Translate

Sunday, April 19, 2015

बन्द गर्नुपर्ने कुराहरु

बायाँ फन्को १५४

हरेक कुरामा प्रयोग गरिरहने मानिसको बानी हुन्छ । त्यस्ता प्रयोगहरु मध्ये कुनैले सार्थक नतीजा निकाल्छ, समाधानहरु खोजिदिन्छ भने कुनै अर्थहीन हुन्छन्, कुनै उपलव्धि तिनबाट निस्कँदैन । मान्छे विवेक भएको प्राणी भएको हुनाले असफल प्रयोगलाई चटक्कै छोडेर ऊ अरु तरिकाहरु खोज्न थाल्छ । मानिसले हरेक कुरामा विकास गरेको यही अभ्यासले हो । एकपटक भीरबाट खसिसकेपछि पनि नचेतेर पटकपटक भीरबाट भेडा खस्छ, मान्छे हैन । 

त्यति सबै हुँदाहुँदै पनि मानिस जस्तै देखिने एक थरि प्रजाति हुन्छन्, जो अर्थहीन र उपलव्धिहीन प्रयोगहरु दोहो¥याइरन्छन् । एकपटक हैन, दुईपटक हैन थुप्रै पटक । तिनलाई कसैले सम्झाएर पनि केही लाग्दैन, घुक्र्याएर पनि केही लाग्दैन । त्यति मात्र हैन तिनलाई तर्साएर, गाली गरेर, मानवीय पक्षहरु देखाएर वा कुनै पनि उदाहरण दिएर पनि सपार्न सकिन्न । तर्क भन्ने कुरा त तिनीहरुसंग गरेर पटक्कै सकिन्न । कुन्नि केसंग राम पनि डराउँछ भने जस्तो तिनीहरुसंग वादविवाद नगरी चुपचाप लाग्नु बाहेक अरुसंग कुनै उपाय बाँकी ररहँदैन । अचम्म लाग्छ, किन ती प्रजाति त्यस्ता जब्बर, मूढ र ढीट हुन्छन् ? तिनको टाउका भित्र पनि गिदी त हालिदिएकै हुन्छ प्रकृतिले । सित्तैंमा पाएको त्यति महत्वपूर्ण र शक्तिशाली कुराको प्रयोग गर्न किन उनीहरुलाई त्यति गाह्रो लाग्ने होला ? फेरि त्यो त जति प्रयोग ग¥यो त्यति तिखारिने कुरा हो । सकिएला भनेर डराउनु पनि पर्ने होइन क्यार । 

यस्तै एउटा विवकेहीन कार्य हो, हाम्रा राजनीतिक दलहरुले बेलाबेलामा गरिरहने बन्द । जिल्ला, अञ्चल, प्रदेश वा सिंगै देश बन्द गरेर उनीहरु आफ्नो शक्तिको भ्रममा बाँचिरहन्छन् । प्रजातान्त्रिक आचरणको कुरा गरेर नथाक्ने यस्ता दलहरु आफूले गरेको बन्दको आह्वान अरुले अस्वीकार गर्न पनि पाउँदैन भन्ने ठान्छन् । तसर्थ यस्ता बन्दहरुमा उनीहरु नटेर्नेको सवारी साधन, पसल वा खप्पर कुनै पनि कुरा फुटाउन पनि पछि पर्दैनन् । यस्ता दादागिरीका कारण आफ्नो छवि कति धूमिल भैरहेको हुन्छ भन्ने कुरासंग उनीहरुलाई माखोको टाउको बराबर पनि मतलब हुँदैन । आफू सरकारमा हुँदा यस्ता आततायी बन्दलाई घोक्रो सुकाएर गाली गर्नेहरु आफू विपक्षमा हुनासाथ त्यसैलाई हरेक समस्याको समाधान देख्न थाल्छन् । 

विद्यार्थीले पढ्न नपाउनु, दैनिक श्रम गरेर जीविकार्जन गर्नेहरु भोकै बस्नु, विरामी अस्पताल पुग्न नपाउनु र अरु पनि सर्वसाधरणले कुलेनपादु पाउनुले उनीहरुलाई फिटिक्कै विचलित बनाउँदैन । उनीहरुको छाला हेर्दा हाम्रो जस्तै भए पनि त्यसको खास स्वरुप चाहिँ गैंडाको जस्तो हुन्छ क्यारे, जति तुच्छ गाली खाँदा पनि उनीहरुलाई त्यसले केही पनि असर गरेको हुँदैन । अघिल्लो हप्ताको पनि एउटा त्यस्तै बन्दलाई नियालेरर हेर्ने हो भने यो कुरा छर्लङ्गै हुन्छ । 

तर पनि किन हाम्रा राजनीतक दलहरु पालैपालो कहिले कुनै सकारात्मक परिणाम ननिस्कने यो विवेकहीन कार्य गरिरहन्छन् जसले अरु सबै मानिसको जीवन कष्टकर बनाउँछ ? यो प्रश्नको उत्तर दिन शायद कसैले पनि सक्दैन । तर पनि हामी सर्वसाधारण पटकपटक उनीहरुको ह्विमको मूल्य चुकाइरहेका हुन्छौं । जनताका नाममा गरिएका यस्ता कुकृत्यले जनताका नै सम्पत्तिमा आगो लाग्छ, जनताकै खप्पर फुट्छ वा ढाड सेकिन्छ । अघिल्लो हप्ताको बन्दमा पनि त्यस्तै भयो । त्यसको कुनै नैतिक जिम्मेवारी पनि कसैले लिनु आवश्यक छैन । आमाको स्कूटरमाथि बन्दकर्ताहरुले हमला गरेपछि आतंकति भएका कलिला बालबालिकाको तसवीरहरु सामाजिक संजालमा छरिए । जस्तै पाषाण हृदय भएका मानिसलाई पनि चसक्क हुनुपर्ने हो त्यो देख्दा । धन्य तीनदिन भनिएको बन्द पहिलो दिनको ‘गौरवशाली सफलता’ पश्चात फिर्ता लिइयो । तर त्यो बन्दले जनताको सत्तोसराप र गाली गलौज बाहेक अरु केही नपाएपछि छातीमा हात राखेर आत्मालोचना गर्नु आवश्यक छ कि छैन होला ? राजनीति जनताका लागि गर्ने हो कि जनताको नाममा अरु केही कारणका लागि ? हामीले हामीप्रति उत्तरदायी नेता वा दल पाउन अझै कति कुर्नुपर्ने होला ?

बन्द गर्नुपर्ने अरु धेरै कुराहरु छन् जुन हामी सबै खुलेआम गरिरहेका हुन्छौं । तर बन्द गर्नै नहुने सार्वजनिक यातायात, विद्यालय र अस्पतालहरु भने हामी कसैको सनकको भरमा बन्द गरिरहेका हुन्छौं । खुला रुपमा आफ्नो रोजगार वा नियमित कर्म गर्न, हिंडडुल गर्न नपाउनु भनेको कस्तो प्रजातन्त्र हो ? यो भन्दा ठूलो यो समयको अरु कुनै विडम्वना छैन । हरेक क्षेत्र बाजको पञ्जामा परेको परेवा जस्तो भइरहेको छ । बन्द गर्नु पर्ने कुरा भनेको हरेक चीजको राजनीतिकरण हो । तर त्यसमा त हामी सबै कानमा तेल हालेर बसेका छौं । दण्डहीनता, चरम भ्रष्टाचार र दबावमूलक परिपाटी कायम हुँदै गएको छ । त्यो परिपाटीलाई बन्द गरौं न बरु । आफ्नो स्वार्थका लागि अरुलाई जतिसुकै अप्ठ्यारो पारेर भए पनि अभीष्ट पूरा गर्ने गराउने संस्कारले जरो गाडिरहेको छ । त्यसलाई हो बन्द गर्नुपर्ने । आफ्नो आचरणमा आएको विचलनलाई पो हो हामी सबैले बन्द गर्नुपर्ने, खै त्यसको लागि पहल ? पहुँचवाला र ठूलाठालू जतिसुकै भ्रष्ट भएर पनि उन्मुक्ति पाउने तर सानातिना भुरा माछाहरुमात्र कारवाहीमा पर्ने पक्षपाती प्रचलनलाई सकिन्छ भने बन्द गरौं । सडक अनुशासन, नागरिक चेतको खिल्ली उडाउने हाम्रो बानीलाई आजै बन्द गरौं न । तर हैन, हामी त नेपाल बन्द गर्नमा पो रोमाञ्च देख्छौं ।  

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment