Tuesday, November 29, 2016

...र फुलेनन् गुराँसहरु

मंसीर १२, २०७३ को नेपाल साप्ताहिकमा प्रकाशित


अलि पर, उतापट्टिबाट आइरहेका दुईजना केटीहरुमध्ये एकजनाले हामी सबैको ध्यान एकैपटक तानिन् ।

२६ वर्ष अघि, २०४७ साल तिरको कुरो हो । निर्देशक अरुणकुमार झा, अभिनेता सन्तोष पन्त, पत्रकार शैलेश आचार्य र म घण्टाघरबाट कमलादी स्थित वसन्त चौधरीको ग्रूप थ्री भन्ने एउटा विज्ञापन एजेन्सीको अफीस तिर गइरहेका थियौं । त्यतिबेला ग्रूप थ्रीले नै उर्वशी भन्ने सिने पत्रिका पनि निकाल्थ्यो जसको सम्पादक शैलेश दाइ थिए । हामी एउटा सिनेमा बनाउन लागिरहेका थियौं, “..र फुल्छन् गुराँसहहरु” । त्यसको लागि भेटघाट गर्ने थलो पनि उर्वशीको अफीस नै थियो ।

भर्खरभर्खर केही टेलिफिल्महरुमा अभिनय गरेको म, त्यस सिनेमाबाट ठूलो पर्दामा हाम्फाल्ने भएको थिएँ । त्यतिबेला सबैको आँखा लाग्ने नबिल बैंकको गतिलो जागीर पनि मैले सिनेमाको हीरो बन्नका लागि तिलाञ्जलि दिने मनस्थिति बनाइसकेको थिएँ । आफैले लेखेको कथामा पटकथा र सम्वाद तयार भैसकेको थियो । एउटा प्रेमकथामा आधारित त्यस चलचित्र आएपछि फर्केर हेर्नपर्दैन भन्ने लाग्थ्यो मलाई भर्खर बीस एक्काइस वर्षको उमेरमा । अरु सबै मुख्य भूमिकाहरु पनि कसले खेल्ने भन्ने लगभग टुंगो लागिसकेको थियो ।


सन्तोष दाइ पहिलोपटक खलनायकको रुपमा प्रस्तुत हुने भएका थिए । एउटी नायिकाको मात्र खाँचो परिरहेको थियो । चलचल्तीमा भैरहेका कुनै पनि नायिकाहरुभन्दा त्यतिबेलाको म कान्छो देखिन्छु भन्ने अरुण दाइको भनाइ थियो । त्यसैले बरु कुनै नयाँ अनुहार खोज्ने भन्ने हाम्रो सल्लाह भैरहेको थियो ।

“हामीलाई ऊः त्यस्तै नायिका हो चाहिएको ।” परबाट आइरहेकी ती युवतीलाई हेर्दै अरुण दाइले भने ।

नभन्दै अन्दाजी अठार उन्नाइस वर्षकी ती युवतीमा केही अचम्मको आकर्षण थियो । उनी आफ्नै सुरमा साथीसंग गफ गर्दै आइरहेकी थिइन् ।

“रोल अनुसार पनि ठ्याक्कै फिट हुन्छे,” सन्तोष दाइले खुइय गर्दै भने ।

“तर बाटोमा हिंडिरहेकी केटीलाई फिल्म खेल्ने रहर छ कि भनेर सोध्न भएन क्यार” मैले भनें ।

“किन नहुनु र ?” शैलेश दाइ उत्साहित भए, “सोध्न नहुने कुरा के छ ?”

तर बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ? उनीहरु हाम्रो नजीक आइपुगिसकेको थिए ।

“एक्स्क्यूज मी बहिनी, एउटा कुरा सोधौं ?” शैलेश दाइले नभन्दै उसलाई सम्बोधन गरिहाले । उनी टक्क रोकिइन् र प्रश्नवाचक भावले हामीलाई हेरेर बोलिन्,

“हजूर, भन्नुस् ।”

शैलेशदाईले आफूहरुले एउटा सिनेमा बनाउन लागेको र उसलाई हेर्दा हामीले नायिकाको लागि खोजिरहेको मानिस ऊ हुनसक्ने कुरा बताएर उसको रुचि छ कि छैन भनेर सोधे । उनले राम्ररी सोच्दा पनि नसोची अँग्रेजीमा भनिन्,

“यस्, आइ एम इण्ट्रेस्टेड ।”

उनमा गज्जबको आत्मविश्वास थियो । हामी सबै दंग प¥यौं । एकै छिनको छोटो कुराकानीमा थाहा भयो, उनी नाचघर निर भएको एउटा ट्राभल एजेन्सीमा काम गर्दी रहिछन् । शैलेश दाइले नै ग्रूप थ्रीको नाम बताएर अर्को दिन एघार बजे आउनलाई भने । उनी हुन्छ भनेर गइन् । हामी पनि संयोगवश भनेको जस्तै मान्छे पाएकोमा दंग पर्दै आफ्नो बाटो लाग्यौं । ग्रूप थ्रीमा एकजना भारतीय हिजाइनर र फोटोग्राफर थिए, बिजय फरकसे । उनले भने,

“एक पटक फोटो शूट गरौं । दुईजना साथै कस्तो देखिन्छन्, आइडिया हुन्छ ।”

म मनमनै हाँसेको पनि थिएँ । बाटोमा त्यसरी भेटेर भनेको भरमा भोलि कोही सिनेमा खेल्नको लागि आउला र ? यहाँ भने फोटो सेसनको समेत तयारी भै सक्यो ।

भोलिपल्ट नभन्दै एघार बजे उनी टुप्लुक्क आइपुगिन् । केही बेर यता र उतिका कुराहरु भए । हामीले उनलाई कति बेर फुर्सद छ भनेर सोध्यौं । निर्धक्कसंग उनले भनिन्,

“मलाई केही हतार छैन ।”

“अफीस विदा लिएर आएको ?”

“हैन, छोडेर आएको ।” उनले भनिन् ।

हामी चकित प¥यौं । हाम्रो अनुहारको भाव पढेर होला,उनले मुसुक्क हाँसेर भनिन्, “अब फिल्मको हिरोइन हुने भैसकेपछि म किन त्यो ट्राभल एजेन्सीमा काम गरिरहनू ?”

हाँस्दा उनको एकापट्टि गालामा सानो खाल्डो पथ्र्यो र उनी अझै सुन्दर देखिइन् । उनको आत्मविश्वासले हामीलाई कायल बनायो । त्यसै दिन बिजय फरकसेले थरिथरि पोजमा हामी दुइ जनाको फोटाहरु खिचे । अहिलेजस्तो तुरुन्तै हेर्न नमिल्ने हुनाले फोटाहरु कस्ता आए वा हामी दुबै क्यामरामा कस्तो देखिन्छौं भनेर हेर्नको लागि रिल धुलाएर नआउन्जेल सम्भव थिएन । न्यूरोडस्थित कुनै कलर ल्याबमा रिल पठाइयो । अरुण दाइले उनलाई भूमिकाको बारेमा बताए । हामी सबैलाई भित्रभित्रै विश्वास भैसकेको थियो, “...र फुल्छन् गुराँसहरु” की नायिका उनै हुन् ।

फोटाहरु आए, सबैले उनलाई एक मतले पास गरे । बाँकी एउटै समस्या पनि सुल्झिसकेको हुनाले सिनेमाको लगभग छायाँकन शुरु गर्ने मिति पनि तोकियो । रमण दाइले (घिमिरे) केही गीतहरु लेखिसकेका थिए । भूपेन्द्र रायमाझी तिनमा धुनहरु सिर्जना गर्न थालिसकेको थिए । मैले पनि नबिल छाडें । बसन्त श्रेष्ठको पुतलीसडक स्थित प्रशिक्षण केन्द्रमा म बिहानबिहान नृत्य सिक्न जान थालें । हामी सबै उत्साहित थियौं । हरेक दिन भने जस्तो अरुण दाइको घरमा भेला भएर हामी सिनेमाका अरु कुराहरुमा छलफल गर्ने गथ्र्यौ । सिनेमा शुरु हुने दिन पनि झनै नजीक–नजीक आइसकेको थियो ।

अचानक, मान्छे ताक्छ मूढो बञ्चरो ताक्छ घुँडो भनेझैं हुन थाल्यो । सन्तोष दाइको छवि टेलिभिजनमा सकारात्मक पात्रको थियो । पहिलो पटक नकारात्मक भूमिका गर्न लागेको हुनाले शायद उनको मनमा केही संशयहरु पैदा हुन थालेका थिए । उनी एक उत्कृष्ट अभिनेता हुन् भन्ने कुरामा त कसैलो रत्तिभर पनि शंका गर्ने ठाउँ छैन । सम्भवतः त्यसैले उनलाई आफ्नो त्यो भूमिका त्यति सशक्त हुँदैन कि भन्ने लाग्न थालेको थियो ।

हुन पनि टेलिभिजनमा उनले बनाएका फिलम्हरुमा सबै कथा उनले खेल्ने चरित्रकै वरिपरि घुम्थ्यो, अरुहरु त सहायक पात्रहरु मात्र हुन्थे । सन्तोष पन्तको सिनेमामा उनको बाहेक अरुको चर्चा हुँदैनथ्यो । केही समय अघि हाम्रो त्यही टिमले बनाएको “आफ्नो कमाइ” नामक टेलिफिल्मले पनि उनलाई सचेत बनाएको हुनुपर्छ । किनभने त्यसमा पहिलो पटक सन्तोष पन्तको सिनेमाबाट उनले भन्दा बढी चर्चा अरु कलाकारले कमाएको थियो । “..र फुल्छन् गुराँसहरु” त झनै व्यावसायिक चलचित्र हुने हुँदा त्यसको कथा त नायक र नायिकाकै वरिपरि घुम्नु स्वाभाविकै थियो । त्यसैले सन्तोष दाइ भित्रको कलाकारलाई संशयले झनै छोप्न थालेको थियो । त्यसैले उनी आफ्नो भूमिकालाई अझ बढी प्रभावकारी बनाउने आइडियाहरु ल्याउन थालेका थिए ।

त्यसबेला हाम्रो टीममा सबैभन्दा जल्दोबल्दो नाम र सिनियर कलाकार उनी नै भएका कारण अरुण दाइ र हामी सकेसम्म उनका कुराहरुलाई समाहित गर्न खौज्थ्यौं । तर हुँदाहुँदा कतिसम्म भयो भने, पछि त ती सबै कुरा समाहित गर्दा सिनेमा पूरै उनकै चरित्र वरिपरि मात्र घुम्ने भयो । यो कुरामा हाम्रो बीचमा मतभेद हुन थाल्यो । एकातिर सन्तोष दाइ, अर्को तिर हामी तीनजना । कुरो मिल्ने भन्दा पनि बढी बल्झिन थालेको थियो ।

त्यस दिन पनि स्क्रिप्ट अगाडि राखेर हामीहरु यही कुरामा वहस गर्दै थियौं । दुबै पक्षले अर्को पक्षलाई आश्वस्त पार्न नसक्ने अवस्था आइसेकेको थियो । अनि दुबै पक्ष आआफ्नो अडानबाट पछि हट्न नचाहने अवस्था पनि सिर्जना भइसकेको थियो । मलाई वैराग लाग्न थालिसकेको थियो । आवेगमा आएर मैले भनें,

“अब यो तालले कुरो मिल्दैन हेर्नुस्, विवाद गरेर केही फाइदा छैन । यो सिनेमा बन्दैन अब ।”

अल्लारे उमेरको मेरो अधकल्चो दिमागको एउटा फ्यूज उडेको थियो शायद । अनि मैले एउटा एकदमै अपरिपक्व र मूर्खतापूणै कार्य गरें । हातैले लेखिएको जुन स्क्रिप्ट थियो, त्यसलाई टिपेर म जुरुक्क उठें । कसैले केही सोच्नु अघि म त्यसलाई धूजाधूजा पारेर च्यात्न थालें ।

मेरो त्यो अप्रत्याशित कार्यले एकैछिन सबैजना हतप्रभ भए । सबै अवाक भएका थिए । विवाद शान्त भैसकेको थियो र कागज च्यातिएको एकोहोरो र वैरागलाग्दो ध्यार्र–ध्यार्र आवाज मात्रै आइरहेको थियो । महीनौं लगाएर गरेको त्यो आफ्नै सिर्जनालाई नाश गर्न मलाई एक मिनेट पनि लागेन । कोही केही बोल्नै सकिरहेको थिएन । म पनि कसैसंग केही नबोली त्यहाँबाट हिंडे । कुनै पनि कुरा सिर्जनागर्न पो गाह्रो हुन्छ त, नाश त एकैछिनमा भै हाल्छ नि । अनि नाश भैसकेपछि हाम्रो हातमा केही बाँकी रहँदैन ।

केही दिनसम्म हाम्रो भेटघाट पनि भएन । पछि अरुण दाइले त्यो स्क्रिप्ट फेरि लेखेर फिल्म बनाउन पहल नगरेका त हैनन्, तर शायद त्यो जाँगर ममा पनि बाँकी रहेको थिएन । तोकिएको समयमा छायाँकन शुरु गर्न त अब यसै पनि सम्भव थिएन । कालान्तरमा त्यही कथालाई आधाआधा यता र उता मिसाएर अरु दुइटा सिनेमा बने । एउटा थियो, “चोट”, अर्को “सोल्टिनी ।”

“र फुल्छन् गुराँसहरु” मा नायिका बन्न जागीरै छोडिदिने ती युवतीको नाम थियो। रजनी । उनलाई सिनेमाको लागि भनेर शैलेस दाइले सुष्मिता भनेर न्वारान् गरिदिएका थिए । हामीले उर्वशीको लागि नै एउटा फोटो नोभेलामा नायक नायिका बनेर चित्त बुझायौं । कुनै एउटा चियाको मोडलिंग गर्ने क्रममा उनको भुवन केसीसंग भएको भेट यनीहरुको दाम्पत्य जीवनमा परिणत भयो । पछि गएर सुष्मिता “करोडपति” “नेपाली बाबू” र “तँ त साह्रै नै बिग्रिस् नि बद्री” जस्ता सफल चलचित्रहरुका नायिका बनिन् ।

तर गुराँस चाहिँ फक्रनै पाएन ।

“....र फुलेनन् गुराँसहरु ।”