Translate

Sunday, June 8, 2014

बिचरा पशुपंक्षी (कति क्रूर हामी)

बायाँ फन्को १३३

हुन त त्यो कुनै नौलो दृश्य हैन, तपाईहामीले बेलाबेला त्यो देखिरहेका नै हुन्छौं । त्यो यति सहज भैसकेको छ हाम्रा लागि, दोहो¥याएर त्यसका बारे हामी सोच्न सम्म पनि सोच्दैनौं । एकजना वीर पुरुष आफ्नो भटभटेको ह्याण्डलको दुबै तिर केही नभए पनि दशदशवटा ज्यूँदा कुखुराहरुलाई झुण्ड्याएर हुँकिइरहेका थिए । सबै बरा कुखुराहरुका खुट्टा एकआपसमा जोडेर डोरीले बाँधिएका थिए र तिनलाई उल्टो पारेर झुण्ड्याइको थियो । रातो बत्तीमा भटभटे रोकिएका काराण् अलि ध्यान दिएर तिनका आँखामा हेर्न पाइयो । विश्वास गर्नुस्, बडो दयनीय र पीडादायी थियो तिनको भाव । हुन त काटिनका लागि नै लगिएका त होलान् ती । तर पनि त्यति निर्दयतापूर्वक ती निरीह प्राणीलाई ओसारेको देख्दा मनमा थुप्रै प्रश्नहरु उब्जिए । हामी किन अर्को प्राणीप्रति यति धेरै क्रूर हुन सक्छौं ? के तिनले बोल्न नसक्ने भएका कारण ? वा तिनले प्रतिरोध गर्न नसकेका कारण ? जुनसुकै कारणले किन नहोस्, अर्को प्राणी प्रति हामी त्यतिविधि क्रूर हुन सक्छौं भने अर्को मानिसप्रति हुनुपर्ने जति भावना, सहिष्णुता र सम्वेदनशीलता हामीमा हुन्छ होला त ?
त्यही प्रसंगमा कुरा गर्दा हामीले बारम्बार देखेको अरु केही दृश्यहरुको पनि चर्चा गर्नु सान्दर्भिक होला । राजमार्गमा यात्रा गर्दा हामीले धेरैपटक तराइबाट ओसारिएका भैंसी र राँगाहरु देखेका छौं । दुहेर थारो भैसकेक पछि जोत्दाजोत्दा पनि बूढाबूढी भैसकेका अहिले मलौन् कि भरे भने जस्ता ती बिचरा चौपायाहरुलाई कति निर्दयी तरिकाले ओसारिएको हुन्छ । हलचल गर्न नहुने गरी खाँदिएका हुन्छन् ती प्राणीहरु, त्यतिमात्र कहाँ हो र ? तिनको नाकको पोहोराबाट समेत डोरी घुसारेर एकआर्कासंग उनिएको हुन्छ तिनलाई । भनिन्छ, ती मध्ये कतिको त यहाँसम्म आइपुग्नु पहिले नै प्राण्पखेरु उडिसकेको हुन्छ रे । हामी ती जनावरहरु प्रति किन यति धेरै क्रूर ? तिनका पीडा हामीले बुझ्ने भाषामा तिनले अभिव्यक्त गर्न नसकेका कारण ?
त्यस्ता मरेका चौपायाहरु बाटा कै होटलहरुमा खपत हुनका लागि झारिन्छन्, बेचिन्छन् भन्ने पनि सुनिन्छ । यहाँ आइपुगे पनि ती मासु र मम पसलमा खपत हुन्छन् रे । पुच्छर र छालाहरु समेत कीमा बनाउनका लागि पेलिन्छ भन्ने कुरा केही भुक्तभोगी र प्रत्यक्षदर्शीले यस स्तम्भकारसंग गरेका छन् । यस कुरालाई अतिरञ्जित मान्ने हो भने पनि काठमाण्डौका गल्लीहरुमा राँगाहरु कसरी काटिन्छन् र तिनका मासु कसरी ओसारिन्छन् भन्ने त सबैले देखेकै छौं । एकै छिन तिनलाई काट्ने क्रूरता र अमानवीय तरिकाहरुका बारे बिर्सिने हो भने पनि, व्यस्त सडक, फोहोर गल्ली, प्रदूषित खोलानालाको छेउमा काटिएका ती चौपायाहरु फोहोर मैला, सिमेण्ट, माटो, बालुवा तथा सेप्टिट्यांकको अवसाद ओसार्ने ट्रयाक्टरमा हालेर पनि बजार पु¥याएको देखेका छौं । मानिसको स्वास्थ्यसंग सीधै सम्बन्ध हुने यति सम्वेदनशील कुरामा पनि हामीकहाँ कुनै निश्चित मापदण्ड छैन । जसले जे र जसरी गरे पनि हुन्छ । काट्ने, बेच्ने र किन्ने सबै पशुपतिनाथले रक्षा गरिहाल्छन् भनेर ढुक्क भएका हुन्छौं ।
पहिलो कुरा त के भने मानिसले अरु प्राण्ीको मासु खाने भनेको बाँच्नका लागि नभै स्वादका लागि हो । त्यसमा पनि यति धेरै गलत मान्यताहरु परम्परागत रुपमा हामीले पछ्याएका छौं । ताजाताजा काट्दाकाट्दैको मासु फ्रीजमा राखेको मासु भन्दा राम्रो भन्ने हामीमध्ये कतिको गलत धारणा हुन्छ । स्तम्भकार बस्ने क्षेत्रमा एकजना युवा मासु पसलेले छाला निकालेको, राम्ररी सफा गरेको र दुइदिन फ्रीजमा राखेको स्वस्थ्यकर मासु बेच्न सुरु गरेका थिए । केही समय पश्चात उनी टाट पल्टिने अवस्था आयो किनभने उनको व्यापार नै चौपट भयो । बासी मासु बेच्नेमा उनी दरिए । त्यसमाथि छाला नभएपछि मासुको स्वाद हुँदैन भन्ने मान्यता त आफ्नो ठाउँमा भै हाल्यो । अन्नतः उनले हार खाएर ताजा र छाला भएको मासु बेच्न थाल्नु प¥यो ।
संसारका अधिकांश मुलुकहरुमा वैज्ञानिक र व्यवस्थित वधशालाको व्यवस्था गरिएको हुन्छ । नियमित रुपमा अनुगमन पनि गरिन्छ । कतिपय मुलकुमा मासु खानका लागि मारिने पशुहरुलाई पहिले नै वेहोश पारेर थाहा नपाउने बनाउनुपर्ने समेत नियम हुँदो रहेछ । त्यहाँसम्मको त कुरै नगरौं, तर हामीकहाँ न त वधशाला, न स्वस्थ्य प्रक्रिया केहीको पनि आवश्यकता देख्दैनौं हामी । बेलाबेला कागजी रुपमा तिनको कुरा हुन्छ, तर व्यावहारिक रुपमा त्यो कहिले पनि लागू हुँदैन । आफ्नै स्वास्थ्यको कुरामा हामी यति निस्फिक्री छौं भने प्राणीको हत्या गर्ने कुरामा हुने क्रूरताको बारे सोच्ने त कुरै पर जाओस् । हाम्रो यही हेलचक्र्याँइका कारण नै हुनुपर्छ, नेपालमा आउने सबैजसो विदेशीहरुलाई यहाँको दुइवटा कुरा नखान सचेत गराइएको हुँदो रहेछ । माछामासु र दुग्ध पदार्थ । खानै प¥यो भने पनि उनीहरुले ठूलाठूला डिपार्टमेण्टल स्टोरमा बबेचिने आयातीत माछामासुलाई मात्र विश्वास गर्दछन् ।
मासु खानु नखानु मान्छेको आफ्नो रुचिको कुरा हो । त्यसमा केही भन्नु छैन । हाम्रो देशमा सरकारी तवरबाट यसको उचित र स्वस्थ्य व्यवस्थापनका लागि पहल भएको छैन । तर, खाने नै हो भने आफू चाहिँ सचेत हुन सकिन्छ । हुनु पनि पर्छ । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment