Translate

Saturday, August 16, 2014

पिकनिकको पाँच रुपैंया

२०७० श्रावण ३१ गते कान्तिपुरको कोसेलीमा प्रकाशित संस्मरण


“मलाई तिमीसंग, एउटा कुरा गर्नु थियो ।”

मुसुक्क हाँस्दै जुन किसिमको स्वरमा मेरी छोरी मसंग कुरा गर्न आई, त्यसबाटै मलाई थाहा भैसकेको तियो, उसलाई केही चाहिएको छ । संसारका हरेक बाबुआमाले आफ्ना सन्तानको त्यो भाव पहिले नै बुझ्दछन् ।

“तिम्रो फेसबुक र ट्विटरमा एउटा पेजको लिंक शेयर गरिदेऊ न प्लीज ।” 

मलाई सामाजिक संजालमा आउने त्यस्ता लिंकहरु देखेर वाक्क लाग्छ । हेक्का गर्नु भएको छ भने बेलाबेला ताइँ न तुइँका लिंक र खेलहरु मन पराइदिनका लागि लागि अनुरोधहरु आउँछन् । तपाईँलाई रमाइलो लाग्छ भने खेल्नुस् न भै हाल्यो नि । भएभरका सबैलाई किन तनाव दिनू ? नामै नसुनिएका मानिसहरुले आफूलाई सेलेब्रिटी भन्दै मन पराउनका लागि पनि हत्तु बनाउँछन् । आफ्ना लागि गज्जवका लागेका फोटाहरु अरुको टाइमलाइनमा टाँसिदिन्छन् । चाहिने नचाहिने उत्पादन, थरिथरिका आन्दोलन, बिभिन्न प्रकारका भगवान, आवश्यकता, चन्दा, परोपकार, समाजसुधार र अजीव प्रकारका प्रतिस्पर्धामा जित्नका लागि भोट मागेर पनि वाक्कै लगाउँछन् । अझ मानवीय समवेदनाका नाममा वीभत्स फोटाहरु हालिदिएर तपाईँको मूड, दिन वा रातै खराब बनाइदिनेहरुको पनि कहाँ कमी छ र ? म आफू त्यस्ता कामहरुबाट सकेसम्म बच्ने प्रयास गर्छु । 
त्यसैले मैले छोरीको बाँकी कुरै नसुनी उसको प्रस्तावलाई नकारिदिएँ । 

उसले अमीलो मुख लगाएर भनी,

“पहिले के हो भन्ने कुरा त बुझ ।”

उसले केही साथीसंग मिलेर फेसबुकमा एउटा सानो व्यापार शुरु गरेकी रहिछ । बिभिन्न होलसेलरहरुसंगको सम्पर्कमा रहेर केही उत्पादनहरुलाई सीधै खरीदकर्ताकहाँ पु¥याउने । बीचका अरु सबै खर्च बच्ने हुँदा किन्ने मानिसले बजारमा भन्दा झण्डै आधा सस्तोमा घरैमा सामान पाउने । उनीहरुले टेडी वियर, चश्मा र मोबाइल फोनका कभरहरुबाट काम शुरु गरिसकेका रहेछन् । त्यसका लागि केटीएम बजार भनेर फेसबुकमा पेज बनाएका रहेछन् । छोरी मलाई फकाउने पारामा लोभ्याउँदै थिई,

“यसबाट अरु केही नभए पनि मैले आफ्नो पकेट खर्च मात्र निकाल्न सकें भने तिमीलाई नै त फाइदा हो नि ।”

समय र प्रविधि भन्ने कुरा कति छिटो परिवर्तन हुन्छन् र तिनले एउटा पुस्ता र अर्को पुस्ताको जीवनशैली र सोचमा नै कत्रो फरक ल्याउँछन्  । म अचानक झण्डै तीन दशक अघिको कुरा सम्झिन पुगें ।

मेरा बाले संरक्षक भन्ने साप्ताहिक पत्रिका निकाल्थे । त्रिपुरेश्वरमा घरैमा आफ्नो छापाखाना थियो । म शायद सात कक्षामा पढ्ने बेलाको कुरो हुनुपर्छ, एक पटक स्कूलका साथीहरु गोदावरीमा पिकनिक जाने भनेर पाँचपाँच रुप्याँ उठाइरहेका थिए । मलाई पनि खूब रहर लाग्यो । तर मेरा त्यस्ता रहरहरु जहिले पनि तुषारोले खान्थ्यो । हाम्रो घरमा तोकिएका खानापीना र लत्ता कपडा बाहेक कुनै पनि किसिमका अरु कामलाई ‘फुर्माइश’ भनिन्थ्यो । त्यसैले त्यो बेला हाम्रा लागि पकेट खर्च भन्ने कुरा त नेता र राजनीतज्ञहरुका लागि इमानदारी भने जत्तिकै दुर्लभ र अपरिचित कुरा थियो । 

बा बेलाबेला एउटा प्रख्यात हिन्दी भजनको प्यारोडी बनाएर गाइरहन्थे,
“खनाल कुल रीत सदा चली आये, चमडी जाये पर दमडी न जाये ।”

त्यसैले मलाई थाहा थियो, बरु उनले एउटा मिर्गौला दिन्थे होला पाँच रुप्याँ भनेको कल्पना बाहिरको कुरो थियो । तै पनि क्या हो क्या हो कहिलेकहीं चमत्कार हुन्छ । त्यस्तो बेला आकाशबाट तारा त झर्छ भने बाको खल्तीबाट पाँच रुप्याँ पनि झरि पो हाल्छ कि त भनेर मैले उनका सामु डराइडराइ कुरा गरें । मैले जे सोचेको थिएँ, त्यही नै भयो । उनले ठाडै अस्वीकार गरे । त्यस दिन कहाँबाट हो, अलिकति आँट आएर मैले जिद्दी गरें । 
उनले मलाई हाँक दिए,

“पिकनिक सिकनिक जस्ता फजूल खर्चका लागि म संग पैसा छैन । जाने भए आफै पैसा कमाएर जा ।” 
एक दिन अघि मात्रै उनले पप्लू खेल्न आउने साथीहरुसंग त्रिभुवनको सालिकबाट राम भण्डार ठ्याक्कै कति मिटर हुन्छ भनेर सय रुप्याँको बाजी हारेका थिए । मैले मनमनै गमें, त्यो चाहिँ फजूलखर्ची नहुने, मलाई पिकनिक जान पाँच रुप्याँ चाहिँ हुने ? तर कहाँ आँट हुन्थ्यो र बाउसंग त्यस्ता प्रश्नहरु गर्ने ?

मैले कपाल कन्याउँदै भनें, 
“ठूलो भएपछि त कमाइहाल्छु नि । अहिले यस्तो फुच्चेले कसरी पैसा कमाउने ?” 

मेरो अचूक तर्कलाई धराशायी पार्दै उनले मलाई एउटा जुक्ति सिकाए । हरेक बुधवार संरक्षक छापिएपछि टोलका केही केटाहरु हकरको रुपमा पत्रिका बोकेर बेच्न जान्थे । एक प्रतिको ७५ पैसा पर्ने त्यो पत्रिका बेचे वापत उनीहरुले २५ पैसा कमिसन पाउँथे । 

बाले मलाई भने, 
“त्यही केटाहरुले जस्तै पत्रिका बेचेर हेर न । कमाइ पो हाल्छस् कि पिकनिक जाने पैसा?”

मैले जिल्ल परेर उनलाई हेरें, 
“म सम्पादकको छोरा भएर बाटोमा पत्रिका बेच्दा हजुरको इज्जत जाँदैन ?”

उनले गम्भीर भएर भने, 
“इज्जत काम नगरे जान्छ । काम कुनै पनि ठूलो र सानो हुँदैन । विदेशमा जतिसुकै हुनेखानेका छोराछोरी पनि फुर्सदमा पत्रिका बेच्ने, रेष्टूराँमा बेयरा बन्ने काम गरेर आफ्नो खर्च उठाउँछन् । १६ वर्षपछि त बाबुआमाको घर छोडेर आफ्नै खुट्टामा उभिन्छन् ।”

मेरो त्यतिबेलाको अपरिपक्व मनले यो कुरा पचाउन सकेको थिएन । तर ईख र पिकनिकको लोभले त्यो हप्ता पत्रिका छापिनासाथ केही प्रति बोकेर म सुन्धारा तिर हान्निएँ । भर्खर मेशिनबाट निस्केका नसुकेका ताजा पत्रिकाहरुबाट छपाइको मसीको गन्ध आइरहेको थियो । म एक मन सनेच्दै थिएँ, ७५ पैसाको पत्रिका कहिले बेचेर ५ रुप्याँ बनाउनू ?

त्रिपुरेश्वरको उकालो नाघेपछि सुन्धारा तिर नगएर सहीदगेट तिर गएर बस रोक्ने ठाउँमा म पत्रिका फिँजाएर बसें । मैले हकर केटाहरुले पत्रिका बेच्दा कराएको देखेको थिएँ । एकै छिन मनलाई दह्रो बनाएपछि म पनि त्यसै गरी कराउन थालें,

“लौ आयो आयो आयो आयो, आजको संरक्षक ।” 

अनि बीचबीचमा शीर्ष समाचारको हेडलाइन पनि म भट्याउन थालें,

“रंगशालामा कुस्तीको विश्व च्याम्पियन दाह्रा सिंह र रन्धवाको भीडन्त हुने । साथमा रेड स्कर्पियन, ब्ल्याक प्यान्थर र थाम येन चाङ ।”

त्यतिबेला पहिलो पटक नेपालमा कुश्ती भनेर हुन लागेको थियो । त्यो कुरा त्यतिबेलाको राष्ट्रिय समाचार झैं बनेको थियो । त्रिपुरेश्वरमा नै डेरा गरेर बस्ने एकजना भारतीय मूलका मानिसले त्यो कार्यक्रम आयोजना गरेका थिए । मान्छेहरुको त्यत्रो भीड मैले रंगशालामा त्यस अघि देखेको सम्झना छैन । हाम्रो घरको कौसीबाट रंगशालाको चौर र प्यारापिट देखिन्थ्यो । हाम्रो कौसी कुश्ती हुनेबला चिनेका नचिनेका सारा मान्छेले भरिएको थियो । त्यतिबेलाको हिसाबले ५० र १०० रुप्याँको टिकट भनेको एकदमै महँगो थियो, तै पनि प्यारापिटमा भीड भएर मान्छेका टाउकाटाउकाबाट अरु मान्छे चिप्लेटी खेलेर तल झरेको पनि मैले त्यही बेला देखेको हो । 

दाह्रासिहं, रन्धवा लगायतका पहलवानहरुका बडेबडेमानको कट आउटहरु त्रिपुरेश्वर र थापाथलीमा ठड्याइएको थियो । त्यस्तो विज्ञापनको शैली नेपालमा सम्भवतः त्यो नै पहिलो थियो होला । भाइकिंग द ब्रूट भन्ने नकावधारी पहलवान हेर्दै डरलाग्दो परशुरामको जस्तो बञ्चरो लिएर उभिएको थियो । काठमाण्डौका मानिसहरुले त्यसरी मरिहत्ते गरेर हेरेको कुश्ती सकिएपछि त्यो आयोजक व्यापारी गायब भयो । पछि हल्ला भयो, ती सबै नक्कली पहलवानहरु रहेछन् । पहिले कट्टु मात्र लगाएर लड्न आउने रन्धवा नै पछि नकाब लगाएर रेड स्कर्पियन वा ब्ल्याक प्यान्थर बनेर आउँथ्यो रे ।

मैले तिनकै नाम भट्याइभट्याइ पत्रिका बेचें । स्कूलका कोही साथीहरुले नदेखून् भनेर चाहिँ म सतर्क आँखा दायाँबायाँ घुमाउँथे । जे भए पनि बाटोमा पत्रिका बेचेको उनीहरुले देखे भने त मेरो इज्जत जान्छ भन्ने भ्रम थियो त्यतिबेला मलाई । निकै बेर लगाएर मैले २० वटा पत्रिका बेचें । मेरो खल्तीमा पूरै पन्ध्र रुपैयाँ थियो । आफैले पैसा कमाउँदा मलाई एक किसिमको अनौठो सन्तोक पनि प्राप्त भएको थियो । अनि पैसा देखेपछि नियत पनि खराब भयो । त्यसैले मैले कमिशन मात्र नभै त्योे पूरै पन्ध्र रुप्याँ झ्वाम् पारिदिएँ । त्यति दुख गरेर बेचेको पत्रिकाको पैसा बालाई दिन मनले मान्दै मानेन । पछि मात्र मलाई थाहा भयो, म मात्र हैन, अधिकांश अरु ठूला विक्रेताहरुले पनि त्यसरी नै आएको पैसा खाइदिंदा रहेछन् । 

आजसम्म पनि पत्रपत्रिका र पुस्तक प्रकाशकहरुले गुनासो गरेको सुन्छु,
“नबिक्ने हैन नि । तर बेच्न भन्दा पनि पैसा उठाउन गाह्रो छ ।” 

त्यस घटना पछि पनि पटकपटक सानोतिनो खर्च उठाउनका लागि मैले हकरको रुपमा आफ्नै बाउको पत्रिका बेचेको थिएँ ।

अहिले मेरी छोरीको पकेट मनी कमाउने योजनाले मलाई रमाइलो लाग्यो । हामीले यस्ता कुरा सोच्न पनि कहाँ सक्थ्यौं र ? हुन त उनीहरुको योजना सफल होला नहोला आफ्नै ठाउँमा छ । उनीहरुको त्यो रुचि कति दिनको हो भन्ने पनि अर्कै कुरा हो । तर कुनै पनि कुराको सुरुवात त सानो प्रयासबाटै न हुने हो ।अनि एक पटकका लागि जे सुकै होस् भनेर मैले धमाधम उसको केटीएम् बजारको लिंक शेयर गरिदिएँ । 

छोरी दंग परी । 

twitter: @brazeshk

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment