Translate

Saturday, May 14, 2016

‘डिजाइनर बन्न फिल्म लेखेको, टेलर बन्नुपर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याे'

लेखनकक्षमा ब्रजेश

समुन्द्र राज घिमिरे ललितपुर, जेठ १ (सेतोपाटीबाट साभार)


ब्रजेश पाँच कक्षा पढ्दा स्कुलको एउटा कार्यक्रममा साथीबाट कविता सुनेका थिए। पैसालाई विषयवस्तु बनाइएको त्यो कविता उनलाई साह्रै मन पर्यो। उनले त्यो कविता मागे।
त्यतिबेला उनका बाबुको छापाखाना थियो। त्यहाँबाट एउटा पत्रिका नियमित निस्कन्थ्यो। पत्रिकामा साथीले सुनाएको उक्त कविता छपाए। तर, साथीलाई थाहा भएन।
उनलाई यही कुराले पिरोल्न थाल्यो। जति समय बित्यो, उनमा पछुतोबोध त्यति नै बढ्दै जान्थ्यो। 
एकदिन पिकनिक जाँदा महिनौंदेखिको उकुसमुकुस पड्कियो। पिकनिक चल्दै गर्दा साथीलाई एक कुनामा लगेर सुनाए, ‘तैंले अस्ति नै सुनाएको कविता मेरो नाममा छापेँ। सरी यार।’
त्यसपछि साथी जोडले हाँसे। र, भने, ‘त्यो कविता मेरो त होइन। दाइले सुनाएको। दाइले पनि अरू कसैको भन्थ्यो।’