Translate

Sunday, October 19, 2014

ओखति बिनाको अन्धविश्वास

बायाँ फन्को १४२

मानिसले आफ्ना समस्याहरु आफ्नो विकासक्रमसंगै चिन्दै गयो । अनि ती समस्याका समाधानहरु पनि खोज्दै गयो । यस क्रममा मानिसले भूल पनि गर्दै गयो, भूलबाट सिक्दै पनि गयो । गलत तरिकाहरुबाट आफ्ना समस्याहरुका समाधान गर्न खोज्दै सही तरिकासम्म पनि पुग्दै गयो । भूलहरु सुधार गर्दै गयो । तर मानिसका समस्याहरु हिजोे पनि पूर्ण रुपले सकिएका थिएनन्, आज पनि सकिएका छैनन् र सम्भवत भोलि पनि सकिने छैनन् । किनभने समाधानसंगै समस्याको अस्तित्व पनि यथावत कायमै रहिरहन्छ । हामी एउटा समस्याको सामाधान फेला पार्छौं तर अर्को अपरिचित समस्याले हामीलाई गाँजिसकेको हुन्छ । विपरित दुई कुराको सन्तुलन नै यो श्रृष्टिको सबैभन्दा गूढ रहस्य हो भन्ने कुरामा सबै कतै नकतै गएर हिमत हुन करै लाग्छ । राम्रो र नराम्रो, अँध्यारो र उज्यालो, नारी र पुरुष अनि जाडो र गर्मी । संसारमा कुनै पनि कुरा आफैमा पूर्ण छैन, आफ्नो विपरित पक्ष बिना । 
मानिसले रोगव्याधका लागि ओखतिहरु पत्ता लगाउँदै गयो, संगसंगै नयाँ रोगहरु पनि । यो क्रम अनवरत छ । विपरितताको यो खेल संसार नभएमात्र रोकिन्छ । अथवा भनौं यो क्रम रोकियो भने मात्र संसार रहँदैन । तर हामी कहिलेकहीं आफू वा आफ्ना पूर्वजहरुले गरेको गल्ती, त्यसबाट सिकेको पाठ र सुधारेका कुराहरुलाई बिर्सेर फेरि पुराना तरिकाहरुमा जान्छौं । विशेषत, अन्धविश्वास भन्ने एउटा यस्तो कुरा हो, जसको जालबाट मानिसलाई निस्कन साह्रै कठीन हुन्छ । अरुका कुराहरुमा जतिसकै अग्रगामी बनेर अघि आउने मानिस पनि जब आफूलाई केही समस्या पर्छ, तार्किक तरिकाहरुबाट त्यसको समाधान निस्कँदैन, अन्धविश्वासको गुफा भित्र समाधान खोज्नका लागि छिर्छ । यस्तो बेलामा उसका तर्कहरु धेरै प्रकारका हुन्छन् । कहिले ऊ अब काँकी यही थियो, त्यो मात्र किन छोड्नु भनेर गरेको भन्छ, कहिले मलाई यस्ता कुरामा विश्वास छैन तर अरुका लागि औपचारिकता पूरा गरेका हूँ भन्छ । अनि कहिले क्या हो क्या हो संसारमा हामीले नबुझेका कुराहरु धेरै छन्, केही भै पो हाल्छ कि भनेर तर्क गर्छ । कुरो जेसुकै भए पनि यसले के बताउँछ भने हामी सबैमा कहीं न कहीं, कतै न कतै चमत्कारको आश हुन्छ । 
केही समय अघि यस स्तम्भकारको एक परिचितले आफ्नो बहूमुल्य कुरा गुमाए । हुनसक्ने र गर्न सक्ने जति सबै प्रकारबाट खोजी गर्दा पनि त्यो कुरा भेटिएन । हरेक तर्क र प्रमाणका आधारमा मन्थन गर्दा त्यो कुरा अब पाउन सकिने अवस्था छैन भन्ने कुरा छर्लङ्गै भयो । अनि शुरु भयो संसारको सबैभन्दा पुरानो र नतिजाबिहिन लडाइँ । मन र मगजको । मन र मगजको लडाइँ अचम्मको हुन्छ । यी दुइ कहिले एउटै कुरा गर्दैनन् । यस पालि पनि गरेनन् । मगजले त्यो गुमाएको कुराको आश मारे पनि मनले मान्दै मानेन । 
अनि हाम्रो समाज त अचम्मको छँदैछ । हाम्रा वरिपरिका हरेक मानिसले हामीलाई एउटा न एउटा त्यस्ता ‘जान्ने’ महात्मा, ज्योतिष, माता इत्यादिको बारेमा बताउने ल्याकत राख्दछन् । हरेकको आआफ्नै त्यस्ता मानिसहरु हुन्छन् । तिनको चमत्कार र तिनले गरिदिएका एक दुई सफल कामका उदाहरणहरु हुन्छन् । भलै तिनले एक दुई हजार कुरामा कुनै चमत्कार नगरेका हुन्, व्यथित भएको मानिसलाई आशावादी बनाउनका लागि ती एक दुई उदाहरणहरु पर्याप्त हुन्छन् । ती पनि साँच्चै हुन् वा हैनन् भन्ने कुरा जोख्ने मगजलाई कुनै अवसर नै नदिइ मनले मानिसलाई त्यता दौडाउँछ । त्यसपछि उनीहरु हात हेर्ने, चिना हेर्ने, नङमा कालो दलेर पत्ता लगाउने, माता चढ्ने, भविष्यवाणी गर्ने, त्रिकालदर्शी बाबा लगायतका अन्धविश्वासको पनि पछि लागे । पढेलेखेका, जानेबुझेका, संसार देखेका र सचेत भनाउँदा मानिसहरु त यस किसिमको मृगमरिचिकाको पछि भौंतारिन्छन् भने अनपढ, अल्पचेतना भएका मानिसहरुको त भनै के कुरा गर्नु र ?
ती आफन्तको साथमा लागेर त्यस्तै एक जना चमत्कारी मानिसकहाँ पुग्दा यस स्तम्भकारको मनमा केही प्रश्नहरु उब्जिए । त्यही एक पटक देख्दा त्यहाँ श्रद्धालुहरु रोगव्याधको उपचार गर्न, भविष्य थाहा पाउन, नयाँ पसलको व्यापार राम्रो बनाउन र बाहिर अरु युवतीसंग लागेको श्रीमानलाई छुटाउनका लागि आएका थिए । उदेक लाग्दो कुरो त के भने, ती चमत्कारी मानिस ढुक्कैसंग ती सबै फरक समस्याकोे समाधान गर्नका लागि कटिवद्ध भएर बसेको थिए । 
ढाड पोल्ने र पेट दुख्ने समस्याग्रस्त छोरालाई लिएर आएका एकजना मासिसंग कुरा गर्दा उनको त्यो पाँचौं पटक रहेछ । कसैले गरिदिएको बिगार ठीक पार्नका लागि त्यहाँ आएर पूजा लगाउने क्रममा उनले तीस पैैतीस हजार खर्च गरिसकेका रहेछन् । अब एउटा बोका छोड्ने पालो आएको रहेछ । साधारणतया अल्सर वा एसडिटीको लक्षण हुन सक्ने त्यो बालकलाई त्यहाँको नियम अनुसार भोको पेट ल्याइएको थियो । साँझको चार बज्ने बेलासम्म पालो नआएको त्यो बिचरो मडारिने र छटपटिने गरिरहेको थियो । चमत्कारकोे नाममा ओखति गर्ने भनेर मानिसको स्वास्थ्यसंग सीधै खेलवाड गर्न कतिसम्म जायज हो । यस्ता अन्धविश्वास गर्ने मानिस दोषी हो कि त्यसको फाइदा उठाउने मानिस ?
आहत र पीडित अवस्थामा हरसम्भव प्रयास गर्नुलाई अनुचित नै भन्न त सकिन्नं किनभने जसलाई परेको हुन्छ, पीडाको वेग उसले मात्र अनुभूति गरेको हुन्छ । परबाट हेर्नेलाई आगो रातो, सुन्दर र न्यानो लाग्छ । टाँसिनेलाई मात्र थाहा हुन्छ त्यसले कति पोल्छ भनेर । तर त्यसो भन्दैमा अन्धविश्वासको पछि लाग्नुलाई मूर्खता नै भनिन्छ भन्ने कुरामा चाहिँ विवाद नहोला कि ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment