Wednesday, January 7, 2015

यातनायात व्यवसाय

नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्को



नेपालमा सार्वजनिक यातायात भनेको यात्रुका लागि पीडा र व्यवसायीका लागि थोरै समयमा सजिलोसँग धेरै पैसा कमाउने धन्दा हो। खासमा भन्ने हो भने एकपटकको लगानी पुस्तौँसम्म जवानी भन्ने भनाइ यो व्यवसायका लागि ठ्याक्कै सुहाउँछ। किनभने, जस्तोसुकै अवस्थामा रहेको सवारीसाधनमा जतिसुकै यात्रुलाई  गुन्द्रुक खाँदेजसरी खाँदेर चलाउने छुट हुन्छ। सवारीसाधनको नियमित मर्मतसम्भार गर्नुपर्ने बाध्यता पनि यहाँ छैन। सबैभन्दा ठूलो कुरा त के हो भने बराजुले किनेको सवारीसाधन पनातिको पालासम्म चलाउन र नाफा खान पाइन्छ। चारवटा पांग्रा गुडेसम्म अरू कुनै कुराको तनाव लिनु पर्दैन। यी द्रव्यलालचीहरूको  लालसाका कारण दिनहुँजसो दुर्घटना भएर सयौँ मानिसको ज्यान गइरहेको छ। तर पनि लाचार भन्नुपर्ने तर हामीले झुक्केर सरकार भन्ने गरेको निकाय कानमा तेल हालेर, त्यसमाथि कपास कोचेर, त्यसमाथि हेडफोन लगाएर फुल भोल्युममा कुर्सीको भजन सुनेर बसिरहेको छ। आँखा पनि चिम्लेर। त्यसैले यात्रुका लागि  यातना हुने यो व्यवसायलाई वैज्ञानिक समीरमणि दीक्षितले बडो सुहाउँदो नाम दिएका छन्, यातनायात व्यवसाय।


उपत्यकाभित्रका सवारीसाधनको कुरो छाडौँ। लामो र मध्यम दू्रीका सार्वजनिक सवारीसाधनको त कुरो गरेर साध्य छैन। मानिसले इवी साँध्नुपर्ने अरू सबैलाई यस्ता यातनायातका साधनमा यात्रा गर्नुपरोस् भनेर सरापे पुग्छ। तीनपुस्ते वैर एकैपटक फच्च्या हुन्छ। कसैले तपाइर्ंलाई कहिले कुनै गुन लगाएको छ भने तिनलेे  यस्तोमा यात्रा गर्न नपरोस् भनेर आशिष दिए हुन्छ। सबै गुन चुक्ता हुन्छ। ती यातनायात व्यवसायीका कर्मचारीको क्षुद्र व्यवहार कसैको पनि मानवता भन्ने कुराबाट विश्वास गुमाउन पर्याप्त हुन्छ।





यस स्तम्भकार पनि हालै यस व्यवसायको यातनाको सिकार हुन पुग्यो। अपर्झट आइपरेको काम विशेषका लागि साँझ चार बजिसकेपछि नारायणघाटतिर हानिनुपर्ने अवस्था सिर्जना भएका कारण कलंकी पुगियो। त्यहाँ केही माइक्रो नामक टर्चरवाहन यात्रुको हुर्मत लिनका लागि तम्तयार थिए। एउटा माइक्रोमा केही  अभागी सिकार बसिसकेका थिए। त्यसपछाडिको भने खाली थियो। पहिलो यातनावाहन तुरुन्तै हिँड्ने तर अर्को त्यसपछि अरू सिकार भरएिपछि मात्र गुड्ने भन्ने थाहा भयो। ती दुवैमा बस्ने सिट यसरी राखिएका थिए, मान्छेले आफ्नो खुट्टा कहाँ तन्काउने हो भन्ने कुरा भन्न सकिन्नथ्यो। ती सिटमा साढे पाँच फिटका  औसत नेपाली यात्रु कुचुक्क परेर बसिरहेका थिए। बाध्यताको नाम वामदेव भन्दै त्यसमा कोचिनको विकल्प थिएन। तिनका कर्मचारीले मागेजति रकम बुझाएपछि सबैभन्दा पछाडिको सिटमा पुट्ठो अडाउन पाइयो। फिर्ता दिने पैसा नभएको हुनाले पछि चालकले दिन्छन् भन्दै ती कर्मचारीले टिकटको पछाडि रकम ले खिदिए। तुरुन्तै हिँड्ने भनेको वाहन ४५ मिनेटपश्चात् गन्तव्यका लागि प्रस्थान गर्‍यो।


केही बेरमा थाहा भयो, एकै गन्तव्यका लागि यात्रुसँग फरक-फरक भाडा उठाइएको रहेछ। थोरैमा उम्केकाहरू कानदेखि कानसम्म हाँस्न थाले भने बढीमा मुडिएकाहरू शब्द/अपशब्दले ती कर्मचारीलाई विभूषित गरेर चित्त बुझाउन थाले।


माइक्रो फर्मुलावानका गाडीलाई मात दिने गतिमा राजमार्ग र ट्राफिकका भएजति नियम मिच्दै नारायणघाटतिर कुद्यो। नौबीसे पुग्ने बेलासम्म कोचिएका सबै गुन्द्रुक दीर्घरोगीजस्ता भइसकेका थिए। कुनै एउटा स्थानमा तोकिएको चिया-खाजा खाने ठाउँमा माइक्रो रोकियो। हतारमा हिँडेको, खल्तीमा भएको एउटै ध्रुवे  कलंकीको कर्मचारीलाई बुझाइसकेको र चियापसलमा कार्ड चल्ने सम्भावना नभएकाले चालक महोदयसँग फिर्ता पैसा मागियो। उनले पहिले त ढुक्कैसँग आफूलाई त्यस विषयमा केही जानकारी नभएको बताएर उम्कन खोजे। दुर्वासाको रूप देखाएर प्रहरीमा बुझाउने धम्की दिएपछि बल्ल उनलाई पैसा फिर्ता दिनुपर्ने  कुराको सम्झना भयो। उनले नारायणघाट पुगेर फिर्ता गर्ने कुरा बताए। स्तम्भकारले आफूसँग नगद नभएकाले तत्कालै पैसा फिर्ता नगरे खान नपाइने कुराको अनुनय गरेपछि उनले छाती फुलाएर भने, "के खाने हो खानूस्, म पैसा तिर्दिउँला।"


आफ्नो पैसा फिर्ता लिन आफू नै कृपापात्र बन्नुपर्ने कुरा सह्य नभएपछि चालक महोदयसँग चर्काचर्की पर्‍यो। बल्लबल्ल पैसा फिर्ता भएपछि खैनीको बट्टाजस्तो माइक्रोलाई त्यहीँ परत्ियाग गरेर धरान जान लागेको रात्रिबसमा अर्को भाडा तिरेर नारायणघाट पुग्दा केही प्रश्न मथिंगलमा नाचिरहे। के साँच्चै सिन्डीकेट भन्ने  यातनायात माफिया राज्यभन्दा बढी शक्तिशाली छ? होइन भने दिनहुँ हजारौँ यात्रुलाई ब्रह्मलुट गरेर निर्धक्क हिँड्ने छुट यिनले कसरी पाइरहेका छन् ? 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...