Sunday, July 27, 2014

मानवता र विकास

मान्छेको विशेषता भनेको नै विकासको महत्व बुझ्नु र आफूलाई समयानुकुल रुपमा विकसित गर्दै लैजानु हो । यो प्रकृया असाध्यै सुस्त गतिमा शुरु भएको थियो र यसले बिस्तारै गति लिएको हो । हामी जति विकसित हुँदै गयौं, त्यति नै विकासको गतिलाई तीब्र बनाउन पनि सिक्दै गयौं । त्यसैले हरेक युग र हरेक पुस्ताले अघिल्लो युग र पुस्तालाई यो गतिमा पछि पार्दै गएको हुनुपर्छ । मानव जीवनसंग सम्बन्धित हरेक कुरामा हामीले खोजीनीति र प्रयोगहरु गर्दै गयौं । त्यसको फस्वरुप नयाँनयाँ कुराहरु पत्ता लगाउँदै गयौं । हाम्रो जीवन अझ बढी सहज हुन थाल्यो, सरल हुन थाल्यो । विचार, मानसिकता, प्रविधि, औषधि, निर्माण, ज्ञान र विज्ञानको कुरामा पनि हामी परिस्कृत हुँदै गयौं । तर बेलाबेलामा हामी उपलव्धिको दम्भमा रमाएर विकासको नकारात्मक पक्षहरुलाई पनि अंगीकार गर्ने गर्छौं ।


आगोले हामीलाई निकै कुरा सिकायो । आगोबाटै मानिसले उज्यालो, इन्धन र ऊर्जाको महत्व बुझ्यो । त्यसका अरु परिस्कृत रुपहरु फेला पार्न प्रेरित भयो । त्यही आगाले अरुलाई डढाउन, पोल्न र विनाश गर्न पनि सिक्यो अर्काथरि मानिसले । हुन त बृहत बिनाशका हतियारहरुको निर्माण पनि विकासको ठूलै उपलव्धि हो नि । सानोतिनो सोच, समय, लगानी वा अभ्यासले कहाँ बन्छन् र ती ? तर त्यस्ता अनावश्यक विकास मानिस भित्रै रहने शैतानको उपज हो । एकातिर एउटा मानिस सयौं अरु मानिसलाई बोकेर सिमलको भुवा उडे जसरी तीसौं हजार फीट माथि आकाशमा उड्न सक्ने हजारौं टनको विमान बनाउन सक्छ । अर्को तिर त्यही विमानलाई भुँइबाटै ताकेर गुलेलीले चरा खसाले जस्तो खसाल्न सक्ने अस्त्र पनि मानिसले नै बनाउँछ । त्यस्ता संहारक अस्त्र बनाउने, आफ्नो स्वामित्वमा राख्ने र प्रयोग गर्नेहरुलाई त्यसको परिणाम देखेर कस्तो खुसी प्राप्त हुन्छ होला, हुन्छ वा हुँदैन होला ? हुँदाहुँदा यस्ता हतियारहरु बनाइसकेको छ मानिसले, जसको प्रयोग भयो भने त्यसको परिणाम के भयो भन्ने कुरा हेर्नका लागि कोही पनि बाँकी रहँदैनन् । त्यसका आविष्कार गर्नेहरु स्वयं पनि । के अर्थ र उपादेयता छ त्यस्तो विकासको, त्यस्ता आविष्कारको ? यो प्रश्नको उत्तर उनीहरुसंगै पनि छैन । 

सारा जीवन कुनै रोगको उपचारको लागि औषधि पत्ता लगाउनका लागि खर्च गर्ने पनि हामी मध्येकै कुनै मानिस हुन्छ । उसको टाउकोको वरिपरि कुनै आभापुञ्जको गोलो घेरा देखिंदैन । न उसका सेता प्वाँखहरु भएको कुनै पखेटा हुन्छ । अर्को तिर एकै पटकमा लाखौं मानिसको ज्यान लिन सक्ने संक्रामक भाइरस बनाउनका लागि पनि हामी जस्तै मानिस लागिरहेको हुन्छ । अनि उसको पनि अजंगको ज्यान, बाहिर निस्केको दाह्रा, लामालामा नङ्ग्रा, टाउकामा दुइवटा घुम्रेको सिङ र पुठ्ठोबाट झुण्डिएको पुच्छर हुँदैन । 

संसारका विपरित ध्रुवमा बस्ने आफूले नचिनेका र सम्भवतः कहिल्यै नभेट्ने अरु मानिसहरुका समूहगत हितका लागि आफ्नो सबैथोक दाउमा लगाउने मानिस पनि हामी माझै हुन्छन, हामी जस्तै हुन्छन् । तिनीहरु पनि उपलव्धिबाट पाइने सन्तुष्टिका लागि नै कटिवद्ध भैरहेका हुन्छन् । अनि हामीमाझै हुन्छन् आफ्नै वर्ग, समुदाय वा राज्यका मानिसहरुलाई फुटाएर, लडाएर र जुधाएर आफ्नो स्वार्थसिद्धि गर्नेहरु । यी दुबैका आत्मसन्तुष्टिमा आकाश पातालको फरक हुन्छ ।

एउटा महादेशमा बस्नेहरु भन्दा अर्को महादेशमा बस्नेहरु भिन्न छैनन् । आँखा सबैका दुइटै हुन्छन्, तिनले देख्ने कुरा पनि उही हुन्छन् । एसियामा बस्नेले देख्ने हिमाललाई यूरोपको मान्छेले पनि हिमालै देख्छ, मरुभूमि देख्दैन । गाजाको मान्छेले हेर्दा देख्ने बालक इजरायलीको आँखाले पनि तिनलाई बालकै देख्छ । बमको बिनाशले उडाएको धूलो आँखामा पर्दा सबैलाई उसै गरी पोल्छ । ट्विन टावर धराशायी हुँदा त्यसमा लागेको आगोका मुस्लाहरुले खरानी बनाउने बेला जात, धर्म, देश केही भन्यो र ? अविश्वसनीय रुपमा त्यो भत्कँदा त्यसका अनियन्त्रित बिशाल अवशेषहरुले आफ्नो मुनि पर्ने सबैलाई नै धूलोपीठो बनायो । हिरोसिमा र नागासाकीमा भारिएका फ्याट म्यान र लिटल ब्वाइहरुले त्यहाँ अरु देशका मानिस पनि भएका भए के जापानीलाई मात्र छानेर मार्थे ? 

हाम्रो आन्तरिक र बाह्य शारीरिक र जैविक बनौट उस्तै छ । अरु सबै कुरामा यति धेरै समानता भएको मानिस भन्ने प्राणीको मासकिता र बुझाइमा मात्रै किन यति धेरै फरक हुन्छ ? के यो सृष्टिले नै सिर्जना गरेको भिन्नता हो ? वा हामीले पछि आफूमा विकास गरेका हौं यसको ?

हामीमा विकासको कहिले पनि शान्त नहुने भोक छ । त्यसैले हामी आफू शान्त नहुन्जेल यो भोकलाई शान्त गर्ने क्रममा नै पूरा जीवन बिताइरहेका हुन्छौं । बेलाबेलामा हामीले बिर्सनै नहुने कुरा चाहिँ एउटै मात्र छ । विकास गर्नका लागि खर्च लाग्छ । पैसा, श्रोत, साधन र अथक परिश्रम माग्छ विकासले । लगानी माग्छ । अझ व्यक्तिगत मात्रै नभै सामूहिक प्रयास पनि माग्छ विकासले । तर मानवता भन्ने कुराको लागि लागि पैसा लाग्दैन, आफू एक्लैको मात्र प्रयासले पनि त्यो सकिन्छ । त्यसको लागि धेरै ठूलो मानसकि वा शारीरिक कसरत पनि गर्नु पर्दैन । यही सित्तैंमा प्राप्त हुन सकिने कुरा, मानवता नभै चाहिँ जति पैसा र परिश्रम खर्च गरे पनि सही अर्थमा विकसित हुन सकिंदैन । किनभने बिना मानवताको विकासका जहिले पनि अंध्यारा पाटाहरु रहिरहन्छन् । तिनलाई जित्ने भनेको मानवताले मात्र हो । 

मानवताको नकारात्मक पाटो हुँदैन, अँध्यारो पक्ष पनि हुँदैन । 

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...