२०५८ असोज २० गते कान्तिपुर दैनिकमा प्रकाशित
अहिले एउटा भाइरसको जगजगी छ। योरेडियोको तरंग, क्यासेट पसल र रेशम भाइरसग्रस्त मान्छेहरूको मुखबाट फैलिरहेको छ र यसले पहिले सीधै कानमा, अनि बिस्तारै मगज र मनमा असर गर्छ । यसबाट प्रभावित मान्छे रेशम गाऊन थाल्छ र गाएको गायै हुन्छ। कसरी र कहाँबाट शुरु भयो त यो महासंक्रामक भाइरस?
मिति: बैशाख १, २०५८
स्थान: स्वयम्भूको छेऊको एउटा साउण्डप्रूफ कोठा
स्थान: स्वयम्भूको छेऊको एउटा साउण्डप्रूफ कोठा
पात्रहरू:अमृत गुरुङ, रत्नमान गुरुङ, नरेश थापा, ध्रुव लामा, माइकल भनिने महेश पुन (समटिष्मा भन्दा नेपथ्य समूह)
पाँचजना युवाहरू भेला भएर योजना बनाए। अब केही गर्ने बेला भेसकेको छ । चुपचाप लागेर बसेको धेरै भइसकेको छ। शुभचिन्तकहरू खोजीनीति गर्न थालिसके, बिगार चाहनेहरू काखी बजाउन थालिसके। तर यसपटक उनीहरू केही नयाँ गर्न चाहन्थे, पुरानै ढाँचामा अड्किन चाहँदैनथे। त्यसपछी ऊनीहरूले ५ महीना घुँडा धसेर आविष्कार गरे, एउटा महासंक्रामक भाइरस- रेशम। रेशमलाई म यसकारण भाइरस भन्दैछु किनभने यसले आफ्नो संसर्गमा आउने कुनै पनि कानलाई यति छिटो प्रभाव पार्छ, त्यो सुन्ने मान्छे ‘रेशम....रेशम’ भन्न थालिहाल्छ। कुनै पनि भाइरसभन्दा छिटो फैलिरहेको छ रेशम, सङ्गीतप्रमीहरूको बीचमा। यस तथ्यको ज्जवलन्त उदाहरणहरू मैले देखेको छु।
मिति: असोज १, २०५८
स्थान: नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान
पात्र: नेपथ्य र खचाखच भरिएका दर्शकहरू
स्थान: नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान
पात्र: नेपथ्य र खचाखच भरिएका दर्शकहरू
चार वर्षपछि नेपथ्यले कन्सर्ट गर्दैथ्यो। ५ बजे शुरु हुने भनिएको कार्यक्रमको पर्दा अझै खुलेको थिएन। नेपथ्यको रेशम भाइरस फैलिन थालेको भर्खर ५ दिन भएको थियो। अर्थात्, रेशम एल्वम निस्केको ५ दिन मात्रै भएको थियो। साधारणतया ५ दिनमा श्रोताहरूले एल्वम बजारमा आएको जानकारी पनि राम्ररी पाएका हुँदैनन्। ‘रेशम’ एल्वमको शीर्ष गीत राम्ररी रेडियोमा बज्न पनि पाएको छैन। टिभीमा म्यूजिक भिडियो पनि बनेको छैन। तर पनि जब पर्दा खुल्यो, नेपथ्य स्टेजमा देखा पर्यो, सबै दर्शक एकै स्वराम कराउन थाले, ‘रेशम......रेशम.....’
नेपथ्यले शुरु गर्यो आफ्नो पुरानो गीत ‘तिम्रो आगमन’बाट। त्यो सकिन नपाउँदै दर्शक फेरि कराउन थाले, ‘रेशम.....रेशम....’। नेपथ्यले त्यसपछि फेरि रेशम भाइरसलाई मुक्त गर्यो। सारा प्रेक्षालय रेशम भाइरसको चपेटामा आयो। रेशम भाइरसले ग्रस्त पारेपछि त्यसले मान्छेलाई संगै गाउन बाद्य बनाउँछ, झुम।न बाध्य बनाउँछ। प्रतिरोध क्षमता बढी हुनेहरू कुर्सीमा बसेर थपडी मात्र बजाउँदै थिए भने कमजोर श्रोताहरू उठेर नाच्न थालिसकेका थिए। रेशम भाइरसले ग्रस्त दर्शकश्रोताहरूले २१ वटा हरू गीत सुनेर पनि चित्त बुझाएनन् र अन्त्त्यमा फेरि नेपथ्यले रेशम नगाइ सुख पाएन। यसपटक रेशम भाइरसको प्रभाव अझै कडा थियो, कोही पनि कुर्सीमा बसिरहन सकेनन्-सबै संगै नाच्न गाउन थाले। बेला-बेलामा त यस्तो लाग्थ्यो, मानौं गाउने नेपथ्य हैन, दर्शकश्रोताहरू हुन् किनकि जब करतल ध्वनिमाउनीहरू ‘रेशम’ भन्थे, नेपथ्यले गाएको सुनिंदैनथ्यो।
रेशम भाइरस त्यसपछि प्रज्ञा प्रतिष्ठानबाट बाहिर निस्क्यो र काठमाण्डौको हावामा फैलिन थाल्यो। यसको संक्रमण जारी नै छ।
मिति: असोज ५ र ६ गते, २०५८
स्थान: पोखरा
पात्र: अन्नपूर्ण एफएम, पोखरा एफएम, हिउँचुली एफएम, माछापुच्छ्रे एफएम र पोखराका श्रोताहरू
स्थान: पोखरा
पात्र: अन्नपूर्ण एफएम, पोखरा एफएम, हिउँचुली एफएम, माछापुच्छ्रे एफएम र पोखराका श्रोताहरू
पोखरा टेक्नासाथ रेशम भाइरसको प्रभावले पोखरा ग्रस्त भैसकेको थाहा भयो। ट्याक्सी, पसल, रेष्टूराँ र एफएमका तरङ्गहरू सबैतिर ‘रेशम-रेशम’ सुनिन्थ्यो। सबैभन्दा अचम्म युवाहरू एकआर्कासंग भेट्दा हात मिलाउँदा ‘रेशम’ भन्दै भेटेका देखिन्थे। साँझपख चियर्स गर्नेहरू चियर्सको साटो ‘रेशम’ भन्दै गिलाँस जुधाइरहेका भेटिन्थे। महेन्द्रपुलमा ‘नेपथ्य लाइभ २००१’ का तुल, पोष्टरहरू, चिप्लेढुङ्गामा कन्सर्टको टिकट स्टल अनि यता र उति ट्याक्सीमा माइकिंगले असोज ७ गते पोखरामा नेपथ्यको कन्सर्टको जानकारी दिइरहेका थिए।
मिति: असोज ७ गते, २०५८
स्थान: दीपेन्द्र सभा गृह
पात्र: भाइरसका जन्मदाताहरू र भाइरस पीडित चानचुन १३०० श्रोताहरू
स्थान: दीपेन्द्र सभा गृह
पात्र: भाइरसका जन्मदाताहरू र भाइरस पीडित चानचुन १३०० श्रोताहरू
५ बजे भनेको कन्सर्ट साढे ६ बजेमात्र शुरु हुन सक्यो किनभने टिकट किन्न ढोकामा जम्मा भएको हुललाई नियन्त्रण गर्न धौ-धौ परिरहेको थियो। झन् सुरक्षाको कारण देखाएर प्रहरीले सबैको शरीर खानतलाश गरेर मात्र भित्र छिराइरहेको हुनाले कार्यक्रम डेढ घण्टा ढीला भैसकेको थियो। रेशम भइरसको प्रभाव चरममा थियो। भित्र गएकाहरू सबै एकै स्वरमा ‘रेशम-रेशम’ कराइरहेका थिए। अचम्म लाग्दो कुरो, एउटा राम्रो गीत-सङ्गीतले कसरी सबैको आवाजलाई एउटै शव्दमा बाँधिदिन्छ। सभागृह हेर्दाहेर्दै भरिन लाग्यो। यसपटक नेपथ्यले शुरुमै रेशम भाइरस प्रयोग गर्यो। त्यसपछि नयाँ र पुराना गरेर २०-२२ वटा गीतहरू गायो।
एक दिन अघि अमृतलाई फ्यारेन्जाइटिस भएको थियो। ऊ एण्टिबायोटिक खाइरहेको थियो। तै पनि उसले २१ वटा गीतहरू गायो। एउटै थलोमा उभिएर। उसले गाएका धेरैजसो गीतहरू निकै माथिल्लो सुरमा कराउनुपर्ने खालका थिए। अन्त्यमा लौ त भनौं भने उसको स्वर सुक्ने स्थितिमा पुगिसकेको थियो। तर रेशम भाइरसले ग्रस्त श्रोताहरू त्यो बुझ्न सक्दैन थिए। उनीहरू हेरक गीतपछि ‘रेशम वान्स मोर’ भनेर कराइरहेका थिए। अमृतले अन्त्यमा फेरि रेशम नगाइ धरै पाएन। म सोच्दै थिएँ, कतै अमृत भूत त हैन? संगै ननाच्ने र नगाउने कोही पनि थिएन। नरेश, रत्न र महेशका गितारका तारहरू र ध्रुवको ड्रमसेट पनि त्यति नै सकृय थिए। झन् ध्वनि संयन्त्र र प्रकाशको जादूमयी संयोजनले हामीलाई बेग्लै संसारमा पुगेको भान भैरहेको थियो।
कन्सर्ट सकियो।
कार्यक्रम शुरु हुने अघि हामीलई कसैले सुनाएको थियो, पोखराका दुई थरि ग्याङ्गले एकआर्कालाई कन्सर्टको बेला गोद्ने योजना बनाएका छन् रे। अलि-अलि सतर्क थियौं हामी सबै। कतै ती दुई ग्याङ्को झगडाले कन्सर्टलाई असर पो गर्ने हो कि? तर या त हल्ला उडन्ते थियो, या रेशम भाइरसको प्रत्यक्ष संसर्गमा आएर उनीहरूले वैरभाव बिर्से, नेपथ्यसंगै गाएर झगडा गर्न बिर्से। पोखराका दर्शकहरू, वास्तवमा मैले निकै संयमित, सकृय र सङ्गीतप्रेमी भएको अनुभव गरेको छु।
यो भाइरसबाट बच्ने कसरी?
रेशम भाइरसबाट बच्ने एउटै उपाय छ, ‘रेशम’ नसुन्ने। सुनेपछि तपाईँ यसको संक्रमणबाट बच्न सक्नुहुन्न। तर के तपाईँ कान थूनेर हिंड्न सम्भव छ? हावामाफैलिसकेको रेशम भाइरसलाई कानसम्म पुग्नबाट रोक्न सम्भव छ? छ भने पनि के तपाईँ चाहनुहुन्छ त्यो? पोखरा सभागृहको लबीमा त्यहाँको क्यासेट पसलेले सानो स्टल राखेर रेशम एल्वन बेच्न बसेका थिए। बोल्न-सुन्न नसक्ने भिन्न क्षमता भएकाहरूको संघका साथीहरू स्वयमसेवकका रूपमा सकृय थिए। उनीहरु मध्येकै एकजना रेशम एल्वम किन्दै थिए। मैल अचम्म मानेर उनलाई ईशारामा किन किनेको भणेर सोधें। उनले ईशारामै मुस्काउँदै बताए,
“राम्रो छ जस्तो लाग्यो। घरमा अरुहरूले सुन्छन् नि।”
“राम्रो छ जस्तो लाग्यो। घरमा अरुहरूले सुन्छन् नि।”
यो हो रेशमको मैले देखेको प्रभाव। साँच्चै नेपथ्यको रेशम गीत हैन, भाइरस नै रहेछ। अनि यो एल्वम हैन, महामारी रहेछ भन्ने निष्कर्षमा पुग्न म बाध्य भएँ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment