Translate

Sunday, April 5, 2015

आउनुस्, लुट्नुस्, खानुस्

बायाँ फन्को १५३

केही दिन अघि मैले नक्सालको प्रहरीपम्पमा एउटा नमीठो अनुभव बटुलेको थिएँ । ४२ लिटरको क्षमता भएको टंकीमा पेट्रोल भर्दा मिटरका अनुसार साढे ४६ लिटर गएको थियो । मेरो अनुमानमा ५ लिटर जति त पहिले नै टंकीमा बाँकी हुनुपथ्र्यो । एक छिनको लागि मानिलिऊँ, २ मात्रै थियो होला । रित्तै भएको भए त साधन चल्दैनथ्यो होला । त्यसो भएकै अवस्थामा पनि ४० भन्दा बढी पेट्रोल जान नपर्ने थियो । तर मिटरले साढे ४६ लिटर देखाए पछि लोप्रे कान लगाएर भनिए अनुसारको पैसा नतिरी सुख थिएन । निजी पम्पमा भए त एक छिन वाकयुद्ध मात्रै भए नि गर्न पाइन्थ्यो तर सेना र प्रहरीसंग त्यो पनि सम्भव भएन । निकै पछिसम्म पनि यो कुरा मनमा खेलिरहेको थियो, त्यो कसरी सम्भव हुन सक्थ्यो ? अघिल्लो हप्ता यसको उत्तर प्राप्त भयो । प्रहरी र सेनाद्वारा संचालित पेट्रोल पम्पहरु पनि कारवाहीमा परेको समाचार सुन्न पाइयो । तोकिएको भन्दा कम ईन्धन भर्दारहेछन् यी दुबै पम्पले । नक्सालको पम्प पनि त्यसमा परेको रहेछ । 

साधारणतया हेक्का गर्नुभएको नै होला, पेट्रोल र डिजेल सर्वसुलभ रुपमा पाइने दुर्लभ अवसरहरुमा पनि साझा, प्रहरी र सेनाको पम्पहरुमा भावी प्रधानमन्त्रीको रोलक्रम भन्दा लामो लाइन लागेको हुन्छ । बालबच्चालाई स्कूल पु¥याउन, श्रीमतीलाई अफीस पु¥याउन, आफै कलेज वा काममा पुग्न ढीला भइभइ पनि मानिसहरु घामपानी नभनी धैर्यतापूर्वक आफ्नो पालो कुरिरहेका हुन्छन् । यस्तो दृश्य पुल्चोक, लगनखेल, नक्साल र भद्रकालीतिर हिंड्नेहरुका लागि नौलो हैन । ती पम्पहरुले ठग्दैनन्, कमसल गुणस्तरका वा मिसावटयुक्त ईन्धन बेच्दैनन् भन्ने विश्वासका कारण मानिसहरु त्यति दुख पाइरहेका हुन्छन् । आफ्नो कठोर परिश्रमले, रिनधन गरेर किनेका सवारी साधनहरु नबिग्रिउन् भन्ने आशाले हामी ती अजिंगरछाप लाइनमा बस्छौं । तर, हाम्रो विश्वासमाथि कुठाराघात भइरहेको हुँदो रहेछ । कहाँ गएर गुनासो गर्ने ? कोसंग क्षतिपूर्ति माग्ने ? केकेका लागि माग्ने ? मागे पनि कहाँबाट केके पाइने ? अरुले भन्दा कम मिसावट गर्छन्, अरुले भन्दा कम ठग्छन् भनेर चित्त बुझाउने बाहेक उपभोक्तासंग अरु कुनै विकल्प छैन । 

यो त एउटा उदाहरण मात्र हो । हामी सर्वसाधारण जहाँ, जुनसुकै ठाउँमा पनि हरेक सेवाप्रदायकहरुबाट निर्वाध लुटिन्छौं, ठगिन्छौं । हामीलाई तोकिएको गतिमा इण्टरनेटको सुविधा सम्भभवत कहिले कुनै पनि आइएसपीले प्रदान गरेको हुँदैन । २ एमबीको गतिको शुल्क तिरेर पनि यूट्युवमा कुनै सानो भिडियो हेर्न फनफन गोला घुमेको हेरेर बस्नुपर्दा पनि हामी मौन नै रहन्छौं । एक कल गर्नका लागि निकै बेर प्रयास गरेर पनि उताबाट बोल्नेको स्वर नसुन्दा, सुने पनि नबुझ्दा र सानो कुराको लागि पाँच छ कल खर्च गर्न पर्दा पनि हामीसंग असहाय भएर कुम उचाल्ने बाहेक अरु केही बाटाहरु हुँदैनन् ।  मोटरसाइकल विक्रेताले विक्री गर्नु अघि र पछि गर्ने व्यवहारलाई कहिले ध्यान दिएर हेर्नुभएको छ ? फ्री सर्भिसिंगको नाममा दिनका २०० भन्दा बढी सवारीलाई धोएर मात्र फिर्ता गर्दा पनि हामी त्यो कसरी सम्भव भयो भन्ने प्रश्न गर्न सक्दैनौं । सार्वजनिक सवारी साधनका अवस्था र तिनका चालक सहचालकले गर्ने दुव्र्यवहार हामीलाई सहनै पर्ने वाध्यता छ । ट्याक्सीको मिटर र भाडाका बारेमा त झनै कुनै कुरा गरेर साध्य छैन । एक त तिनलाई कारवाही हुँदैन, भयो भने बाटोमा तेस्र्याएर जनजीवन अस्तव्यस्त गर्ने खुला छुट तिनलाई हुन्छ । पेट्रोलमा मिसावट जाँच भयो भनेर पम्प बन्द गर्ने त हाम्रो गौरवशाली परम्परा नै भैहाल्यो । महिनौंसम्म तपाईले हेर्न चाहेको च्यानल दिन नसक्ने सेवा प्रदायकलाई पनि शुल्क नतिर्ने अधिकार हामीलाई छैन ।

तर नेता छान्दा समेत को कम भ्रष्ट छ भनेर छान्नुपर्ने देशमा हरेक ठाउँमा, हरेक कुरामा हामीलाई निकृष्टमध्येको उत्कृष्ट छान्नुपर्ने वाध्यता छ भनेर गुनासो गर्नुको पनि कुनै औचित्य छैन होला । शिक्षा, स्वास्थ्य, खाद्यान्न, यातायात र शिक्षाजस्ता आधारभूत र सबैभन्दा बढी महत्वका कुराहरुमा नै हामी सबैभन्दा बढी लुटिन्छौं, ठगिन्छौं तर पनि भनिएको र पाउनुपर्ने सेवा पाउँदैनौं । राजधानीको नाम चलेका विद्यालयहरुले कम्प्यूटर र इन्टरनेटको शीर्षकमा केटाकेटीको बिलमा ठटाउने रकम होस्, अस्पतालका नाम राखेर खोलिएका प्रयोगशालाहरु, अँग्रेज र अँग्रेजीका नाम राखेर खोलिएका कलेजहरुले गर्ने ब्रम्हलूटका बारेमा यदाकदा समाचारहरु आउँछन्, सेलाउँछन् तर लुट्ने क्रम चलिरहन्छ, निर्वाध ।

एउटा डरलाग्दो मानसकिताले हामी सबैमा बिस्तारै जरो गाडिरहेको छ । हामी सबैलाई चाँडै, कम मेहेनत गरेर वैभव आर्जन गर्नु छ । त्यसका लागि सही र गलत के हो भनेर हामीले शायद सोच्न छोडिसकेका छौं । आजकल कसैलाई पनि अप्ठ्यारोमा पारेर आफ्नो दुहुनो सोझ्याउने कुनै पनि मौका हामी छोड्दैनौं । विकास आयोजना, फोहोर व्यवस्थापन, बाटो बिस्तार, उद्योगधन्दा स्थापना, जलविद्युत परियोजना, पूर्वाधार विकास, वैदेशिक लगानी लगायतका कुनै पनि क्षेत्र यसबाट अछूतो रहन सकेका छैनन् । हरेक क्षेत्र सिन्डिकेटको चँगुलमा हुन्छ । माथिदेखि तलसम्मका लाउकेहरुले सबै लूटको गच्छे अनुसार छ्याकन खाएका हुन्छन् । अनि ती सबको मोल हामी बबूरा सर्वसाधारणले तिरिरहेका हुन्छौं ।

सुरु गरेको ठाउँबाटै बिट मार्दा, नक्सालको प्रहरीपम्पको ठगी अनुसन्धान गर्न छानवीन समिति गठन भएको छ रे भन्ने सुनिन्छ । यो समितिले माथिमाथि तैरिने भुरा माछा समात्ने हो कि गहिरोमा लेउ र ढुंगा जस्तै रुप धरेर बसेका अक्टोपसहरु पनि देख्ने हो भन्ने चाहिँ अहिलेसम्म थाहा छैन ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment