Tuesday, May 29, 2018

फाफुरा र स्वप्न बगैंचा

यस देशमा कसैले केही गरेर अलिकति दाम कमायो भने कसैले देख्न सक्दैनन् । जाने पनि नजाने पनि सब त्यही काममा खनिएर लागिपर्छन् । आफू पनि डुब्छन्, अर्कालाई पनि डुबाउँछन् । हुन पनि हो, मानिसलाई संसारमा अरुले गर्ने काम जति सजिलो अरु केही पनि लाग्दैन । तर, बिचरा फाफुराले त दाम कमाउने काम पनि गरेको होइन । अलिअलि नाम कमाए ठूलै कुरो हो । त्यै पनि सकिएको कहाँ थियो र ? तर, त्यसमा पनि आरिसेहरुको वक्रदृष्टि लाग्यो । पहिलेपहिले त कुनैकुनै पार्टीका एकदुई नेताले मात्र फाफुराले जस्तो हावा खुस्क्या कुरा गर्थे । आजकल त हरेक पार्टीका हरेक भनेजसो ’हपामु(छाछेछो) नेताहरू को भन्दा को कम भनेर फाइँफुट्टी हाँक्न थालेका छन् । यसरी त फाफुराको कामै धरापमा पर्ने भयो । तर, त्यसको उजुरी गर्ने कुनै ठाउँ छैन । फाइँफुट्टीको हक र अधिकारको लागि त लडिदिने पनि कोही छैन ।
यो साता के भनेर फाइँफुट्टी हाँक्ने हो भनेर फाफुरा तनावग्रस्त थियो । उसको दिमागमा आउनसक्ने जति फाइँफुट्टी ओह ली एक्लैले ब्रुस ली बनेर फाफुराको पानीपेटमा किक् हान्दै भ्याइदिन थाल्नुभएकोले फाफुरा तनावमा थियो । उहाँको पो आमदानीका हजारौं स्रोत होलान्, फाफुराजस्तो निरीह नागरिकले त मुखमा माड लगाउने त्यही एउटा बाटो छ । त्यतिसम्म दया गरिदिए हुन्थ्यो । लगातार तीन दिनसम्म रत्नपार्कमा टोपीले मुख छोपेर सुत्दा पनि फाफुराको दिमाग राष्ट्रपतिको सवारीको बेलाको सडकजस्तो भइरह्यो । रित्तोरित्तो, खालीखाली र सुनसान । तेस्रो दिन साँझ लोप्रे कान लगाएर डेरामा फर्किंदा फाफुरी चाँडै आएर भात पकाउँदै रहिछ । उसले फाफुराको उसै त कालो र हिस्सीमरु, त्यसमाथि आइडिया नफुरेर चाउरिएको अनुहार देखेर भनी, “के भो फ्याफ्स ?“  
एउटा उर्दू गजल छ नि, सुन्नुभाको होला । मेहदी हसनले गाएको ।“रफ्ता रफ्ता वो मेरे हस्ती का सामाँ हो गये,
पहले दिल, फिर दिलरुवा और दिल के मेहमाँ हो गये“
त्यसैमा भनेजस्तो आईएनजीओमा जागीर खान थालेको बेलादेखि फाफुरीको लबज फेरिएको छ । पहिले फाफुरा, त्यसपछि फाफुबाट आजकल ऊ फ्याफ्समा परिणत भएको छ । त्यसबाहेक पनि फाफुरी आजकल हाँस्दा पनि कुरा हेरेर ’एल ओ एल,’ ’एल एम ए ओ,’ र ’आर ओ एफ एल’ भन्न थालेकी छ । फाफुरा उसको यो विकासक्रमसँग अभ्यस्त हुने प्रयास गर्दै छ । फाफुरीले फेरि सोधी, “भन न फ्याफ्स । के भो ?“
फाफुराले भन्यो, “केही भएको छैन ।“
“उसो भए किन झरीमा रुझेको बेला करेन्ट लागेर तारबाट झरेको कागजस्तो अनुहार त तिम्रो ?“
अब दाइजोमा तोलाका तोला सुन नल्याए पनि हुन त फाफुरी उसकी धर्मपत्नी नै थिई । उसलाई नभनेर कसलाई भन्नू ? फाफुराले रुन्चे स्वरमा आफू तीन दिनदेखि रत्नपार्कमा टोपीले मुख छोपेर सुत्दा पनि कुनै फाइँफुट्टी नफुरेको व्यथा पोख्यो । उसको समस्या सुनेर गम्भीर भएर फाफुरीले केही बेर सोची । अनि भनी, “तिमी ’आउटडेटेड’ भयौ फ्याफ्स । रत्नपार्कमा सुतेर फुर्ने स्तरका आइडिया त आजकल संसद् भवनमा गएर सुत्नेहरुकै मगजमा फुर्न थालिसकेको छ । आफनो स्तरोन्नति गर । अब तिमी रत्नपार्कमा सुत्ने हैन ।“
“कहाँ सुत्नु त रत्नपार्कमा नसुते ?“
फाफुरीले मुसुक्क मुस्काउँदै भनी, “गार्डेन अफ ड्रिम्समा ।“ 
फाफुराले त्यसको बारे कतै सुनेको थियो । पुनर्निर्माण गरेर घच्चीको बनाइएको छ रे त्यो ठाउँ ! तर, फाफुराजस्ता आम मानिसका लागि त्यो अझै नील आर्मस्ट्रंगको लागि चन्द्रमाको धरातल हुन पाएको थिएन । उसले सुनेको थियो, त्यहाँ त छिर्नैमात्र पनि एउटा सिंगै गैंडाको हत्या गर्नुपर्छ रे ! अब फाफुरा प¥यो वन्यजन्तु संरक्षणको समर्थक । लोप हुन लागेका प्रजातिका हात्ती र गैंडालाई सकेसम्म संरक्षण गर्नुपर्छ भन्ने मान्यता भएको । जरायो खर्च गर्दा त उसका दाँतबाट पसिना निस्कन्छन् । हुन त उसको बगली पनि नेपालका जंगलभन्दा खास फरक कहाँ थियो र ? हात्ती गैंडाहरु त दुवै ठाउँबाट तीव्र गतिमा लोप भएका छन् । त्यसैले फाफुरीको त्यो भयावह सुझाव सुनेर उड्न लागेको आफ्नो सातोलाई त उसले बल्बलल्ल च्याप्प समात्यो । तै पनि पुत्लो चाहिँ उड्न भ्याइहाल्यो । उसको
मुखबाट निस्क्यो,
“स्वप्न बगैंचा ?“
“हो फ्याफ्स, गार्डेन अफ ड्रिम्स । तिमी मेरो बारेमा पनि सोच त । मलाई कसैले ’तिम्रा श्रीमान् के गर्छन्’ भनेर सोद्धा ’मेरो पोइ टोपीले मुख छोपेर दिनभर रत्नपार्कमा सुत्छन्’ भन्नुपर्दा मलाई मरे बराबर हुन्छ । त्यसपछि कसैले त्यही प्रश्न गर्दा म छाती फुलाएर ’मेरो हब्बी त दिनभरि टोपीले मुख छोपेर गार्डन अफ ड्रिम्समा सुकला हुन्छ’ भन्न पाउँछु । त्यो दुइटामा कति फरक छ भन त ? तिमी पोइबाट हब्बीमा बढुवा हुन्छौ । सुत्नेबाट सुकला हुन थाल्छौ । मेरो पनि इज्जत बढ्छ ।“ 
फाफुरा उसको कुरा सुनेर प्रभावित भयो । फाफुरी अझै आँखा चम्काउँदै बोल्न थाली – “अनि त्यसो भएपछि तिम्रो दिमागमा अलि एलिट एलिट पाराका फाइँफुट्टी फुर्न थाल्लान् । तिम्रो पनि लेभल बढ्छ । कसो ?“
फाफुरा उससँग सहमत भयो । हो त नि, केही वर्ष अघिसम्म चप्पल पड्काउनेहरु हेर्दाहेर्दै आज महलमा पुगिसके । बौद्धिक दुगर्ति जतिसुकै भए पनि भौतिक उन्नतिमा उनीहरुले सबलाई पछारिसके । बानेश्वरमा लक्ष्मी दिदीको हुटेलमा अझै पुरानो उधारो तिर्न बाँकी भएकाहरु घरमै लक्ष्मीको वास बनाएर बस्ने भइसके । हुटेलको उधारो खाताबाट उन्नति भएर आज महालेखाको बेरुजु खातामा उनीहरुको नाम चढिसक्यो । हिजोसम्म लसुनको पोटी किन्ने औकात नभएकाहरु आज सुनका गोटी तस्करी गर्ने भइसके । फाफुराचाहिँ रत्नपार्कमै सुतेर बसिरहेको छ । 

उसले भन्यो, “तिमीले ठीक भन्यौ फाफुरी । म आजैदेखि आफ्नो स्तरोन्नति गर्न तयार भएँ । तर, त्यसमा एउटा समस्या छ ।“
फाफुरीले आँखा चम्काउँदै भनी – “तिमीले पूर्वजन्ममा ठूलै पुण्य गरेका रहेछौ । त्यसैले म जस्ती ’पाट्’ पाएका छौ । भन न मात्र, म तिम्रा कुनै पनि समस्या ’यूँ’  सुल्झाइदिन्छु – ’यूँ’ ।
उसले बूढी औंला र माझी औंला जोडेर चुट्की बजाई । फाफुराले भन्यो, “हेर, रत्नपार्कमा दस रुप्याँ तिरेर छिर्न पाइन्छ । फेरि म पुरानो र नियमित ग्राहक भएको हुनाले गाह्रो साँघुरो परेको बेला मलाई उधारोमा पनि छिर्न दिन्छन् । तिमीले भनेको स्वप्न बगैंचामा छिर्ने एक दिनको ढेवाले म मेरो अखडामा दस दिन छिर्न पाउँछु ।“
उसले कुरा पन्छाउँदै भनी, “त्यसको चिन्ता  तिमी किन गर्छौ ?  तिम्री हनी आजकल डलरखेती गर्ने ठाउँमा काम गर्छे भन्ने कुरा बिर्सियौ ? तिम्रा लागि रुपियाँ भनेका त अब मेरा लागि उपियाँजस्तै हो । एक बराबर एक सय दस हुन्छ फ्याप्स । म तिमीलाई महीना दिनको टिकटको पैसा एडभान्समा नै दिन्छु ।“ 
उसले हजार हजारका करेली नोट निकालेर फाफुरालाई दिई । एकैपटक त्यत्तिका पैसा नदेखेको धेरै भइसकेको हुनाले एक छिन त फाफुराको आँखा नै तिर्मि¥यायो । फाफुरीले आफ्नो मन फेर्नु अघि नै ’रामसरम’ले टिनका पत्ता झम्टेजसरी उसले नोटका पत्ताहरुलाई आफ्नो कब्जामा लियो । फाफुरीले केही सोचेर फेरि अर्को दुइटा पत्ता उसलाई दिँदै भनी – “अनि सुन अर्को कुरा । अब टोलको चिया पसलमा बसेर छलफल गर्न पनि छोड तिमी । आजकल ’‘बुद्धिजीवीहरु’ चिया पसलमा भेटिँदैनन् । कफी सपतिर मात्र फेला पर्छन् । गार्डन अफ ड्रिम्समा सुतेर एलिट फाइँफुट्टी फुरेपछि त्यसलाई हाँक्न तिमी पनि कफी सपतिर जानुपर्छ ।“
उसको त्यो कुरालाई पनि शिरोधार्य गरेर पाँच हात्तीको बलले रनक्क रन्किएको फाफुरा त्यसदिन स्वप्न बगैंचा तिर लाग्यो । रत्नपार्क बाटैमा पथ्र्याे । उसले पकपटक रत्नपार्कलाई पुलुक्क हे¥यो । उसलाई एकछिन त लाग्यो, मानौं रत्नपार्क उसलाई देखेर उसको स्वागतमा मुसुक्क हाँस्यो । तर, फाफुराको त ’लेभल’ बढिसकेको थियो । उसलाई एउटा अलि पुरानो घटना हेक्का भयो । अचानक पैसा कमाएका एकजना नातेदारले आफ्नो चिल्लो र नयाँ गाडीमा आइरहँदा लखरलखर हिंडिरहेको फाफुरालाई देखेर पनि नचिनेको जस्तो गरेर मन्टो फर्काएर गएका थिए । फाफुराले पनि त्यसैगरी रत्नपार्कलाई नचिन्याजस्तो गरेर मन्टो फर्कायो र रानीचौरतिर हेर्दै त्यो बाटो काट्यो । ऊ स्वप्न बगैंचानिर पुग्यो ।
स्वप्न बगैंचाको ढोकैमा पैसा लिने मानिस बस्दो रहेछ । फाफुराले सानसँग एउटा हात्ती पछा¥यो । फाफुराको लबाई देखेर होला उसले पहिले फाफुरालाई तलदेखि माथिसम्म हे¥यो, अनि नोटलाई ओल्टाइपल्टाई हेर्दै सोध्यो – “तपाईँ नेपाली सिनेमासँग कुनै पनि रुपमा आबद्ध मानिस त होइन होला नि ।“
उसको त्यो अनौठो प्रश्नको अर्थ नबुझेर फाफुरालाई एक मन त हो भनेर धाक लगाइदिऊँ कि भन्ने पनि लागेको हो । कस्सो उसले होइन भन्यो । त्यो मानिसले नोट राम्ररी हेरेर जाँचेर उसलाई एउटा पाटे बाघ र चार वटा गैंडा फिर्ता दिंदै भन्यो – “फोकटमा पुलिस बोलाउन पर्ने भो कि भनेर दिक्क लागिसकेको थियो ।“  
फाफुराले त्यो सिल्पटको कुरा बुझेन तर उसले दिएको चिर्कटो हातमा लिएर उसले छाती फुलायो र गमक्क पर्दै स्वप्न बगैंचामा पाइला टेक्यो । वरिपरिको वातावरण हेर्दा उसलाई कताकता आफू त्यहाँ नसुहाएको त होइन भन्ने लाग्यो । तर आफ्नो त्यो लघुताभाषलाई लुकाउँदै ऊ एउटा यस्तो कुना खोज्न थाल्यो जहाँ उसलाई दिनभरि टोपीले मुख छोपेर सुत्नु थियो । अनि फुराउनु थियो एलिट एलिट पाराको फाइँफुट्टी । तपाईँहरूलाई जस्तै उसलाई पनि कौतुहलता छ कस्तो होला स्वप्न बगैंचामा सुतेर फुर्ने एलिट एलिट पाराको फाईँफुट्टी !

यो कलिवुड कि त्यो बाठमाण्डौ र हाठमाण्डौ

कान्तिपुर दैनिकमा सन् २०१०मा प्रकाशित,  चलचित्र निर्माणको लागि एक नम्वर मानिएको छ, अंग्रेजी चलचित्र उद्योग हलिवुड। त्यसपछि आकारको हिस...