Sunday, July 13, 2014

भकुण्डो र भावना

नेपाल साप्ताहिकको मेरो स्तम्भ 'बायाँ फन्को' मा प्रकाशित


चार वर्षमा एक पटक हुने भकुण्डोको यो प्रचिस्पर्धाको आफ्नै रमाइलो हुने गर्छ । अरु बेला भकुण्डाका क्लबका खेलहरुमा खासै रुचि नहुनेहरु पनि यो बेला समय कुसमय निन्द्रा मारेरै भए पनि खेलाहरु छुटाउँदैनन् । 

यतिखेर यो बायाँ फन्को पाठकहरुले पढिरहनुभएको बेला विश्व कप भकुण्डोको प्रतिस्पर्धा झण्डैझण्डै समाप्त हुने बेला भइरहेको हुनेछ । तेश्रो स्थानका लागि भएको खेलमा आयोजक ब्राजिललाई नेदरल्याण्ड्सले पाखा लगाइसकेको छ भने अर्जेण्टिना र जर्मनी बीच उपाधिको लागि भरे ज्यूज्यानको बाजी लाग्दैछ । 

सबैभन्दा रमाइलो कुरा के भने यतिबेला चारवर्षको एकपटक टोलबजार,कार्यालय वा जहाकहीं पनि भकुण्डाका विज्ञहरु च्याउ उम्रे सरह उम्रिन्छन् । उनीहरु कुन खेलाडीले कसरी खेल्यो अथवा खेल्नुपथ्र्यो, कुन टीमको कस्तो रणनीति हुनुपथ्र्यो भन्ने कुराहरु ठोकुवा गरेर भनिदिन्छन् । हारका कारणहरु के के थिए भन्ने बारेमा त्यस्ता मानिसहरु बोलिरहेका हुन्छन् जसलाई अफ साइड कसरी हुन्छ भन्ने कुराको पनि खासै ज्ञान नहुन सक्छ । भकुण्डोको यो नै एउटा यस्तो सुन्दर पक्ष हो जसले यो खेललाई विश्वकै सबैभन्दा लोकप्रिय खेल बनाइदिन्छ । हामीलाई यो चारवर्षे मेलाले आफ्नो बाल्यकालमा पनि फर्काइदिन्छ जहाँ हामीले भकुण्डो नपाए पनि मोजाका गुजुल्टाहरुलाई मच्चीमच्ची गुडाएका हुन्छौं, उडाएका हुन्छौं ।



यसपटकको भकुण्डो खेल पनि यी सबै कुराबाट अछूतो रहेन । अझ केही कुराहरुमा त पहिलेको भन्दा बढी आक्रामकता र पागलपन देख्न पाइयो । सबैभन्दा पहिलो कुरा त बिभिन्न देशका जर्सीहरुको बिक्री नै मान्नुपर्छ । पहिलेको तुलनामा यस पटक जर्सीहरु निकै नै धेरै बिके । व्यापारीहरुले यसबाट निकै मोटो मुनाफा कमाउन पाए । भकुण्डोको क्रेज बढ्नुमा दुइ चारवटा कुराहरुले ठूलो भूमिका खेलेको हुनुपर्छ । स्याटेलाइट टिभी र इण्टरनेटको पहिलेभन्दा बढी सहज पहुँचका कारण बढी मानिसहरु सजिलै यससंग परिचित हुन पाए । अर्को एउटा मनोवैज्ञानिक पक्ष के हो भने, हाम्रो देशमा अरु खेल भन्दा भकुण्डोको लामो इतिहास छ । तर त्यति हुँदा पनि बरु संकटा, महावीर र ब्वाइज यूनियनको वर्चस्व हुनेबेलाको भन्दा हाम्रो भकुण्डोको स्तर खस्केको हुनाले आफ्नो त्यो दुब्लाएको सपनालाई अरुहरुका माध्यमबाट पूरा गर्न मानिसहरु बढी होम्मिएका हुनसक्छ । त्यसैले सबैले एकएक वटा देश छानेर त्यसको जीतका लागि मरिहत्ते गरेका हुन सक्छ ।

थुप्रै देशका समर्थनमा नेपाली दर्शकहरु बाँडिए पनि सँधै जस्तै प्रतिस्पर्धा अर्जेण्टिना र ब्राजिलमै भएको देखियो । पेलेका बारे किम्बदन्तीका रुपमा चलिआएका मिथक अनि अधिकांश हामीले विश्वकप खासमा हेर्न पाउँदा म्याराडोना र अर्जेण्टिनाको तिलस्मी प्रदर्शनले गाडेको गहिरो जरा हतपति हल्लिन नसक्ने रहेछ भन्ने कुरा देखियो । यी दुबै देशका समर्थकहरु अलि बढी नै आक्रामक भएर विश्वकप हेरेको देखियो । जर्सी पनि यिनै दुइ देशका बढी बिकेको हुनुपर्छ । 

विश्व कपबाट जुन रोमाञ्च र अनिश्चितताको अपेक्षा हामीले गरेका हुन्छौं, त्यसमा पनि यसले हामीलाई निराश बनाएन । साविक विजेता स्पेन, महाशक्ति मानिने बेलायत र इटली जस्ता टीमहरु पहिलो चरणमै च्यापू फुस्कने गरी पछारिए । यूरोप र दक्षिण अमेरिकाका धुरन्धर देशहरुले पनि हल्ला अनुसारको प्रदर्शन गर्न सकेनन् भने कम आँकिएका कोस्टारिका, कोलम्विया, घाना जस्ता देशहरुले बरु यी भकुण्डोका भीमकाय मानिएका डायनोसरहरुलाई पुच्छरमा समाएर फन्फनी घुमाए । भकुण्डोलाई अहिलेसम्म पनि सकर भन्ने र निकै पछि यसका लागेको अमेरिका र गन्ती मै नआउने अष्ट्रेलिया जस्ता मुलुकहरुले अब अर्को पटकमा नयाँ शक्तिहरु उदाउन लागेको संकेत दिएर घर फर्के । 

यस पटक मन जित्ने टोली र खेल जित्ने टोलीहरु फरकफरक हुन पुगे । 

तर प्रारम्भिक चरणमा जे जस्तो नतीजाहरु आए पनि अन्तिम चारमा पुग्ने बेला उही पुराना महाशक्तिहरु नै बैतरिणी पार गर्न सफल भएका छन् । सजिलोसंग नभए पनि आच्छुआच्छु गर्दै जर्मनी, ब्राजिल, अर्जेण्टिना र नेदरल्याण्डस नै माथि पुगे । अनुभव र परिपक्वताको कति भूमिका हुन्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ । 

यो लेख्ने बेलासम्ममा अविश्वसनीय र अकल्पनीय रुपमा उपाधिको दावेदार ब्राजिल जर्मनीसंग अत्यन्त लज्जास्पद हार व्यहोर्न पुगिसकेको छ । व्यापक विरोधका बीच आयोजना भएको यो विश्वकपको उपादेयता आफ्ना गरीव जनताहरुलाई प्रमाणित गर्न त्यहाँको सरकारका लागि सम्भव हुनेछैन । ब्राजिलको भकुण्डोमा लागेको यो गहिरो घाउको खत पुरिन निकै गाह्रो हुनेछ, असम्भव नभए पनि । भकुण्डोको झण्डैझण्डै पर्यायवाची भनेर बहुप्रचारित ब्राजिलका लागि यो निकै कठीन चुनौती हो ।

अब हाम्रो भावनाको कुरा गरौं । यसपटकको आक्रामक समर्थनको शैली हेर्दा एउटा कुरा के भन्नुपर्छ भने, हामी आफूले समर्थन गरेकोे टोलीको विजयमा भन्दा आफूले विरोध गरेको टोलीको हारमा बढी रमायौं । आफ्नो समूहको जीतभन्दा अरुको समूहको हारको बढी कामना ग¥यौं । खेल भावनाका लागि निश्चय नै पनि यो संकेत राम्रो मान्न सकिन्न । तसर्थ तेश्रो स्थानका लागि हुने आज रातिको खेल र उपाधिका लागि भोलि हुने खेलका लागि एउटै मात्र चाहना राखौं, असल खेल खेल्नेले विश्वकप उचालोस्, खोलाडिहरु अरुको खुट्टा वा ढाड भन्दा भकुण्डोमा लात हानेर खेलून् । 

बाँकी कुनै देशका टोलीले न हाम्रा लागि हीरामोती फुटाउने हुन्, न तिनले हाम्रा बारीको कर्कला फाँडेका छन् ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...