Translate

Tuesday, December 16, 2014

सय रूप्याँको डण्डी, पैंतीस रूप्याँको कपडा

तीनकुने कलंकी रिंगरोड खण्डलाई फराकिलो बनाउने भनेर काम शुरु भएको निकै भेसक्यो । सुस्त गतिको गौरवशाली परम्परालाई कायम राख्दै भइरहेको कामका कारण त्यो बाटोको अवस्था कस्तो छ भन्ने भुक्तभोगीहरूलाई थाहा छ । आजकल रिस उठेर कसैलाई गाली गर्दा "गो टू हेल्" नभनेर "गो टू सातदोबाटो-कलंकी भनिन्छ रे । सातदोबाटोबाट एकान्तकुना जाने खण्डमा कुसुन्ती चोकको ओरालोबाट दायाँ मोडिएर प्रशासनिक प्रतिष्ठान तिर जाने बाटो पछिल्लो वर्ष पीच गर्दा उकालोको एक टुक्रा चाहिँ त्यत्तिकै छोडिएको छ । हात्ती छिर्‍यो पुच्छर अड्क्यो भनेर त्यति पीच किन नगरेको होला भन्ने लाग्थ्यो । त्यस्ता टुक्राहरू धेरै ठाउँमा छोडिएको हुन्छ । एक दिन सडक विभागका एक ईन्जिनियरले प्रसंग उठ्दा आँखा झिम्काउँदै भनेका थिए,
"हामी कसरी बाँच्ने त्यति नभए?"


उनका अनुसार पीच गर्दा सय डेढ सय मिटर छोडेर बाँकी पछि फेरि गर्दा ६-७ लाख कमाइ हुन्छ रे। कतिसम्म सत्य हो तिनै जानुन् ।

जे होस् कुसुन्ती चोकबाट जाने ठाउँको कुरा गर्दा त्यसको तल रिंगरोड विस्तारको लागि खनिएको छ । त्यो उकालो मोडिने ठाउँमा एउटा डरलाग्दो धराप छ । उताबाट आउँदा र यताबाट जाँदा त्यो धराप र बाटो भत्किएको भ्वाङ्ग पटक्कै देखिंदैन । सम्म बाटो जस्तै देखिन्छ । तर त्यो थाहा नपाएका सवारी साधन त्यसमा परेपछि धेरै ढीला भैसकेको हुन्छ । 





विशेष गरेर राति त एउटा न एउटा शिकार त्यसमा परेकै हुन्छ । एउटा गाडी त देब्रे पाङ्ग्रा त्यहाँ पर्दा अर्को पट्टिको दुबै पाङ्ग्रा हावामा उचालिएर झण्डै तीनचार मिटर तल खँगारिएको थियो । यदि कुनै गाडी तल पल्टियो भने मानिसको ज्यानै जान सक्ने अवस्था छ त्यहाँ । यस्तो खतरनाक अवस्थामा रहेको त्यो धरापमा एउटा साधारण सूचनासम्म राख्न पनि सम्बन्धित निकायले ध्यान दिएको छैन ।



म आज घरबाट निस्कँदा झोलामा एउटा कूटो लिएर निस्केको थिएँ । बाटोमा निर्माण सामाग्री पसलबाट १०० रूप्याँको एउटा डण्डी किनें, कपडा पसलबाट ३५ रूप्याँको आधा मिटर रातो कपडा । नजीकैको टेलर पसलमा बिट सिउन लगाएँ । त्यस धराप भएको ठाउँमा त्यो झण्डा गाड्न खनुन्जेल त्यहीं नजीकैका पसलेहरू मलाई घत मानेर हेर्दै थिए । जब झण्डा गाडेर मैले चारैतिर हेरें, अनि मात्र हेक्का गरें, बाटोको दुबै तिर अरू पसलहरुसंगै दुईवटा टेलरहरू पनि रहेछन् ।

आशा गरौं, अब शायब त्यो धरापमा कोही पर्दैन कि?



0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment