Translate

Sunday, September 28, 2014

ज्ञान र जानकारी

बायाँ फन्को १४१ 

सबै भन्दा बढी विद्वानहरु कहाँ भेटिन्छन् भनेर कसैले प्रश्न ग¥यो भने तपाइँ कहाँ भन्नुहुन्छ ? बौद्धिक जमघट, नयाँ सडकको पिपलबोट, साहित्यिक मेला, पुस्तकको विमोचन, प्राज्ञ सभा वा अन्य कुनै त्यस्तै ठाउँहरुको नाम तपाइँको दिमागमा झिलिक्क चम्किउ होला । अवश्य पनि ती ठाउँहरुमा तपाईहामीले विद्वानहरु भेट्छौं । तर, त्यो भन्दा बढी विद्वानहरु भेटिने अरु ठाउँहरु छन् । सार्वजनिक यातायात, बाटो, चियापसल अरु यस्ता ठाउँहरु हुन् जहाँ हरेक विषयका जानकारहरु भेटिन्छन् । साधारयातया त्यस्ता ठाउँहरुमा एक वा दुइ जना वक्ताहरु हुन्छन् र बाँकी श्रोताहरु । ती श्रोताहरु चमत्कृत भएर ती विद्वान वक्ताहरुका कुराहरु सुनिरहेका हुन्छन् । केही दिन अघि घर छेउको चिया पसलमा त्यस्तै एक ज्ञानी मानिसका कुराहरु सुन्न पाइयो । 

उनी मोदीको सरकार, भारतीय कूटनीति र नेपालको जलश्रोतका विषयमा आफ्नो असीमित ज्ञानको भण्डार खोलिरहेका थिए । अरु चारपाँच जना मन्त्रमुग्ध भएर टाउको हल्लाएर सुनिरहेका थिए । ती विद्वान भन्दै थिए, “एक पटक चीनसंग भारतले पानीको कुरामा जोरी खोज्यो । चीनले आफ्नो देशबाट बगेर भारत तिर जाने गंगा नदीको मुहानै मोडिदियो र आफ्नै देश तिर फर्कायो । आफ्ना मरुभूमिहरुमा त्यो पानी मोडेर हराभरा बनायो । उता भारतमा भने पानीको हाहाकार भएर हराभरा ठाउँहरु पनि मरुभूमिमा परिणत हुन थाले । अन्त्यमा हार खाएर भारतले चीनसंग माफी मागेपछि बल्ल फेरि चीनले गंगाजी उतातिर फर्काइदियो । हाम्रा नेताहरुले पनि बुद्धि जाने गर्नु पर्ने त्यही नै हो बुझ्नुभो ?”

ती विद्वानका श्रोताहरुले होमा हो मिलाए । स्तम्भकारको मगज रन्थनियो । त्यहाँ बसेर एक कप चिया खाउन्जेलमा ती महोदयले आफ्ना श्रोताहरुलाई गाजाको समस्याका बारे, चरीलाई कसले र किन अनि कसरी षडयन्त्र गरेर मा¥यो भन्ने बारे, अल कायदा आगामी दिनहरुमा कुन रुपमा उदाउँछ भन्ने बारे, नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात उनको घरमा श्वेता खड्काको सम्बन्ध र अवस्था बारे, सोभियत संघ टुक्रिनाको खास र अहिलेसम्म विश्वले थाहा नपाएका कारणहरु बारे अनि स्कटल्याण्डको मतदानको परिणाम के हुन्छ भन्ने बारेमा पनि ताजाताजा जानकारी प्रदान गरे ।

यी र यी भन्दा चर्का ज्ञाताहरु पनि हाम्रो समाजमा प्रशस्तै पाइन्छन् । हामी सम्भवतः संसारमै थोरै पाइनेहरु मध्येका प्रजाति हौं जसलाई सबै कुरा थाहा हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको त हामी सबै भन्दा ठूला विज्ञहरु हौं । हामीसंग हरेक कुराका समाधानहरु हुन्छन् । हामी ओबामाका गल्तीहरु र उनले गर्नुपर्ने कुराहरु यति बिश्वासका साथ देखाइदिन सक्छौं, भनेर साध्य नै छैन । भारतमा जनता पार्टीको जीत र काँग्रेसको हारका बारे उनीहरुलाई नै थाहा नभएका कुराहरु हामीलाई थाहा छ । कश्मीरका समस्या हुन् वा पाकिस्तानका आन्तरिक समस्या हामीलाई सोधेको भए ती उहिल्यै समाधान भैसक्थे । मानिसका व्यक्तिगत समस्या र घरका कुराहरु देखि लिएर अन्तरिक्षमा जीवन छ कि छैन, छ भने कसरी खोज्ने भन्नेसम्ममा हामीसंग भएका ज्ञानबाट न हामीले फाइदा लिन सक्यौं, न विश्वले । कत्रो दुर्भाग्य । 

हामी यस्ता विद्वान हौं, कुनै पनि विषयमा कसैलाई पनि सल्लाह दिन सक्छौं हामी । रोगव्याधको कुरामा त झनै हाम्रो अतुलनीय चिकित्सकीय ज्ञान छ । होमियोप्याथी, एलोप्याथी, योग, प्राकृतिक चिकित्सा, झारफूक, एक्यूपंचर लगायतका हरेक पद्धतिका बारे हामी सल्लाह दिन सक्छौं । सानो तिनो रोगको लागि त औषधि नै लेखिदिनसक्छौं हामी । संसारका कुनै पनि अरु मुलुकका मानिसहरुभन्दा हामी बढी ज्ञाता छौं । हामी हरेकलाई सिनेमा, साहित्य, चित्रकला, मूर्तिकला,  वा कुनै पनि सिर्जनात्मक कुराका बारे समीक्षा गर्न आउँछ । हरेक विषयमा जानकारी राख्ने मानिस अरु मुलुकमा विरलै मात्र भेटिन्छन् । 

अहिले त झन प्रविधिले सारा कुराको जानकारी औंलाको टुप्पोमा सीमित बनाइदिएको छ । यस्तो बेलामा पनि हामी विद्वान नभए कहिले हुने त ? तसर्थ हामीलाई हरेक कुराको जानकारी छ । विश्वको इतिहास हामीलाई कण्ठ छ । साम्यवादको विकास र पतनका बारे हामीलाई हरेक मिति कण्ठ छ । हिटलर कहाँ चुके, माओ कहाँ चिप्लिए, विश्वयुद्धहरु किन भए, चन्द्रमामा मान्छे पुगेको हो कि हैन, कन्स्पिरेसि थ्योरीहरु के के हुन्, ट्विनटावर खासमा भत्काउने को हो र त्यो असम्भव कार्य कसरी सम्भव बनाइयो, राजा वीरेन्द्रको वंश वास्तवमा कसले र कसरी नाश गरेको हो भनेर हामी मध्ये कसैलाई पनि सोध्नुस् त, कसैले यो विषयमा मलाई जानकारी छैन भनेको सुन्न पाउनुहुन्न तपाइँ ।

हो हामीलाई जानकारी पाउन आजकल साह्रै सजिलो भएको छ । त्यसैले हाम्रा रुचिहरु पनि त्यसरी नै बिस्तार भएर जानु अस्वाभाविक हैन । तर समस्या के भने तपाई एउटा विषयको बारे पढ्दापढ्दै तपाईको साथीले अर्को विषय भ्याइसक्छ । कतै हूलमूलमा उसले त्यो विषयमा बोलेको सुनेर तपाईलाई आफू पछि परेको भान हुन्छ । सतही जानकारी, एक दुइटा उदाहरण र एक दुइ वटा मिति घोकेर तपाइँ अर्को दुइटा विषयमा उसलाई उछिन्न कम्मर कस्नुहुन्छ । हामी जति धेरै जानकारी बटुल्छौं, त्यति धेरै ज्ञानबाट टाढा हुँदै जान्छौं । अध्ययन नगरौं भन्ने आशय हैन । के र कति भन्ने मात्र कुरा हो । 

किनभने जानकारी बटुल्ने तीब्रताले हामीलाई जानकारी र ज्ञान फरक कुरो हो भन्ने कुरा बुझ्ने फुर्सद पनि दिएको छैन ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment