Sunday, November 20, 2016

एक शुभेच्छु पाठकको प्रतिकृया

महेन्द्र आदर्श विद्याश्रमको पढाई सकिएनि सातदोबाटो जाने मेरो बानी सकिएको थिएन । मेरो जक्सन भएको थियो सातदोबाटो । बिहान या साँझ दिनको एक पटक नगै चित्त बुझदैनथ्यो  । केटाहरुसँग बस्यो चिया खायो । फर्कियो ।

एकदिन हामी महेन्द्र आदर्श विद्याश्रम अगाडिको चिया पसलमा बाहिरै बसेर चिया खाँदै थियौं । सडक तिरै फर्केर चियाका चुस्की लिइरहेका बेला उमेशले सडक तीर हेरेर उत्साहित हुदै भन्यो "उ उ दाई त्यो गाडीमा ब्रजेश ।" मैले नि पुलुक्क हेरें अखबारको पानामा देखे जस्तै एउटा अनुहार आफै गाडी चलाएर गोदावरी तिर जाँदै थियो । तर म ठोक्का गरेर भन्न सक्दिन त्यो ब्रजेश थियो या ब्रजेश जस्तै अरु कोई ।
त्यतिबेला म सातदोबाटोको दीपावली पुस्तकालयको सदस्य र नियमित पाठक थिएँ । ब्रजेशलाई नदेखे नचिनेको भए  पनि बेला बेला कान्तिपुर,नागरिक आदिमा आउने  ब्रजेशका लेखहरु चाहिँ म पढ़थ्ये । सायद त्यही भएर हुनुपर्छ उमेशले बाटोमा देखिएको ब्रजेश मलाई देखाएको ।

त्यसपछि बेला बेला म त्यो बाटोमा ब्रजेश जस्तो मान्छेलाई ओहोरदोहोर गरेको देख्थें ।

पछि जिन्दगी लाई जागिरको किलामा झुन्ड्याइयो । साथी भाई नि लाखापाखा लागे । भेटघाट पातलो हुन थाल्यो । जक्सन जाने काम कम भयो । अनि बिस्तारै पढ्ने आदत नि कम हुदै गयो । दीपावली पुस्तकालय जाने फुर्सद सम्म हुन छोड्यो । अनि ब्रजेशलाई गाडीमा दौडेको नि देख्न छोडियो । तर कता कता ब्रजेश राम्रो लेख्दो रछ भन्ने चै मनमा लागेको थियो । मनमा  ब्रजेशको लेखले राम्रै छाप लगाएको थियो ।

खासमा ब्रजेशको पृष्ठभूमि के हो, कस्तो मान्छे हो, त्यो मलाई थाहा थिएन र छैन पनि । मैले जान्न खोजिन । जान्नुपर्ने आवश्यकता नि ठानिन । मलाई पढ्ने रूचि । पढ्ने सामाग्री भेट्दा पढ़थ्ये । राम्रै लाग्थ्यो उसका लेखहरु ।
जागिरमा झुंडिन थालेदेखि पढ्ने बानि कम हुदै जान थालेको थियो । समय मिलाउन नजान्ने भएको थिएँ,अल्छि भएको थिएँ सायद । त्यसैले नियमित पढ्ने आदत टुटेको थियो ।

एक दिन अफिसमा म अलि फुर्सदिलो भएँ । सेतो पाटीमा साहित्य पाटीका बिभिन्न कथा पढ्दै थिएँ । नेक्स्ट नेक्स्ट गरेर पढ्दै जाँदा ब्रजेशको जुनेली देखेँ । धेरै भएको थियो ब्रजेशको कुनै लेख नपढेको । त्यहाँ क्लीक गरेर पढ्न थालेको एउटा उपन्यासको अंश पो रहेछ । सेतोपाटीमा अलि पहिले प्रकाशित त्यो पुस्तकअंश पढेपछि था भो त्यो त ब्रजेशको  दोश्रो उपन्यास पो रछ ।

जुनेलीको त्यो अंश पढेपछि मनमा हूटहुटी जाग्यो । कतिखेर त्यो किताब पढ़ूँ भो ।

अफिस छुट्टी हुने बित्तिकै निस्के । भोटाहिटि नेसनल बुकबाट यायावर र जुनेली लिएर निस्किएँ । साँझ परिसकेको थियो । गाडिमा पढ्न सकने स्थिति थिएन । घर पुगेर थालिहालें यायावरमा भुल्न ।

मेरो जुन अनुमान थियो त्यस्तो चैं रहनेछ यायावर । सोचेको थिएँ दमदार होला ब्रजेशको उपन्यास । तर  खास दमदार लागेन । यथार्थ भएर पनि लुकाईएका कतिपय बिषयबस्तुको उठान गरिएको थियो । बिषयवस्तु उठानको  हिसाबले राम्रो भए नि   प्रस्तुति भने बलियो  लागेन ।

यायावरमा जुनेलीलाई अलपत्र र असाहाय त्यत्तिकै छोडेको मलाई नि चित्त बुझेको थिएन । बिचरी जुनेली भन्ने लागेको थियो । जुनेलीको नि बाँकी जिन्दगीको कथा समेट्नु पर्ने जस्तो लागेको थियो ।

आखिर जुनेली किन त्यत्तिकै छोडिनेवाला थिई र । ब्रजेशले जुनेलीमाथि अन्याय गरेनन । उनको दोश्रो उपन्यासमा जुनेलीलाई नै ल्याए ।

आम नेपाली नारीले कतै न कतै कही न कही  जुनेलीको नियती भोग्नु परेको छ ।

यस्तो पनि लाग्यो कतै चिरागलाई प्रतिनिधि पात्र बनाएर ब्रजेश आफ्नै लेखन यात्राको सुरुवाती दिन त पोखिरहेका छैनन् ??

खैर जे होस् । दमदार छ जुनेली । यायावर भन्दा । प्रस्तुति र बिषयवस्तु दुबै हिसाबले । गह भरी आँसु जमाएर पढेँ जुनेली । यस्तो लाग्यो ब्रजेश त लेखक हुन, कथा जता जसरी नि मोड्न सक्छन् । त्यसैले बैकुण्ठ र जुनेलीको बियोगान्तलाई फेरि जोडेर अर्को बैकुण्ठ जुनेली भेटको सुखान्त उपन्यास लेखे नि हुनि ....

म आलोचक समालोचक कोही होइन । न साहित्यकार, कवि कथाकार । एउटा सामान्य र साधारण भन्दा अति साधारण पाठक  । ब्रजेश जस्तो गिनेचुनेको लेखक को कृति माथि टिप्पणी गर्न  सायद मेरो हैसियत छैन । तर नि एउटा पाठक मनमा लागेको कुरा पोखिदिए । गल्ती भए क्षमा पाऊँ ।
ब्रजेशको उज्ज्वल  लेखन यात्राको शुभकामना । फेरि फेरि यस्ता कृति पढ्न पाइयोस् । अझ दमदार र उत्कृष्ट   ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...