Saturday, December 12, 2015

हबिवको इ–रिक्सा

published in Kantipur Koselee dated मंसिर २६, २०७२- 

विराटनगर, मंसिर २०, २०७२ 

यसअघि म विराटनगर कहिले आएको थिएँ ? सम्भवत: ७ या ८ वर्षअघि हो कि ? प्लेनले धावनमार्ग छुने बेला म सोच्दै थिएँ । पहिलेपहिलेको भन्दा यसपटकको मेरो भ्रमण एकदमै पृथक् छ । म मोहम्मद हबिवलाई खोज्न, भेट्न र भ्याएदेखि बेलुकासम्ममा काठमाडौं फर्किने योजनामा आएको छु । त्यो हबिव, जसलाई म चिन्दिनँ । 

केही दिनअघि उज्यालो अनलाइलमा पढेको एउटा समाचारका पात्र हुन् हबिव । ३६ वर्षदेखि विराटनगरका सडकहरूमा रिक्सा चलाएर ५ जनाको परिवार पालिरहेका हबिव अहिले ५६ वर्षको भएका रहेछन् । तर तस्बिरमा उनलाई हेर्नेले उनी ७० को हाराहारीमा भएको लख काट्छ । कठिन श्रमले उनलाई समयभन्दा पहिले नै बूढो बनाइसकेको छ । अहिले नै रिक्सा चलाउन गाह्रो भइसकेको गुनासो गर्दै उनले भनेका थिए, ‘अब त रिक्सा चलाउने तागत पनि रहेन । यसै पनि इलेक्ट्रिक रिक्साहरू चल्न थालेपछि यस्तो रिक्साको व्यापार छैन । ३६ वर्ष रिक्सा चलाएर पनि मैले आफ्नो लागि केही जोर्न सकिनँ ।’ उनको यो कथाले च्वास्स मनमा छोएको हुनाले हामीले आफ्नो परिवारको तर्फबाट तीस हजार रुपैयाँका साथ केही चिनेका साथीहरू गुहार्‍यौं । सबैबाट सकारात्मक सहयोगले उत्साहित भएर मैले  ट्विटरमा ‘इरिक्साफरहबिव’ भन्ने ह्यासट्यागका साथ उनको कथा सेयर गर्दै सहयोगका लागि आह्वान गरें । काठमाडौं मात्र हैन, देशविदेशबाट सबैले उनका लागि सहयोग पठाउन थाले । हप्ता दिनको समयमा मनकारी मानिसहरूबाट बटुलिएको त्यही रकम बोकेर हामी सबैको तर्फबाट हबिवलाई करिब २ लाख ५० हजार पर्ने इरिक्सा किनेर हस्तान्तरण गर्न म विराटनगर ओर्लेको थिएँ ।

हबिवलाई यस कुराको कुनै जानकारी थिएन । किनभने चाहिने रकम संकलन हुने नहुने वा कहिलेसम्ममा हुने भन्ने कुरा मलाई थाहा थिएन । उनलाई सपनामात्र देखाएर पूरा गर्न सकिएन भने त्योभन्दा नरमाइलो केही हुन्नथ्यो । जहाँ हबिवको कथा आएको थियो, त्यो समाचार संस्थाका विराटनगर प्रतिनिधिले मलाई भेटेर हबिवसँग भेटाउने कुरा भएको थियो । तर, म त्यहाँ पुगेपछि थाहा भयो, ती प्रतिनिधि सम्भवत: भारत गएका थिए र उनी सम्पर्कबाहिर थिए । अनि सुरु भयो हबिवलाई खोज्ने काम । 

डीआईजी देवेन्द्र सुवेदीले केही परेमा विराटनगरका एसपी तारिणी लम्सालसँग सहयोग माग्न भनेका थिए, मैले उनलाई भेटेर सबै कुरा सुनाएँ । एसपी लम्सालको सहयोगमा केही प्रहरीहरूसँग म हबिवको फोटो लिएर विराटनगरका चोकहरूमा भौंतारिन थालें । सुरुमा त त्यहाँ भएका रिक्साचालकहरू कसैले पनि हबिवलाई चिनेको कुरा गर्दैनथिए । कतिले वास्तवमै चिन्दैन थिए होला, कति प्रहरीले खोजेको कारण सशंकित भएर बताइरहेका थिएनन् होला । पछि हामीले कारण पनि बताउन थाल्यौं ।  विराटनगरका केही उत्साही र समाजसेवामा लागेका ट्विटे मित्रहरू पनि सहयोगमा जुट्न आइपुगे । सोचेभन्दा अलि बढी समय लागे पनि अपरान्हसम्ममा हामीले हबिवका बारे सबै कुरो पत्तो लगाइसकेका थियौं । हामी उनको बासस्थानमै पुग्यौं । २३ वर्ष सरस्वती टोलको एउटै कोठामा डेरा बसेका उनी ३ वर्षदेखि हाटखोलाको छेउको सार्वजनिक जग्गामा अवस्थित सानो सुकुम्बासी बस्तीमा एउटा दुईकोठे टहरो ठड्याएर बसेका रहेछन् । उनलाई खानजी भनेर चिन्ने वरिपरिका सबैसँग उनका बारेमा गर्नका लागि सकारात्मक कुराहरू मात्रै थिए । 

हबिव मैले तस्बिरमा देखेभन्दा पनि पनि बूढा लागे । बिहान–बेलुका वरिपरिका घरघरमा दूध पनि पुर्‍याउँदा रहेछन् उनी । एक दिन रिक्सा चलाएपछि शरीरले साथ नदिएर चार पाँच दिन थला पर्ने हबिव त्यस दिन पनि नसकेर घरै बसेको दिन परेछ ।  उनले चलाउने रिक्सा बाहिर उदास भएर बसिरहेको थियो । उनकी जेठी छोरी नूरजदा ९ कक्षापछि पढाइ छोडेर एउटा कपडा पसलमा काम गर्न थालेकी रहिछन् । छोरा हकिम एसएलसीमा अनुत्तीर्ण भएपछि जूट मिलमा दैनिक ज्यालादारीमा काम गर्न थालेका रहेछन् । तर, बन्दका कारण धागो नभएर मिल नचलेको कारण हाल उनी पनि रनभुल्ल परेर बसेका रहेछन् । कान्छी छोरी माहजबीं भने दस कक्षामा पढ्दै रहिछन् ।  छोराछोरीलाई राम्ररी पढाउन पाए हुन्थ्यो भन्ने चाहना उनको रहेछ । त्यस दिन किन काममा नगएको भन्ने प्रश्नमा उनले लामो सुस्केरा हाल्दै उत्तर दिए, ‘छ सात दिनदेखि ज्वरो आएको छ । तर कति दिन आराम गर्न सकिन्छ र ? आज नभए भोलि सके पनि नसके पनि चलाउनैपर्छ, नत्र परिवारको खर्च कसरी टार्नु ।’

उन म त्यहाँ किन पुगेको थिएँ भन्नेबारे केही थाहा थिएन । उनका लागि हामीले यहाँ रकम उठाइरहेको बारे त झनै केही पत्तो हुने पनि कुरो भएन । जब मैले त्यो करा सुनाएँ, केही बेरका लागि हबिव अवाक भए । उनलाई यो कुरा सायद पत्याउनै गाह्रो भइरहेको हुनुपर्छ । उनकी श्रीमती हुस्नेरा खातुन पनि अवाक थिइन् । उनले हामीलाई बस्नका लागि प्लास्टिकका कुर्सीहरू निकालिन् । उनको टहरोको आँगनमा बसेर हामी कुरा गर्न थाल्यौं । 

भावुक भएर हबिवले भने, ‘मलाई यो सपना हो कि जस्तो लागिरहेको छ । म कुनै अर्कै दुनियाँमा छु जस्तो लागिरहेको छ । कसैले मेरा लागि यो सब गर्छ होला भन्ने त मैले कल्पना पनि गरेको थिइनँ । इ–रिक्सा पाएँ भने त मेरो जिन्दगी नै अर्कै हुन्छ । मैले जिन्दगीबाट हार मानिसकेको बेला तपाईंहरूले मेरो लागि नयाँ बाटो लिएर आउनुभयो ।’  

वरिपरिका छिमेकीहरू पनि जम्मा भइसकेका थिए । हामीले सानो प्रयास गर्दा कुनै एक मानिसको जीवनमा उमंगको यति ठूलो लहर ल्याउन सकेकोमा म पनि भावुक भएको थिएँ । ४० जनाको स्वतस्फूर्त एउटा समूहको योगदानबाट एउटा परिवारका लागि रातारात सकारात्मक परिवर्तन ल्याउन सकिँदो रहेछ । त्यस्ता थुप्रै अरू समूहहरू पनि बने भने त थुप्रै अरू हबिवहरूको जीवन कायापलट गर्न सकिँदो हो । उनको संघर्षका कुराहरू सुन्दा मेरा आँखाहरू रसाइरहेका थिए । उनी कहिलेकाहीं विराटनगरबाट इटहरीसम्म पनि सवारी लिएर जाँदारहेछन् । २५ किलोमिटरको त्यो दूरी रिक्सामा पार गर्न उनलाई अढाई तीन घन्टा लाग्दोरहेछ । त्यहाँबाट फर्केपछि त झनै निकै दिन उनी थला पर्दारहेछन् । ‘इ–रिक्सा चल्न थालेपछि पैदल रिक्साको कमाइ नै मरेको छ । बरु दस रुपैयाँ बढी तिरेर त्यसैमा चढ्न खोज्छन् मानिसहरू । मसँग पनि एउटा यस्तो इ–रिक्सा भइदिए कस्तो हुन्थ्यो होला भन्ने विचार त आउँथ्यो तर त्यो सम्भव हुन्छ भन्ने मैले कल्पना गर्न पनि सक्दैनथिएँ,’ उनले स्वप्नील आँखाले हेर्दै भने ।

त्यस दिन उनलाई खोज्न पनि अबेर भइसकेको थियो । काठमाडौंबाटै हुलास मोटर्ससँग तय गरेर गएको भए पनि त्यहाँ त्यस दिन इरिक्साको डेलिभरी हुन नसक्ने भएको थियो । भोलिपल्ट दुई बजेसम्म एउटा रिक्सा जसरी भए पनि दिने वाचा त्यहाँका कर्मचारीले गरेका थिए । मैले हबिवलाई त्यही जानकारी गराएँ । भोलिपल्ट १२ बजे नागरिकतासहित ट्राफिक चोकमा भेट्ने र सँगै गएर रिक्सा किन्ने योजना बनाएर हामी हुस्नेराले बनाएको मीठो चिया खाएर छुट्टियौं । खानजी र मोहम्मद हबिव भनेर परिचित उनको नागरिकतामा भने खशीबुल रहमान नाम रहेछ ।  

मंसिर २१  
भनेको समयभन्दा पहिले नै म हुलासको कारखानामा धर्ना कस्न पुगिसकेको थिएँ । एकजना  ट्विटे भाइले हबिवलाई आफ्नो भटभटेमा ट्राफिक चोकबाट त्यहाँ ल्याइपुर्‍याए । हबिव भन्दै थिए, ‘मलाई त रातभरि निद्रा नै लागेन । ढाइ किलो दूधको चिया बनाएर रातभर त्यही खाँदै बिताएँ ।’  हामी हाँस्यौं । हामी इरिक्सा तयार नहुन्जेल गफ गरेर बस्यौं । हबिवले जीवनमा कहिले पनि मदिरा सेवन गरेका रहेनछन् । ‘थरीथरीका सवारी भेटिन्छन् । कोही भट्टी वा रेस्टुराँमा लगेर मलाई घन्टौं कुराउँछन् । तीमध्ये कोही मलाई दारु खान पनि निम्त्याउँछन्, तर म बाहिरै कुरेर बस्छु । मलाई सौ रुप्याँको दारु खुवाउन राजी हुने मान्छेलाई धेरै बेर कुरेको दस रुप्याँ थपिदिनुस् भन्यो भनेचाहिँ मान्दैनन् ।’  

यसबीचमा हुस्नेराको चारपटक के हुँदैछ भनेर फोन आइसेकेको थियो । उनी काम हुँदैछ भनेर थामथुम पार्थे । उनलाई राम्ररी फोन उठाउन पनि आउँदैनथ्यो । सायद त्यसै दिन मात्र बोकेका थिए उनले फोन । अन्ततोगत्वा कारखानाबाट उनका लागि तयार पारिएको इ–रिक्सा बाहिर निस्कियो । इस्लाममा हरियो रंगलाई पावन मानिन्छ भनेर मैले उनका लागि त्यही रंगको रिक्सा छानिदिएको थिएँ । हुलास मोटर्सले साविक भाउमा छुट दिएर हामीलाई २ लाख ३५ हजारमा इरिक्सा दिने भएको थियो । मैले हामी सबैले उठाएको रकम उनकै हातमा हालिदिएँ । उनले त्यो बुझाए र आफ्नो नामको रसिद प्राप्त गरे । निकै बेरसम्म त्यसलाई घोरिएर हेरिरहे । अब औपचारिक रूपमा हबिव आफ्नै इरिक्साको मालिक भएका थिए । 

गेटपास लिएर हामी त्यो रिक्सा चलाएर उनको घरतिर जान तयार भयौं जहाँ उनका परिवार उत्साहका साथ हाम्रो प्रतीक्षा गरिरहेका थिए । तर पैदल रिक्सा मात्र चलाइरहेका हबिवले एकैपटक ट्राफिकमा त्यो चलाउन सक्ने अवस्था थिएन । म उनलाई पछाडि राखेर इरिक्सा चलाउँदै उनको घरतिर हुइँकिएँ । हबिव मलाई बाटो देखाउन थाले । बाटोमा अरू इरिक्सा चालकहरू मलाई अचम्म मानेर हेरिरहेका थिए । मलाई रमाइलो लागिरहेको थियो । बीचबाट ट्विटरका साथीहरू पनि मिस्सिन आए । हामी हाटखोला छेउको सुकुम्बासी बस्तीमा पुग्दा उनको परिवार मात्रै हैन, पूरै बस्ती नै त्यहाँ उत्साहित भएर बसिरहेको थियो । सबैको अनुहारमा उनका लागि हर्ष थियो । हुस्नेरा, हकिम, नूरजदा र माहजबींसँग हाम्रो भेट भयो 

‘अब माहजबींको चाहिँ पढाइ नरोक्नू है ?’  मैले उनीहरूलाई भनें । नूरजदाले प्रसन्न अनुहार लगाएर भनिन्, ‘बहिनीलाई पढाउनुपर्छ भनेरै मैले कपडा पसलमा काम गर्न थालेकी हुँ । अब त हामीलाई झनै सजिलो हुने भयो ।’हुस्नेराले मुख मीठो गर्नका लागि बन्दोबस्त गरेको रसवरी र चिया खाएर उनको परिवारसँग बिदा मागेर हामी त्यहाँबाट निस्क्यौं । साँझको उडानबाट मलाई काठमाडौं फर्किनु थियो । यो मिसनका लागि भनेर बुद्ध एयरले मेरा लागि आउने र फर्किने टिकट प्रायोजन गरिदिएको थियो । 

हबिवका लागि रकम प्रदान गर्ने क्रममा पहाडी, मधेसी, बाहुन, क्षत्री, नेवार, राई लिम्बू, हिन्दू, मुसलमानलगायत सबै एकजुट भएका थिए । हाम्रो मनभित्र रहेको त्यो अटुट र अविभाजित सौहार्दतालाई म मनमनै नमन गरिरहेको थिएँ । आँखाअघि झलझली हबिव, हुस्नेरा, हकिम, नूरजदा र माहजबींको अनुहार नाचिरहेको थियो ।  

काठमाडौंबाट आउने उडान निकै ढिलो भएकाले सात बजिसकेपछि मात्र विराटनगरको भुइँ छोडियो । केही बेरपछि विराटनगरका झिलमिल बत्तीहरू मधुरो हुँदै हराएर गए । कस्तो अचम्म, चारैतिरको निष्पट कालो अँध्यारोमा पनि म भने उज्यालो देखिरहेको थिएँ ।

हवाइजहाज त सधैं आकाशमा उड्ने नै कुरा हो, त्यस दिन मेरो मन त्योभन्दा पनि निकै माथि उडिरहेको थियो ।  प्रकाशित: मंसिर २६, २०७२ 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...