from my column in NepalNewsMagazine Weekly
अघिल्लो हप्ता पाकिस्तानको पेशावरस्थित सैनिक विद्यालयमा आतंककारीहरुले हमला गरे । निकै क्रूर र पाशविक ढंगले भएको त्यो आक्रमणको क्रममा १४१ जनाको ज्यान गयो । पाकिस्तानी सेनाको भनाइ अनुसार त्यसमध्ये १३२ जना निर्दोष स्कूले बालबालिका थिए । सुन्दा पनि विश्वास गर्न कठीन यो दुर्घटना हाम्रो सामु तीतो वास्तविकता बनेर ठिंङ्ग उभिएको छ । मानव ईतिहासकै ठूला कलंकहरुमध्ये एक बनेर यो रहिरहनेछ । एक्काइसौं शताव्दिका मानिसहरुले यो भन्दा पाशविक, क्रूर र विवेकहीन काम शायदै अरु केही गर्न सक्लान् ।
एक्काइसौं शताव्दिका मानिस ? भनिन्छ हामी अहिले विकासको चरम र तीव्रतम विन्दुमा छौं ।
मानिस भन्ने जातिको उत्पत्तिपछि उसले बाँच्नका लागि सिकेका महत्वपूर्ण कुरा भनेको आफ्नो पेट भर्नु हुनुपर्छ । त्यसका लागि मानिसले सम्भवत धेरै प्रयोगहरु गर्यो होला । कति उसका लागि घातक भए होलान्, कति सार्थक । यही क्रममा उसले सिकार गर्न सिक्यो । सिकार, अर्थात् अरु प्राणीलाई मार्नु र त्यसको मासु खाएर आफू बाँच्नु । त्यतिबेला मान्छे बोल्न जान्दैनथ्यो, उसको भाषा हुन्नथ्यो । जंगलको कानून, अर्थात् बलियोले निर्धोलाई मार्ने नै मानिसको मूलधर्म थियो । मान्छेलाई त्यतिबेला भावना, सम्वेदनशीलता र अरुको बाँच्ने अधिकार जस्ता कुराहरु कहाँ थाहा हुन्थ्यो र ?