Saturday, March 31, 2018

मिस्टर नोद लाल

"मिस्टर नोद लाल ?”
बल्लबल्ल घन्टी लागेर उताबाट कसैले फोन उठाएपछि फाइँफुट्टीराज यताबाट आफ्नो घोर अवरोहमा बोल्यो । उताबाट क्वाँ......स्वाँ.......किर्र.......फुँफुँ....फिस्फिस्...ट्याँ..प्याँ...को आवाज मात्रै आयो, अनि मौन ।
"हलो ।” फाफुरा यसपटक आवाज अलि ठूलो पार्दै मन्ध्रसप्तकमा बोल्यो । उताबाट कोही बोलेको हो कि जस्तो लाग्यो । तर, त्यो मानिसकै आवाज थियो वा कुनै जनावरको बोली भन्ने फाफुराले खुट्याउन सकेन । हाम्रो दूरसञ्चारको खास नाम झुरसञ्चार हुनुपर्ने हो । 
"हल्लो............” यसपटक हातेफोनमा बोल्ने आम नेपालीको गौरवशाली परम्पराको अनुसरण गर्दै त्यो यन्त्रको पिँधको भागलाई आफ्नो थुतुनोमै जोडेर फाफुरा तार सप्तकमा चिच्यायो । त्यो आवाजले रत्नपार्कको चौरमा अलि पर गुँडुल्किएर सुतिरहेको भुस्याहा कुकुरसमेत कुइँकुइँ गर्दै जुरुक्क उठ्यो, अनि सोझासाझा जनताको रकम लिएर सहकारीका सञ्चालक भागे जसरी कुलेलम ठोक्यो । बल्ल उताबाट बुझ्नसम्म सकिने आवाज आयो, “कसलाई खोज्या ?”
मोबाइलमा कुरा गर्नेबेला मानिस हाम्रो देशको सर्खार जस्तै धैर्यवान हुनसक्नु पर्छ । ठेकेदारलाई मुगलिङ-नारायणघाट सडक विस्तार कहिले सकिन्छ भनेर पटक-पटक सोधे जस्तो नगरी साध्य नै नलाग्ने । फाफुराले प्रश्न दोहोर्‍यायो - “मिस्टर नोद लाल ?”
**
फाफुराको छेउमा आधा चौथाइ बदामका खोस्टा र एउटा कागती जत्रो सुन्तलाको बोक्रा थियो । तिनका भित्री कुरा केही छिनअघि फाफुराको भित्री भागमा पुगिसकेका थिए । उसको सामु एउटा दैनिक पत्रिकाको वर्गीकृत विज्ञापनको पृष्ठ संसद् भवनमा माननीय सांसदज्यूहरू निदाए जसरी लमतन्न परेको थियो । त्यसको एउटा कुनामा ‘आजको कौडी–भोलिको हीरा- सस्तो राम्रो, रुमाल जस्तो जग्गा'को विज्ञापन थियो ।  त्यसमा एउटा नम्बर र नाम थियो,
नोद लाल । 
आम नेपालीको जस्तै फाफुराको पनि एउटै सपना छ, काठमाडौंमा एउटा सानो घडेरी । सहर बजार भनेको त ऊजस्ताहरुले कल्पनामा पनि सोच्न नसक्ने भैहाल्यो । त्यसैले जग्गाको खोजीमा फाफुरा पुष्कर शाहले साइकलमा संसार घुमे भन्दा बढी घुमिसकेको छ ।  यो क्रममा काठमाडौं वरपर प्लटिंग गरिएका त्यस्ता कुनै पनि डाँडा, धानखेत, खोंच, धाप, आहाल, खोला अतिक्रमण गरेर पुरिएको बगर, राजकुलो, ढल र भीरपाखा छैन जहाँ ऊ जग्गा किन्न सकिन्छ कि भनेर पुगेको नहोस् । तर, दुर्गमभन्दा दुर्गम कुनामा थोत्रो भटभटेमा गएको फाफुरा फर्किने बेला एम्बुलेन्समा फर्किएको छ । फाफुराले कतै पढेको थियो, काठमाडौंको घरजग्गाको मोल न्यु योर्कको बराबरै छ रे । भौतिक पूर्वाधारको सुको नभएको यो अतिक्रमित र प्रदूषित खाल्डोमा यसरी कृत्रिम मूल्यवृद्धि भैरहँदा पनि त्यो कसले र किन गरिरहेको छ भनेर सोच्ने वा त्यसलाई नियन्त्रण गर्ने काम भएन । फलतः मेहेनत र इमानदारीको कमाइले यहाँ कसैले घरजग्गा जोड्न नसक्ने भयो । त्यसैले यो जुनी सुकुमवासीकै रूपमा बित्ने भो भनेर फाफुराले आश मारिसकेको थियो । तर,  त्यस दिन वर्गीकृत विज्ञापनमा कौडीको मूल्यमा हीराको टुक्रा जस्तो जग्गाको विज्ञापन देखेर फाफुरा ज्योतिषीको कुराले फेरि एकलट पीएम-पीएम खेल्न पाइने आशा लागेको देउवाजस्तै भएको थियो ।
**
नोद लाल उताबाट 'हलो-हलो' भन्दै थियो ।
फाफुराले फेरि सोध्यो, “नोद लालजी ?” 
नोद लालले भन्यो,  "मेरो नाम नोद लाल हैन ।” 
हुन त फाफुरालाई पहिले नै त्यो नाम अलि अचम्मको लागेको हो ।  उसले सोच्यो, पक्कै पनि बिचराको नाम विनोद लाल हुनुपर्छ । हाम्रा पत्रिकाहरुले रोबोटलाई रोबर्ट र जजलाई जर्ज बनाएजस्तै अगाडिको वि खाइदिएर नोद लाल बनाएको हुनुपर्छ । 
“विनोद लाल हो तपैंको नाम ?" 
“त्यो पनि मेरो नाम हैन । खासमा मैले विज्ञापन टिपाउँदा ‘नो - दलाल' भनेर लेखाएको थिएँ । त्यसलाई बिगारेर नोद लाल भनेर छापिदिएछन् ।"
फाफुरालाई हाँसो लाग्यो तर आफूलाई नियन्त्रण गर्दै उसले सोध्यो, “यहाँलाई म के भनेर सम्बोधन गरौँ त ?”
उसले लामो सुस्केराका साथ भन्यो, “सबैले ब्यानै देखि नोद लालजी भनेर फोन गर्दागर्दा मैले आफ्नो नामै बिर्सिसकेँ । अब मलाई नोद लाल नै भन्नुस् । बरु तपैँको बोल्नुभएको ?” 
फाफुराले आफ्नो नाम सुनाएपछि नोद लाल मरीमरी हाँस्यो, “तपाईँको नाम त मेरो भन्दा बिजोगको रहेछ फाफुरा ।”
नोद लाललाई केही बेर अरूको दुर्गति देखेर आफ्नो दुर्गति कम लाग्ने मानवीय स्वभावको आनन्द लिन दिएर फाफुराले सोध्यो, "यो हीराजस्तो जग्गा कहाँ हो ?"
नोद लालले केही सोच्दै भन्यो, "भेटेरै कुरा गरौँ न फाफुराजी,  कहाँ हुनुहुन्छ तपाईँ ?”
फाफुराले आफू रत्नपार्कमा भएको कुरा बतायो । नोद लालले भन्यो, “म पनि अहिले पानीपोखरी निरै छु । म बीस मिनेटभित्र त्यहीँ आउँछु, अनि कुरा गरौँला हुन्न ?”
फाफुरालाई त फ्लपी खोज्दा हार्ड डिस्क भेटियो भनेजस्तै भइहाल्यो । उसले भन्यो, “भै हाल्छ नि । पार्कभित्र आउनुस्, टोपीले मुख छोपेर सुतिरहेको मान्छे मै हुनेछु, फाईँफुट्टीराज ।"
उसलाई थाहा थियो, काठमाडौंको ट्राफिकमा पानीपोखरीबाट नोद लाल बीस मिनेटमा त ओली यातायातको रेलमा पनि आउन सक्तैन । झन् त्यो एरिया नै खतरनाक थियो । 'पितल' निवासमा स्वारी पाक्यो भने त नोद लाल साँझ झमक्क नपरी रत्नपार्क आइपुग्न सक्तैन । त्यसैले बहुमूल्य समयको सदुपयोग गर्दै फाफुरा टोपीले मुख छोपेर सुत्यो । प्यान्थर नलाएको भएपनि उसले मीठो सपना देख्यो । उसले सपनामा एउटा सानो घडेरी,  त्यसमा चार कोठाको चिटिक्क परेको टिनको छाना भएको घर देख्यो । सपना पनि मानिसले आफ्नै औकातअनुसार त देख्ने हो । सपनामा उसले एउटी फाफुरी पनि देख्यो । धपक्कै बलेकी, राम्री फाफुरी उसलाई हेरेर मुसुक्क हाँसिरहेकी थिई । त्यही बेला बज्या नोद लाल आइपुगेछ र फाफुराको टाउकोमाथि उभिएर कराउँदै रहेछ,
"फाइँफुट्टीराज जी..... ओ फाफुरा... ।"
**
जग्गाको कुरा गर्नका लागि भनेर नोद लालले फाफुरालाई भोटाहिटी तिर लग्यो । त्यति मीठो सपनाबाट ब्युँझाइदिएकोमा एउटा पार्टीका चाकरीबाजहरझले अर्को पार्टीका नेतालाई गाली गरे जसरी नोद लालको चार पुस्तालाई मनमनै गाली गर्दै फाफुरा पछिपछि लाग्यो ।  उसले नोद लाललाई यथास्थितिवादी, जडसूत्रवादी, मलमूत्रवादी, प्रतिगामी, पोलिगामी, मोनोगामी, अप्रगतिशील, अग्रगामी छलाङको वर्ग शत्रु, पत्रु, दक्षिणपन्थी, नैरव्यपन्थी, सुरेश पन्थी, बुजुर्वा र त्यसको पनि हजुर्बा जस्ता पछिल्ला केही समयमा सिकेका गौरवशाली उपाधिहरूले विभूषित गर्न भ्यायो । यी सबैबाट अनभिज्ञ नोद लालले उसलाई एउटा हरियो पर्दा हालेको भट्टीमा लिएर गयो । 
मानौं पेरिसको महँगो रेस्तोराँ ल' मरिसमै ल्याए जसरी चारैतिर हेरेर उसले गर्वको साथ भन्यो - 
“यो पहिले नारायणगोपालले आएर खाने ठाउँ हो बुझ्नुभो ?”
फाफुरा देशका त्यत्रा ठूला गायकले खाने ठाउँमा आउन पाउँदा गौरवान्वित भयो । डाक्टरसँग रोग लुकाउन हुन्न भन्ने उक्ति शिरोपर गर्दै फाफुराले नोद लाललाई आफ्नो समस्या र आफूले खाएका हन्डरहरुका बारे बेली बिस्तार लगायो । नोद लाल चुस्की लगाउँदै उसको कुरा सुनिरह्यो र अन्त्यमा भन्यो -
"तपैँजस्तै भुक्तभोगीहरूको सेवाको लागि त म छु नि । ढुक्क हुनुहोस् फाफुराजी, नोद लालले तपाईँलाई भूमिपति बनाउनेछ । तपैँको बजेटभन्दा निकै कममा ।"
फाफुरा फुरुङ्ग भयो । नोदलाल छाती फुलाएर भन्दै थियो - "यस्तो ठाउँमा जग्गा किनाइदिन्छु,  तपैँका सात पुस्ता धन्य हुनेछन् । इतिहासको पानामा समेत सुनको अक्षरमा तपाईको नाम लेखिनेछ ।"
नोद लालले खल्तीबाट पट्याएर राखेको एउटा सानो कागज निकालेर  टेबुलमा फिँजायो । त्यसमा कसैले हातैले डटपेनले कोरेको एउटा नक्सा थियो । बीचबीचमा बाटो निकालेर दुवैपट्टि प्लटिंङ गरेका टुक्रा देखिन्थे । 
"हे.....री, यो एउटा नयाँ प्लानिंङको जग्गा हो । एक एक प्लट सुन हैन हीरा हो हीरा, बुझ्नुभो ?”
फाफुरा ती हीराका टुक्राहरु हेर्दै बोल्यो, “कति-कति आनाका प्लट हुन् यी नोद लाल जी ?”
नोद लाल अटट्हास गर्दै हाँस्यो र भन्यो, "के आनाको झीनो-मसीनो कुरा गरिरहेको फाफुरा जी, यी त एक्री-एक्रीका प्लटहरु हुन् ।"
फाफुरा अझै अलमल भयो । एक्री भन्ने इकाई त उसले अहिलेसम्म सुनेकै थिएन । नोद लालले अर्को बम खसाल्यो, “सुरुमा लिनेहरूलाई त बम्पर अफर पनि छ । एक एक्रीको एक हजारमात्र ।"
हजार रूप्याँमा ! आजकल अलि मैलो पुरानो हजार रूप्याँको नोट लिएर गयो भने अर्को चिल्लो र नयाँ हजार रुप्याँको नोटै आउँदैन, नोद लाल जग्गाको कुरा गर्छ । त्यो पनि एक्री ।
"एक एक्रीमा कति इन्ची वा सेन्टिमिटर जग्गा हुन्छ नोद लालजी ?” फाफुराले जिल्ल पर्दै सोध्यो । नोद लाल अन्कनायो र भन्यो-
"त्यो सबै डिटेल पछि भनौला तपैँलाई ।"
फाफुराले ध्यान दिएर नक्सा हेर्‍यो  । अँग्रेजीमा लेखिएको एकरलाई नोद लालले 'जस्तो देख्यो-त्यस्तै पढ्यो' भन्ने व्याकरणको नियम लगाएर एक्री भनेको रहेछ । फाफुराले जग्गा हेर्दा सबै नेपालीले सोध्ने प्रश्न सोध्यो,
"अनि पानीको सुविधा...... ?”
नोदलाल अलि अन्कनायो र नाक कोट्याउँदैो बोल्यो, "अहिले पानी र अक्सिजनको चैं अलि समस्या छ । तर, त्यहाँ चाँडै डिप बोरिंग हुन्छ । नयाँ बजेटमा सिफारिस भएर रकम पनि निकासा भैसक्यो । वडामा पैसा आउनासाथ काम भटाभट सुरु हुन्छ । त्यसपछि त वरिपरि सडक पखाल्न पुग्ने पानी हुन्छ ।" नोद लालमा अब कृष्णप्रसाद भट्टराईको आत्मा छिर्‍यो ।
"अनि हावाको पनि समस्या छ भन्या हैन त ?”
"हावाको समस्या काठमाडौंमा छैन र ? धुलो र धुवाँबाहेक के खाइरहनुभा छ ? क्वै मरेको छ त ?”
फाफुरा निरुत्तर भयो । उसले फेरि एकपटक सोध्यो,
"जग्गा चाहिँ कहाँ हो, एकपटक हेर्नु त पर्‍यो नि ।”
नोद लालले एक घुट्को लगायो, मुख बिगार्दै अघि नाक कोट्याएकै औँलाले टिपेर सेकुवाको अन्तिम टुक्रा क्वाप्प मुखमा हालेर चपाउँदै भन्यो,
"आज औंसी परेको हुनाले म तपैँलाई तीनचार दिनपछि मात्र जग्गा देखाउन सक्छु ।"
नापी विभागमा घाम नलाग्या बेला नक्साको प्रिन्ट निस्कन्न भन्ने त फाफुराले सुनेको हो तर औंसीमा जग्गा देखाउन नमिल्नुको कारण उसले बुझेन । उसले भन्यो, “जग्गा देखाउन पनि के औंसी के पूर्णे ?” 
नोद लालले साउती गरेझैं रहस्यमय स्वरमा भन्यो, “यो जग्गा नै यस्तो ठाउँमा छ, जुन कृष्ण पक्षमा र दिनमा देखाउन मिल्दैन ।”
फाफुरालाई लाग्यो, नोद लाल एक क्वार्टरमै फिट्टू भयो । त्यसैले यस्तो बौलठ्ठी कुरा गरिरहेको छ । अब फाफुराको धैर्यले ठाउँ छोड्यो । उसले कुर्लंदै भन्यो, “मसँग यसरी बेकारमा खेर फाल्ने समय छैन नोद लालजी । कि सीधा कुरा गर्नुस्, नत्र म गएँ ।"
नोद लाल फाफुरातिर झुक्यो, सतर्क भएर चारैतिर हेर्दै रहस्यमय स्वरमा साउती गर्यो, “उद्देश्य के लिनू उडी छुनु चन्द्र एक ।"
"मैले कुरा बुझिनँ नोद लालजी, जग्गा कहाँ हो, त्यो भन्नुस् ।” फाफुराले फेरि सोध्यो ।
"चन्द्रमामा ।" नोद लालले रकेट उडायो ।
"चन्द्रमामा रे ? वाहियात कुरा नगर्नुस् त । यहाँ भीरपाखामा जग्गा किन्न सकिएको छैन, तपैँ चन्द्रमाको कुरा गर्नुहुन्छ ।" 
नोद लाल अट्हास गरेर हाँस्यो, “एक जना नेपालीले त किनी पनि सके चन्द्रमामा जग्गा । के तपैँले केही दिनअघिका समाचारहरु पढ्नुभएको थिएन ? उनलाई पनि मिलाइदिने यही नोद लाल हो, के ठान्नुभाछ ?"
फाफुराले झल्याँस्स सम्झ्यो । हो त नि, बाल्यकालदेखि नै चन्द्रमामा नेपालको झन्डा फहराउने सपना देखेका एक राष्ट्रप्रेमीले चन्द्रमामा जग्गा किनेको समाचार प्रकाशित भएका थिए । नोद लाल भन्दै थियो, “तपैँ दोस्रो नेपाली हुनुहुनेछ । तपैँका पनि अन्तर्वार्ता लिन पत्रकारहरू लाम लाग्नेछन् । तपाईं रातारात यो देशको चर्चित व्यक्तित्व बन्नुहुनेछ । यस्तो मौका बारम्बार आउँदैन ।"
फाफुराले सोध्यो, “चन्द्रमामा नेपालको झण्डा फहराउने गौरव त ती महामानवले पाउने भइसके । मैले चैं के गर्नु त ?”
नोद लालले भन्यो, “एउटामात्र मुद्दा छ र देशको गौरव राख्न ? तपाई चन्द्रमामा 'बुद्ध वाज बर्न इन नेपाल' भन्ने ब्यानर लिएर जानुस् ।”  
फाफुरा गम्भीर भयो । हुन पनि हो, काठमाडौंमा त ऊ जस्ता मानिसले अब जग्गा जोड्ने सपना भन्या त मोनो रेल चल्ने भनेको जस्तै हो ।  चन्द्रमामै भए पनि घडेरी जोड्ने अवसर किन छोड्नु ? त्यसमाथि चन्द्रमामा बुद्ध वाज बर्न इन नेपाल भनेपछि त अरूले विश्वसामु चिनाउँथे, फाफुराले अन्तरिक्ष सामु नेपाल चिनाउन पाउने भयो । यो साँढे स्वाभिमानले उसको भंगेरे छाती फुलेर ढुक्कुरको जस्तो भयो । 
देशप्रेमले ओतप्रोत हुँदै फाफुराले खडेखडे नोद लाललाई दश एक्री जग्गाको लागि बैना भनेर पाँच वटा धुर्बे निकालेर टेबलमा पछारिदियो । नोद लालले पनि माधव नेपालले स्याटलाइटबाट बिजुली बेच्ने जत्तिकै विश्वासिलो र भरपर्दो वाचा गर्‍यो  । उसले न्यु योर्कको पार्टनर कम्पनीबाट मगाएर साता दिनभित्र फाफुरालाई चन्द्रमाको लालपुर्जा प्रदान गर्ने भद्र र एक बूँदे सहमति भयो । लामो संघर्षपश्चात् सुकुमबासीबाट मुक्त भएको फाफुरा अर्को दुई क्वार्टर लडाएर बेलुका साढे दस बजेतिर आफ्नो डेरातिर हल्लिंदै जाँदा बेसुरा स्वरमा दंग परेर गाउँदै थियो, 
“चन्द्रमा ए चन्द्रमा.....गोलो-गोलो चन्द्रमा
नरम रसिलो, रसवरी जस्तो…. हिस्सी परेको, चन्द्रमा......”

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...