Translate

Friday, November 6, 2015

कट् फर सिट

कार्तिक २०, २०७२-  इ कान्तिपुर.कममा प्रकाशित

महादेवको फोन इनकमिंग कलसँगै थर्थर गरेर हल्ला गर्न थाल्यो,
‘ॐ हरहर हर महादेव...’
महादेवलाई यो भजन खूब मन पर्छ । त्यसैले इन कमिंग कल अलर्ट, अलार्म र सबै नोटिफिकेसनमा उनले यही धून राखेका छन् । खालि पार्वतीजीको फोन आउँदा मात्र छुट्टै चिनियोस् भनेर उनले अर्को धुन राखेका छन् । भगवानलाई पनि आफ्नी श्रीमतीसँग डर नलाग्ने कहाँ हुँदोरहेछ र ? त्यसैले पार्वतीजीको फोन आउँदा भने उनको फोनमा बज्ने गर्छ,
‘तिम्रा पाउहरुमा म सँधै झुकिरहन्छु....’
उनले आफ्नो नोट २००५ मोडलको फोनतिर पुलुक्क हेरे । भूतलमा भर्खर ५ को मोडल बजारमा उपलब्ध भएको छ, आफूले २००५ चलाउन पाइरहेको विशिष्टताले गमक्क फुलेर उनले २४ फीटको डिस्प्ले भएको फोन हातमा लिएर हेरे ।
सेताम्य जुँगादाह्री भएका एकजना तीन टाउके वृद्धको चहकिलो फोटो चम्किरहेको थियो । अनि ‘ब्रम्हा कलिंग’ भनेर स्क्रिन पिलपिल गर्दै थियो । ब्रम्हाका तीनवटै टाउकाहरुको थ्री डी इमेज डिस्प्लेमा फन्फनी घुमिरहेको थियो । त्यो हेर्दै महादेव एकैछिन अझै आफ्नो स्तुतिगानको रिंग टोन सुनेर रमाइरहे,
‘गिरीकै नाथ निवास छ, गण छन् सहचारी, शिव गण छन् सहचारी...
मुण्डमाला छ गलामा, मुण्डमाला छ गलामारुप त भयहारी...
ॐ हरहर हर महादेव...’
केही दिन अघि उनको मोबाइलमा यो रिंगटोन बज्दा विष्णु भगवानले भनेका थिए,
‘शंकर सर, तपाईँ अलि बढी नै नारसिसिस्ट हुनुभएको हैन र भन्या ?’
महादेवले आफ्ना लठ्ठिएका आँखाहरुले उनलाई हेरेर मोहनी मुस्कान दिएका थिए । आफ्नो स्तुतिगान भनेपछि भगवानलाई नै पनि सुनिरहन मन नलाग्ने त कहाँ हुँदो रहेछ र ?
उनको फोन बन्द भयो । एक छिनपछि फोन गरौंला, बितिहाल्ने कुरा के होला र भनेर महादेवले आङ्ग तन्काए र चारैतिर हेरे । कैलाश पर्वतको टाकुराबाट चारैतिर देखिने हिमाल बिहानको सूर्यको लालीमा उज्यालो सुन्तला रङ्गले पोतिएका थिए । त्यहीबेला पार्वती मुसुक्क हाँस्दै आइन् । उनको हातमा एउटा धूँवा पुतपुताइरहेको चिलिम थियो ।
‘जागा भयो भगवान ? हजूरको बेड गाँजा ल्याइदिएकी छु ।’
महादेवले उनको हातबाट चिलिम लिएर लामो सर्को ताने । चिलमिको मुखमा आगो नै ह्वार्र बल्यो । सन्तुष्ट भएर उनले आँखा चिम्ले । त्यही बेला फेरि उनको फोन बज्न थाल्यो ।
‘ॐ हरहर हर महादेव...’
फेरि ब्रम्हाको तीनवटा टाउका डिस्प्लेमा घुम्न थाले ।
‘के परेछ र यसरी तारन्तार फोन गरिराछन् यिनले ?’
मनमनै सोच्दै उनले फोनको हरियो बटन थिचेर कानमा लगाए ।
उताबाट ब्रम्हाको हतारिएको स्वर सुनियो,
‘भोलेनाथ, स्थिति राम्रो छैन । केही थाहा पाउनु भो ?’
‘किन र के भो ?’ महादेवले प्रश्न गरे ।
‘आन्दोलनकारीहरुले गणेशजीको मुसामा ढुङगा हानेछन् अघि बिहानै । तै छलाएर भाग्न भ्याएछन् । आजको बन्द त अलि कडै होला जस्तो छ ।’
अनि पो महादेवले झलक्क सम्झे । ओहो... आज त आकाश बन्द पो हो त । दुई दिनअघि भएको एउटा सडक दुर्घटनामा एक ‘स्वर्गवासी’ स्वर्गे भएको विरोधमा सडक अवरुद्ध पारिएको थियो । कुन देउताको बहानले दूर्घटना गराएको त्यसलाई पत्ता लगाई कारबाही गर्नु पर्ने माग गर्दै आन्दोलन गरेकाले आजदेखि अनिश्चितकालीन आकाश बन्द गरेका हुन् ।
महादेवले लामो सास फेरेर भने,
‘अब के गर्ने त आज दिनभर ?’
‘अरु के गर्नू र अब । कतै भेला भएर म्यारिज खेल्ने । सबैको त्यही सल्लाह भएको छ ।’
केही समयअघि भूतलबाट आएको एउटा मानिसले आफूसँग तास भन्ने एउटा रमाइलो जिनिस लिएर आएको थियो । अनि उसैले देउताहरुलाई त्यसको म्यारिज भन्ने एउटा खेल पनि सिकाइदिएको थियो । यो नयाँ र रमाइलो खेल देउताहरुलाई खूबै मन परेको थियो । त्यस दिन युधिष्ठिर पनि त्यहीं थिए ।
‘यसमा त झेलझाल गर्न सजिलो होला जस्तो छैन । हाम्रो बेलामा यो जूवा भैदिएको भए शकुनिले त्यति सजिलोसँग हाम्लाई लट्टीपट्टी पार्न सक्दैनथे होला ।’
उनले चुकचुकाउँदै भनेका थिए । त्यस दिनदेखि देउताहरु फुर्सद पाए कि भेला भएर एक्काइस पत्ती बाँड्न पल्केका थिए ।
‘यतै आउनुस् न त सबैजना ।’
महादेवले अल्छी मान्दै भने ।
‘हैन, तपाईँकहाँ आउन टाढा पर्छ । फेरि त्यहाँ चीसो पनि छ । सबैलाई पायक पर्ने ठाउँमा भेला हुनुपर्‍यो नि । कसैको वाहन चलाउन सकिएला जस्तो छैन । म पनि हाँसलाई घरमै छोडेर आउँछु । हूलमूलमा कसले रिस्क लिइरहोस् ।’
‘कहाँ जम्ने त ?’
उनले सोधे ।
‘इन्द्रको दरवारमा बस्ने सल्लाह भएको छ । तिलोत्तमाले नाच पनि देखाउँछिन्, टाइम सजिलै पास हुन्छ ।’
‘लौ हुन्छ त नि । कति बेलादेखि जम्ने हो त ?’
‘अब बिस्तारै हिँडनुस् न, ठीकै हुन्छ ।’
यति भनेर ब्रम्हा लाइन काट्दा भया ।
महादेव पनि उठेर आफ्नो डमरु र त्रिशुल बोकेर हिँड्नको लागि तयार भए ।
‘बिहानै कता सवारी भगवान ?’
पार्वतीले आफ्ना लामालामा परेलाहरु झिम्काउँदै सोधिन् ।
‘इन्द्रको दरवारमा जरुरी मिटिंड छ । आज आकाश बन्द छ, नन्दीलाई पनि यतै छोडेर जान्छु । मेरो लागि खाना नबनाउनू ।’
पार्वतीको उत्सुक अनुहारमा हेरेर भन्दै महादेव लम्लम् लम्किए ।
नभन्दै आकाश सुनसान थियो । कुनै चहलपहल थिएन । कसैले पनि आफ्नो वाहन निकालेका थिएनन् । बीच बाटोमा धन्वन्तरीको एयर एम्बुलेन्सलाई केही आन्दोलनकारीहरुले रोकेर सोधखोज गर्दै रहेछन् । वायु देवताको ग्यास्ट्रिक बल्झेर आलसतालस भएर औषधालय लैजान लागेको भनेपछि बल्लबल्ल उनीहरुले त्यसलाई बाटो छोडे ।
‘कस्तो दिन आयो यो आकाशलोकमा हरे...’
मनमनै चुकचुकाउँदै महादेवले आफ्ना पाइला इन्द्रको दरवारतिर चाले । हिँड्ने बानी छुटिसकेको हुनाले उनका पिडूँला फत्रक्कै गलिसकेको थिए ।
‘कुनै जमानामा सतीदेवीको मृत देह ढाडमा बोकेर त्यत्रात्यत्रा पहाड हिँड्ने मान्छे मै हूँ र ?’
मनमनै महादेवले गमे,
‘भोलिदेखि अल्छी नगरी जीम जाने गर्नुपर्ला । यो तालले त भएन ।’
उनी आफ्नो अलिकति बढेको पेटलाई लामो सास फेरेर भित्र तान्दै द्रुत पाइला चाल्न थाले । उनी इन्द्रको दरवारमा पुग्दा अरु भगवानहरु भेला भैसकेको रहेछन् । गणेशजीले आफ्नो मुसा, सरस्वती माताले हाँस, माता भवानीले सिंह र विष्णुजीले गरुड घरैमा छोडेर आएका रहेछन् । यमराज एकजना चाहिँ शूरा रहेछन्, आफ्नो बाहन चढेर नै आएछन् । उनको अजंगको राँगो छेउमा बसेर पराल उग्रयाइरहेको थियो ।
गर्वले छाती फुलाएर जुँगामा ताउ लगाउँदै यमराज भन्दै थिए,
‘आफू त टेरिन्न यस्ता बन्दकर्ताहरुलाई । एक ठाउँमा रोक्न आएका थिए, तर यसले फुँफुँ गरेर राताराता आँखा पल्टाएर लखेटेपछि यसको सिङ्ग देखेर सबै आन्दोलकारीहरु तितरवितर भए । हाहाहा....।’
मदनदास श्रेष्ठको जस्तै अट्टहासका साथ यमराजले आफ्नो पुरुषार्थ देखाए । अरु भगवान केही बोलेनन् ।
‘गरुडको इन्स्योरेन्स नवीकरण गर्न भ्याएको थिइँन । त्यसैले हो, नत्र त म पनि उसैमा उडेर आउँथें ।’
ब्रम्हाले ईख लिएझैं भावमा भने ।
‘ठीकै गर्नुभो, अनिकालमा बिउ जोगाउनू, हूलमूलमा जिउ जोगाउनु भन्छन् ।’
लक्ष्मीले उनलाई सान्त्वना दिइन् ।
गणेशले आएर महादेवको पाउमा ढोग गरे ।
‘मुसा ठीकै छ नि ? आन्दोलकारीहरुले ढुङ्गा हाने भन्ने सुन्या थिएँ ।’
‘छलेर भागियो नि । घरमा राखेर हिंडेर आएको ।’
गणेशले मसीनो स्वरमा भने ।
‘तँलाई बन्द छ भन्ने थाहा पाएपछि किन हिरो हुन परेको ?’
पितृसुलभ स्नेहका साथ महादेवले हकारे । गणेशले केही नबोली कान कन्याए ।
‘हामी सबैले आआफ्नो इमेल तपैंको मेनफ्रेममा डाइभर्ट गरेका छौं है,’ विष्णुले इन्द्रलाई हेर्दै भने, ‘के गर्नू अनलाइन भए पनि काम त गर्नै पर्‍यो नि ।’
इन्द्रले आश्वासन दिंदै भने,
‘ढुक्क हुनुहोस् । मैले रम्भालाई त्यहाँ कम्प्यूटरमा राखिदिएको छु । दिनभरका जरुरी कुराहरु प्रिण्ट गरेर ल्याइदिन्छिन् ।’
अनि आकाश बन्दको सदुपयोग गर्न देवीदेउताहरु म्यारिज खेल्ने तरखरमा लागे । तेत्तीस कोटि देउतालाई एक्काइस पत्ती बाँड्नका लाथि थोरै तासले कहाँ पुग्थ्यो र ? विश्वकर्माले तासको पहाड जस्तो विशाल गड्डीलाई आधाआधा भागमा बाँडेर दुइ हातमा च्याप्प समाते । पहिले दुवै चाङ्गलाई माथिपट्टि बङ्ग्याएर फिर्र पारे, अनि त्यसलाई मुनिपट्टि फर्काएर फुर्र गरे । अरु देउताहरु मन्त्रमुग्ध भएर त्यो नयाँ कला हेरिरहे ।
‘खटाखट है । पहिले नै भन्द्या छु नि । हातैपिच्छे सेन्टर कलेक्सन हुन्छ । लाग्यो भन्न पाइन्न ।’
विश्वकर्माले तास बाँड्दै भने ।
मत्र्यलोकका मानिसहरुले जति विकास गरे पनि, प्रविधिमा जति फड्को मारें भने पनि उनीहरुलाई थाहा नभएका धेरै कुराहरु छन् । ती मध्ये एक हो, उनीहरुको विचार स्वयं माथि आकाशको मेन फ्रेममा आवद्ध हुने एउटा अदृश्य चिप् उनीहरुमा जन्मँदै जडान भएको हुन्छ । मस्तिष्कको लाखौं कोषिकाहरुमध्ये एकमा जडान भएको त्यो चिप्ले उसका हरेक सोचलाई सीधै माथिको सेन्सरसँग आवद्ध गरिदिएको हुन्छ । हरेक मानिसका सूक्ष्मभन्दा सूक्ष्म सोचहरु पनि त्यहाँ रेकर्ड भैरहेको हुन्छ । तीमध्ये महत्वपूर्ण सोच वा मागलाई अत्याधुनिक प्रोसेसरले फिल्टर गर्छ । अनावश्यक कुराहरु फालिदिन्छ र आवश्यक कुरालाई डेटा सर्ट गरेर सम्बन्धित भगवानकहाँ पठाइदिन्छ । त्यो नै पनि गन्ने नसक्ने संख्यामा हुने भएकोले हरेक भगवानका सेक्रेटरीहरुले तिनलाई पनि छानेर दिनको हजारवटा जति कुरा मात्र भगवानको प्रत्यक्ष जानकारीमा पुर्‍याउने गर्छन् । महत्व र आवश्यकता हेरेर तिनको बारेमा निर्णय गर्ने काम भगवानहरुले गर्ने गर्छन् ।
कहिलेकहीं महत्वपूर्ण कुराहरु पनि धेरै हुने हुनाले निर्णय र कार्यान्वयनमा केही समय लाग्न सक्छ । त्यसैले भगवानको घरमा विलम्व होला तर अन्याय हुँदैन भन्ने उखान प्रचलनमा आएको हो । त्यो उखान बनाउने मानिसले आफूले बनाएको भन्ने ठाने पनि उसको मगजमा त्यो विचार माथिबाटै डाउनलोड गरिएको हो भन्ने चाहिँ मानिसहरुलाई थाहा छैन ।
इन्टरनेटको डाटाको कोटा जस्तै हरेक मानिसलाई कति विचार गर्न सक्ने, कति उपलब्धि हासिल गर्न सक्ने, कति क्षमता प्रदर्शन गर्ने र केके आविष्कार गर्न सक्षम हुन सक्ने भन्ने क्षमता पनि माथिबाटै कोटामा हालिन्छ । उसले त्यो कोटा रहुन्जेल त्यही अनुसार कार्य गर्दछ । समय अनुसार मानिसहरुको त्यो कोटा थपघट वा परिमार्जन माथिबाटै गर्ने गरिन्छ । यो कुरा तल मत्र्यलोकका मानिसहरुलाई भेउ पनि हुँदैन ।
आकाश बन्दको सदुपयोग गर्न म्यारिज खेलिरहेका भगवानहरु साँझसम्म त्यसैमा रमाए । सवारी साधन नल्याएको कारण चेकिंगको डर पनि नभएको हुनाले महादेवले अलि बढी नै मापसे गरिसकेका थिए । खाल उठ्ने बेलामा रम्भाले सबै भगवानका लागि त्यस दिन मत्र्यलोकबाट आएका प्रार्थनाहरुको छाँटिएको लिष्ट ल्याएर हस्तान्तरण गरिन् ।
‘विशेष केही छ ?’
ईन्द्रले रम्भालाई हेर्दै सोधे ।
‘प्रभो, आज एउटा नयाँ कुरा ट्रेण्डिङ्ग भएको देखिएको छ । सबै भगवानहरुको नाममा धेरै मानिसहरुले एउटा साझा कामना गरेका छन् ।’
मत्र्यलोकमा आजकल मात्रै चलनमा आएको ट्विटर भन्ने कुरामा हुने ट्रेण्डिंग भन्ने कुरा यहाँ माथि निकै पुरानो हो । धेरैभन्दाधेरै मान्छेले अलगअलग एउटै कुरा मागे भने त्यो छिटो भगवानहरुको ध्यानमा पर्ने गर्छ । त्यस दिनको ट्रेण्ड के रहेछ त भनेर सबै भगवानहरुले आआफ्नो नाममा आएका प्रार्थनाको लिष्ट हेरे ।
महादेवको निवास भन्दा नजिकैको एउटा सानो र भूपरिवेष्ठित् मुलुकमा भैरहेको नाकाबन्दी भन्ने कुरा चाँडै खुलोस् भनेर धेरैभन्दा धेरै मानिसहरुले एकैसाथ प्रार्थना गरेका रहेछन् । सबै देउताहरु गम्भीर भएर ती प्रार्थनाहरु हेर्न थाले । स्कूल जाने केटाकेटी, दैनिक रोजगारी कमाएर आफ्नो र परिवारको पेट पाल्नुपर्ने गरिब मजदूरहरु, देशको माया गर्ने सर्वसाधारण, इन्धनको अभावमा दुख पाएका मानिसहरु, बिहान बेलुकाको खाना कसरी पकाउने भनेर चिन्तित भएका गृहिणीहरु, उपचारका लागि दौडधूप गरिरहनुपर्ने बिरामी मान्छेहरु र आर्थिक विकासका कारण मात्रै देश समुन्नत हुन्छ भन्ने धारणा भएका उद्यमी व्यापारीहरुको बाहुल्य थियो प्रार्थना गर्नेहरुमा ।
अचम्मको कुरा के भने, केही मात्रामा चाहिँ नाकाबन्दी अझै चलिरहोस् भन्ने केही छिटपुट प्रार्थनाहरु पनि आएका रहेछन् । किवर्डका आधारमा डेटा सर्ट गर्दा नाकाबन्दी भन्ने शब्द साझा भएका कारण माथिको कम्प्यूटरले ती प्रार्थनाहरुलाई पनि त्यहीं मिसाइदिएको रहेछ । ती प्रार्थनाहरुले देउताहरुको ध्यान आकर्षित गर्‍यो ।
‘यो नाकाबन्दी भन्ने कुराले कसको चाहिँ के फाइदा हुँदोरहेछ हँ ?’
दाहिनेपट्टिको अनुहारको दाह्री कन्याउँदै ब्रम्हाले प्रश्न गरे ।
सबै देउताहरु गम्भीर भएर सोच्न थाले । तर निकैबेर सोच्दा पनि उनीहरुले त्यसको भेउ पाएनन् । उनीहरुले रम्भालाई नाकाबन्दी कायम रहोस् भनेर प्रार्थना गर्नेहरुको बारे खोजी गरेर नालीबेली पत्ता लगाउन अह्राए । रम्भा हतारहतार कम्प्यूटरमा तिनका बारे खोजी गर्न थालिन् । उनले निकालेको रिपोर्ट रमाइलो थियो । ओभरहेड प्रोजेक्टरमा रम्भाले आफूले बनाएर ल्याएको पावरप्वाइण्टका स्लाइडहरु देखाउन थालिन् ।
पहिलो वर्गमा आफ्ना राजनीतिक मागहरु पूरा गराउनका लागि दबाबमूलक राजनीति गर्ने नेताहरु थिए । उनीहरुले नाकाबन्दी रोकिन नहुने तर्क गर्नु स्वाभाविक थियो । किनभने अब कुरा जुँगाको लडाईँको भैसकेको थियो । दोश्रो वर्ग अराजक मानसिकता भएका मानिसहरुको रहेछ, जो शान्ति समन्वय र सकारात्मक वातावरण बनेको देख्न सक्दैनन् । तेश्रो वर्ग चाहिँ कालो बजारियाहरुको रहेछ । सीमा वारी, सीमा पारी र राजधानीसम्म विभिन्न स्थानमा फैलिएका कालोबजारीहरुको संयन्त्रले यो अभावको अवसरमा निकै मोटो दैनिक कमाइ गरिरहेको थियो । देउताहरु त्यसपछि यो नाकाबन्दी किन र कसरी भयो भन्ने कुरामा केन्द्रित भए । निकै लामो जेलिएको यो कुरालाई केलाउँदै जाँदा उनीहरुले केही मूल र प्रमुख कारणहरुलाई मार्क गरे ।
ब्रम्हाका चारैवटा अनुहार गम्भीर थिए । केहीबेर घोत्लिएपछि अन्त्यमा उनको दाहिनेपट्टिको मुख चल्न थाल्यो ।
‘मेरो विचारमा समस्याको जड आन्दोलनरत पक्षमाथि लामो समय देखि केन्द्रले गरेको भेदभाव हो भन्ने लाग्छ ।’
तत्काल विष्णु त्यसको प्रतिकारमा उत्रिए,
‘म मान्दिन यो कुरा । क्षमता भएकाहरुले उचित कदर र काम पाएकै देख्छु म त । भेदभावको कुरा गर्नुहुन्छ भने माथिमाथि दुर्गममा भएकाहरुको पनि कम अत्यासलाग्दो अवस्था छैन । अहिलेसम्म मोटरबाटो नदेखेका कति मानिस त्यहाँ छन् । हो विकासको फल सबैले पाउने वातावरण बनाउनु पर्छ । तर त्यसका लागि केकतिसम्म गर्न हुने नहुने भन्ने पनि त मापदण्ड हुन्छ हैन र ?’
महादेव पनि यसमा समर्थन जनाउँदै बोल्न थाले,
‘त्यसै पनि त बदलिंदो समय र परिस्थितिमा पहिलेका मानिसहरुले गरेको त्यो भेदभाव गलत थियो भन्ने कुरा नयाँ पुस्ताले मनन गरिसकेको छ । त्यसको सुधारका लागि पहल पनि चालिसकेको छ भने अन्तर्राष्ट्रिय मान्यता विपरित कसैलाई अति आवश्यक कुराहरुको अभाव हुने गरी अमानवीय रुपमा नाकाबन्दी लम्ब्याउनु कतिसम्म जायज हो ?’
यो विषयमा आकाकशमा निकैबेर देउताहरुको माथापच्ची भयो । उनीहरुले समस्याको दोश्रो कारणका रुपमा ती मानिसहरुलाई ठम्याए, जो असहज परिस्थितिको फाइदा उठाएर आफ्नो राजनैतिक उपलव्धि र भविष्य सुनिश्चित गर्न खोजिरहेका थिए । आम नागरिकको हकका लागि भनेर देखाउने दाँत टिलिक्क पारे पनि आम नागरिककै दु:ख, कष्ट वा गइरहेको ज्यानका प्रति उनीहरु पटक्कै सम्वेदनशील देखिएनन् भन्ने ठहर भयो ।
तेश्रो र सबैभन्दा महत्वपूर्ण कारणका रुपमा चाहिँ त्यो सानो मुलुकको ठूलो र शक्तिशाली छिमेकी मुलुकको सरकार देखियो जसले सँधै त्यो सानो मुलुकलाई आफ्नो पराधीनतामा रहेको मात्र देख्न चाहेको थियो र भविष्यमा पनि त्यो पकड कायम रहोस् भन्ने उनीहरुको स्पष्ट मनाशय थियो । भौगोलिक परिस्थितिका कारण त्यो सानो मुलुकका सामु उनीहरुमाथि भर पर्नुको कुनै विकल्प थिएन । भएका विकल्पहरु पनि केलाउने कार्य त्यस मुलुकका कुनै पनि युगका नेताहरुले गरेका थिएनन् । सानो मुलुकमाथिको नियन्त्रण किन पनि जरुरी थियो भन्ने कुरामा पनि सम्भावित उपकारणहरु निम्न प्रकारका देखिए ।
सानो मुलुकमा भएको अथाह जलसम्पदा । आफ्नो विशाल मुलुकको विकासका क्रममा त्यहाँ भएको पानीले नपुग्ने भएकोले भविष्यका लागि त्यो सानो मुलुकको जलसम्पदामाथि आफ्नो नियन्त्रण राख्नका लागि सीमा जोडिएका भागहरु आफ्नो काबूमा रहनु उनीहरुका लागि अत्यावश्यक देखिएको थियो । सानो मुलुकले आफ्नो देशका प्रदेशहरुको नयाँ खाका बनाउने क्रममा केही प्रमुख नदीनाला आफ्नो सीमा जोडिएका प्रदेशमा नपरेको हुनाले तिनलाई त्यता समेट्न लगाउनका लागि आन्दोलनरत दलका एजेण्डाहरुमा सघाए जसरी आफ्नो स्वार्थसिद्धिका लागि चलखेल गरी पछाडि बसेर उनीहरुलाई सघाएको । सानो मुलुकलाई धर्म निरपेक्ष बन्न दिन हुँदैन भन्ने पनि ठूलो मुलुकको तत्कालीन सरकारको ध्याउन्न हुनसक्छ भन्ने कुरा कुबेरले औंल्याए । यहाँ निर देउताहरु एकछिन अकमकाए । फेरि ब्रम्हा बोले,
‘धर्म भनेको के हो भन्ने कुरा तलका मानिसहरुले बुझ्नै सकेनन् । उनीहरुलाई त्यो बुझाउन नसक्नु हाम्रै गल्ती हो र त्यसको जिम्मेवारी हामीले नै लिनुपर्छ । अब बनाउने मानिसहरुमा यो समस्या नरहोस् भनेर हामीले ध्यान दिनुपर्छ ।’
मान्छेका नयाँ बन्ने मोडलहरुको चेतमा भएको म्यानुफ्याक्चरिंग डिफेक्टपत्ता लगाएर सुधार गर्नका लागि उनीहरुले विश्वकर्माको अध्यक्षतामा एउटा उच्चस्तरिय आयोग गठन गरे ।
तर मूलमुद्दा भनेको अहिलेको तत्कालीन अवस्था थियो । सानो देशका नेताहरुलाई आफ्नो आन्तरिक समस्याहरु अरुमा भर नपरी समाधान गर्ने खूबी त उनीहरुले हालेरै पठाएका थिए ।  तर खै किन हो उनीहरु कसैले पनि त्यसको उपयोग गर्ने चासो देखाएका थिएनन् । त्यही भएर नै बाहिरी शक्तिले चलखेल गर्ने अवसरहरु पाइरहेकोमा देउताहरु चिन्तित भए । यो चलखेलको पछाडि मूल मान्छे को रहेछ त भनेर हेर्न अब सबै देउताहरु उत्सुक भए । विश्वकर्माले रम्भालाई ईशारा गरेपछि उनले यी डेटाका आधारमा म्याच गर्ने मानिस सर्च गर्ने कमाण्ड थिचिन् ।
कम्प्यूटरमा एउटा बालुवाघडीको आकृति फनफनी घुम्न थाल्यो । केही बेरमा इष्टकोट लगाएको एकजना मान्छेको फोटो देखियो । उसको दृष्टि कमजोर रहेछ, आँखामा चश्मा थियो । कपाल र जुंगा दाह्री फुलेको त्यो मान्छेको अनुहार एकदमै चतुर थियो । सबै देउताहरु त्यो मानिसलाई हेरिरहेको बेला इन्द्र भगवानले एउटा रोचक प्रश्न गरे,
‘हामीले बनाएका कुनै पनि अरु मान्छे जस्तै यो चतुरेको मगजमा पनि यस्तो खुराफात आफैं आउने कुरा त हैन । हरेक मानिसले त्यही र त्यति नै सोच्छन् जुन र जति हामीले प्रोग्रामिंग गरेर हालेका हुन्छौं । त्यसो हो भने यसको दिमागमा यो खुराफातको प्रोग्रामिंग गरेर कसले हालेको हो ? मैले त हैन ।’
उनले सबै देवीदेउताहरुलाई नियालेर हेरे । कसैले पनि त्यो जिम्मेवारी आफ्नो हो भनेर स्वीकार गरेनन् । ईन्द्रले फेरि प्रश्न गरे,
‘हामीमध्ये कसैले पनि उसको मगजमा यो हालेका छैनौं भने, किन ऊ यस्तो गरिरहेको छ त ?’
विश्वकर्मा फेरि आफ्नो ल्यापटपमा त्यो चतुरेको मगज लोड गरेर खोजीनीति गर्न थाले । पाँच मिनेटमै उनले जुन निष्कर्ष निकाले, त्यो सबै देउताहरुलाई सोच्न बाध्य बनाउने थियो । उनले भने,
‘मैले निकालेको निष्कर्ष के हो भने, करोडौं अरबौंको संख्यामा मास प्रडक्सन गर्दा कहिलेकहीं गडबड हुन सक्छ । यो त्यस्तै एउटा डिफेक्टिभ माल हुन सक्छ । अर्को सम्भाावना चाहिँ हामीले पर्फेक्ट नै पिस बनाएको हो, तर चतुरेको विचारको मासिक कोटा हाल्दा केही महीना अघि एउटा सानो गडवडी भएकोले यसको दिमाग करप्ट भएको पनि हुन सक्छ ।’
‘त्यस्तो कसरी सम्भव छ र ?’
ईन्द्रले अचम्म मान्दै सोधे ।
‘किन नहुनु ? आजकल भाइरसको विगविगी छ, पोर्न साइटहरु सकेसम्म नखोलौं भनेको केही देउताहरुले मान्नुभएको छैन । यसै गरी लुकिछिपी हेरेको कुनै साइटबाट छिरेको मालवेयरका कारण चतुरेको कोटामा भाइरस छिरेको हुनसक्छ ।’
सरस्वती माता निन्याउरो मुख लगाएर बोलिन्,
‘यो भाइरस लागेर करप्ट भएको दिमागको गलत सोच र कामले त यी दुई देशको सदियौं पुरानो सम्बन्धलाई नै भद्रगोल बनाउन सक्छ । यसलाई तुरुन्तै रिपेयर गर्नुपर्छ ।’
उनको कुरामा सहमत हुँदै गम्भीर भएर विष्णुले प्रश्न गरे,
‘यसको समाधान के त ?’
विश्वकर्माले सोच्दै भने,
‘भाइरस स्क्यान गर्नुपर्‍यो, त्यसलाई उसको सिस्टमबाटै डिलिट गर्नुपर्‍यो र उसको दिमागलाई एकपटक फुल फम्र्याट गरेर नयाँ सफ्टवेयर हाल्नुपर्‍यो ।’
देउताहरु गम्भीर भए । अनि उनीहरुले विश्वकर्मालाई नै त्यो भाइरस पत्ता लगाएर डिलिट गर्नेजिम्मा दिए । विश्वकर्माले त्यो चतुरेको दिमाग स्क्यान गर्न एण्टी भाइरस सफ्टवेयर चलाए ।
‘कति समय लाग्छ ?’
दुर्गाले सोधिन् ।
‘यसै भन्न सकिन्न । पूरै दिमाग स्क्यान गर्नु छ । एकएक छिद्र छान्नुपर्छ । यो हामीले चिनेको भाइरस रहेछ भनेचाँडै देखिन्छ, नचिनेको र नयाँ रहेछ भने देखि महीनौंसम्म पनि लाग्न सक्छ ।’
ईन्द्र भगवान सोच्दै थिए, त्यहाँ तलको समस्या त ढीलाचाँडो समाधान भइ नै हाल्ला । तर आफ्नै समस्या पनि सिङ्गै बाँकी छ सम्बोधन गर्नुपर्ने । यो अनिश्चितकालीन बन्दको के गर्ने होला ?  आज शुरु भएको अनिश्चित आकाश बन्द कहिले खुल्ने हो, कसरी खुल्ने हो । यहाँ माथि त्यस किसिमको आन्दोलन पहिले कहिले पनि नभएकोले यो समस्या उनीहरुका लागि पनि नितान्त नयाँ र नौलो थियो । लामो सास फेरेर उनले भने,
‘आजको लागि धेरै काम गरियो । दिमाग लाष्टै भारी भएको छ । आउनुस् अब छुट्टिनु अघि एउटा बेटर राउण्ड खेलौं ।’
सबै सहमत भए । अचानक महादेब जुरुक्क उठे । उनले आफ्नो त्रिशुलको तासको पहाडमा प्रहार गरे । तासको पहाड छरपष्ट भएर भूईंभरी छरियो । सबै देउताले जिल्ल परेर उनलाई हेरे । उनका नशाले लठ्ठ आँखामा क्रोधका राता धर्साहरु स्पष्ट देख्न सकिन्थ्यो । महादेवको रिससँग सबै राम्ररी नै परिचित थिए । त्यसैले ब्रम्हाले अलि डराएर सोधे ।
‘के भो शंकर सर ?’
महादेवले राताराता आँखाहरुले हेर्दै भने,
‘कट् फर सिट । म त आज हारेको हार्‍यै भाछु ।’
तर महादेवलाई थाहा नभएको कुरा के थियो भने कट फर सिटले मात्र समस्याको समाधान हुँदैन र त्यो जीतको ग्यारेण्टी हैन ।


http://bit.ly/1PeBc2T

1 comment: