Sunday, August 10, 2014

मन, मोदी र मगज

मोदी आए, मोदीले मन जिते, मोदी गए

सिनेमाको पटकथा लेखनको एउटा सर्वमान्य सिद्धान्त छ, दृश्य चल्न शुरु हुने बेलाका पहिलो केही समय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । दर्शकको ध्यान झ्याम्मै तपाईले तान्नसक्नुभएन भने सिनेमा डुब्ने सम्भावना अत्यन्त धेरै हुन्छ । अनि उत्कर्षका केही अन्तिम मिनेट पनि त्यस्तै हुन्छन् । बीचका भागहरुमा अलिअलि दायाँबायाँ भए पनि खासै फरक पर्दैन । यो कुरा सिनेमा मात्र नभै अरु कथा सुनाउने माध्यमहरुका लागि पनि त्यति नै आवश्यक हुन्छ । अनि अलि गहिरिएर सोच्ने हो भने जीवनका अरु धेरै पाटाहरुमा पनि यो त्यति नै लागू हुन्छ । अभिव्यक्त गर्ने माध्यमहरु जुनसुकै किन नहुन्, आफूलाई सही ढंगले प्रस्तुत गर्न सकिएन भने मनका भावना वा मगजले प्रवाह गरेका कुराहरु त्यही रुपमा अरुलाई तपाईं बुझाउन सक्नुहुन्न ।
 
वाकपटुता भन्ने कुरा यति महत्वपूर्ण हुन्छ, सुन्ने मानिसहरुमा जसको तत्क्षण प्रभाव पर्छ । सकारात्मक वा नकारात्मक भन्ने कुरा तपाईं आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्नेमा भर पर्छ । त्यसैले भावनाका अलि सम्वाहकहरु जहिले जहाँ जुन क्षेत्रमा पनि सफल भएका छन् । चाहे कुरुक्षेत्रमा आफन्त, गुरु र निर्दोषहरुको संहार गर्न अर्जुनलाई आश्वस्त बनाउने कृष्णजी हुन्, नित्से, एम स्कट पेप, कृष्णमूर्ति र ओशो, यी सबै कुशल वक्ताहरु हुन् । 

हामी सबै आफूले सुन्न चाहेको कुरा अरुले बोलिदेओस् भन्ने चाहन्छौं, यो मानवीय गुण अथवा दुर्गुण हो । साथीसंगी, दाजुभाइ र अभिभावक सन्तानका बीचमा त जब चाहना विपरित कुराहरुले सम्बन्धमा फाटो ल्याउन वा प्रगाढ बनाउन भूमिका खेल्छन् भने अरुको त के कुरा गर्नु । त्यसैैले कहाँ कहिले र के बोल्ने भन्ने कुरा राम्ररी बुझेकाहरुले नै मानिसहरुलाई प्रभावित पार्न सक्छन् । मन जित्न सक्छन् । थोरै मानिसहरुको विरुद्ध युद्ध जित्न धेरै मानिसहरुको सहयोग चाहिन्छ, महीनौं लाग्न सक्छ र विभिन्न चरणहरुमा त्यो प्राप्त हुन्छ । तर, धेरै मानिसहरुको मन एकैपटक एक्लो मानिसले जित्न सक्छ र त्यो पनि तुरुन्तै । आफू प्रति नकारात्मक वा शंकास्पद आँखा भएकाहरुलाई सकारात्मक बनाउन एउटा कुशल वक्तालाई पटक्कै समय लाग्दैन । 

यही कुराको एउटा ज्ज्वलन्त उदाहरण हामीले केही दिन अघि देख्यौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको १७ वर्षे खडेरी अन्त्य गर्दै आएका नरेन्द्र मोदीले सम्विधान सभालाई सम्वोधन गर्ने क्रममा हिन्दी बोल्छन् कि अंग्रजी भनेर हामी अनुमान र विवाद गरिरहेको बेला उनले नेपाली बोलेर आफ्नो वक्तव्य शुरु गरे । टेलिभिजनमा हेरिरहेका आम मानिसहरु अचानक भावुक भए । हाम्रा सभासद र वरिष्ठ नेताहरु त हाँसिरहँदा पनि ठेट शव्दमा भन्ने हो भने ट्वाँ परेका देखिन्थे । हामीलाई न त सनक्क सन्किनका लागि कुनै कारण चाहिन्छ, न कानदेखि कानसम्म तन्काएर बुद्धिबंगारोसम्म देखाएर प्रसन्न हुन । विवेक भन्ने कुरासंग यस्तो दुबै अवस्थामा हाम्रो कुनै गोरु बेचेको पनि सम्बन्ध हुँदैन । सबैभन्दा पहिले हामीले सुधार गर्नुपर्ने भनेको हाम्रो यही राष्ट्रिय आचरण हो । 

संचारको सिद्धान्तले भन्छ, फरक मानिससंग प्रस्तुत हुने फरक तरिका हुन्छ । एउटा बालकसंग कुरा गर्दा जबसम्म तपाईँ उभिएर कुरा गरुन्जेल उसले तपाईँलाई सहज रुपमा लिंदैन । आफूलाई उसको बराबर देखाउन बालकसंग टुक्रुक्क बसेर कुरा गर्नुभयो भने उसको र तपाईँको बीचको असहजता गायब हुन्छ । त्यसले तपाईको उँचाइ घटाउँदैन, बरु बढाउँछ । भारतका नेताहरुको हकमा कुरा गर्दा, यस अघिकाहरु उभिएर बोल्थे, हामी मुण्टो उचालेर सुन्थ्यौं । मोदी टुक्रुक्क बसिदिए, हामी समान भयौं । उनको सम्बोधनमा हामी नभै तिमीहरुलाई केही हुँदैन भन्ने अदृश्य आशयको नाम निशान थिएन, दुबैलाई दुबै काम लाग्छौं भन्ने आशय थियो । हाम्रा कानमा मोदीको वक्तव्य मह खन्याए जस्तो हुनुको यो ठूलो कारण थियो । सकारात्मक र नकारात्मक दुबै ढंगले प्रयोग हुने ठूल्दाइको उपमा प्राप्त हाम्रो सबैभन्दा नजीकको छिमेकीले यसपटक राम्रो गृहकार्य गरेको थियो । मूलतः सतही रुपमा नै किन नहोस्, उनीहरुप्रति हाम्रो चित्त दुखाइ र केही हदसम्म आक्रोशका कारणहरु केके हुन् भन्ने बुझेर सबैभन्दा पहिले तिनै कुरालाई सम्वोधन हुनु र ती विषयमा हामीले सुन्न चाहने कुरा नै बोलिदिनु भनेको लरतरो तयारीले वा आकस्मिक रुपमा भएको कुरा होइन । त्यो बोल्ने बेला सोचेको हैन, सोचेर बोलेको कुरा हो । 

जे भए पनि भारतीय प्रधानमन्त्रीले औपचारिक रुपमा गरेको ती कुराहरुलाई उनीहरुको भाषामा प्रयोग हुने एउटा शव्द सापटी लिंदा फेंकना भनेर भन्न चाहिँ मिल्दैन । उनले आशय नभएका र गम्भीर नभएको कुरा गरेका हैनन् । दुुइ देशको पुरातन सम्बन्धलाई नयाँ र द्विपक्षीय हितका लागि नयाँ आयाम दिन उनी सकारात्मक देखिएका छन् । यो आधिकारिक संकेतलाई थपडी बजाएर सुन्ने मात्र नभएर त्यसको फाइदा लिनका लागि आफूले गर्ने तयारी पनि हामीले गर्नुपर्छ । किनभने यस अघि र अहिलेको कुरामा एउटा महत्वपूर्ण भिन्नता छ । ३० वर्षको लामो अन्तराल पछि भारतमा पूर्ण बहुमतको सरकार बनेको हुनाले मोदीको पूर्ण कार्यकाल र स्थायित्वमा कुनै शंका छैन । तर त्यसो भन्दैमा बिर्सन नहुने कुरा के हो भने आफ्नो देश र जनताप्रति उनको पहिलो जिम्मेवारी हुन्छ । लोग्ने स्वास्नी र बाबु छोराका सम्बन्धहरु त एकआर्काको चाहनामा आधारित हुन्छन् भने मोदीको सकारात्मक वक्तव्यले मात्र चमत्कार हुन्छ, जादूको छडी घुम्छ र सबै आफै ठीक हुन्छ भन्ने अति उत्साहवादी सोच चाहिँ घातक हुनसक्छ । असम्भव कल्पना नै गरेन भने भोलि त्यो पूरा नहुँदा आक्रोश वा दुख हुँदैन ।

मोदीको वक्तव्यको कूटनीतिक व्याख्या गर्ने यस स्तम्भकारको काम होइन, तर सर्सरी बुझ्दा देखिएका सुधारका संकेतहरुबाट लाभ लिनका लागि निर्देशित हुन भने हाम्रा नेता तथा राजनीतिज्ञहरुले विलम्व गर्नु हुँदैन । मोदीले मन जिते, त्यसमा कुनै शंका छैन । तर देश भावनाले मात्र चल्दैन । मनको काम सकियो, अब मगजलाई काम गर्न दिनु पर्छ । 

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...