Translate

Sunday, January 25, 2015

हामी भिजिलान्ते

बायाँ फन्को १४८

हरेक कुराको एउटा नियमित चक्र हुन्छ भन्ने कुरा त हामी सबैले सुनेकै कुरा हो । सुनेको मात्र किन, ध्यान दिएर हेर्ने वा सम्झिने हो भने यो कुरा जीवनको हरेक पक्षमा हामीले भोगेका र देखेका पनि छौं । बाह्र वर्षमा त बगेको खोला पनि फर्किन्छ भन्छन् । ढीला चाँडोको कुरा हो तर अधिकांश कुराहरुको फर्किने समय हुन्छ । त्यस्तै अरु कुराहरुको सन्दर्भमा पनि यो लागू हुन्छ । फेसन पर्किन्छ, संगीत सिनेमा र कलाको स्वाद पनि फर्किन्छ ।

हो, मरेको मान्छे फर्किदैन, प्रविधिले फडेको मारेर पुराना भएका कुराहरु फर्किंदैनन् । अरु पनि धेरै कुराहरु छने जुन फर्किंदैनन् । त्यस्ता केही फर्किंदैन भनेका कुरा मध्ये केही चाहिँ हाम्रो देशको सन्दर्भमा भने फर्किन्छन् । जस्तो, बोलेको कुरा एकपटक मुखबाट निस्केपछि फर्कंदैन भनिन्छ । तर हाम्रा नेता तथा प्रशासकहरुको हकमा यो लागू हुँदैन । उनीहरुको कि त स्मरण शक्ति साह्रै कमजोर हुन्छ, वा जिब्रो लूलो । त्यसैले आज भनेका कुरा भोलि, एक महीना वा वर्ष दिन अघि बोलेका कुराहरु अर्को महीना वा वर्षसम्ममा अर्कै हुनु स्वाभाविक मानिन्छ ।

त्यस्तै बेलाबेलामा फर्किने एउटा अर्को कुराको सिजन आउन थालेको छ । त्यो हो बन्द । उपत्यका, प्रदेश, जिल्ला, अञ्चल वा देशै बन्द गर्ने हाम्रो गौरवशाली परम्परा एकपटक फेरि जुर्मराएको छ । अक्सर महान उद्देश्य र ठूला लक्ष्यहरु प्राप्तिका लागि भनेर गरिने यस्ता बन्दहरुले बन्दकर्तालाई कुनै हानि हुँदैन । उनीहरुको महानताका लागि गरिएका यस्ता बन्दले आम जनता, दैनिक ज्यालादारीमा बाँच्नुपर्ने श्रमजीविहरु, अस्पताल जानुपर्ने बिरामीहरुलाई तत्क्षण असर गर्छ । 

पोहोर सालका बन्दहरुका क्रममा साहित्यकार जगदीश घिमिरेले सामाजिक संजालमा निकै मार्मिक उद्गार लेख्नुभएको थियो । केमोथेरापीका लागि नियमित रुपमा जानुपर्ने साहित्यकार घिमिरेलाई त्यस्ता बन्दले कतिसम्म आहत बनाएको थियो होला ? उनी जस्तै अरु कति बिरामी र तिनका परिवारका लागि बन्द भनेको कति क्रूर कुरा हो भन्ने बन्दकर्ताहरुको चासोको विषय होइन र ? जनताका लागि राजनीति गर्छु भन्नेहरुले जनताकै जीवन किन कष्टकर बनाउँछन् ? यो परपीडाबाट आजसम्म के उपलव्धि प्राप्त भएको छ ? यस्ता बन्दहरुका दूरगामी प्रभावको कुरो गर्दा तिनले सिंगो देशको अग्रगमनको गतिलाई उल्टो गियरमा हालिदिन्छन् । कलकारखाना यातायात व्यवसाय बन्द हुँदा हुने विपुल धनराशिको आर्थिक घाटाको हिसाबकिताब त आफ्नै ठाउँमा भइहाले । 

तर, जुन महान, गौरवशाली र म जस्ता आम जनताले नब्झ्ने जेजस्ता शव्दहरुले सुसज्जित नाराहरुका साथ सहरका भित्ताहरु लतरपतर पारिन्छन्, खम्बाहरुमा पोष्टर टाँसिन्छन्, दुईचार सवारी साधन तोडफोड र आगजनि गरेर यस्ता बन्द गरिन्छन्, तिनका सामु माथि भनिएका दुष्प्रभावहरु माखो बराबर पनि मानिंदैनन् । धन्य हो । सबै भने जसो राजनीतिक पार्टी, व्यापारी वा जो कोही पनि बेलाबेला यो बन्दको हतियार उज्याउन पछि पर्दैन ।
  
यही क्रममा अघिल्लो हप्ता गरिएको एउटा महान बन्दको महत्व नबुझेर यो अल्पबुद्घि स्तम्भकार पनि आफ्नो भटभटे लिएर निस्केको थियो । एक जना सिकिस्त भएर अस्पताल भर्ना भएका मानिसलाई हेर्न जानु लगायतका केही यस्ता कामहरु थिए, जुन अर्को दिनका लागि थाँति राख्न सकिन्नथ्यो । काठमाण्डौ खाल्टोका चारै छेउ धाउनुपर्ने हुनाले पैदल भ्याउन पनि सम्भव थिएन । 

मूलचोकहरुमा झण्डा बोकेर देशको भविष्यका लागि खलखल पसीना बगाइरहेका कर्मठ कार्यकर्ताहरुलाई छल्दैछल्दै यात्राको केही भाग छिचोलेपछि कुपण्डोलको कानदेउताथान निर बसेका प्रहरी दाजुभाइहरुले नै यस यायावरलाई फर्काइदिए । हुन त यस्तो बेलामा जनताको नै जीउधन वा सवारी साधनको सुरक्षाका लागि यस्तो गरिने उनीहरुको भनाइलाई अस्वीकार त गर्न सकिन्न तर बन्दकर्ताहरु भन्दा राज्य संयन्त्र कमजोर भएर त्वम्शरणं गरेको भान हुने यो कुरालाई कुन रुपमा लिने भन्ने विवाद नि आफ्नै ठाउँमा हुनसक्छ । 

त्यसदिन र हालेको बन्दका क्रममा राजधानी र बाहिरका अधिकांश स्थानहरुमा प्रतिकारहरु भएका समाचारहरु आए । यसबाट आम नागरिक कतिसम्म आजित भइसकेका छन् भन्ने कुरा बन्द आह्वानकर्ताहरुले बुझ्नुपर्ने हो । तर यसलाई जनमतको संकेतको रुपमा लिएर आफूलाई नियालेर हेर्ने, आत्ममूल्याङ्कन गर्ने अनि सुधार्ने सुनौलो मौकालाई उनीहरुले सम्भवत बुझ्न सकेनन् । उल्टै बन्दका विरोधीहरुलाई भिजिलान्ते र भाडाका टट्टूको उपाधिले सुसज्जित गरियो । मानौं निर्वाध रुपमा आफ्नो खुशीले आवतजावत गर्न पाउने अधिकारको कुरा गर्नेहरु देशका शत्रु हुन् ।

सुशासन हामीलाई पनि चाहिएको छ, शान्ति सुव्यवस्था हामीलाई पनि चाहिएको छ । स्थायित्व, सम्विधान, विकास, समुन्नति सबै कुरा हामीलाई चाहिएको छ । तर सम्राटको नाकमा बसेको झींगालाई काट्छु भनेर तरवार चलाउने कथाको बाँदरको मतिले यी कुनै पनि कुराहरु प्राप्त हुँदैनन् । यसो भन्दा हामी भिजिलान्ते वा भाडाका टट्टु हुन्छौं भने त्यही सही । 

सेक्सपियरले भनेकै छन् नि, गुलाफको अरु कुनै नाम भए नि त्यसको सुगन्ध उही हुन्छ । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment