Translate

Sunday, March 22, 2015

सूचनाका कबाडीहरु

बायाँ फन्को १५२ 

स्मरणशक्ति भन्ने कुरा पनि अचम्मको हुन्छ । कसैलाई सानासाना कुराहरु पनि सम्झना रहिरहने भने कसैले महवपूर्ण कुराहरु पनि चाहिने बेला सम्झिन नसक्ने । अनि स्मरणशक्तिका पनि आफ्नै पाटाहरु हुँदारहेछन् । कसैलाई कस्तो कुरा हेक्का नहुने, कसैलाई अरु नै कस्तो । आज म विशेष गरी एउटा यस्तो पाटोको कुरा गर्दैछु, जसमा म स्वयं कमजोर छु । कमजोर मात्र भन्नु पनि आफूले भएर सहृदयता देखाएको हो, अरुले भन्ने हो भने ध्वस्तै भन्दिए हुन्छ यस सन्दर्भमा । 

एक परिचित व्यक्ति छन्, मोबाइल फोनको रिचार्ज कार्ड कोट्याएर त्यसको नम्बर एकपटक पढेपछि कार्डमा फेरि नहेरिकन त्यो नम्बर पन्च गरेर फोन रिचार्ज गर्न सक्छन् । सानोतिनो गूगल भन्दिए हुन्छ उनलाई सबै कुरा सम्झिनेमा । तिनलाई देख्दा मलाई जहिले पनि अचम्म लाग्छ, कसरी सम्झिन सक्छन् उनी यत्तिका धेरै कुराहरु ?

आफ्नो कुरा गर्ने हो भने मिति र अंकहरुसंग सम्बद्ध कुनै पनि कुराहरु जति गरे पनि सम्झन नसक्नू मेरा अरु थुप्रै मध्येका एक प्रमुख कमजोरी हो । यसले मलाई बेलाबेलामा निकै अप्ठ्यारो अवस्थामा पु¥याउने गर्छ । आफ्ना नजीकका मानिसहरुको जन्मदिन, बिवाहको वर्षगाँठ जस्ता कुराहरु मैले कहिले पनि सम्झिन सकिनं । त्यतिमात्र हैन, आफैसंग सम्बन्धित महत्वपूर्ण दिनका मितिहरु पनि मेरो मगजका लागि राजनैतिक पार्टीहरु र सहमति भनेको जस्तै हुन् ।

गोल्डफिस मेमोरी सिन्ड्रम भनिने यो लक्षण संसारमा अरु धेरै मानिसको पनि हुँदोरहेछ । यस्ता मानिसहरु सर्सर्ती हेर्दा असम्वेदनशील देखिन सक्छन् । यिनले आफ्ना नजीकका मानिसहरुको मन पनि दुखाउँछन् । तर के नम्बर वा मिति सम्झिन नसक्नेहरुको भावना नहुने नै हो त ? फेसबुकमा देखेर खासै महत्व नभएका मानिसलाई शुभकामना व्यक्त गर्नु, मोवाइलमा रिमाइण्डर राखेर नजीकका मानिसहरुसंग औपचारिकता कायम राख्नु के बढी उपयुक्त हो ?

आजकल मानिसहरुलाई सबै कुरा सजिलो भएको छ । गुगलमा खोजेपछि नपाइने कुरा केही पनि छैन भने हुन्छ । अब किन मरिमरि ईतिहासका महत्वपूर्ण तिथिमित घोक्नु ? सूचना र जानकारी आफ्नै हातेफोनमा उपलव्ध भैहाल्छ । व्यक्तिगत महत्वका कुराहरु जस्तै आफन्त र इष्टमित्रका जन्मदिन, वर्षगाँठ अदि पनि सामाजिक संजालहरुले सम्झाइदिन्छन् । तर के भावनात्मक पाटो र प्राविधिक पाटो फरक कुरा हैनन् ? मानिसका लागि भावनाहरु पनि यान्त्रिक हुँदै गइरहेका छन नि, हैन र ? बिहान फेसबुक खोल्दा हाम्रोे लिष्टमा भएका सातजनाको जन्मदिन त्यसले सम्झाएको देख्दा ती सातैजनालाई हामी क्लिकक्लिक शुभकामना ठोक्दिन्छौं । तर एकपटक सोचौं, यदि सम्झिएरै शुभकामना दिनुपर्ने भएको भए ती मध्ये कतिजनाको हामी जन्मदिन सम्झिन्थ्यौ ? के हाम्रा भावनाहरु महज औपचारिकता र सिन्थेटिक हुँदै गएका छैनन् ? 

व्यक्तिगत रुपमा कुरा गर्दा आजकल मलाई आफैले प्रवेशिका दिएको साल सम्झिन निकै बेर घोत्लिनुपर्छ । आफूले चढेर हिंड्ने सवारीसाधनको नम्बर पनि ओर्लेर नहेरि म कहिले पनि भन्न सक्दिनं । हरेक दिन पचासपटक भन्दा बढी हेरिरहने लोडसेडिंगको तालिकाको सन्दर्भमा पनि आफ्नो समूह कुन हो भनेर मोवाइल एपमा नहेरि म भन्न सक्दिनं । त्यति भनिसकेपछि र देश वा मानवजातिका लागि महत्व राख्ने घटना र मितिहरु त के कुरा गरिसाध्य भयो र ? मेरा लागि द्वितीय विश्वयुद्ध बेलाबेला प्रथम विश्वयुद्धभन्दा पहिले नै भैसकेको हुनसक्छ । सगरमाथाको उँचाइ, नेपालको क्षेत्रफल, कोतपर्व भएको मिति, राजतन्त्रको समाप्ति, लोकतन्त्र र गणतन्त्रको आगमन ईत्यादि पनि ठ्याक्कै कहिले भयो भनेर कतै भन्नुपर्दा मलाई थाहा हुँदैन । सम्विधानसभामा कति सदस्य हुन्छन् भनेर यो लेख्ने बेलामा पनि म ठ्याक्कै भन्न सक्दिनं । अझ प्रत्यक्ष र समानुपातिकको कुरा गर्न थाल्यो भने त आइन्स्टाइनको फर्मूला के हो भनेर घरमा पालेको सुगालाई सोधेसरह हुन जान्छ । आफूले किनेका लुगा, जुत्ता वा अरु सामानको मोल कति प¥यो भनेर साथीभाइहरुले केही दिनपछि सोधे भने मैले त्यो पोलेर खाइसकेको हुन्छु । आफ्नै फोन नम्बर पनि कतिपटक अरुलाई गलत टिपाएको छु मैले । कुनै पनि फर्म भर्दा ठेगाना लेख्ने बेला आफ्नो वडा नम्बर म सम्झिन सक्दिनं ।

वैज्ञानिकहरु के भन्दारहेछन् भने स्मार्टफोन र कम्प्यूटरको अधिक प्रयोगका कारण पनि मानिसको मगजको सन्तुलित विकास अवरुद्ध हुनसक्छ । यसले मानिसहरुको दाहिने पाटो तुलनात्मक रुपमा देब्रे पाटोभन्दा निकै कम विकसित हुन थाल्छ रे । निकै हदसम्म यो कुरा सत्य हुनसक्छ । एकपटक सोच्नुस् त, मोवाइल फोन सहज हुनु अघि र अहिलेको अवस्थामा कति अन्तर आएको छ ? पहिलेपहिले हरेक नम्बर घुमाएर वा थिचेर डायल गरुन्जेल हामीलाई कति धेरै नम्बरहरु मुखाग्र हुन्थे । 

आजकल हामी प्रविधिको सरलताका कारण चाहिनेभन्दा बढी सूचना आफ्नो मगजमा जम्मा गर्न थालेका छौं । हामीलाई कुन सूचना आवश्यक हो, अति आवश्यक हो वा अनावश्यक हो भन्ने खुट्याउँदैनौं हामी । सजिलो र सित्तैंमा पाएको भन्दै सुांर भरका हरेक कुरा बटुलेर बस्छौं हामी । त्यसले कतै हाम्रो मगजमा अनावश्यक बोझ त थपिरहेको छैन ? इन्टरनेट महँगो हुँदाभन्दा अहिले झण्डै सित्तैंमा पाउँदा हामीले खोज्ने कुराहरुको मात्रामा कति बृद्धि भएको छ आफै सोचे पुग्छ । हार्डडिस्कको क्षमता कम हुँदा र अहिले हामीले बटुलेर राखेका र सामाग्रीहरुको अन्तरमात्रै केलाएर हेरौं त । के सबै चाहिने कुराहरु मात्र बटुलिरहेका छौं हामी ? के हामी सूचनाका कबाडी बन्दै गएका त हैनौं ?

प्रविधिको सरलताका कारण हामीले केके पाइरहेका छौं र केके गुमाइरहेका छौं भन्ने कुरा पनि बेलाबेलामा सोच्नु आवश्यक छैन र ? 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment