Translate

Sunday, October 18, 2015

‘रे’ का कुरा

बायाँ फन्को १६७

नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छोबाउको अनुहार भन्ने उखान आज हामीमा सार्थक भएको छ । छिमेकी मुलुकले भूपरिवेष्टित हाम्रो देशलाई मुखले हैनहैन भन्दै कामले चाहिँ नाकाबन्दी लगाइदिएको छ । तराइका बिभिन्न भागमा पहिलेदेखि नै जनजीवन कष्टकर थियो, राजधानी पनि अब त्यस्तै भएको छ । देशको आन्तरिक कुरालाई समयमै चाहिनेजति द्रुत गतिमा सम्बोधन नगर्नाको परिणाम धमिलो पानीमा माछा भार्नेहरुका लागि सहज वातावरण बन्न पुगेको छ । आज खुल्ला, भोलि खुल्ला, मोदी आएपछि खुल्ला, अब त कसो नखुल्ला, दशैं अघि खुल्ला, चीनको नाका खुलेपछि डरैले खुल्ला, यूएन बोलेपछि खुल्ला, अरु देशहरुले कुर्लेपछि खुल्ला, नखुलेर सुख्खै छैन, बिहारको चुनाव नभै नखुल्ला भन्ने अड्कलबाजी गर्दागर्दै निकै दिन बितिसकेको छ भारतले लगाउँदै नलगाए पनि आफै लागेको नाकाबन्दीको । 

नलगाएको नाकाबन्दीले त यति धेरै अप्ठ्यारो पार्दोरहेछ, साँच्चै लगाएको नाकाबन्दीले के गथ्र्यो होला भन्ने कुरा मननयोग्य छ । नैतिक कारणले तथा अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार गर्न नहुने र नपाइने काम नाकाबन्दी साीधै नाक नसमातेर टाउका पछाडिबाट हात घुमाएर ल्याएर लगाइएको छ । हो भनेर प्रमाणित गर्न नसकिने तर हैन भन्न पनि नसकिने खली चाल खेलेको छ हाम्रो छिमेकीले । राजनीति न हो, यहाँ गर्न नपाइने कुराहरु गर्नका लागि थुप्रै अरु उपायहरु हुन्छन् । हिन्दू संस्कारमा गौदान गर्न नसके कुसलाई गाई माने हुन्छ भनेजस्तै यहाँ पनि नाकाबन्दी नभनी नाकाबन्दी गरिएको छ । 

यो अघोषित नाबाकन्दी दुबै राष्ट्रका कूटनीतिको असफलता हो । हामीसंग अरुलाई धारे हात लगाउने पनि अवसर छ, आफूलाई नियालेर हेर्ने, सुधार्ने र दीर्घकालीन रुपमा सोच्ने पनि । दुइवटामा कुन बढी महत्वपूर्ण हो भन्ने कुरा हामीले आफै सोच्ने हो । गाँठो भन्ने कुरा सकेसम्म नपारेको नै राम्रो हो । तर परिसकेको छ भने त्यसलाई सकेसम्म चाँडै फुकाउने विवेकशील मानिसहरुको प्राथमिकता हुनुपर्छ, न कि अझै जटिल बनाउँदै जाने । तर हाम्रो सरकार यति समवेदनशील समयमा पनि हामीलाई परिस्थितिको बारे निचोड र तथ्यगत कुराहरु बताइरहेको छैन । त्यसले गर्दा हरेक दिन नयाँनयाँ अटकलबाजी र “रे” का कुरा गर्ने कल्पनाशील मस्तिष्कहरुले ओभरटाइम काम गरिरहेका छन् । अब त दशैंको बेला चंगा जसरी आकाशमा यति धेरै कागहरु उडिरहेका छन्, कुन चाहिँले हाम्रो कान लगेको हो भन्ने खुट्याएर त्यसको पछिपछि कुद्न पनि हामीलाई भ्याइनभ्याइ भैरहेको छ । अनि धागोका टुप्पाहरु यत्रतत्र देखेर हामी यो हो कि त्यो हो भनेर तान्दै गाँठोलाई झन् जटिल बनाइरहेका छौं । रात रहे अग्राख पलाउँछ भन्छन्, यहाँ त धेरै रातहरु खेर गइसके ।

सम्विधानमा सात बूँदा सुधारे नाका खुल्छ रे भन्ने कुरामा आफ्नो आफ्नो धारणा र विज्ञता हामीले राम्ररी देखाउन सुनाउन भ्याएका पनि थिएनौं, एकपछि अरु यति धेरै कारणहरु देखा पर्न थाले, तिनमध्ये कुनलाई सम्बोधन ग¥यो भने नाकाबन्दी खुल्ने हो भन्ने नै म जस्ता राजनीति र कूटनीति नबुझेका आम नागरिकलाई त थाहा हुन छोड्यो । ओलीलाई प्रधानमन्त्री बन्न नदिए नाका खुल्ने हो भन्ने व्यानर बोकेका कागहरु आकाशमा कावा खाँदाखादै फाष्ट ट्रयाकका कागहरु उड्न थाले । भनिए अनुसार नै पनि ७५ अरब लागतको फाष्ट ट्«याकलाई भनिए अनुसार साँच्चै ३७५ अरब पु¥याएर कुनै भारतीय कम्पनीलाई ठेक्का दिन लागिएको हो भने त त्यो राष्ट्रलाई अलिकति पनि माया गर्ने कुनै पनि व्यक्तिलाई स्वीकार्य हुने कुरा नै भएन । त्यसमाथि पनि त्यसपछिका शर्तहरु त यदि साँचो हुन् भने वर्षौसम्म आफ्नो गर्धनमा अरुको घोक्रेठ्याक लगाउने बाहेक अरु केही होइन । तर, फेरि यहाँ नेर कुरा आउँछ, सत्य के हो ? देश र जनतालाई सत्यतथ्य बताउने पर्ने आवश्यकता हाम्रा कुनै पनि सरकारले न पहिले देखेका थिए, न अहिले देखेका छन् । 

यो विकट परिस्थितिलाई पनि कसरी सम्बोधन गरिंदैछ भन्ने कुरा औपचारिक रुपमा हामीलाई उनीहरुले बताएका छैनन् । या त त्यसको आवश्यकता नदेखेका हुन्, या उनीहरु आफै कुहिराका काग बनेका छन्। आफै रनभुल्ल परेर बसेका हुन् भने हामीलाई केही बताउने सम्भावना कहाँ रह्यो र । बेलाबेला नाकाबन्दी खुल्ने भो भन्ने आशयका अभिव्यक्ति आउँछ । अनि त्यसकोभोलिपल्ट सहरबजारमा चहलपहल बढ्छ । आपतविपतका लागि भोर इन्धन बचाएर राखेका गाडी र भटभटेहरु सडकमा कुद्न थाल्छन् । साँझसम्म हैन रे भन्ने हल्ला चल्छ अनि भोलिपल्ट देखि ती सबै चटकीको टोपीबाट खरायो गायब भए जसरी गायब हुन्छन् । 

यो अनिश्चितताको बन्दी हामी कहिलेसम्म बन्ने ? समस्याको समाधानका लागि पाखुरा सुर्किएर चीनको नाका खोल्ने र त्यताबाट आयात गर्ने भन्ने कुरा गर्नु र दीर्घकालीन रुपमा त्यो कति सम्भव कुरा हो भनेर सोच्नु फरक हैनन् र ? यसै पनि एउटा पराधीनताको समाधान अर्को पराधीनता कहिले पनि हुन सक्दैन । तर हाम्रो नेतृत्व आफ्नै टण्टाहरुमा जेलिएको छ, उसले त न कुनै ठोस कुरा सोच्छ, न हामीप्रतिको उत्तरदायित्व वहन गर्छ । 

त्यसैले हामी नै सामाजिक संजालहरुमा दामोदर काकाको कार्टून बनाउने, घुक्र्याउने, चाडको दुहाइ दिने, मनपरी गाली गर्ने र हामीलाई नाकाबन्दीमा पारेर उनलाई लागेको पाप पखालिदिन पशुपतिनाथमा क्षमापूजा लगाउनेसम्मका कार्यहरु गरेर देशप्रतिको आफ्नो दायित्व पूरा गरिरहेका छौं ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment