Sunday, November 8, 2015

विदेशीको मोह

१६ माघ २०६७ मा प्रकाशित


हालसालै नेपालमा छायाँकन गर्न आएका इजरायली टेलिभिजन फिल्मका सदस्यहरु संग सहकार्य गर्ने जोहो जुरेको थियो । करीव बाह्र भागको उक्त श्रँृखलाको सम्पूर्ण छायाँकन नेपालमा नै हुने रहेछ । नेपाल भ्रमणमा आएकी एकजना इजरायली युवती लामो समयसम्म सम्पर्कमा नआएपछि उसकी बहिनी आफ्नी दिदीलाई खोज्न आउने कथावस्तुको वरिपरि सो टेलिफिल्म घुम्दो रहेछ भन्ने जानकारी उनीहरुबाट प्राप्त भएको थियो । तर वास्तविक कथावस्तु के हो र कसरी अगाडि बढ्छ भन्ने कुरा यही नै हो भनेर किटान गर्न सकिंदैन किनभने हिब्रू भाषामा लेखिएको उक्त फिल्मको पटकथा वा दृश्यहरुले के भन्छन् भन्ने थाहा छैन ।  सिनेमाको बारेमा कसैलाई भन्दा कुनै पनि पक्षलाई वा कुनै पनि पात्रलाई प्रमुखता दिन वा न्यून बनाएर प्रस्तुत गर्न सकिन्छ । समग्रमा छायाँकन र सम्पादन भैसके पछि मात्र खास कुरा के हो र कस्तो हो भन्ने थाहा हुन्छ । निर्देशकको यही अधिकार र विशेषताका कारण सिनेमालाई उसको माध्यम भन्ने गरिन्छ ।

केही दिन अघि झिसमिसे बिहान भक्तपुरको कुनै एउटा गल्लीमा त्यस फिल्मको छायाँकन हुँदै थियो । स्थानीय समन्वर्यकर्ताले निर्देशकको आवश्यकता अनुसार केही सानासाना केटाकेटीहरुलाई भेला पारिसकेका थिए । फिल्मकी नायिका कुनै मान्छेलाई खोज्दै त्यहाँ आइपुगेको दृश्य थियो त्यो । युवती चारैतिर हेर्दै आउनासाथ केटाकेटीहरु उसलाई छोप्न पुग्छन्, उसको कोटको बाहुला र फेरमा झुण्डिंदै दश रुप्याँ माग्न थाल्छन् । युवती अलमल्ल पर्छे, आत्तिन्छे र चारैतिर हेर्छे । अलि पर पेटीमा बसेर चिया खाइरहेको अर्को इजरायली आएर ती केटाकेटीहरुलाई भगाउँछ । त्यो हेर्दा साधारण लाग्ने दृश्यको छायाँकनले केही प्रश्नहरु मनमा उव्जाए । तरीका फरकफरक मात्रै हुन सक्छ, तर माग्नेहरु त संसारका सबै जसो देशहरुमा हुन्छन् । तर के पर्यटकलाई देख्नासाथ हाम्रा केटाकेटीहरु दश रुप्याँ माग्नका लागि त्यसै गरि झुम्मिन्छन् ? जब इजरायलमा त्यो प्रसारण हुन्छ, हेर्ने मानिसहरुमा नेपालको कस्तो छवि बनाउला त्यो दृश्यले ? एकातिर हामी नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउनका लागि मरिमेटेका छौं भने अर्को तिर यस्ता दृश्यहरु छायाँकन गर्न दिइरहेका छौं, जुन हेरेर यहाँ आउनेले दुइ पटक सोच्नुपर्ने हुन सक्छ ।  पटकपटक देखिएको कुरा हो विदेशीहरु यहाँ आएर यहाँको राम्रो कुरा भन्दा नराम्रो कुरालाई नै देखाउन र खिच्न बढी रुचि देखाउँछन् । बेलाबेला हिन्दी चलचित्रहरुले पनि त्यस्तै काम गरेको भनेर विरोधहरु हुने गरेका छन् । तर, यहाँ प्रदर्शन नहुने कतिपय अन्य विदेशी फिल्म र वृत्तचित्रहरुले संसारमा हामीलाई कुन रुपमा प्रस्तुत गरिरह्का हुन्छन् भन्ने कुरा आम मानिसलाई अत्तोपत्तो पनि हुँदैन । भारतमा नै केही समय अघि छायाँकन भएर अन्तर्राष्ट्रिय रुपमै चर्चित सिनेमा स्लमडग मिलिनेयरलाई समेत उनीहरुले गरीबीको व्यापार गरेको भनेर विरोध गरेका थिए यद्यपि त्यसले भारतीयहरुलाई केही ओस्कार समेत दिलाउन फिल भएको थियो । तर, हामी भने यस्ता कुराहरुमा कानमा तल हालेर किन बस्छौं ?

कुनै पनि विदेशीले नेपालमा आएर सिनेमा खिच्नका लागि संचार मन्त्रालयसंग स्वीकृति लिनुपर्छ । त्यसका लागि उनीहरुले कहाँकहाँ र के के खिच्ने भन्ने कुराको जानकारी गराउनु पर्छ । त्यसका आधारमा छायाँकनको बेला मन्त्रालयका एक जना अधिकृत खटाइन्छन् जसको काम भने अनुसार काम भएको छ कि छैन भनेर अनुगमन गर्ने हुन्छ । भक्तपुरको गल्लीमा ती सानासाना केटाकेटीहरु दश रुप्याँ माग्नका लागि भुम्मिएको छायाँकन हेर्दा स्तम्भकारलाई संचार मन्त्रालयका ती अधिकृतलाई भेट्न र के का आधारमा यस्तो नकारात्मक छायाँकन गर्न दिइयो भनेर जान्न मन लाग्यो । यूनिटका अन्य नेपाली सदस्यहरुसंग सोधीखोजी गरेपछि उनी फेला परे । उनको भनाई अनुसार स्वीकृति दिनु अघि विदेशीहरुसंग कथावस्तुको सारसंक्षेप मात्र लिइएको हुन्छ । यहाँ आएर के के खिचिन्छ भन्ने कुरा विस्तृत रुपमा थाहा हुँदैन । झन् नबुझिने भाषा छ भने त के बोलिंदै छ भन्ने कुरा थाहा हुँदैन । धेरै कचकच गर्दा विदेशीलाई सहयोग नगरेको जस्तो हुन्छ कि भन्ने डर पनि हुन्छ । कतिपय कुराहरु आफैले मात्र निर्णय गर्नु अघि माथि जानकारी गराउनु पर्ने पनि हुन्छ । त्यहा छायाँकन भैरहेको दृश्यका बारे उनलाई पनि आपत्ति भैरहेको रहेछ तर उनले केही गरेका भनेका थिएनन् । त्यस्ता कुरा नियन्त्रण गर्नका लागि नै उनलाई त्यहाँ खटाइएको होइन र भन्ने प्रश्न गरेपछि उनले गएर निर्माताका मान्छेहरुसंग केही कुरा गरे । उनीहरुले पछि त्यो दृश्य हटाउने भनेका छन् भनेर उनी सन्तुष्ट भए । खिचिसकिएको दृश्य आफ्नो देशमा गएर उनीहरुले हटाउलान् भन्ने कुरामा यो स्तम्भकार भने विश्वस्त हुन सकेन ।

कथावस्तुको सारसंक्षेप मात्र नभै सम्वाद सहितको पटकथा हेरेर मात्र स्वीकृति दिने नियम नबन्ने हो भने यस्ता कुराहरु नियन्त्रण हुन सक्दैनन् । विदेशी भाषामा छायाँकन हुने हो भने मन्त्रालयले दोभाषेको पनि व्यवस्था गर्नुपर्छ । छायाँकनमा खटिने अधिकृतलाई आफ्नो स्वविवेक प्रयोग गरि कुनै पनि छायाँकन रोक्न सक्ने अधिकार प्रदान गर्नुपर्छ र त्यस्तो स्वविवेक भएको अधिकृतलाई खटाउनु पर्छ । नेपालीहरुले विदेशमा छायाँकन गर्नुपर्दा त यति सजिलो कहिले पनि हुँदैन । तर हामीमा त विदेशी भनेको भगवान हो भन्ने भ्रमले जरो गाडेको हुन्छ । विदेशी भन्नासाथ त्यसले सबै कुरा जानेको हुन्छ भन्ने हामी सोच्छौं । त्यसैले गर्दा धाराको पाइप जोड्ने कुनै खैरेले यहाँ आएर औषधि विज्ञानको कुुरा ग¥यो भने पनि नेपाली डाक्टरको भन्दा उसको वजन बढी हुन्छ । त्यही कारणले गर्दा सिनेमा मात्र हैन विकास र राजनीतिमा समेत पनि उनीहरुकै मुख ताक्ने बानी हामीलाई लागिसकेको छ जुन असाध्यै खतरनाक रोग हो । विदेशी नभै विकास हुँदैन, विदेशी नभै शान्ति समन्वय हुँदैन, विदेशी नभै सरकार गठन हुँदैन, विदेशी नभै सम्विधान बन्दैन भन्ने दिग्भ्रमित मानसिकतालाई हटाउनु हाम्रो पहिलो आवश्यकता हो । हामी आफैमा सवल छौं र सक्षम छौं भन्ने आत्मविश्वास हामीले पैदा गर्नु पर्छ । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...