Sunday, April 20, 2014

प्रतापी क्षेत्रप्रताप

नेपाल साप्ताहिकको मेरो स्तम्भ 'बायाँ फन्को'बाट


“जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।”
यी गीतका हरफहरु लेख्ने कवि, गीतकार तथा प्रशासक क्षेत्रप्रताप अधिकारीका लागि अब त्यो मर्ने काम पनि बाँकी रहेन रे । परम्परागत मान्यता अनुसार भन्ने हो भने उनी मरे, अघिल्लो हप्ता । मृत्यु के हो भन्ने कुराको फरकफरक परिभाषाहरु हुन सक्छन् । विज्ञानले मृत्युलाई एकथोक भनेर व्याख्या गर्ला, दर्शनले अर्कैथोक । महाभारतमा युधिष्ठिर भन्छन्, मृत्यु त मिथ्या हो । जबसम्म सृष्टि र त्यसको रचयिताको अस्तित्व रहन्छ, कोही मर्दैन । गीता भन्छ, मृत्यु भनेको आत्माले चोला फेरेको मात्र हो । जुनसुकै मान्यतामा विश्वास गर्नेहरुले पनि काट्न नसक्ने तर्क चाहिँ के हो भने मृत्यु भनेको शरीर नष्ट हुनु मात्र हो ।
अधिकांश मानिसहरुलाई आफू त मर्दिन होला भन्ने लागिरहन्छ, एक दिन आफू मर्नु छ भन्ने थाहा हुँदाहुँदै पनि मानिस त्यो डिनायल सिन्ड्रम भन्ने कुराको सिकार भैरहन्छ । भनिन्छ, त्यो नहुने हो भने हरेक मानिस हरेक पल त्रस्त रहन्छ । त्यसैले प्रकृतिले नै मानिसमा त्यो कुरा हालिदिएको हो । जे होस्, यस संसारमा चीरस्थायी भन्ने कुनै पनि भौतिक वस्तु छैन । सबैथोकको निश्चित आयु छ । तर पनि अमरत्वको लोभ हरेक मान्छे गर्छ । नाश नहुने भनेको सम्झना हो, मान्छेको कर्म हो । केही मान्छेहरु यस्तै सम्झनाहरु दिएर जान्छन् र कहिले पनि मर्दैनन् ।
क्षेत्रप्रताप अधिकारीले पनि उदाहरणीय काम गरेर गए । मृत्यु पछि आगो लगाएर खरानी बनाउने आफ्नो शरीर उनले अस्पतालका नाममा पहिले नै दान दिएर छोडेका रहेछन् । अनि आफ्ना सन्तानलाई पनि कर्मकाण्डका रुपमा समाजलाई देखाउन गरिने नौटंकी नगर्नू भनेर आदेश दिएका रहेछन् । उनका परिवारले पनि त्यसको सम्मान गरे । यसलाई भित्री हृदयबाटै सलाम नगरी रहन सकिंदैन । फाट्टफुट् पहिले पनि यस्तो सत्कार्य अरुहरुले पनि नगरेका हैनन् । यो एउटा क्रान्तिकारी पाइला हो ।
क्रान्ति भनेको राजनीतिक कुरा मात्र हैन भन्ने कुरा उनले बुझेका रहेछन्, बुझाउन पनि खोजे । क्रान्तिकारी हुनका लागि रातो झण्डा बोक्ने, नाराजुलूसमा जाने, माक्र्सलेनिन घोक्नेमात्रै होइन । सामाजिक क्रान्ति र वैचारिक क्रान्ति मानिसका लागि बढी आवश्यक कुराहरु हुन् । राजनीतिक क्रान्तिले मात्र शक्ति परिवर्तन गर्छ, शासकको मेचमा अडिने पुठ्ठाहरु मात्र परिवर्तन गर्छ । वैचारिक वा सामाजिक क्रान्तिले मानसिकता र समाज परिवर्तन गर्छ । यसले आउने पुस्तालाई नै सही बाटोे देखाउँछ । तर अधिकांश समय यस्ता परिवर्तनका संकेतहरु हामीलाई बुझ्न दिइँदैन ।
धर्मका नाममा, संस्कारका नाममा, परम्पराका नाममा हामीलाई कुहिराको काग बनाउनेहरु हरेक युगमा सकृय भएका हुन्छन् । चेतना, ज्ञान वा स्वविवेक भएका मानिसहरुलाई कसैले आफ्नो लागि प्रयोग गर्न सक्दैन भन्ने बुझेका त्यस्ता शासकहरुले मानिसलाई केही न केही बहानामा विभाजित र दिग्भ्रमित बनाइरहेका हुन्छन् ।  त्यसैले हामी परिवर्तनका सकंकेतहरु बुझ्दैनौं ।  बुझिहाले पनि बुझ पचाउँछौ । हाम्रा जराहरुमा युगौंदेखि सिंचिएका त्यस्ता कुराहरुलाई चटक्कै त्याग्न सक्दैनौं । आफूलाई चेतनशील, पढेलेखेका र बुद्धिजीवि भन्नेहरु, समाज सुधारका लागि वकालत गरेर हिंड्नेहरु पनि आफूलाई पर्दा भने आडम्वर र अन्धविश्वासको खोलभित्र कछुवा कुप्रिएको जसरी लुक्न पुग्छन् ।
विशेषतः हिन्दू धर्मावलम्वीहरुका मानिसको मृत्यु पछिका संस्कारहरु साह्रै अप्ठ्यारा र तर्कहीन छन् । कुनै बेला केही टाठाबाठा मानिसहरुले वर्षैभरि आफ्नो नूनतेल, कपडा र खाद्यपदार्थको जोहो गर्नका लागि बनाएका संस्काररुपी नियमहरु आजसम्म पनि आँखा चिम्लेर हामी पालना गरिरहेका छौं । गरुड पुराण जस्ता मान्छेलाई तर्साएर आफूले चाहे जस्तो गराउने कथालाई सत्य मानेर कस्ताकस्ता मैं हूँ भन्नेहरु उल्लू बनिरहेका देख्दा उदेक लाग्छ ।
केही समय अघि एकजना पढेलेखेका र अरु कुरामा क्रान्तिकारी विचार प्रकट गरेर हिंड्ने मानिस भेटिएका थिए । उनको आभा मलीन थियो । कुनै एक तेह्रदिने नातेदारको निधन भएकोमा उनी बारिरहेका रहेछन् । नून खान नपाएर गाह्रो भएको कुरा गर्दै उनी जूठो सकिने दिन गन्दै कल्पिरहेका थिए । तेह्र दिन सकिएको दिन बंगूरको सेकुवा खानुपर्छ भन्दै मुख पनि मिठ्याइरहेका थिए । मनलाई मारेर, दिन गन्दै र बंगूर कल्पिंदै उनले बारेको जूठोले मर्ने मानिसको के र कसरी कल्याण हुन्छ भन्ने कुरो बुझिनसक्नुको छ । तर पनि हामी समाजको लागि, परिवारको लागि गरिदिएको हो भन्दै यस्ता कुसंस्कारलाई प्रश्रय दिइरहेका हुन्छौं । आफू नै विश्वस्त नभएका कुरामा, अरुका लागि कृपाका रुपमा गरिदिएको र तर्कका कसीमा घोट्यो भने क्षणभरमा घिस्सिएर जाने प्रथाहरुलाई हामी किन पालेर राख्छौ होला ? यो चेतना र विवेकको चुलीमा विकास भएको युगमा पनि मानिस कसरी अलमलिन्छ भन्ने कुरा उदेक लाग्दो हो ।
क्षेत्रप्रताप अधिकारीले एकपटक फेरि त्यो प्रथालाई हाँक दिए । त्यसले गर्दा उनी मरेनन् । मरेका छैनन् । उनैले लेखेको गीतको कुरा गर्दा पनि जिन्दगीमा बाँकी धेरै कुरा त उनले गरे कि गरेनन्, त्यो त उनै जानून्, तर मर्न बाँकी छ भन्ने कुरा अझै बाँकी नै रहेको छ । यस्ता उदाहरणीय व्यक्ति मर्दैनन् ।
उनले देखाएको यो बाटोमा एक जना मान्छे मात्र पनि हिंडून्जेल उनी मर्ने छैनन् । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...