Translate

Tuesday, April 22, 2014

भीमल

रातको अँध्यारो र  आत्महत्या, 
जेष्ठ १७, २०६९ को बिहान ।

भीमल मरेछ । 
बिहान खराब समाचार लिएर आयो । सबै स्तव्ध भए । भीमलले आत्महत्या गरेको भन्ने सुनेर त झन् सबै विस्मित भए । २५० वर्ष पुरानो बरको अजंगको रुखमा पासो लगाएर मरेछ ऊ । एक कान दुइ कान मैदान हुँदै यो समाचार जंगलमा डढेलो लागे जसरी फैलियो र सबै त्यतै दौडादौड गरेर आए । भीमलका सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो । फेदको गोलाई नै १७ मिटर भएको त्यो बरको रुखको विशालतामा उसको मृत शरीर त कति सा.......नो देखिएको । 

कसैले घाँटीको पासो काटिदिएपछि सँधै गर्वले उभिने उसको शरीर रित्तो बोरा जसरी भुईँमा पछारियो । ऊ लम्पसार परेको थियो, उत्तानो लडेको थियो डङ्ग्रङ्ग परेर । सँधै हाँसिरहने उसका आँखाहरु निस्तेज आकाश हेरेर टोलाइरहेका थिए । उसको अनुहारमा कुनै पनि भाव थिएन । मरेपछि कुनै भाव हुने पनि त कुरो भएन नि । न हर्ष, न विस्मात, न रिसराग, न इवी । घृणा, प्रेम, आशक्ति, अनुराग, पीडा, वैमनुष्यता, गर्व, सपना वा अरू कुनै पनि भाव भनेको ज्यूँदो हुन्जेल न हो, अन्तिम पटक तनक्क खुट्टो तन्काएर एक मुठ्ठी सास फेरेपछि केही पनि बाँकी रहँदैन । 

सबै भीमलको नीर्जिव शरीरलाई घेरेर उभिएका छन् । कोही केही बोल्न सकिरहेका छैनन् । तर, सबैको मनमा एउटै मात्र प्रश्न खेलिरहेको छ हसको उत्तर भने कसैसंग छैन । त्यति हँसिलो, फरासिलो, सबैसंग मिल्ने, आफूमाथि गर्व गर्ने, मीठो स्वरम गीत गाइरहने र अरूलाई सदैव आशावादी रहन सिकाइरहने भीमल यसरी अपहत्ते गरेर किन मरेको होला ? यो कुरा त कसैले चिताउन पनि सक्दैनथ्यो । तै पनि उनीहरू केही न केही कारण पत्तो नलगाइ त के बस्थे र ?  अचानक कपूरले निकै पुरानो कुरा सम्झायो,
"कतै त्यो असफल प्रेमको घाउ भित्रभित्रै अझै बाँकी त थिएन ?  त्यस दिन भीमलको पाँचऔंले संग फाइट पनि पर्यात'थ्यो नि ?"

सुन्दरी एम्ब्लिका अर्थात्....... 
त्यो कुरो धेरै पुरानो हुनाले सबैले बिर्सिसकेका थिए । कसैसंग झगडा नगर्ने भीमलको त्यस दिन पाँचऔंलेसंग साँच्चै नै फाइट परेको थियो । खासमा त्यसको केही दिन अघि देखि नै दुबैको मनमुटाव भैसकेको थियो । आँखा तरातर परिरहेको थियो । त्यस दिन त मुखामुख गर्दागर्दै पछि हातै हालाहाल भएछ । एकआर्कालाई घाइते नै हुने गरेर हमला गरेका थिए ती दुबैले । हुन त नामैले भने जस्तो अजंगको भीमलको अगाडि पाँचऔंलेको कुनै तुलना नै हुन सक्दैनथ्यो । तै पनि निकै बेर ऊ लडेको थियो । कहाँबाट आएको होला त्यत्रो आँट र तागत । बल्लबल्ल अरुहरुले गएर उनीहरुलाई छुट्याएका थिए ।

त्यो झगडाको कारण थिई, फिलान्थस् एम्ब्लिका नामकी सुन्दरी । मेलामा एक दिन उसलाई देखेको बेलादेखि नै भीमल उसमाथि मुग्ध भएको थियो । एम्ब्लिका पनि भीमललाई कर्के आँखाले हेरेर तल्लो ओठको दाहिने कुना माथ्लो दाँतले टोकेर मुसुक्क हाँसिदिन्थी । उसको त्यो ज्यानमारा हाँसोले भीमलको कलेजीमा चसक्क गर्थ्यो । भीमल कुनै राम्रो अवसर पारेर एम्ब्लिकाको बाबुसंग बिहेको कुरा गर्न जाने मनाशयमा थियो । उसको त्यो अनौठो नाम पनि भीमललाई खुब राम्रो लाग्थ्यो । 

एम्ब्लिका.......

पाठक, "एम्ब्लिका भनेको कुन देशकी नागरिक परी लेखक ?" 

म, "लौ जा, पख्नुस् है । तपाईंहरूलाई यो कुनै विदेशी युवती प्रति भीमलको आशक्तिको कुरा भन्ने लाग्यो जस्तो छ । माफ गर्नुहोला, एम्ब्लिका विदेशी युवती हैन । त्यो खासमा उसको वैज्ञानिक नाम हो । हामी मान्छेका पनि हुन्छ नि, सबैले चिन्ने र बोलाउने नाम सशांक तर न्वारानको नाम चाहिँ डोरराज ।

पाठक, "हामी मान्छेका भन्या के ? यो मान्छेको कथा हैन ?"

म, "ठीक भन्नुभो । यो मान्छेको कथा होइन ।"

पाठक, "अनि कथा त मान्छेको पो हुन्छ हैन र ?"

म, " मान्छेका बाहेक अरूका कथा हुँदैनन् र ? हुन्छन नि । तिनले भन्न जान्दैनन् । अनि साधारणतया हामी देख्न, सुन्न, बुझ्न र लेख्न सक्दैनौं । तर, कथा सबैको हुन्छ ।"

पाठक, "उसो भए यो कसको कथा हो त ? अनि त्यो के रे....अँ....फिलान्थस् एम्ब्लिका । को हुन् ती सुन्दरी ?"

म, "उसलाई अमला भन्यो भने चाहिँ तपाईँहरू सबै सजिलैसंग चिन्नुहुन्छ होला नि हैन ?"

अर्थात्.....अमला
अमला वास्तवमै अत्यन्तै सुन्दरी थिई । भर्खर यौवनले छोएको हुनाले ऊ धपक्कै बलेकी थिई । अरु रुखहरु चर्चा गर्थे, ऊ जस्ती सुन्दरी रुख चारकोस वरिपरिका कुनै जंगलमा थिएनन् रे । उसलाई देखेर जंगलका ठूलाठूला रुखहरु मात्र होइन, अम्लिसो, खश्रेटो, गन्धेझार, कनासे, भीमसेनपाती र बोकेझार जस्ता झीनामसीनाहरु पनि खुइय्य लामो सास फेर्थे । ती झारहरू मध्ये एउटा थियो, पाँचऔंले । 
पाँचऔंले पनि भित्रभित्र वर्षों देखि एम्ब्लिकाको सुन्दरताको पुजारी थियो ।

अरू झारहरूलाई थाहा थियो, अमलाको जति सपना देखे पनि उसलाई पाउने आश व्यर्थ हो । कहाँ रूख, कहाँ झार ? तर पाँचऔंलेको सोच भिन्नै थियो । ऊ आफू झार भएर पनि अरु झारहरूलाई झारपात भन्थ्यो । ९० सेण्टीमिटर भन्दा अल्गो नभए पनि पाँचऔंलेलाई आफूमाथि बढी नै विश्वास थियो । त्यसैले त उसले झार भएर रूखसंग प्रेम गर्यो , त्यसका लागि आफूभन्दा निकै ठुलो र बलियो भीमलसंग फाइट पनि खेल्यो । 

डेभिड गोलायथसंग लडे जसरी । 

बिहान चौतारीमा गफ ठोक्न भेला भएकाहरुबाट त्यो खवर सुनेर बूढो पीपलले हरेस खाएको भावमा भनेकोथ्यो,
"खै कली लाग्या हो कि के हो ? कति मिलेर बस्थ्यौं हामी यो जंगलमा ? आजकल त किन हो किन, बातबातमा पाखुरा सुर्कन्छन् रुखहरु ।"

यो घटनाले आफ्नी छोरीको नाममा बट्टा लाग्ला भनेर अमलाको बाबु निकै चिन्तित भएकोथ्यो । कसैलाई केही खवरै नगरी उसले खुसुक्क खुसुक्क एक दिन आफ्नी छोरीको बिहे अर्कै जंगलको कटूससंग गरिदियो । भीमल निकै दिनसम्म विरही भएको थियो । तर केही वर्षमा उसले आफूमाथि नियन्त्रण गरिसकेको थियो । पाँचऔंलेले केही समयपछि लजालु झारसंग बिहे गर्योे तर भीमल अझै अबिवाहित नै थियो । तर, यो त धेरै पुरानो कुरा थियो । अहिले आएर त्यो कुरामा किन आत्महत्या गर्नु र ?  सबै अन्यौलमा थिए ।

"अहँ हैन । त्यो कारण त हुँदै हैन," बूढो बकेनाले असहमतिसूचक टाउको हल्लायो-दायाँबायाँ ।

जंगल, रूख थरिथरिका
जंगलमा रूख त हुने नै भए । त्यस जंगलमा पनि बिभिन्न थरिका थुप्रै रुखहरु थिए । सबै रुखका आआफ्नै विशेषताहरु थिए । कुनै अल्गा, कुनै होचा र कुनै खिरिल्ला थिए भने कुनै अजंगका मोटा । कुनै रुखका जराहरु माटोमा धेरै गहिरोसंग गाडिएका थिए, कुनैका निकै परपरसम्म फैलिएका भने कुनै अलिकति मात्र गाडिएका भरमा टिकेका पनि थिए । त्यसैले प्रचण्ड हावाहुरी चल्दा पनि कुनै डेगै नचली अडिरहन्थे त कुनै अलिकति हावा चल्दा नै ढलूँला जस्तो गरी लचकलचक लच्किन्थे पनि । यस्ता कमजोर प्रजातिका रुखहरु कहिलेकहीं आफ्नो धरातलबाट उखेलिएर पछारिन्थे, विस्थापित हुन्थे ।

तर पनि सबै रुखहरू स्वाभिमानी थिए, आफ्नै विशेषताहरु थिए उनीहरूका । सालका रुखहरु आफ्नो बलियोपनमा गर्व गर्दै भन्थे, 
"हाम्रा पुर्खाहरु उहिलेउहिलेका राजा महाराजहरु र अहिलेका हाम्रा पुस्ता आजकलका शक्तिशाली र सम्पन्न मनिसहरुको घरमा मेरुदण्ड, दलीन र महँगा फर्निचर बनेर बसेका छन् । हाम्रो योगदानको जति प्रशंसा गरे पनि पुग्दैन ।" 

एकथरि अर्का रुखहरु थिए जो आफूमा पलाएका पात र लहराहरुमा सञ्जीवनी रहेकोमा गर्व गर्थे । अमलाको बाबु पनि आफ्नो गुणगान गाउन पछि पर्दैनथ्यो,
"हाम्रो फल भिटामिन सी को मुख्य श्रोत हो बाबै । साह्रै गुनिलो जात हौं हामी ।"

अजम्बरीको त झन् के कुरा गर्नु र ?  
"हाम्रो त नामै अजम्मरी, कामै अजम्मरी । पात, डाँठ अथवा जे काटेर फाल न, हमी त्यसैबाट फल्छौं । हामी अम्लपित्त, कमलपित्त, पत्थरी, गर्मीले हुने रोग, मधुमेह, धातु झर्ने, पेट दुख्ने र पोल्ने जस्ता रोगहरूमा काम लाग्छौं, के ठान्या ?" 

त्यहाँ रक्तचन्दन पनि थिए ।
आयुर्वेदमा पनि रक्तचन्दन उल्लेख गरिएको छ भन्ने कुराले उनीहरूको इज्जत नै बेग्लै थियो । हुन त चन्दनद्वय भनेर रक्तचन्दनका भाइहरूको खलक श्वेतचन्दनको पनि बयान नभएको हैन । तर, केही समयअघि देखि देशका ठूलाठालूहरूका आँखामा परेदेखि उनीहरूको रवाफै बेग्लै भएको थियो । ती ठूलाठालु उनीहरूको चोरी र तस्करीमा लागेपछि जंगलमा त रक्तचन्दनहरूको भीआइपीमा गणना हुनथालेको थियो । सबैभन्दा पाको रक्तचन्दनलाई भने यो गतिमा ओसारपसार हुँदा कतै आफ्नो वंश नै नाश हुने त हैन भनेर पीर पनि लाग्न थालेको थियो । त्यसैले एकरात ट्रकमा आधुनिक आरा र करौती लिएर आएकाहरूलाई उसले सम्झाउन खोजेको थियो । सुनको फूल पार्ने कुखुरोलाई एकैपटक काट्ने लोभीको कथा पनि सुनाएको थियो उसले । तर तातै खाऊँ-जल्दै मरौं भैरहेका ती पिपासुहरूले उसका कुरा सुनेनन् ।

"जंगलमै कुहिएर जाने तेरा सन्ततिलाई हामीले भारत चीन लगायत संसारका कति मुलुक घुम्न पठाइरहेका छौं । तं त खुसी हुनुपर्छ ।"

त्यसो भनेर रातको निस्तव्धतामा उनीहरूले आफ्ना सन्तानहरूलाई निर्दयतापूर्वक काटेको हेरेर बूढो रक्तचन्दनले धर्धरी आँसु चुहाएको थियो । 

जंगलका सबै रुखहरूलाई आफ्नो नियति भनेको काटिनु र अरूको काम आउनु हो भन्ने थाहा थियो । कसैकसैलाई यसमा गर्व पनि थियो । त्यस्तै गर्व गर्नेहरूमा एउटा थियो, भीमल ।

भीमल
भीमलका प्रजाति थरिथरिका कागज बनाउनका लागि प्रयोग हुने रुखका रुपमा चिनिन्थ्यो । त्यो कुरामा उसलाई ठूलो गर्व थियो । बेलाबेला भीमल सबैलाई भेला पारेर भन्ने गर्थ्यो,
"कागज भनेको निकै ठूलो कुरा हो बाबै । तिमीहरूलाई थाहा छ, कागजले मानिसका कति ठुलाठूला काम गर्छ ?" 

अरू रुखहरू उत्सुक भएको देखेर आनन्द मानेर ऊ भन्थ्यो,
"कागजको सबैभन्दा ठुलो कुरो भनेको कागजमा लेखिन्छ । लेखिनु भनेको निकै महत्वपूर्ण हो । कुनै पनि कुराको स्विकृति, सहमति र स्वीकार गर्नू हो लेखिनु । अभिव्यक्त हुनु हो लेखिनु । स्वतन्त्र हुनु हो लेखिनु ।"

आफ्ना हाँगाहरूलाई जोरजोरले उचाल्दै, घोक्रो स्वरमा भन्थ्यो ऊ,
"हामीमा- एउटा मन र अर्को मनलाई जोड्ने भावना लेखिन्छ, प्रेम पत्र । हामीमा- मानिसको उपलव्धि र विकासको कथा लेखिन्छ, ईतिहास । हामीमा- ठूलाठूला सहमति लेखिन्छ दस्तावेज, सन्धि लेखिन्छ र युद्धविरामका घोषणा लेखिन्छ । हामीमा- सत्य लेखिन्छ, असत्य पनि लेखिन्छ । भ्रम, वाद, विचार र कहिलेकहीं हामीमा पूर्वाग्रह लेखिन्छ । कल्पना, सपना, भविष्य यी सबै हामीमा नै लेखिन्छ ।"

सबै मन्त्रमुग्ध भएर उसलाई हेरिरहन्थे, उसको गर्व । तर उसको व्यक्तिगत गर्वको कुरा यति मात्र थिएन । उसलाई आफ्नो खलकले पाउन लागेको एउटा अर्को उपलव्धिको गर्व थियो । 

एउटा देशको नयाँ सम्विधान लेखिने भएको थियो उसको खलकमा । आहा.......त्यो भन्दा ठूलो अरु के हुन सक्छ ? सिंगो देशको भविष्यको योजनाको खाका लेखिने भनेको अवसर सबै रुखका कागजहरूले कहाँ पाउँछन् र ? त्यही भएर आफ्ना दाजुभाइहरू काटिँदा सँधै आँशु हुने उसका आँखाहरूमा त्यसदिन साराका सारा सानाठूला भीमलहरू छप्काईँदा पनि स्वाभिमानको राप थियो, उज्यालो थियो । आफूलाई पनि त्यो कागज बनाउन कहिले लग्लान् भनेर पालो कुरिरहेको पनि थियो ऊ । तर आफ्नो पालो आए पनि नआए पनि आफ्ना प्रजाति देशको त्यति महत्वपूर्ण काममा प्रयोग हुने कुराले नै मात्र ऊ खुशी थियो ।

भीमल केही दिन अघिदेखि त्यो सम्विधान लेखिने दिन गन्न थालेको थियो । त्यो दिन जतिजति नजीक आउँदै गयो, भीमलको गर्धन पनि त्यतित्यति मोटो र नाकका पोहोराहरू त्यतित्यति नै फुल्दै गइरहेका थिए ।

त्यस दिन
किन हो किन भीमललाई केही न केही समाचार अवश्य आउँछ भन्ने पूर्वाभाष भैरहेको थियो । दिनभरि नै भनेजसो ऊ घाँटी तन्क्याइतन्क्याइ चारै दिशा तिर आफ्ना उत्सुक आँखाहरू डुलाइरह्यो । रात झमक्क परेपछि मात्र उसले त्यसको आश मार्योन । भोलिपल्ट उसको निन्द्रा कागको कर्कश स्वरले खुल्यो । काग उसकै हाँगामा बसेर उसको कान निर कराइरहेको थियो, उसैलाई हेरेर ।

"शुभ शुभ बोल् कौवा, शुभ शुभ......"
आँखा मिच्दै भीमल बर्बरायो ।

काग बेलाबेला शहरतिर गैरहेने भएकोले उताको लवज सिकेको थियो । बोल्दा पनि बीचबीचमा धेरैजसो अँग्रेजी मिसाएर बोल्थ्यो ऊ । त्यसैले कागलाई ज‌गलमा इज्जत गर्न थालिएको थियो। तर जति अंग्रेजी मिसाए पनि अशुभ समाचार शुभ हुन सक्दैन रहेछ । कागले जे सुनायो, त्यो भीमलका लागि अकल्पनीय थियो ।

"टू मेनी कूक्स स्पोइल द ब्रोथ भीमल ब्रो ।"
भीमलले सशंकित भावमा सोधेको थियो,
"के भयो ?"
कुम उचाल्दै काग बोलेको थियो,
"पोलिटिसियन र लिडरहरू एग्रिमेण्ट प्वाइण्टमा आउनै सकेनन् । सबको ईगो क्ल्यास भयो । जति गरे पनि नथिंग डुइंग । त्यो कन्स्टिट्युटनल एसेम्ब्ली नै स्क्र्याप भएछ ब्रो । अब नो एसेम्ब्ली, नो सम्विधान, नो नथिंग ।"

भीमल किंकर्त्तव्यबिमूढ भएर कागलाई ट्वाल्ल परेर हेरिरहेको थियो ।
कागले असहाय भावमा गर्धन हल्लाउँदै कुरोको बिट मारेको थियो,
"टू व्याड ब्रो, भेरी स्याड न्यूज ।"

भीमलका सारा सपनाहरू एकैछिनमा भत्किए । यस्तो होला भन्ने उसले कल्पना पनि गरेको थिएन । उसको आँखा अघि दिउँसै कालो रात जस्तो भयो । ऊ केही बोल्नै नसक्ने अवस्थामा पुग्यो ।  निकै बेरपछि उसले पराजित स्वरमा कागलाई सोध्यो,
"अनि हाम्रा खलकलाई के गर्ने भए त कौवा ?" 

कागले एकछिन कान कन्यायो । अनि भनौं कि नभनौं जस्तो भावमा कागले भन्यो,
"सम्विधानै राइट नगरेपछि तिनको अहिलेलाई केही यूजै भएन ।" 

"कतै तिनका सलाई त बनाएनन् आगो लगाउने ?" भीमल त्रस्त भयो ।

"नो, नो ब्रो । पेपर त पेपर नै बनेका छन् तिनिहरू सिटी गएर, तर तिम्ले चाहेको जस्तो पेपर हैन ।"

"कस्तो पेपर त ?" भीमलले थर्थर कामेको शंकालु स्वरमा सोध्यो ।

कागले अमीलो मुख लगाएर भन्यो, "ट्वाइलेट पेपर"

आत्महत्या
भीमल दिनभर झोक्रयायो, अनि रातको अँध्यारोमा उसले आत्महत्या गर्योी ।

भीमलका सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो । गहिरोसंग धरातलमा गाडिएका उसका जराहरू उखेलिएका थिए, हावामा झुण्डिएका थिए । 

भीमलका निष्प्राण जराहरू हावामा फिर्फिर हल्लिरहेका थिए ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment