Translate

Sunday, August 23, 2015

धराप

बायाँ फन्को १६३ 

यो स्तम्भ लेख्न बस्ने दिन काठमाण्डौको त्रिचन्द्र कलेज अगाडि एउटा नरमाइलो घटना घटेको थियो । जेब्रा क्रसमा बाटो काटिरहेका एक यात्रुलाई एउटा माइक्रो बस भनिने काठमाण्डौंको आतंकले ठक्कर दिएर ज्यान लियो । आक्रोशित भीडले माइक्रोलाई आगो लगाए । हामीलाई सामाय लाग्न थालेको यस्तो समाचारले केही गम्भीर प्रश्नहरु उत्पन्न गरेको छ । तर के हामीले तिनको गम्भीरतालाई देख्न सकेको छौं ? मनन गर्न सकेको छौं ? जेब्रा क्रसमा ज्यान जाने गरी ठक्कर दिने भनेपछि हाम्रा सवारी साधनहरु कसरी गुड्दा रहेछन् र तिनले बाटोमा हिंड्नेलाई कति हेप्दा रहेछन् भन्ने कुरा त्यसैबाट स्पष्ट हुन्छ । जहाँ वटुवालाई प्राथमिकता दिनुपर्ने हो त्यहीं नै किचिमिचि पारिन्छ भने त्यो भन्दा डरलाग्दो र दुखलाग्दो कुरा अरु केही हुनै सक्दैन । 

म स्वयंलाई पनि सबैभन्दा बढी डर जेब्रा क्रसमा नै लाग्ने गर्छ । आफूले सवारी चलाउँदा कसैलाई जेब्रा क्रसमा बाटो काट्न लागेको देखेर रोक्दा सँधै एउटै डर हुन्छ । मैले रोकेको देखेर बाटो काट्न लम्केको मान्छेलाई कतै मेरो छेउबाट हुँकिएर जाने भटभटे वा चौपायाले उडाइदिने त हैन ? अनि आफू बाटो काट्न लाग्दा पनि झुक्किएर कुनै एउटाले रोक्दियो भने त्यसको पछि आउने अर्कोले पच्काइदिने त हैन ? यति सानो अनुशासनको कुरामा नै हाम्रा सवारी चालकहरु सभ्य हुन सकेका छैनन् भने ठूला कुरा के गर्नू । तर के त्यसो भन्दैमा बाटोमा गाडी जलाउनु यसको समाधान हो ? एउटा दुइटा वा दिनहुँ केही गाडी जलाएर वा चालकलाई बीच बाटोमा ठटाएर यस समस्याको समाधान निस्कन्छ त ? सोच्नुपर्ने कुरा हो । 

बाटो सबैभन्दा असुरक्षित स्थान हुनुको पछाडि अरु धेरै कारणहरु छन् । कसैले भनेको एउटा कुरा यहाँ निर स्मरणयोग्य छ । हाम्रा सवारीचालकहरु मध्ये नब्बे प्रतिशतलाई साधारण सवारी नियम र अनुशासनको बारेमा थाहा छैन, बाँकी दश प्रतिशतले टेर्दैनन् । विशेष गरेर भटभटे तथा सार्वजनिक सवारी साधनहरु फुकेको राँगा जसरी बहुलठ्ठी पाराले सडकमा कुद्छन् । एकै छिन रोकिन प¥यो भने गलत साइड, दायाँ बाँया, सडकपेटी, चेप लगायत कताबाट हुन्छ उनीहरु अघि बढ्न थाल्छन् । एक जनाले त्यसो गर्नुका कारण पूरै उपत्यकाको ट्रबफिकलाई त्यसले प्रभावित पार्छ भन्ने कुरा उनीहरु बुझ्न पनि सक्दैनन्, चाहँदैनन् । जहाँ मान्छेले हिटलरी शैलीमा हात उठायो त्यहीं गाडी रोकेर यात्रु चढाउन पाउनु सार्वजनिक यातायातका साधनहरुको जन्मसिद्ध अधिकार हो, त्यसको उनीहरु खुलेर उपभोग गर्छन् । सहायक बाटोबाट मूल सडकमा निस्कने मुखैमा गाडी रोकेर बस्नुमा उनीहरुलाई गर्वको अनुभूति हुन्छ होला । बाटो प्रयोग गर्ने सबैलाई अनुशासित बनाउनका लागि दीर्घकालीन सोचको ठूलो खाँचो छ । 

आफूलाई दुई मिनेट छिटो हुन्छ भने दमकल वा एम्बुलेन्सलाई समेत नगन्ने प्रवृत्ति हामीमा बिस्तारै हावी भैसकेको छ । लाखौंकरोडौंका गाडी चढ्नेहरु त झनै आफूलाई विशिष्ट श्रेणीका मानिसहरु ठान्ने नै भए । अरुहरुको औकात उनीहरुको आँखामा कीराफट्याँग्रा बराबर हुने गर्छ । यी बाहेक हरेक दिन हरेक बहानामा निस्कने जुलुस, धार्मिक झाँकी, बिहेका जन्तीहरु जस्ता कुराहरुले पनि जनजीवन अस्तव्यस्त हुने गरी सवारी जाम गराइरहेका हुन्छन् । अनियन्त्रित संख्यामा दर्ता भएका सवारी साधनहरुको चापलाई यो प्यूसो सहरले कहिलेसम्म धान्ने होला ? यसै पनि राजधानी र महानगरजस्ता उपाधिले विभूषित यस सहरका अधिकांश बाटाहरु साना, भत्केका, पिच उप्केका, खाल्डाखुल्डी परेका धरापहरु जस्ता छन् । 

यस्तो अवस्थामा दिनहुँ भनेजसो दुर्घटनामा मानिसहरु घाइते भइरहेका छन्, उनीहरुको अंगभंग भैरहेको छ, ज्यानै गइरहेको छ । ट्राफिक प्रहरीले ठाउँठाउँमा महीनैपिच्छेका खतिहरुको विवरण टड्कारोसंग देखिने गरी राखेको पढेर पनि हामी कोही गम्भीर वा सचेत हुँदैनौं । सवारी साधनको अनुमतिपत्र दिने क्रमलाई प्रभावकारी बनाउनका लागि बेलाबेला आशालाग्दा नियमहरु बन्ने कुरा हुन्छन्, अनि त्यसै सेलाउँछन् । सार्वजनिक सवारी साधनहरुलाई नियन्त्रित बनाउने पनि योजनाहरु खोकिन्छन् । तर, सिण्डिकेट भनिने माफियाले कुन कफ सिरप खुवाइदिन्छ, ती खोकी पनि आफै मत्थर भएर जान्छन् । काठमाण्डौ उपत्यकाको ट्राफिक अस्तव्यस्त हुन थालेको धेरै भैसकेको छ । तर पनि अरु सबै कुरामा जस्तै आपतै नपरुन्जेल नचेत्ने हाम्रो गौरवशाली परम्परा अनुसार यसलाई पनि पशुपतिनाथले नै सम्हालिदेलान् भनेर हामी आँखा चिम्लेर बसेका छौं ।  

ट्राफिक नियम मिच्नेहरुलाई हुने कारवाही र जरिवाना कडा नबनाउन्जेल यसको समाधान निस्कन सम्भव छैन । हुन त त्यसो गर्नासाथ ट्याक्सी लगायत अरु सार्वजनिक सवारी साधनहरुले बन्द हडताल गरेर केही दिनका लागि जनजीवन अस्तव्यस्त बनाउँछन् भन्ने कुरा पनि आफ्नै ठाउँमा नभएको हैन । तर गलत किसिमका दबावहरुका सामु झुकेर अनियमिततालाई कहिलेसम्म झेल्ने र त्यसको कति मूल्य चुकाइरहने भन्ने कुरा सोच्ने बेला भैसकेको छैन र ?

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment