Translate

Tuesday, June 5, 2018

ग. फाफुरो

फाइँफुट्टी १४

तपाईँहरुलाई फाइँफुट्टीराजको प्रमोशन भएको त थाहा भैसकेको छ नि हैन ? यदि कसैलाई थाह छैन भने एकपटक फेरि भन्दिन्छु है ? फाफुरा एलिट भएको छ । अब त्यो कुराको किन हल्ला गर्छस् फाफुरो भनेर सोध्नुहोला । यहाँ मानिसहरु आजकल आफ्नो छोराछोरीको विदेशी यूनिवर्सिटीबाट अफर लेटर मात्र आउँदा त हल्ला गर्न थालिसके । फाफुराले त ठूलै फड्का मारेको छ । रत्नपार्कमा टोपीले मुख छोपेर सुत्ने फाफुरा एकैपटक गार्डेन अफ ड्रिम्समा क्यापले फेस कभर गरेर स्लिप गर्ने भनेको चानचुने कुरा कहाँ हो र ? अब यी दुई कुरामा के फरक छ चाहिँ नभन्नुहोला । टोपीलाई क्याप, मुख छोप्नेलाई फेस कभर गर्ने र सुत्नेलाई स्लिप गर्ने भन्नासाथ सर्वहारा फाफुरा अब एलिट भैसक्यो । नेपालीमा बोल्दा अश्लील भयो भन्ने शव्दहरु त अँग्रेजीमा बोले कति सभ्य मानिन्छ हाम्रो समाजमा ? चचाचिवाला शव्द सुन्दा कान थुन्ने समाजले फफाफुबाट अँग्रेजीकरण गरेको त्यही अर्थ लाग्ने शव्दहरु वेद पचाए जसरी पचाउँछ ।

अनि फाफुराले किन सेखी नगर्नू ? अब त ऊ काफ्काको ग्रेगर जसरी एलिट फाफुरोमा परिणत हुँदै गएको छ । एलिट बन्ने सबैभन्दा पहिलो योग्यता भनेकै नेपाली बोल्दा त्यसमा सकेसम्म अँग्रेजीको मिसावट गर्नु हो । त्यसका लागि उच्चारण वा व्याकरण शुद्ध हुनु पनि पर्दैन । त्यसैले त हामी केही यस्ता अँग्रेजी शव्दहरु प्रयोग गर्छौं, जुन सुनेर अँग्रेजले पनि शव्दकोष पल्टाउनुपर्छ । अलि राम्रो उँचाइ भएको मानिसलाई ‘त्यो त क्या हाइटी छ’ भन्ने र अलि विशेष क्षमता हुनेलाई ‘त्यो त ट्यालेण्ट’ छ भन्ने आविष्कार पनि जम्बोजेट संगै यो देवभूमि नेपालमा ऋषिमुनिकै सन्ततिहरुले गरेका हुन् । त्यसैले गार्डन अफ ड्रिम्समा हण्ड्रेड बक्स पे गरेर क्यापले फेस कभर गरेर सुत्दा फाफुराले अँग्रेजीमा ड्रिम देख्यो । अनि त्यही ड्रिममा फुर्यो– एलिट फाइँफुट्टी । 

पहिलेपहिले डाउडरहरुले नामको अगाडि डा. लेख्थे । पहिलेपहिले त लौ डाउडर पनि ३३ किलोजस्तै हुन्थे, पाउनै गाह्रो । अहिले त आए दिन देशभरिका असंख्य मेडिकल कलेजहरुबाट थोकका भाउमा डाउडरहरु उत्पादन भैरहेका छन् । तर जे भए पनि सयकडा दशले दाहिनेको सट्टा देब्रे चिर्ने गरे पनि बाँकी नब्बे डाउडर भनेको त आपतविपतमा काम लाग्ने मानिस नै हुन् । त्यसैले परैबाट स्पष्ट चिन्न सकियोस् भनेर नामको अगाडि डा. लेखिएको हुनुपर्छ भन्ने फाफुरालाई लाग्छ । त्यसपछि प्राडा खोक्ने चलन पनि शुरु भयो । आजकल मान्छेहरु आफ्नो सुपुत्र वा सुपुत्री इन्जिनियर भए भने बिहेको कार्डमा ‘इ. फलानो’ भनेर लेख्न थालेका छन् । यो देख्दा फाफुरालाई रमाइलो लाग्छ । अचम्म पनि लाग्छ ।

गणतन्त्रमा नियम कानून भनेको सबैको लागि बराबर हुनुपर्छ । त्यसैले सीमित पेशाकर्मीहरुले मात्र आफ्नो डम्फू बजाउन पाउनुहुन्न भन्ने फाफुरालाई लागिराख । कलियुगमा तनहूँका रामचन्द्र मात्र भेटिन्छन्, अयोध्याका हैनन् । त्यसैले यातायात, शिक्षा र स्वास्थ्यको सिण्डिकेट त यो देशमा शिवजीको गाण्डिव धनु भैहाल्यो । कोइ माइका लालले तोडेर नतोडिने । तर कमसेकम यो नामको अगाडि पदवीको छोटकरी झुण्ड्याउने सिण्डिकेट भए पनि तोड्नु पर्यो भन्ने महान र क्रान्तिकारी आइडिया फाफुरालाई गार्डन अफ ड्रिम्समा फुरेको हो । ल पढेर, मेहेनत गरेर प्रा बनेका डाहरुले त प्राडा लेख्ने भए । त्यो उनको अधिकार हो । त्यसो भए शोधपत्र चोरेर पास गर्नेहरुले पनि चोडा लेख्नै पर्छ । त्यसै गरी घोकेर बनेकाहरुले घोडा लेख्नुपर्छ र किनेर पास गर्नेले किडा लेख्नु पर्छ भन्ने फाफुराको जोडदार माग हो ।

आजैदेखि हरेक पेशाका मानिसहरुले अनिवार्य रुपमा यो नियमको कडाइका साथ पालना गर्नुपर्छ । राम्रो कुराको सिको गर्दा अलिअलि आपद परेछ भने आँखा चिम्लन सक्नुपर्छ । सबैले आफ्नो नामको अगाडि उल्टो पुच्छर झुण्ड्याए कस्तो होला भन्नुस् त ? सरकारी कर्मचारीले सक, निजामति कर्मचारीले निक, ठेकेदारले ठे, जग्गा दलालले जद, शेयर दलालले शेद, काँउरेसी कार्यकर्ताले काँका, कम्निस कार्यकर्ताले कका, विवेकशील साझाको कार्यकर्ताले विसाका, लेखकले ले, प्लम्बरले प्ल, कम्पाउण्डरले क र नर्सले न अगाडि नलेखी नामै लेख्नुहुन्न भन्ने कानून बनाएरै पास गर्नुपर्छ ।

यसो भयो भने सबै मानिस र उसको बारेमा तत्काल जानकारी प्राप्त हुन्छ । कसैले कसैलाई झुक्याउन सक्दैन । मूर्ख पनि बनाउन सक्दैन । हुन त यो कुरामा धेरैको विरोध हुन्छ भन्ने पनि फाफुरालाई थाहा छ । किनभने हाम्रो अहिलेको समाजमा धेरैजसो मुकुण्डोधारीहरु छन् । उनीहरु चिनिन चाहँदैनन् । एक महान र विश्वले चनिन नसकेका कविको एउटा भनाई ठ्याक्कै हाम्रो वर्तमानमा लागू हुन्छ,
‘च्यातिएलान् भनेर आफ्ना नकाबको पत्रहरु
सँधै अरुको अनुहार कोपरिरहन्छ मानिस’
(महान कविको नाम किन नलेख्या भन्नुहोला । आफ्नो मुखले आफ्नै प्रशंसा कसरी गर्नू ।) 

जे होस् यो सिडिकेट तोड्न सबैभन्दा ठूलो विरोध तिनै मानिसहरुबाट हुन्छ भन्ने कुरा फाफुराले बुझेको छ । किनभने फाफुराले भनेको कानून बन्यो भने र त्यसलाई कडिकडाउका साथ पालना गरियो भने उनीहरुलाई अलि गाह्रो पर्छ । घुस्याहाहरुले आफ्नो नामको अघिल्तिर घु. फलानो भनेर लेख्न पर्ने भयो । त्यसै गरी भ्रष्टाचारीले भ्र. नलेखी आफ्नो नाम लेख्न पाउने छैन । मानिसका नामहरु पढ्न कति रमाइलो हुन्थ्यो होला एकपटक सोच्नुहोस् त । मूर्तिचोरले आफ्नो नाम अघि मू.चो. फलानो भन्ने भिजिटिंग कार्ड देख्नासाथ त्यसले मूर्ति चोर्दो रहेछ भन्ने थाहा भइहाल्ने । गुण्डाले आफूलाई गु. फलानो भनेर लेख्नुपर्नेछ । सिनेमामा मात्र गुण्डा दश हात परबाट चिनिने । जिन्दगीमा त हेर्दा साधुजस्ता हुनेरहेछन् गुण्डाहरु । त्यसपछि त्यो भ्रम रहने छैन । प्रहरीको पनि काम सजिलो हुन्छ, मुन्द्रा वा चुल्ठो देखेर भ्रममा पर्नै नपर्ने हुन्छ । 

त्यसै गरी ला.औ.व्या., चे.बे.बे., ब., चो., फ., डाँ., बे., र प.मा. जस्ता पदवी नाममै भएपछि सबैलाई आनन्द हुने भएकोले पारदर्शिता र सूचनाको हकको प्रावधानमा टेकेर भए पनि यो कानून पास गराउनुपर्छ । त्यसको लागि सबैभन्दा ठूलो समस्या चाहिँ संसदमा हाजिरी र उपस्थितिको मात्रै हो । मा. साँसदहरु जहिले पनि भत्ता पचाउँदै चितवनको गैंडामा रुपान्तरित हुनुहुन्छ । त्यसैले कुनै दिन सलमान खानको नयाँ सिनेमा संसद भवनमा रिलिज गनुपर्छ । अनि हाउसफुल भएको त्यही मौका छोपेर हा.टा. सांसद महोदयहरुबाट यो उपयोगी विधेयक पास गराउनुपर्छ । 

त्यसपछि ती मानिसहरुको औपचारिक कागजपत्र, नागरिकता, मतदाता परिचयपत्र, लाइसेन्स र पासपोर्टमा पनि अनिवार्य रुपमा स्पष्टसंग कर्म अनुसारको काम खुल्ने अक्षर उल्लेख गर्ने पनि बन्दोवस्त गर्नुपर्छ । त्यसो हुँदा देशभित्र उनीहरूको जति नै धाकधक्कू र सम्मान भए पनि कथंकदाचित विदेशी मुलुकहरुमा जाने बेला उनीहरूले हजारौं पटक सोच्नुपर्ने हुन्छ । पासपोर्टमा नामको अघि मा. अ. ह. र यु. अ. लेखिएका महापुरुषहरु विशेष गरेर दाताको पैसामै पनि स्वीट्जरल्याण्ड वा वेलायत जाने छैनन् । अनि सिसिटिभी क्यामरा भएको ठाउँमा चोर पनि करबलले साधु भएको जस्तै बिस्तारै बिस्तारै त्यस्ता मानिसहरु सुध्रिन थाल्नेछन् । 

यो सब कुरा सुनेपछि तपाईहरुले सोध्नुहोला, 
“अरुको त आङ्गको व्याक्टेरिया केलाउँछस् फाफुरा, तेरो आङ्गको डायनोसर कसले देखाउने ? तेरो नामको अगाडि चाहिँ के राख्नुपर्ला त ?” 

सुर्ता नगर्नुस् । फाफुरा न्यायप्रेमी मानिस हो । ऊ कहिले पनि अरुको लागि न्यायधीश र आफ्नो लागि वकील हुँदैन । त्यसैले आफ्नो काम अनुसारको अक्षर उसले सुरक्षित राखिसकेको छ । जीवनभर फाइँफुट्टी हाँक्ने बाहेक केही नगर्ने उसजस्ता महा गफाडी मानिसको लागि ग. सबैभन्दा उचित हुन्छ ग. फाईफुट्टीराज । यो विशिष्ट उपाधि हुनेछ ।

देशको प्रधानमन्त्रीजस्तो गरिमामय मानिसको नामको अगाडि लेखिने अक्षर आफ्नो नामको अघि लेख्न पाउने कुरा सम्झेर नै फाफुरा दंग परिरहेको छ । 

ग. फाफुरा ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment