Translate

Sunday, December 20, 2015

नोटलाई जीवनदान

बायाँ फन्को १७०

केही दिनअघिको कुरो हो, म  एउटा पसलमा किनमेल गरेर पैसा तिर्न पालो कुरिरहेको थिएँ । मेरा अघि एकजना मानिस पैसा तिर्दै थिए । साहूजीले उनको हिसाब गरेर बाँकी पैसा फिर्ता गरे । ग्राहकले आफ्नो हातमा परेका केही नोट हेरेर अमिलो मुख लगाए । नाकमुख खुम्च्याउँदै उनले भने, ‘हरे साहूजी, कस्तो गन्हाउने र झुत्रो नोट दिनुभाको होला ? छुन पनि घीन लाग्ने । अलि नयाँ र राम्रो नोट दिनूस् न ?’ साहूजीले पनि हाँस्दै उत्तर दिए, ‘अब मैले नोट छाप्ने हैन क्यार ! मैले पनि तपैँजस्तै अरू ग्राहकले जे ल्याएर दिए, त्यही दिने त हो नि ! यस्तै आउँछ, म के गरूँ ?’     
‘यो सय रुपियाँको नोटले त नयाँ सय रुपियाँको नोट पनि आउँदैन होला ।’ झुत्रा नोट खल्तीमा कोच्दै ती ग्राहक बिदा भए ।

हेर्दा साधारण भए पनि स्वदेशी मुद्राको जतनका बारेमा किन हामीले कहिल्यै पनि ध्यान दिएका छैनौँ होला ? हामी सबैले थोत्रा नोट बोकेका छौँ । हरेक दिन नयाँदेखि अति झुत्रा नोट हाम्रो हातमा पर्छन्, जान्छन् । हामीलाई केही फरक पर्दैन । हामीलाई त दशैं–तिहारका बेला प्रयोग गर्न, दक्षिणा दिन वा तास खेल्नका लागि मात्रै नयाँ नोटको खोजी हुन्छ । त्यस्तो बेला बैंकहरूमा नयाँ नोट लिनेहरूको लाइन लाग्छ र थामिनसक्नुको भीड हुन्छ ।

अरू बेला हामीलाई नोटको अवस्था कस्तो छ भन्ने खासै मतलब हुँदैन । हामी आफैँ पनि नोटलाई खासै जतन गरेर बोक्दैनौँ । कच्याककुचुक पारेर, दोबारेर, तेबारेर, थचारेर, पछारेर हामी बडो निर्दयतापूर्वक नोटहरूसँग व्यवहार गर्छौं । मानौं हाम्रो ती नोटहरूसंग पूर्तवजन्मको कुनै वैर छ । तर, विदेशी मुद्राको हकमा भने हाम्रो आनीबानी ठ्याक्कै उल्टो हुने गर्छ । भारत जाने बेलामा भारु वा अन्य मुलुक जाने बेला डलर वा युरो हात प¥यो भने हामी त्यसलाई सकेजति जतनका साथ सञ्चय गर्छौं । मानिसहरूसँग रहेका विदेशी मुद्रा २० वर्षअघिका नै किन नहून्, भर्खर छापाखानाबाट निस्केर आएको जस्तो चिल्लो हुन्छ ।

हामीलाई आफ्नो नोटको मात्रै किन माया नलाग्ने त ? अन्तिम सास बाँकी रहेकासम्म टेपले, गुँदले, भातले वा कुनैकुनै त ह्यान्डिप्लास्टले समेत पाँचतिर टाँसेका नोट पनि बजारमा चल्ने भएकाले हामीलाई त्यसको जतन गरिरहन जाँगर नचलेको हो त ? कि राष्ट्र बैंकमा लगेपछि नम्बर मात्र चिनियो भने जस्तोसुकै थोत्रो नोटको साटो पनि नयाँ नोट पाइन्छ भन्ने आश्वासन यसको पछाडिको कारण हो ?

हुन त संसारका अरू मुलुकमा पनि नोट पुरानो भएपछि त्यसको साटो अरू नयाँ नोट छाप्ने चलन हुन्छ । तर, हाम्रा नोटको अकाल मरण हुने क्रम सम्भवतस् त्यो भन्दा कैयौँ गुना बढी हुन्छ । यहाँनेर नोटको औसत आयु कति हुनुपर्छ भन्ने मान्यता पनि महत्त्वपूर्ण हुन सक्छ । यसै सन्दर्भमा राष्ट्र बैंकका एक वरिष्ठ अधिकृतसँग मैले एक दिन जिज्ञासा राखेको थिएँ ।

साना नोटहरूको औसत आयु एकदेखि दुई वर्ष हुन्छ अनि ठूला नोटहरू पाँच वर्षसम्म बाँच्नुपर्छ भन्ने राष्ट्र बैंकको मान्यता रहेछ । तर, आजसम्म कुनै पनि नोटले आफ्नो जीवनकाल पूरा गर्न सफल भएका रहेनछन् । हामीले तिनीहरूको बाल्यावस्था वा युवावस्थामै हत्या गर्दा रहेछौँ । काटिएका, च्यातिएका र झुत्रा बनाइएका ती मृत नोटहरूको दाहसंस्कारपश्चात् विस्थापन गरेर तिनको साटो नयाँ नोट छाप्ने क्रममा वार्षिक रूपमा कति खर्च हुन्छ होला भन्ने पनि मलाई जिज्ञासा भयो ।

ठ्याक्कै त्यसको छुट्टै आँकडा नभए पनि झन्डै १० करोड रुपियाँ यसका लागि राज्यको ढुकुटीबाट अनावश्यक खर्च हुने रहेछ । त्यो भनेको कुनै सानो रकम होइन । अझ विशेष गरेर खर्च नै गर्नु नपर्ने कुरामा । यसलाई बचाउन सक्यो भने त्यति पैसाबाट अरू थुप्रै आवश्यक, सकारात्मक र रचनात्मक काम गर्न सकिन्छ । १० करोड रुपियाँले कति जनालाई शिक्षा प्रदान गर्न सकिएला ? कति जना मानिसको जीवन बचाउन सकिएला, कतिवटा एम्बुलेन्स सञ्चालन गर्न सकिएला, कति ठाउँमा बाटो, पानी वा बत्ती पु¥याउन सकिएला भन्ने सोचको विषय हो ।

केही समयअघि सायद यही नोट व्यवस्थापनका लागि भनेर प्लास्टिकजस्तो कुनै पदार्थको नोट प्रचलनमा ल्याउने प्रयोग गरिएको थियो । तर, त्यसको आयु झनै छोटो हुन पुग्यो । तसर्थ, हामीले अलिकति जतन गरिदिने हो भने त्यो १० करोड सबै नभए पनि त्यसको निकै ठूलो भाग बचाउन सकिने रहेछ । हुन त अचेल संसारभर धेरैभन्दा धेरै कार्डको प्रयोग हुने गरेको र हामी पनि बिस्तारै त्यसतर्फ सक्रिय भइसकेका छौँ । यसले पनि कालान्तरमा यो दुरुपयोगलाई कम गर्न अवश्य सहयोग गर्ने नै छ । तर, त्यतिन्जेलका लागि मैले चाहिँ जानी नजानी नोटलाई कुच्याउने वा गलत तरिकाले चलाउने काम बन्द गर्ने प्रण गरेको छु । नोटलाई जीवनदान दिन तपाईंहरू पनि प्रयास गर्नुहुन्छ कि ? 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment