Tuesday, March 20, 2018

के ख्याँसिस् फाफुरा ?

"तैंले आजसम्म जिन्दगीमा के ‘ख्याँसिस्’ फाफुरा ?"
केही दिनअघि पुराना मित्रहरुको भेलामा एकजना मानव तस्करले फाइँफुट्टीराजलाई ठाडो हाँक दिए । ती मित्रहरु, जो फाफुरासंगै जिन्दगीको दौड सुरु हुने रेखामा कुप्रिएका थिए कुनै बेला । कसैले सिठ्ठी फुकिदिएपछि सबै एकैपटक पुच्छरमा ढुङ्गा हालेर गोल्टिन ट्वाक बाँधेको कुकुर जसरी कुद्न थालेका थिए । कुद्ने क्रममा को कता छ भनेर हेर्ने होस पनि कसैलाई भएको थिएन । तर, यो आकस्मिक भेलामा ‘इगो’ जत्तिकै ठूलो भुँडी भएका एक दौडाहाले चार पेग रक्सी निलेपछि गरेको त्यस प्रश्नले फाफुरालाई तोरीको फूल देखाइदियो । वर्षौंदेखि फाइँफुट्टी हाँकेर वास्तवमै फाफुराले के ख्याँसेछ त ?  फाफुरा निकै गम्भीर भयो । हुन पनि हो, उसले त केही ख्याँसेकै रहेनछ । ख्याँस्नुको अर्थ शव्दकोषमा जेसुकै भए पनि हाम्रो व्यावहारिक संसारमा त्यसको अर्थ पृथक छ, बृहत् छ । यो देशमा ख्याँस्नुको परिभाषा अरू ठाउँको भन्दा नितान्त फरक छ ।
यहाँ मानिसले आत्मसन्तुष्टि नख्याँसे पनि हुन्छ तर भौतिक उपलव्धि चाहिँ ख्याँस्नै पर्छ । दिनभर भौंतारिएर साँझ  शान्त मन लिएर गुँडतिर नख्याँसिए बरु केही फरक पर्दैन तर दुई-चार जना साथीसँग रेस्टुराँमा छिरेर दुईचार धुर्बे ख्याँस्न सक्नै पर्छ । थाप्लोमा बैंकरूपी जमिन्दारको मिटर व्याज बोकेरै किन नहोस् - सके चौपाया, नभए भटभटे ख्याँस्न सक्नै पर्छ । छोराछोरी छन् भने ढाड सेक्ने स्कूलमा तिनलाई ख्याँस्न पठाउन सक्नैपर्छ । स्कुल सकिएपछि विदेशतिर ख्याँस्न सक्नै पर्छ । महिना दिन ननुहाएर गणेशजी बनाउन पुग्ने मयल ज्यूभर बोकेर पनि तिनलाई छोप्न चाहिँ दरवारमार्ग तिरका ठग पसलहरूमा किनेका तथाकथित 'ब्रान्डेड' लुगाफाटा वा जुत्ता ख्याँस्न सक्नैपर्छ । काठमाडौंमा दमकल र एम्बुलेन्सै नछिर्ने गल्लीभित्र भए पनि दुई चार आना जग्गा वा एक दुई तले चिहान ख्याँस्न सक्नैपर्छ । मलामी जाने बेला कोही हुन् या नहुन्, बिहानबिहान चोकको चिया पसलमा बसेर संसारभरका विषयमा ज्ञान छाँट्दा पत्याए पनि नपत्याए पनि अगाडि चाहिँ हो हो भन्ने पिछलग्गु ख्याँस्न सक्नैपर्छ । भ्रष्टाचार, पापाचार, दुराचार, लुच्याइँ, फट्याइँ, ठगी, अपराध अथवा गर्न नहुने जति कुनै पनि काम गरेर अकूत सम्पत्ति ख्याँस्नै पर्छ । जति धेरै पैसा र सम्पत्ति, त्यति नै धेरै ख्याँस्न सकेको शुरवीरको रूपमा सामाजिक प्रतिष्ठा । भ्रष्टाचार वा अख्तियार लाग्नु त चरित्र र प्रतिष्ठाको परिचयपत्र मानिन्छ यहाँ । त्यस्ता गुणी मानिसको घरमा बुहारी बनाएर आफ्नी छोरी ख्याँस्न वा तिनको छोरी आफ्नो घरमा बुहारी बनाएर ख्याँस्न टाउको फोराफोर हुन्छ हाम्रो समाजमा । नातागोता र साथीभाइ भेला भएको बेला गर्वका साथ आफू कति घुस र कमिसन ख्याँस्न सक्ने पदमा छु भनेर खोक्न सक्ने त्यहाँको नायक हुन्छ । बाँकी सबै ईर्ष्याले उसलाई हेरेर घुटुघुटु थुक ख्याँस्छन् ।

यी सब कुरालाई गम्भीर मनन गरेपछि सुकुमबासी फाफुरा साँच्चै आफूले केही ख्याँस्न नसकेकामा विश्वस्त भयो । यै तालले त भएन भनेर उसलाई जंग चल्यो । अब आफूले पनि केही ख्याँसेपछि मात्र सबको सामु छाती फुलाउन पाइने भयो भन्ने ब्रह्म ज्ञान उसलाई भयो । तर, कसरी ख्याँस्ने त ? बेलामा पाफुराले बुद्धि पुर्‍याउन जानेन । टुप्पी बाँधेर घोक सेवा ख्याँसेको भए अहिलेसम्म क्यै नभए पनि कतैको सचिप्साप् भैसकिन्थ्यो होला । गृह वा अर्थजस्ता कामधेनु मन्त्रालयमा परेको भए फाफुराले पनि अरु कसैले भन्दा कम ख्याँस्दैनथ्यो होला ।  ख्याँस्ख्याँस् सही गरेकै भरमा कति ख्याँस्न सकिन्थ्यो होला । फाफुरा सडक विभागको ओभरसियर वा ई. साप्सम्म भैदिया भए पनि बाह्रैमास खपुर्खपुर (खन्ने–पुर्ने–खन्ने) नियमित चक्रसँगै थुप्रै सम्पत्ति ख्याँसिन्थ्यो होला । डाक्टरी पढेको भए त दायाँको बायाँ चिरफार गरेरै पनि केके ख्याँसिन्थ्यो होला । जग्गा दलाल, कन्सल्टेन्सी वा सहकारी सञ्चालकमध्ये केही बन्नेतिर पनि बेलामा ध्यान नदिएकोले फाफुराले त केही ख्याँस्न नसकेकै रहेछ । हुन त, यसमा उसको मात्रै दोष त हैन भगवानै पनि कपटी भइदिएका हुन् । बन्दुकै पड्काउन सक्ने नभए पनि कमसेकम पाङपुङ मुक्का वा लात बजाउनसम्म सक्ने क्षमता उसमा हालेर पठाएनन् । लुते बनाएर पठाइदिए उसलाई । नत्र देशे नभए पनि, कमसेकम सहरे वा टोले डन बन्न सक्थ्यो फाफुरा । त्यसो भएको भए कुनै न कुनै राजनीतिक पार्टीको छत्रछायाँमा बसेर टन्न ख्याँस्न हुन्थ्यो । घरघर पिच्छे पार्टी छन्, एउटा न एउटाले त कस्सो ख्याँस्दैनथ्यो होला उसलाई ? तर, फाफुरामा यी कुनै पनि महान् गुणहरू भएनन् । भगवानले उसलाई लेख्ने र पढ्ने दुर्गुणमात्र दिएर पठाए । ती दुई कुराले त केही ख्याँसेर ख्याँसिन्न भन्ने थाहा भइसकेको कुरा हो । 
अब थोरै समयमा धेरै ख्याँस्न के गर्ने भनेर फाफुरा दिमाग लडाउन थाल्यो । उसले आफ्ना वरिपरिका सबै त्यस्ता मानिसहरूका बारे अध्ययन सुरु गर्‍यो जसले जिन्दगीमा ख्याँस्न सकेका छन् । पहिले त उसको दिमागमा संसद्मा भत्ता पचाउन हाटा ठोकेर भुक्तानी लिने बेलामा झुल्किएका सांसद जसरी तिनै मित्र झुल्किए जसले फाफुरालाई चुनौती दिएका थिए । उनैले जस्तो एउटा म्यानपावर खोलेर मानव तस्करी गर्ने फाफुराले दाउ कस्यो । तर, त्यसमा एउटा समस्या थियो । किनभने अचेल गाउँघरतिर खोस्र्यो भने बरु वन पिँडालु पाइएला तर युवा पाइँदैनन् । बूढाखाडालाई बाहिर जाने रहर पनि छैन तिनको कुनै डिमाण्ड पनि छैन । 
यो आइडियाले काम नगरेपछि फाफुराको उर्वर मगजमा अर्को रातारात ख्याँस्ने उपाय चम्क्यो । पुराना र दुर्लभ मूर्तिहरू पो तस्करी गर्नुपर्छ कि क्या हो । काठमाडौंमा मेट्रो, मोनो र स्काइ रेल चलाउन नरकपालिकाले गरे जसरी नै गहिरिएर फाफुरा यो व्यापारको सम्भाव्यता अध्ययन गर्न थाल्यो । त्यसपछि त्यो पनि उही मेट्रो, मोनो र स्काइ रेलको योजना जस्तो ओथारोमै तुहियो । किनभने एक त आजकल पुराना र दुर्लभ मूर्तिहरू नै पाइँदैन रहेछ । भएका जति उहिले नै ओसारिइसकेका रहेछन् । झनै पत्रपत्रिकामा विदेशबाट अब ती मूर्तिहरू फर्काउने सम्झौता र पहल भइरहेको सुनेर त उसका सारा उत्साह रामचन्द्र पौडेलको चुनाप् जित्ने आशाजस्तै भएर ओइलायो । उर्वर समय बिदेशमा बिताएपछि देशको मायाले निथ्रुक्क भिजेर फर्किने कलाकारजस्तै रहेछन् भगवानहरू पनि । ती भगवानहरू पनि ए नारान् नै त हुने होलान् नि अब । मन्दिरहरू मास्सिइसके, कहाँ बस्लान् अब ती फर्किएका भगवानहरू ?
यसै भएन उसै भएन मेडिकल कलेज पो खोलौँ कि भनेर फाफुरा सुरिएकोमात्र के थियो उसले फ्याट्ट डा. गोविन्द केसीलाई सम्झिन पुग्यो । मेडिकल कलेज खोलेर ख्याँस्न तिनले दिँदैनन् भन्ने चेतले त्यो आइडियामा पनि काँउरेसको संसदीय दलको नेता चुनाप्मा पर्काशमान्को आशामा जसरी तुषारापात गरिदियो । निकै सोच्दा पनि फाफुराको बोधो मगजमा कुनै उपाय फुरेन । त्यसैले ऊ फेरि एकपटक रत्नपार्कको शरणमा गयो । टोपीले मुख छोपेर सुतेपछि नभन्दै एउटा गज्जबको कुरा फुरिहाल्यो । अहिलेसम्म धन्न कसैको आँखा नपरेको, हामी कहाँ फालाफाल भएको र विदेशमा अभाव भएको एउटा कुरामा फाफुराको दिव्यदृष्टि गोचर भयो । त्यो एउटा अति महत्त्वपूर्ण कुरा हो अरूका लागि । जतिमा पनि किन्छन् उनीहरूले पाए भने ।
त्यस्तो के फेला पारिस् भनेर तपैँहरू पनि अलमल्ल परिरहनुभएको होला हैन ? त्यो तपैँहरूको वरिपरि पनि फालाफालै छ । समय भन्छन् त्यो कुरालाई । आजकल विकास, प्रविधि र प्रतिस्पर्धाको युगमा संसारभरका सबैलाई त्यसको कमी भएको छ । हामीसँग भने चाहिनेभन्दा बढी छ । त्यही भएर त अरुले घण्टामा गर्ने काम हामी सातामा, अरूले सातामा गर्ने काम हामी महिनौमा र अरूले महिनौमा गर्ने काम हामी पाँच वा दस वर्षमा मात्रै सम्पन्न गर्छौं । ती मुर्दारहरूसँग पो समय छैन, फटाफट गर्नुपर्ने बाध्यता छ । हामीसँग त त्यस्तो मुले समय जति भने पनि छ । के बित्न लागेको छ ? न चाइनाको रेल छुट्न लाग्या छ, न अरब महासागरको पानी जहाज । चुनावमा स्पष्ट बहुमत ल्याएको पार्टीले मफुजो-फुजो खेलेरै (मन्त्रालय फुटाउने-जोड्ने-फुटाउने-जोड्ने) महिनौ दिन बिताए । हतार केको छ र ? समयको कमी छैन क्यार ! त्यसमाथि बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न भनेर त हामीलाई सँधै पढाइएको नै छ । विवाद गरेर बस्न हामीसँग कति छ कति त्यस्ता नाथे समय । त्यसैले त हामी नवसाम्राज्ञीको रिपिट रनवाला शपथ वैधानिक कि अवैधानिक भन्ने कुरामा नै हप्तौं विवाद गर्न सक्छौँ ।  संसारमा अरू कोसँग छ त्यस्तो सुविस्ता ? हामी त खरामा-खरामा गर्ने हो सबै काम । सडक खन्ने होस् वा मेलम्ची, पुल होस् वा विमानस्थल जे पनि हामी सुस्तसुस्त गर्छौं । रेल, सुरुङ, स्याटेलाइट, पानीजहाज, बुद्ध वाज बर्न इन् नेपालजस्ता अभियानका लागि त हामीले झनै कति समय खर्च गरिसक्यौँ भन्ने त के कुरा गराइ भो र ? हो, हामीसँग सिंहदरवारका प्रधानमन्त्रीदेखि लिएर कारागारका सन्त्रीसम्म सबैसँग समय नै समय छ । नपत्याए हेर्नुस् त, चिफ गेस्ट भन्ने विशेषणमात्र दिनुपर्छ मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति वा जुनसुकै ओहदाका मानिस किन नहुन्, जस्तासुकै पुङमाङे कार्यक्रममा पनि पुग्न भ्याइहाल्छन् । चिफ गेस्ट बन्ने लालसामा ‘चिप गेस्ट’ बनिसकेको कुरा पनि उनीहरूले थाहा पाउँदैनन् । रिबन काट्ने र पानसमा बत्ती बाल्ने उनीहरूको सबैभन्दा प्रिय खेल हो ।

त्यसैले फाफुरा आजकल त्यही महत्त्वहीन समय बटुल्दै छ । तर, यो समयलाई विदेशमा निर्यात गर्नको लागि के कस्ता औपचारिकता पूरा गर्नुपर्छ, अफिस गोदाम कहाँ खोल्नु उचित होला, कहाँ दर्ता गर्नुपर्छ भन्ने किसिमका ज्ञान उसलाई छैन । त्यसैले कोही एकजना फाफुरालाई पार्टनर चाहिएको छ । यस विषयमा तपैँहरूमध्ये कसैसँग ग्रयान्ड डिजाइनको बारे गिरिजा बाबुलाई जति ज्ञान छ भने फाफुरासँग अविलम्ब सम्पर्क गर्नुहोला । दिउँसो रत्नपार्कमा आउनुभयो भने तपैँले फाफुरालाई टोपीले मुख छोपेर सुतिरहेको भेट्नुहुनेछ । साँझ परेपछि हो भने त्रिपुरेश्वरमा काल्चाको भट्टीमा फरकै पर्दैन । दुई भाइ मिलेर यति ख्याँसौँला कि फेरि कसैले सोध्ने हिम्मतै नगरून्, “के ख्याँसिस् ?”
twitter: @brazeshk
brazesh@gmail.com 

फाफुरा ताक्छ मूढो–फाफुरी ताक्छे घुँडो

फाफुरा ताक्छ मूढो–फाफुरी ताक्छे घुँडो केही हप्तादेखि फाइँफुट्टीराज एलिट बन्ने ध्याउन्नमा छ भन्ने त तपाईँहरुलाई थाहा भइसकेको छ । सर्वहाराब...