Translate

Sunday, December 6, 2015

सुरक्षित अवतरण

बायाँ फन्को १६९ 

देश यतिखेर सम्भवतः ईतिहासकै सबैभन्दा खराब अवस्थामा छ । चारैतिर निराशाका अल्गाअल्गा पहाडहरु ठाडिएका छन् । समस्याहरु यति धेरै थुप्रिइसकेका छन्, गाँठाहरु यति धेरै जेलिइसकेका छन् तिनको समाधान के हो भन्ने पनि बुझ्न नसकिने अवस्था आइसकेको छ । एउटा गाँठो खोल्नको लागि धागो तान्नासाथ थुप्रै अरु गाँठाहरु पर्न थाल्छन् । आम मानिसलाई अन्यौलले यसरी अलमल्याएको छ, जहाँ उसको विवेकले काम गर्न छोडिसकेको छ । हरेक मानिस हल्ला, आशावादी चिन्तन र पशुपतिनाथको भरमा बाँचिरहेको छ । जनतालाई कुनै पनि कुरामा आश्वस्त बनाउन नवगठित सरकार सक्षम भएको छैन । उखानटुक्का सम्राट प्रधानमन्त्रीका कुनै पनि काम वा कुरा समस्याको सम्वोधनका लागि असफल देखिएको छ । हरेक जिम्मेवार क्षेत्रले गैर जिम्मेवारीका पुराना सबै कीर्तिमानहरु भङ्ग गरिसकेका छन् । हावादारी र केटाकेटी कुरा बाहेक कसैले केही गरिरहेको छैन । जनता टुलुटुलु हेर्न बाहेक अरु केही गर्न सकिरहेका छैनन् । 

हाम्रो नेतृत्व, देशको सरकार, आन्दोलनरत पक्ष सबै आआफ्नो लिंडेढिपी छोड्न सक्दैनन् । सरकार आफू पूर्णतया असफल भएको कुरा स्वीकार गर्न सक्दैन, आत्मालोचनाको त कुरै पर जाओस् । हरेक दिन नयाँ फण्डाहरु निकालिन्छन् । मानवीय संकट आउने तहमा अन्यौल पुगिसक्दा पनि आन्दोलनरतहरु आफ्नो “शान्तिपूर्ण” आन्दोलनको प्रारुप परिवर्तन गर्ने बारे सोच्न पनि सोच्दैनन् । उल्टै अझ भयंकर परिणामहरुका चेताउनी दिएर तर्साउँछन् । सरकार उनीहरुलाई परिणाममुखी वार्तामा ल्याउन सक्दैन । हप्तादश दिनमा हिन्दी सिनेमाको लम्बाइ जस्तो अढाइ तीन घण्टे वार्ताको नौटंकी हुन्छ । जसरी दर्शकलाई कुनै फर्मुला फिल्मको अन्त्य पहिले नै थाहा हुन्छ, त्यसरी नै यी वार्ता नामक नौटंकीको परिणाम के हुन्छ भन्ने पनि पहिले नै थाहा हुन्छ । हरेक निर्णायक वार्ताहरु कुनै निर्णय बिना चियाबिस्कुट खाएर तुहन्छिन् । अचम्म लाग्छ, आखिर यी नालायकहरुको अरु के नै काम छ जसले गर्दा उनीहरु हल ननिस्कुन्जेल वार्ता गर्न सक्दैनन् ? आन्दोलनरत पक्ष काँग्रेस बिना वार्ता नगर्ने भन्छ, काँग्रेस मरि गए वार्ता टोलीमा नबस्ने कुरा गर्छ । बाहिर बसेर समस्या समाधान गर्न सघाउने हावादारी कुरा गर्छ । तँ कुटे जस्तो गर, म दुखे जस्तो गर्छु भनेर नाटक गर्न यिनीहरुलाई कसले सिकाएको हो ?

ईन्धनको चरम अभाव भनिन्छ, जता हे¥यो यतै सवारी साधनका अजिंगर जस्ता लाइनहरु तेर्सिएका छन् । तर, सडकमा अझै पनि निर्वाध गाडीहरु चलिरहेका छन् । कालो बजारमा इन्धन किन्न सक्ने र चाहनेहरुका लागि मानौं केही फरक नै परेको छैन । तर घरघरमा चूल्हो बल्न परिभ्राट भएको छ । एकातिर दशौं हजारमा ग्यासका सिलण्डिर खरीदबिक्री भैरहेका छन् । अर्को तिर मानिसहरु बिजुलीका हिटर, इण्डक्सन चूल्हो र दाउराको भर परिरहेका छन् । यो कस्तो विरोधाभाष हो ? हरेक दिन यति ट्यांकर इन्धन फलानो नाकाबाट आयो, उति बुलेट ग्याँस भित्रियो भनेर समाचारपत्रका पानाहरु भरिएका हुन्छन् । आएका ईन्धन कति हो, कहाँ गयो, कसरी खपत भयो वा कता थन्किएर रह्यो भन्ने बारेमा जिम्मेवार निकायहरु कुनै जानकारी दिनुपर्ने आवश्यकतासम्म देख्दैनन् । हामी औषधिको समेत अभाव भयो भनेर सामाजिक सञ्जालमा भडास निकाल्छौं, मोदीको उछित्तो काढ्छौं, भारतलाई सराप्छौं, अन्तर्राष्ट्रिय समुदायलाई बोलेन भनेर घुर्की लगाउँछौ र दिन कटाउँछौं । 

कालो बजार मौलाएको छ । मौकामा चौका हान्नेहरु यो बेलामा कमाउन पाएर दंग छन् । सद्भाव खल्बल्याउन निमेष भर मात्र लाग्छ तर त्यसलाई फेरि सम्याउन पुस्तौं जान्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि बुद्धिजीवि भनाउँदाहरु कित्ता बनाएर एक अर्कोलाई हिलो छ्याप्नमै मस्त छन् । एउटाले अर्कोलाई शंकाकाो आँखाले मात्र हेर्न थालेको छ । हामीले पटकपटक सबै चोरहरुलाई सुध्रिने मौका दिएर हेरिसकेका छौं । केही दिन अघि देशका नवनियुक्त प्रधानमन्त्रीले पहिलो सम्बोधनका रुपमा हामीलाई अझ बढी निराश बनाए । भूकम्प र नाकाबन्दीले ल्याएका विपत्तिको आँकडाहरु रुनचेपिन्चे भाषमा प्रस्तुत गर्नेबाहेक अरु उनले केही गरेनन् । क्याबात् कामरेड । यो विकट परिस्थितिमा जनताले तपैंबाट आशा गरेको त्यत्ति नै थियो ।  

अब आएर स्पष्ट भैसकेको छ, कुनै पनि पार्टीका कुनै नेताहरुमा पनि देशलाई सही दिशामा हिंडाउन सक्ने ल्याकत छैन । न यिनमा राजनैतिक क्षमता छ, न कूटनैतिक सूझबूझ नै । विचार, दूरदर्शिता र योजना भन्ने कुरासंग यिनको गोरु बेचेको पनि साइनो छैन । तै पनि हामी गंगाराम नभए जमुनारामले केही गर्ला भन्ने मृगतृष्णाकै पछि कुदिरहेका छौं । यति खेर देशमा नयाँ शक्ति, नयाँ सोच र नयाँ नेतृत्वको खाँचो टड्कारोसंग देखिएको छ । तर त्यस्तो जिम्मेवारी वहन गर्न सक्ने क्षीणभन्दा क्षीण सम्भावना भएका पनि कोही कतै देखिंदैनन् । सबै आआफ्नो एजेण्डा र आआफ्नो स्वार्थको भारी बोकेकाहरु मात्र देखिन्छन् । 

दुखका साथ भन्नुपर्छ, देशको लागि सोच्ने एक जना पनि मानिस यो माटोले जन्माउन सकेन । अनि हाम्रो यो हविगत नभए अरु कसको हुन्छ त ? उडानमा खराबी आए जहाजको आकस्मिक र सुरक्षित अवतरण गराउनु पाइलटको कर्तव्य हो । त्यसका लागि अतिरिक्त ईन्धनलाई हावामा नै सकाउन सक्नुपर्छ । तर अहिले हावामा जुधिरहेका दुबै जहाजका कप्तानहरु आफ्नो प्रज्ज्वलनशील उर्जाको भारी छोड्न सकिरहेका छैनन् । उर्जाको दुरुपयोग भयो भने त्यसले कसैलाई पनि भष्म बनाउन सक्छ भन्ने कुरा कसैले पनि बिर्सनु हुँदैन । अनि यस्तोमा यिनको सेफ ल्याण्डिंग खोज्ने हामी निराश नभए अरु के हुनु ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment