Sunday, April 23, 2017

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित

बम्बै, २०......

गति रोधक पुढे आहे
सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगाडि स्पीड ब्रेकर छ ।

बम्बैको (त्यतिबेला सम्म शिव सेनाले मुम्बइ भनेर नामाकरण गरिसकेको थिएन) ट्रपिकल मौसम संधै जस्तै उच्च आर्द्र थियो । भतभती नपोले पनि ३२ ३४ डिग्री सेल्सियसको गर्मीमा पसीना भने खलखली आइरहेको थियो । शायद जुन उद्देश्यले हामी हिंडिरहेका थियौं, त्यो काम फत्ते होला कि नहोला भन्ने कुराको कौतुहलताले पनि अलि बढी पसीना आएको थियो कि? इण्डियन एक्सप्रेस पत्रिकाका एक जना परिचित पत्रकारले बन्दोवस्त गरिदिएको प्रिमियर पद्मिनीमा म, डा. सुबोधकुमार पोखरेल र भूपेन्द्र रायमाझी जुहु तारा रोडको म्यूजिसियन्स स्टूडियोबाट पश्चिम बम्बै, बान्द्राको पेरी क्रस रोड अवस्थित सन बीम भन्ने घर तिर लागिरहेका थियौं । म हामीले भेट्न जान लागेको मान्छेको बारेमा सोचिरहेको थिएँ । ती मान्छे मेरा लागि अपरिचित थिएनन् । उनका बारेमा मलाई निकै नै धेरै थाहा थियो । म उनको डाइ हार्ड फ्यान थिएँ ।

ती मान्छे थिए हिन्दी चलचित्रका प्रख्यात गायक तलत महमूद ।

तलत महमूद, जसलाई हिन्दी पाश्र्व गायनका स्वर्णिम स्वर भनेर भनिन्छ, जसले गाएका तुलनात्मक रुपमा थोरै तर एक से एक गीतहरु मध्ये अधिकांश त मलाई मुखाग्र नै थियो, छ पनि । उनका फिल्मी गीतहरु मात्र नभै उनले पाश्र्व गायन शुरु गर्नु अघि अल इण्डिया रेडियोमा गाएका गजलहरु समेत पनि मैले खोजीखोजी बटुलेको थिएँ । त्यतिबेला उनका गीतहरुको म यति हदसम्मको प्रशंसक थिएँ, मलाई मानिसहरुले तलत महमूदको सानोतिनो इन्साइक्लोपेडिया भनेर भन्थे । भारतीय राजदूतावासको कुनै एउटा जमघटमा सन्दर्भवश तलत महमूदका गैर फिल्मी गजलहरुका बारेमा मेरो कुरा सुनेर नबिल बैंकका त्यतिबेलाका कार्यकारी अध्यक्ष जी एस श्रीवास्तवले भनेका थिए,
‘तलत महमूदका कारण तिम्रो र मेरो बीचमा पुस्ताअन्तर छैन केटा ।’

त्यतिबेला मैले भर्खर बीस काटेको थिएँ र उनी सत्तरी माथिका थिए ।
तिनै स्वरका जादूगर तलत महमूदलाई भेट्न हामी जाँदै थियौं । फोनमा तलत महमूदले हामीलाई समय दिएका थिए । ती तलत, जो हाम्रो पुस्ताका लागि लौ त भनौं भने इतिहासका पाना भैसकेका थिए । तिनै गायकलाई छिटो भेट्न पाए हुन्थ्यो भन्ने एक किसिमको व्यग्रता थियो । तर बम्बइको व्यस्त ट्राफिकलाई त्यो भावनासंग कुनै सरोकार किन हुन्थ्यो र? त्यसैले हामी चढेको गाडी आफ्नै पाराले बढ्दै, रोकिंदै, बढ्दै थियो । मेरो मन भने कुनै टुक्रे ओस्ताद झैं तलतले गाएका सुमधुर गीतहरु एक पछि अर्को गर्दै गुन्गुनाइरहेको थियो ।

डाक्टर पोखरेलले निर्माण र निर्देशन गर्ने चलचित्र मनकामनाको पटकथा लेख्दा त्यसमा एउटा मार्मिक तर रोमाण्टिक गीतको लागि स्थान बनेको थियो । शैलेश आचार्यले त्यसका लागि बडो सुन्दर शव्दहरुको तालमेल जोहो गरेका थिए । अनि भूपेन्द्र रायमाझीले त्यसका लागि साह्रै मीठो मेलोडी तयार गरेका थिए । त्यो गीतको लागि एउटा अलग्गै स्वर भए हुन्थ्यो भन्ने मेरो मनाशय थियो । रेकर्डिंग बम्बइमा हुने भएकोले त्यहाँ गएको बेलामा किन तलत महमूदको स्वर त्यसका लागि उपयोग नगर्ने भन्ने कुरा म भित्रको तलतको प्रशंसकले अनायासै उठाएको थियो । त्यसैले हामी तलत महमूदलाई भेट्न जाँदै थियौं । उनलाई हाम्रो आगमनको खास कारण भने भेटेरै बताउनु उचित हुन्छ भन्ने हाम्रो ठम्याइ थियो ।

जतिबेला तलत महमूद कोठा भित्र पसेका थिए, उनी मैले क्यासेटका कभरहरुमा देखेको जति तरुना त थिएनन् । तर पनि सङ्गीतमा समर्पित सही साधकहरुको अनुहारमा एउटा अलग्गै आभा हुन्छ, तलतमा त त्यो झनै बढी भएको मैले पाएँ । उनको बोली नै पनि कुनै गीतभन्दा कम सङ्गीतमय थिएन । हामीले आफ्नो उद्देश्य बताएपछि तलत महमूद आश्चर्यचकित भएका थिए । उनको गायनको उत्तरार्द्धमा कसैले आएर नेपाली सिनेमाको लागि गाउन भन्छ होला भन्ने उनको कल्पना भन्दा परको कुरा रहेछ । त्यो हामीलाई बताउँदा उनको स्वरमा हर्षको कम्पन थियो । तलत आफ्नो गायनमा पनि त्यो कम्पनका लागि मानिन्छन् । मैले आफ्नो तलत ज्ञान सुनाएर पनि तलतलाई प्रभावित गर्न खोजेको थिएँ । श्रीवास्तवले जस्तो पुस्ता अन्तरको कुरा नगरे पनि अर्को देशको एउटा नपत्याउँदो फुच्चे प्रशंसक भेट्दा पक्कै पनि उनी खुसी भएका थिए । मृदुभाषी र सानो स्वरमा बोल्ने तलत त्यति महान कलाकार भएर पनि हामीसंग बडो नम्रताका साथ प्रस्तुत भएका थिए । थोरै उपलव्धिमा नै धरहराको बार्दली चढेर अरुलाई मान्छे गन्न छाड्ने र छोटै समयमा ‘पुनर्मुसिको भवः’ लाई सार्थक गर्नेहरुका लागि त्यो एउटा गतिलो पाठ थियो ।
तलतले त्यति बेला भनेका थिए,
‘मलाई सम्झेर आउनु भयो, यो मेरो लागि सम्मान हो । तर मेरो स्वरमा अब त्यो पहिलेको खूबी बाँकी छैन ।‘

सत्य पनि त्यही नै थियो । उनलाई हामी उनको गायनको शिखरमा भेटिरहेका थिएनौं । उनले सिनेमामा गाउन छोडेको धेरै भैसकेको कुरा पनि मलाई थाहा थियो । झण्डै पन्ध्रबीस वर्ष अघि ‘जहाँ आरा’ नामक सिनेमामा ‘फिर वही रात वही गम वही तन्हाई है' भन्ने गीत गाए पछि उनले सकृय गायनमा बिट मारेका थिए । त्यसपछि एकै पटक लामो बिश्राम पश्चात् एचएमभीले उनको एउटा गैरफिल्मी गजलको एल्वम निकालेको थियो, ‘गजल के साज उठाओ ।’ त्यसमा आफूले गाएका गजलहरुबाट उनी आफै पनि शतप्रतिशत सन्तुष्ट भएका रहेनछन् ।
तलत महमूदले हामीलाई त्यसैको चार लाइन गाएर नै सुनाए, 
हरेक मोड से मिलता है रास्ता कोई
नजर तो ढूंड ही लेती है आसरा कोई

अनि निर्णय पनि हामीलाई नै सुम्पिंदै भने,
‘मेरो स्वर यस्तो भैसकेको छ । तर यति पर अर्को देशबाट मलाई अनुरोध गर्न आउनुभएको छ । तै पनि मलाई गाउनै पर्छ भन्नुहुन्छ भने म तपाईंहरुलाई नाईं भन्दिन ।‘
हुन त उनको स्वर गाउनै नहुनेगरि बिग्रिएको थिएन । हो, कम्पन अलि बढी थियो र कानमा मिश्री खनाएको जस्तो उनको स्वरको मिठासलाई बुढ्यौलीले अलिकति कम गरिदिएको मात्र थियो । तर खस्केको स्वरमा गाउन नचाहने उनको आशयलाई हामीले सम्मान नगर्न सकेनौं । तलत महमूदलाई पनि नेपाली चलचित्रको लागि गाउन नपाएकोमा लागेको अव्यक्त दुःख उनको आँखामा देखेको मलाई भान भयो । उनीसंग विदा लिएर फर्कने बेला लागिरहेको थियो, जिन्दगीको कटु सत्य नै हो, हरेक आरोहसंग तिनका अवरोहहरु पनि हुन्छन् । त्यसैले हामीले कुनै पनि कलाकारको सही सम्मान गर्ने हो भने आफ्नो चरमचुलीबाट ओरालो झर्न थालेपछि उसलाई उसले कायम गरेको मापदण्ड भन्दा कमजोर काम गर्न करबल गर्न हुन्न । त्यसो भयो भने मात्र उसका आरोहहरु श्रोताहरुको मनमस्तिष्कमा कालान्तर सम्म अमर अजर बनेर रहन्छन्, उदाहरण बनेर रहन्छन् ।
बम्बइबाट त्यो गीतको रित्तो म्यूजिक ट्रयाक बोकेर हामी फर्क्यौं ।

काठमाण्डौ, २०..........

कमलादीको सिम्फोनीमा बम्बैबाट ल्याइएका अरु ट्रयाकहरुमा धमाधम स्वरांकन गर्ने काम भैरहेको थियो । तर त्यो गीतमा कुनै फरक स्वर भैदिए हुन्थ्यो भन्ने चाहना अझै पनि थियो । तलत महमूदको लागि भनेर तयार गरिएको गीतमा न्याय गर्ने तर अरु भन्दा फरक स्वर कहाँ खोज्ने ? अचानक दिमागमा एउटा नाम आयो । त्यो नाम एकजना यस्ता गायकको थियो, जसको तलत महमूदसंग धेरै समानता थियो । उनले पनि सकृय गायन छोडेको निकै नै भैसकेको थियो तर तलतको जस्तो स्वर खस्केकोले होइन । तलत जस्तै उनी पनि मधुरो र मीठो स्वरका लागि विकल्परहित मानिन्थे । उनले पनि थोरै गाएका थिए तर श्रोताहरुको मनमगजमा अमिट छाप छोडेका थिए । तर यति धेरै समानता हुँदाहुँदै पनि उनको आफ्नै उँचाई थियो, आफ्नै विशेषता थियो । उनको गायन आफैमा विशिष्टताको एउटा मापदण्ड थियो । त्यो नाम थियो बच्चुकैलाशको ।

मैले उनको नाम लिनासाथ फेरि एक पटक भूपेन्द्र रायमाझी र डा सुबोध उत्साहित भए । तर बच्चुकैलाशले त गाउन छोडिसकेका थिए । उनले बीसौं वर्ष अघि मनको बाँधमा पहिलो र अन्तिम पटक सिनेमाको लागि गाएका थिए । त्यसैले बच्चुकैलाशले गाउन मान्लान् भन्ने कुराको कुनै भर थिएन । तर म एकोहोरो भैसकेको थिएँ । त्यो फलामको च्यूरा चपाउने जिम्मा लिएर म उनको निवासमा गएँ ।

उनलाई त्यसका लागि राजी गर्न नभन्दै निकै नै कठीन परिश्रम गर्नु परेको थियो । फकाएर, घुक्र्याएर, ठुस्केर, म जन्मनु अघि देखिको उनको पारीवारिक सम्बन्धको दुहाइ दिएर अनि धर्नै कसेपछि अन्ततोगत्वा बच्चुकैलाश त्यसका लागि राजी भए । उनी रेकर्डिंगका लागि सिम्फोनीमा आउँदा सबै उत्साहित थिए । आफ्नो सौम्य, गम्भीर र गरिमामय मुद्रामा उनले एक दुई पटक गीतको ट्रयाक सुने । अनि बच्चुकैलाशले भूपेन्द्र रायमाझीलाई एकपटक गाएर सनाउन अनुरोध गरे । भूपेन्द्रले हार्मोनियम समातेर गाइसकेपछि उनी माइक्रोफोन अघि गएर उभिए । रेकर्डिष्ट दीप तुलाधर आफ्ना कुशल औंलाहरुलाई रेकर्डिंग मेसिनका फेडरहरुमा फैलाउन थाले । यस्तो लागिरहेकोथ्यो, मानौं कुनै महत्वपूर्ण खेल शुरु हुनलाग्दा मैदानमा फुटवल खेलाडिहरु आआफ्नो स्थानमा व्यवस्थित हुन खोजिरहेका छन् । बच्चुकैलाशको गीतको रेकर्डिंग हुनु कुनै विश्वकप फूटवलको फाइनलभन्दा कम कुरो पनि त थिएन । त्यो अवसरको प्रत्यक्षदर्शी हुन पाउँदा मेरो मुटुको चाल नै द्रुत गतिमा जाकिर हुसेनको तबला बजे जस्तो भैरहेको थियो । दीप तुलाधरको एक दुइपटक अभ्यास गर्ने कि भन्ने भनाइलाई काट्दै बच्चुकैलाशले नम्र स्वरमा भने,
"यसो गरौं न, रेकर्ड पनि गर्दै जाऔं, जहाँजहाँ हुन्छ, भैहाल्छ, हुन्न?"
त्यति वरिष्ठ गायकको कुरा कसले काट्न सक्छ र? ट्रयाक बज्न थाल्यो, दीप तुलाधरको औंलाले रेकर्डको स्वीच थिचिसकेको थियो । बच्चुकैलाश गीतको भावमा डुबेर गाउन थाले,
फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई
गम्किन्छ सुवाष अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र
धुन बुनेर ह्दयको सुनाउँदैछु मायालुलाई
बज्नेछ गीत अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र

स्पीकरबाट आइरहेको उनको ओजपूर्ण स्वरले त्यतिबेला स्टूडियोको वातावरणलाई अचानक कुनै आरती भैरहेको मन्दिर, प्रार्थना भइरहेको मस्जिद अथवा चर्च जस्तो बनाइदिएको थियो । मन्त्रमुग्ध भएर त्यहाँ उपस्थित सबै उनको स्वरका आरोह र अवरोहमा तैरिरहेका थिए । सामान्यतया गीतहरुका अन्तरामा एउटै मेलोडी हुने गर्छ तर तीन अन्तरा लामो त्यो गीतका अन्तराहरुमा बिविधता थिए । तर एकै छिन अघिमात्र सुनेको धुन र सङ्गीतमा अगाडिको कागज हेरेर बच्चुकैलाशले पूरै तीन अन्तरा यसरी गाए, मानौं त्यो वाल्यावस्थादेखि उनले हरेक दिन गाइरहेको गीत हो ।
ट्रयाक रोकिइसकेको थियो, स्पूल चलेको सानो आवाज बाहेक अरु केही सुनिएन । सबै मौन र अवाक थिए । अनि फेरि बच्चुकैलाशको आवाज स्पीकरमा गुञ्जियो,
"भयो?"

दीपले भूपेन्द्रलाई ट्वाँ परेर हेरे, भूपेन्द्रले सहमतिमा टाउको हल्लाए । गीतको रेकर्डिंग सकिइसकेको थियो । उनी बाहिर आएर एकपटक आफूले गाएको सुने । कतै कही नमिलेको भए फेरि गाउन पर्छ कि भनेर सोधे । तर ६ मिनेटभन्दा लामो त्यो जटिल गीत उनले एकैपटकमा यसरी गाएका थिए, कतै केही फेरि गाउने आवश्यकता नै थिएन । म सोचिरहेको थिएँ, त्यो गीत अरु कसैले पनि गाएको भए यो भन्दा सुन्दर हुन सक्दैनथ्यो । तलत महमूदले त्यो गीत गाउन नसक्नुको यो भन्दा सुखद अरु परिणाम हुनै सक्दैनथ्यो भन्नेमा हामी सहमत भयौं ।

यस्ता गायक स्वघोषित सन्यास लिएर गायनबाट अलग भएर बस्नु नेपाली सङ्गीतको लागि ठूलो अन्याय र श्रोताहरुका लागि त्यो भन्दा ठूलो अत्याचार हो भन्ने मलाई अझै पनि लाग्छ । बच्चुकैलाशको स्वर अझै पनि बिग्रेको छैन, त्यसैले उनलाई माया गर्ने सम्पूर्ण श्रोताहरुका तर्फबाट एउटा जिज्ञासा, भोलि कुनै दिन तपाईंलाई साँच्चै गाउन मन लाग्यो तर त्यतिबेला तलतको जस्तै स्वरले चाहिँ साथ दिन छोडिसकेछ भने? हुनसक्छ भने आफू र श्रोताहरुमाथि अन्याय गर्न छोडिदिनुस् । यो घुर्की कसका लागि?

तपाईंजस्ता पुत्र सरस्वतीले एकदमै थोरै जन्माएकी हुन्छिन् ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...