त्यो दिन ठीक छ भन्छ, या त्यसको साटो मंगलबार वा बिहीवार गरौं न भन्छ रे । त्यही आमन्त्रण कुनै इटालियनलाई गर्दा लामो सास फेरेर उसले भन्छ रे, “अर्को हप्ताको बुधबारसम्म खै के हुन्छ, कस्तो स्थिति हुन्छ अहिले देखि कसरी भन्न सकिन्छ र ?”

हामी पनि शायद आजकल यो सन्दर्भमा इटालियन भएका छौं । कसैले पनि कुनै दीर्घकालीन योजना बनाउन नसक्ने भएका छौं हामी । त्यसमाथि हरेक कुराका लागि हामीले कुरिरहेको सम्विधानले एकपटक फेरि हामीलाई अझ बढी अनिश्चित बनाएको छ । कुनै बेला भानुभक्तले अमरावती र स्वर्गसरी भनेर बखान गरेका यो कान्तिपुरी नगरी आज संसारकै सबैभन्दा बढी फोहोर, प्रदूषित र अव्यवस्थित सहरको सूचिमा परिसकेको छ । तै पनि अमेरिका यूरोप वा अन्य विकसित मुलुकका सुविधासम्पन्न सहरहरुको बराबर यहाँका घरजग्गाको भाउ पुगेको छ । त्यस्तो अमूल्य जग्गाका ईन्चईन्चका लागि छिमेकीसंग बाझ्दै, साँघुरो बाटाहरुका संजाल भित्र बनाइएका घरमा बस्दा, हामी सोच्नसम्म पनि सोच्दैनौं कुनै दिन कुनै भवितव्य परेको खण्डमा एम्बुलेन्स अथवा दमकल कहाँसम्म आउन सक्छ ? किन टाउको दुःखाउने, हाम्रो घरमा कोही बिरामी परेको छैन । 

हामी घरघरका फोहोरहरु सुटुक्क लगेर बाटोमा मिल्क्याएर नाकमुख कपडाले ढाकेर हिंड्छौं, कुन दिन यहाँ ठूलो महामारी फैलन्छ भनेर फतफत गर्दै ।  तर त्यति बेला जाजरकोट र रुकुमको महामारी हाम्रो लागि रेडियो वा टेलिभिजनले फलाक्ने फगत एक समाचार मात्र हुन्छ, मृतकका संख्याहरु अंकमात्र हुन्छन् ।  किनकि यो सहरमा महामारी फैलनबाट पशुपतिनाथले बचाइरहेका छन्, बचाइरहने छन् ।

एउटा पुरानो भनाइ छ, विवेकशील प्राणी त्यो हो, जो अरुको अनुभवबाट सिक्छ, अरुलाई परेको देखेर चेत्छ । साधारण मानिस भनेको चाहिँ त्यो हो रे, जो आफूलाई नपरुन्जेलसम्म चेत्दैन । विवेकहीन प्राणी भनेको चाहिँ आफूलाई परेर पनि चेत्दैन, आफ्नो भोगाइबाट पनि सिक्दैन रे । यस अर्थमा बुझ्ने हो र जन्मदेखि शारीरिक र मानसिक विकासको साधारण क्रमलाई मान्ने हो भने जीवनको यात्रामा हामी सबै विवेकहीन बाट साधारण हुँदै विवेकशील बन्ने गर्छौं । 

हाम्रो विकास र परिमार्जनको यात्राक्रम त्यस्तै हुनुपर्छ । किनभने बालक छँदा मान्छेलाई आगोले पोल्छ वा नाङ्गो तारले विजुलीको झट्कादिन्छ भन्ने कुरा थाहा हुँदैन । टाढाबाट हेर्दा त आगो सुन्दर देखिन्छ । परबाट रातो, उज्यालो र आकर्षक देखिने कुरा पनि त्यति छुच्चो, दुच्छर र पीडादायी हुन्छ भन्ने कुरा त्यसलाई छोएर मात्र मान्छेले जान्दछ । यस्तै अन्य थुप्रै आफ्ना अनुभवबाट सिकेर हुर्कंदै गएपछि हामी अरुको अनुभवबाट पनि सिक्न सक्ने बन्छौं । तर पनि जीवनमा, समाजमा र व्यावहारिकतामा हामी नयाँनयाँ मोडहरुमा छद्मभेष धारण गरेका थुप्रै अरु आगोहरु भेट्छौं । डाम्ने कुराहरु कुनै पनि रुपमा हाम्रो बाटो ढुकिरहेका हुन्छन् ।

आफूलाई परिसकेपछि मात्र कुनै कुराको समाधान खोज्ने हाम्रो बानीले कुनै दिन हामीलाई यस्तो स्थितिमा नपुराओस्, जुन दिन हामीसंग पछुताउने बाहेक अरु बाटो हुँदैन । एकजनाको मात्र प्रयासले कुनै पनि कुरा सम्भव हुँदैन । अनि हामीले बुझ्नै पर्ने अर्काे कुरा के हो भने, सानासाना कुराहरुबाट नै सुरु नगरी ठूला उपलब्धिहरु पनि सम्भव हुँदैनन् । पहिले आफूलाई नसुधारी समाज वा राष्ट्र सुध्रिंदैन ।  आफ्नो चरित्रलाई नयाँ रुप नदिई देशको चरित्र फेरिंदैन । 

त्यसैले चेत्नका लागि आफैलाई परोस् भनेर हामी प्रतीक्षा नगरौं । अरुको भोगाइबाट सिकौं । 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment