Translate

Sunday, November 22, 2015

प्रश्नको पहाड

बायाँ फन्को १६८ 

भर्खरै एउटा खल्लो दसैँ आएर गयो । सँघारैमा तेर्सिएको छ, खल्लो तिहार । सबैले आआफ्नो गच्छे अनुसार रमाइलो गरेर मनाउने यी दुई प्रमुख चाड यसपटक सबैका लागि एउटा बाध्यात्मक अवसर बनेको छ । ऋतुको हिसाबले पनि मानिसका मन प्रसन्न हुनुपर्ने यो समयमा प्रकृति त आफ्नै मनोरम छटामा परिवर्तन भएर आएको नै हो तर हाम्रो अवस्थाले त्यसलाई फुंग उडेको रंगहीन मौसम बनाइदियो । आफन्तहरू भेला भएर उमंगका साथ बिताउनुपर्ने दिनहरू कोही आफन्त नआइदिए हुन्थ्यो भनेर कामना गर्नुपर्ने नरमाइलो दिनमा परिणत भए ।

भारतले लगाएको अघोषित नाकाबन्दीका कारण जनजीवन आक्रान्त छ । मधेस आन्दोलनका कारण राजधानीले मात्र होइन, सिंगै देशले शान्तिको सास फेर्न पाएको छैन । उनीहरूका मागलाई सही ढंगले सम्बोधन गरेर समस्याको निकास दिन हाम्रो सरकार पूर्ण रूपले असफल भइसकेको छ । अनि, आन्दोलनरत पक्ष पनि जिम्मेवार रूपमा प्रस्तुत हुन सकेका छैनन् । यी दुई बीचको यो जुंगाको लडाइँमा पहुँच र पैसा नहुने आमनागरिक मात्र पिल्सिरहेका छन् । कतिपयको त ज्यान नै गइसकेको छ । र पनि, परिस्थितिको गम्भीरतालाई सरकार र आन्दोलनरत पक्ष दुवैले कि त बुझ्न सकेका छैनन्, या बुझपचाएर बसेका छन् ।

सुरुका केही दिन हामी सबैले भारत र मोदीलाई गाली गरेर चित्त बुझायौँ । तर, अब पनि दोष उनीहरूकै थाप्लोमा हालेर रमाइरहने हो ? कि, हामी पनि कहीँ कतै केही कुरामा चुकेका छौँ भनेर आत्मालोचना गर्ने बेला भइसकेको छ ? आत्मरतिमा मात्र नरमाउने हो भने कूटनीतिक रूपमा हाम्रो नेतृत्व पूर्ण असफल भइसकेको कुरा नमानी सुखै छैन । त्यही कारण धमिलो पानीमा माछा मार्नेहरूलाई सजिलो भइरहेको सत्यलाई हामीले कहिले मनन गर्ने ?

मधेसमा स्कुल–कलेज बन्द भएको सय दिन पुग्नै लागिसक्यो । कलकारखाना र उद्योगधन्दा बन्द छन्, दैनिक रोजगार र यातायात व्यवसायबाट पेट पाल्नेहरूको बिचल्ली हुन थालिसकेको छ, कालो बजारी फस्टाएको छ । मुठ्ठीभर मानिस मौकामा चौका हानेर यो संक्रमणलाई धनआर्जन गर्ने अवसर बनाइरहेका छन् । तर, हाम्रा नेता उही पुरानो कुर्सी र सत्ताको बाँडफाँटको खेलमै रमाइरहेका छन् । अझै पनि हामीलगायत हाम्रो नेतृत्व लघुकालीन समाधानको वरिपरि नै केन्द्रित भइरहेको छ । के काठमाडौँमा मागेजति इन्धन नपाइनु र निस्सासिने गरी गाडी गुड्न नपाउनु मात्र आजको समस्या हो ? चीनसँग इन्धन सम्झौता गरेर मात्र सारा समस्याको समाधान हुने हो ? अवश्य पनि होइन तर सबैका लागि मानौँ समस्या भनेको पेट्रोल, डिजेल र ग्यासको अभाव मात्रै हो ।

अरू सबै संवेदनशील कुरालाई एकछिन छाड्ने हो भने पनि यहीे सानो कुरालाई समेत हाम्रो नेतृत्वले सम्बोधन गर्न सकेको छैन । कालोबजार र पहुँचमा पाउने इन्धन बजारमा छ्यालब्याल छ । मूल बाटामा ट्राफिक जाम भई नै रहेको छ । सडकमा हिँड्दा नाकाबन्दीका कारण इन्धनको अभाव भएको सहर भनेर यसलाई कसैले भन्न सक्दैन । महँगा होटल र रेस्टुराँ निर्वाध चलिरहेका छन् ।

आमनागरिकका मात्र सवारीसाधन हप्तौँदेखि लाइनमा छन् । तिनको मात्र चुल्हो रित्तो भइरहेको छ । वैकल्पिक ऊर्जाको जोहो गर्ने नाममा दाउरे चुल्हो वा भूसको खोजी उनीहरूलाई मात्र टाउको दुखाइ बनेको छ । हावादारी कुराका भरमा फलानो दिन ग्यास वा इन्धन उपलब्ध गराउने भनेर रातदिन लाइनमा उभिएकालाई रित्तै हात फर्काउँदा पनि सरकारलाई आत्मग्लानि हुँदैन । त्यसको जिम्मेवारी वहन गर्ने वा स्पष्टीकरण दिने आवश्यकता हाम्रो सरकारले अनुभूति गर्दैन । आएको इन्धन कति छ, कहाँ र कसरी खपत भयो वा हुन्छ भन्ने कुराको निश्चित र पारदर्शी जानकारीसमेत हामीलाई कसैले दिन सक्दैन ।

देश ठप्प छ । संविधान नबनुन्जेल त्यसैको अभावलाई सबै कुराको दोषको भारी भिराएर सन्तुष्ट भइरहेका अनि आफैँलाई ढाँटेर आत्मरतिमा रमाइरहेका हामी संविधान बनेर जारी भएपछि पनि अझै जहाँको त्यहीँ छौँ, जस्ताको त्यस्तै छौँ । राजनीतिक परिवर्तनहरू रोकिएका छैनन् । तिनलाई समय कटाउने रमाइलो खेलको रूपमा लिएर हामी मिनेटलाई घन्टा, घन्टालाई दिन, दिनलाई हप्ता, हप्तालाई महिना बनाएर आरामसँग बिताइरहेका छौँ । तर, हाम्रा कुनै पनि समस्या सुल्झेका छैनन् बरू नयाँनयाँ थपिँदै गइरहेका छन् ।

को प्रधानमन्त्री बन्ने, कसले सरकार बनाउने, त्यसमा कोको अटाउने भन्नेबाहेक अरू सबै कुरा जहाँको त्यहीँ अड्किएका छन् । हाम्रो नेतृत्व, चाहे जुनसुकै पार्टीको किन नहोस्, न पहिले कहिले उत्तरदायी थियो, न आज छ र न भोलि कुनै उत्तरदायी आउला भन्ने आश छ । एउटा प्रश्नचाहिँ यहाँनेर टड्कारो छ, केका लागि र कसका लागि राजनीति गर्छन् यिनीहरू ? कोप्रति जवाफदेही छन् यिनीहरू ? हामीलाई यो प्रश्न गर्ने अधिकार छ कि छैन ?

हुन त हामीलाई अन्योलमा बाँच्ने बानी लागिसकेको छ । हाम्रा लागि अन्योल भन्ने कुरा नयाँ होइन । पशुपतिनाथका भरमा यो देश यति लामो समयसम्म चलिसकेको छ, अब आउने दिनमा पनि त्यसरी नै चल्छ भन्ने कुरामा हामी ढुक्क भइसकेका छौँ । तर, कहिलेसम्म ?

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment