बायाँ फन्को १६२
अभिव्यक्तिको स्वतन्त्रता हामीले शायदै यस अघि कहिले यति धेरै पाएका थियौं होला । निर्वाध रुपमा हामी जुनसुकै बेला, जुनसुकै ठाउँमा, जुनसुकै बेला, जो कोहीका बारेमा जे सुकै पनि बोल्न स्वतन्त्र भएका छौं । राम्रा कुरा गर्न पनि, नराम्रा कुरा गर्न पनि हामीलाई आजकल कसैको बाउ, बाजे, काका, मामा वा सात पुस्ताले पनि रोक्न सक्दैन । यति धेरै स्वच्छन्द हामी कहिले पनि थिएनौं । त्यसैले यो समय हामी सबैका लागि सर्वाधिक उर्वर समय हो ।
हुन पनि हो हेर्नुस् न, आजकल हामीलाई केही गर्नका लागि पनि अरुको भर पर्नुपर्ने आवश्यकता नै रहेन । कस्तो रमाइलो हैन त ? प्रविधिले सारा कुराहरु यति सजिलो बनाइदिएको छ, सबैले आफ्ना सुुसुप्त प्रतिभालाई उजागर गर्न सक्ने भएका छन् । मनमा चिताउनु मात्र पर्छ, अरु केही गर्नु आवश्यक नै रहेन । न तपाईं हामीले कुनै विधा जान्नका लागि बर्षौं टुप्पी कसेर मेहेनत गर्नु प¥यो, न कुनै परीक्षा नै दिनुप¥यो । जे मन लागेको छ त्यो गर्न सक्ने र पाउने भएका छौं आजका हामी भाग्यमानी मानिसहरु ।
केही वर्ष अघि पत्रकारिता गर्नु भनेको जो कोहीले कहाँ सक्थे र ? त्यसका लागि बौद्धिक र भौतिक लगानी गर्नुपथ्र्यो, खुराक जुटाउनुपथ्र्यो, खोजेर, लेखेर, कम्पोज गरेर, छापेर बजारमा पु¥याउनुपथ्र्यो । एक जना मान्छेले मात्र सक्दैनथ्यो । हरेक पक्षका केही दक्ष मानिसहरुको सामूहिक प्रयासले मात्र त्यो सम्भव हुन्थ्यो । तर आज हेर्नुुुुस् त, कति हाइसंचो छ ? तपाईं हामी घरमा सुतीसुती पत्रकारिता गर्न सक्छौं । अनलाइन पत्रकारिता भन्ने जादुमयी कुराले त्यो सम्भव बनाइदिएको छ । मात्र इण्टरनेट भए पुग्यो । त्यो नाथे इण्टरनेट त आजकल साधारण कुरा भैसक्यो । पहिलेपहिले ग्यास्टिक नभएको नेपाली हुन्न भन्थे, आजकल इण्टरनेट नभएका नेपाली नहुने बेला भैसकेको छ ।
त्यसैले हाम्रो देशमा राति आकाशमा देखिने तारा भन्दा बढी अनलाइन समाचार पोर्टलहरु छन् । कपी पेष्ट भन्ने चमत्कारी आविष्कारले कुनै कुरा टाइप गरेर औंलालाई कष्ट समेत दिनु नपर्ने बनाइदिएको छ । मन परेको कुरा एकातिरबाट टपक्क टिप्यो, अर्कोतिर लपक्क टाँसदियो, भै हाल्यो । मोडल र कलाकारको नाममा वीभत्स र अर्धनग्न फोटो खिच्ने र खिचाउने दुबैको कमी छैन । राजनीतिका नाममा त दिनहुँ यति धेरै खुराकहरु पाइन्छन्, घण्टाघण्टामा नयाँ समाचार हाल्न तपाईहामीलाई भ्याइनभ्याइ हुन्छ । मनगढन्ते र उडन्ते दुईचार हल्लाका कुरालाई सनसनीखेज शीर्षकमा हालिदियो भै हाल्यो । कसैले तपाईहामीलाई त्यसको आधिकारिकता के हो भनेर सोध्दैन । सही वा गलत कुरा के हो भन्ने कसैलाई केलाएर हेर्ने फुर्सद छैन आजकल । चारपाँच जना मिलेर ठूलो स्वरमा एउटा चौपायालाई यो बोका नै हो भन्यो भने हामी सबैले त्यसलाई बोका नै मान्छौं । बोका भए यसले किन भुक्छ ? यसको दाँत किन यस्तो तीखो र पुच्छर किन घुम्रिएको त भनेर सोच्ने पनि कसैलाई फुर्सद छैन । झुक्केर तपाईको हिट बढ्यो भने पकेटखर्च निस्कने विज्ञापन पनि पाउनुहुन्छ । अलिअलि नाम अथवा कुनाम चल्यो भने त तपाईले जे पायो त्यही लेखिदिनुहोला भनेर सब थुर्थुर हुन थालिहाल्छन् । अरु के चाहियो ।
कुरो पत्रिकारिताको मात्र हैन, हरेक अन्य विधामा त्यति नै सजिलो भएको छ । चित्रकार बन्न मन लाग्यो, यति धेरै एप भन्ने जिनिसहरु छन् जसले म जस्तो मान्छेलाई पनि चित्रकार बनाइदिन सक्छ । एउटा गोलो वा सीधा धर्का तान्नका लागि महीनौं हातलाई अभ्यस्त बनाउनुपर्ने जमाना गए अब । हरेक मान्छेले ईच्छा गरेर आफूलाई उत्तम नेपाली, पिकासो वा हुसेनको फोटोकपी बनाउन सक्ने भयो । गीत, गजल, कथा, कविता, निवन्ध वा साहित्यका कुनै पनि विधामा हात चलाउन मन लागे पनि कसले कहाँ छापिदेला भन्ने पीर छैन । फेसबुक, ट्विटर र ब्लग लगायतका सामाजिक सञ्जालहरु छँदैछन् । थोकको भाउमा लेखेर अपलोड गरे हुन्छ । अनि चिनेजानेका जतिलाई ट्याग गरेर नपढुन्जेल सुख नपाउने बनाए हुन्छ ।
सिनेमा बनाउन मन लाग्छ भने पनि अब त हातेफोनबाटै खिच्न सकिन्छ । देखाउनलाई हल चाहिँदैन युट्युवमा हाल्दिए हुन्छ । कहिलेकहीं तपाईंहाम्रो बौलठ्ठी पनि यसरी चलिदिन्छ, रातारात हामी स्टार बन्न सक्छौं । सिनेमा र साहित्यका बारेमा तपाइँलाई समीक्षा गर्ने रहर पो छ कि त ? छ भने ढुक्कैसंग त्यो विधामा जीवन बिताएकाहरुका बारे तपाईँ आफ्नो अमूल्य धारणा व्यक्त गर्न सक्नुहुन्छ । आफुले राम्ररी नबुझेको विधामा सतही जानकारी बटुल्न गुगलमा आधा घण्टा पनि लाग्दैन । त्यसपछि तपाईँ कुनै पनि विधामा समीक्षा र टीकाटिप्पणी गर्न स्वतन्त्र हुनुहुन्छ । तपाईँलाई कसैले केही पनि भन्दैन ।
तपाईं प्रहरीलाई शान्तिसुरक्षा र अपराध अनुन्धान सिकाउन पाउनुहुन्छ, अर्थमन्त्रीलाई बजेट बनाउन सिकाउन सक्नुहुन्छ, हरेक खेलको कोच बन्न सक्नुहुन्छ, मौसमविद, भूकम्पविद्, ज्योतिष सबै बन्न सक्नुहुन्छ । तपाईँ आफूलाई अभिव्यक्त गर्ने हजारौं माध्यम पाउनुहुन्छ, तपाईका कुरा सुन्ने, मान्ने, पत्याउने र प्रचार गरिदिने लाखौं मानिसहरु भेट्टाउन सक्नुहुन्छ । राम्रो कुरामा मात्रै हो शंका गर्ने, नराम्रो कुरामा त आँखा चिम्लेर विश्वास गर्ने मानिसहरुको बानी हुन्छ । तपाईं जति धेरै कुतर्की र जण्ड हुनसक्नुहुन्छ, तपाईँको ख्याति त्यति नै बढ्दै जान्छ ।
त्यसैले आउनुस्, यो स्वर्णयुगले हामीलाई दिएको अवसरको जमेर फाइदा उठाऔं । हरेक विषयमा बोलौं, निर्णायक बनौं । हरेक कुराको छिनोफानो गरौं । हामी सबै न्यायाधीश हौं, नबिर्सौं ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment