Translate

Sunday, June 22, 2014

पानी

बायाँ फन्को १३४

मानिसलाई बाँच्नका लागि अनेकौं कुराको आवश्यकता हुन्छ । प्राकृतिक वा कृतिम अनेकौं कुराहरुमा मानिस भर पर्छन् बाँच्नका लागि । ती मध्ये कतिपय मानिसले आफूलाई सहज र बिलासी बनाउनका लागि अभ्यस्त गरेका कुराहरु पनि हुन्छन् । उदाहरण्का लागि कसैको प्रेममा आशक्त भएको मानिस आफ्नी प्रेमिका वा प्रेमीलाई आफू ऊ बिना एक पल पनि बाँच्न नसक्ने किरिया खान्छ । तर कोही नभएर कोही बाँच्न नसकेका बिरलै मात्र उदाहरण पाइन्छन् । केही चाहिँ बास्तवमै यस्ता कुरा हुन्छन्, जस बिना साँच्चै मान्छे बाँच्न सक्दैन । आआफ्नो ठाममा बेला र परिस्थिति हेरेर ती सबको महत्व हुन्छ । ती मध्ये कुन बढी नभै नहुने कुरा हो भनेर सोध्ने हो भने ठ्याक्कै तोकेर भन्न सकिंदैन । पानी एउटा यस्तो कुरा हो, जुन जीवनका लागि नभै नहुने कुराहरु मध्ये एक हो । स्तम्भकारले किन पानीमा आउनका लागि यति लामो भूमिका बाँधेको भनेर तपाईहरुलाई अचम्म लागेको पनि हुन सक्छ । 

केही दिन अघि संयोगवश एक जना परिचित मान्छे भेटिए । ती परिचित केही वर्ष अघि काठमाण्डौबाट उडेर अपहरणमा परेको भारतीय विमानका यात्रु पनि हुन् । लामो समयपश्चात् भेटघाट भएको हुनाले लामै कुराहरु हुनु अस्वाभाविक थिएन । क्रममा अपहरणमा पर्दा र त्यहाँ त्यत्रा लामो समय जीवन र मरणको दोसाँधमा बिताएका भयावह दिनहरुका कुरा पनि निस्कनु स्वाभाविकै थियो । हुन त कसैलाई त्यस्तो नपरोस् पनि, तर साधारणतया कुनै पनि मानिसले आफ्नो जिन्दगीमा त्यस्ता दिनहरुको अनुभव गर्न पाउँदैन । यस अर्थमा त्यतिबेला त्यो जति कहालीलाग्दो भए पनि कालान्तरमा त्यसको अनुभव सुन्ने र सुनाउने दुबैका लागि कुनै न कुनै रुपमा रोचक नै हुन्छ । उनको पनि यावत अनुभव त्यस्तै थिए । तर एउटा कुरा भने उनले अचम्मको सुनाए ।

उनका अनुसार केही दिन बितेपछि शुरुको डर पनि बिस्तारै मत्थर भएर जाँदो रहेछ रे । एक हिसाबले अब जे पनि हुन सक्छ भन्ने कुरामा पनि मानिस सहज हुँदै जाँदो रहेछ रे । बन्द हवाइजहाज भित्र गुम्सिएका सासहरुको उकुसमुकुस, फोहोर शौचालयको दुर्गन्ध, खानाको अभाव जस्ता यावत कुराहरु बित्दो समयसंगै स्वतः गौण हँुदै जाँदो रहेछ रे । अझ विशेष गरेर भोकको कुरा गर्ने हो भने त्यो त लाग्दो पनि रहेनछ रे । तर, एउटै कुरा जसले आलसतालस बनाउँथ्यो, त्यो थियो प्यास रे । उनका भनाइका अनुसार केही गरी कुनै दिन यो अवस्थाबाट मुक्त हुन पाइयो भने के गर्ने भन्ने दिमागमा आउँदा कतै गएर सबैभन्दा पहिले चीसो पानी घटघटी पिउने मात्र चरम लालसा हुन्थ्यो रे । रासनमा, त्यो पनि कहिलेकहीं उपलव्ध गराइने आधा कप पानीले त झनै त्यो प्यासलाई उग्र रुपमा भड्काउने काम मात्र गथ्र्यो रे । नभन्दै सौभाग्यवश अपहरणकारीहरु र भारत सरकारको कुरो मिलन विन्दुमा पुगेपछि जब उनीहरु मुक्त भए, सबैभन्दा पहिले त्यसरी नै चीसो पानी घटघट पारेर पिए रे उनले । उनलाई त्यतिबेला लागेको थियो रे, बरु खाना नहोस्, अरु केही नहोस् मान्छेलाई निकै दिन धान्न केही फरक नपर्ने रहेछ । पानी बिना त मान्छे बाँच्नै नसक्ने रहेछ । 

हुन पनि हो कुनै पनि प्राणी वा विरुवाका लागि जीवन पानी नै त हो । सहज रुपमा प्राप्य हुन्जेल हामीलाई त्यसको महत्व कहाँ थाहा हुन्छ र ? हामी अहिलेसम्म पनि पानीको महत्वलाई कति बुझेका छौं भन्न सक्छौं ? क्रमशक्रमशः कम हुँदै गएको पानीको बारेमा हामीले कति सोचेका छौं ? संसारमा भोलिको लडाईं इन्धनको लागि नभै पानीको लागि हुन्छ भन्ने कुराको भविष्यवाणी भैसक्दा पनि हामीले त्यसलाई गम्भीरतापूर्वक लिएका छौं त ? काठमाण्डौ कै कुरा गर्ने हो भने पनि हेर्दाहेर्दै यहाँ पानीको हाहाकार भैसकेको छ । पानीको नाममा मानिसहरुले कति व्यापार गरिरहेका छन् भन्ने कुरा चारैतिर देख्न सकिन्छ । कुनै बेला धारामा आएको पानी तीन तल्लामाथि ट्याङ्कीमा बिना मोटर चढ्थ्यो भनेर भन्दा त्यो एकादेशको कथा जस्तो लाग्न थालेको छ । खोलानालाबाट ट्याङ्करमा पानी भरेर घरघरमा लैजानेहरुको चर्को मूल्य सहेर पनि हामी काम चलाउन बात्तय छौं । रमाइलो कुरा त के भने तिनले पनि तपाईंलाई भनेको बेला पानी पठाउन सक्दैनन् । यति धेरै माग हुन्छ, तीन दिन पछि पालो आउँछ तपाईको । अझ सुख्खा याममा त तिनले फोन समेत पनि उठाउँदैनन् बेलाबेला । 

मिनरल वाटरको नाममा भैरहेको ब्रम्हलूटको त झन के कुरा गरी साध्य होला र ? १ लिटरको बीस रुपैंया देखि ६० रुपैंयासम्म पर्ने तथाकथित मिनरल वाटर बजारमा खुलेआम बिक्री हुन्छन् । ती मध्ये कुन मिनरल वाटर हुन् र कुन खालि फिल्टर गरिएका पानी हुन् भन्ने कसैलाई मतलब छैन । हेर्दा सङ्गलो देखिएपछि त्यो पानी हाम्रो लागि पिउन योग्य भैहाल्यो । त्यही पानीको १९ लिटरको जार ३० रुपैंयामासम्म प्राप्त हुँदा पनि हामीलाई अचम्म लाग्दैन । हो, थोरै र धेरै मात्रामा कुनै पनि कुरा किन्दा अलि सस्तो हुनु स्वाभाविक हो, तर मिनरल वाटर भनेर बेचिने पानीमा त्यत्रो फरक हुन्छ भने त्यसको गुणस्तर के र कस्तो होला भन्ने पनि कसैले किन सोच्दैनौं ? 

त्यति हुँदा पनि सपनाको मेलम्ची कछुवाको तालमा लस्किन्छ । जायज नाजायज कारणहरुले त्यसको गति रोकिंदा पनि न त सरकार त्यसमा गम्भीर हुन्छ, न जनताले नै औंला ठड्याउँछन् । हामी प्यासले प्राणै जाने अवस्था नआउन्जेल चिन्ता गर्दैनौं । किनकि हामीलाई वर्तमान जसरीतसरी चलेसम्म न हिजो के भएको थियो भन्ने हेक्का रहन्छ, न भोलि के होला भन्ने सुर्ता नै छ हामीलाई । जुन दिन पशुपतिनाथले रक्षा गर्न हात उठाउँछन्, त्यही बेला मात्र के गर्ने भनेर बिचार गरौंला ।  

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment