Translate

Wednesday, June 20, 2018

फाफुरा ताक्छ मूढो–फाफुरी ताक्छे घुँडो

फाफुरा ताक्छ मूढो–फाफुरी ताक्छे घुँडो

केही हप्तादेखि फाइँफुट्टीराज एलिट बन्ने ध्याउन्नमा छ भन्ने त तपाईँहरुलाई थाहा भइसकेको छ । सर्वहाराबाट एलिटको यात्राको बीचमा पर्ने एउटा महत्वपूर्ण बिसौनी चाहिँ कफी शप हो । त्यसैले रत्नपार्कबाट गार्डेन अफ ड्रिम्समा पुगेको फाफुराले एक दिन कफी शप पनि छिर्ने निर्णय गर्यो । त्यसै अनुरुप ऊ स्वप्न बगैंचाबाट निस्केर सिंहको चालमा बिस्तारै लस्किँदै दाहिनेतिर लाग्यो । अलि पर गएपछि भरेङ चढेर एक तलामाथि चढेपछि एउटा कफी शप छ भन्ने उसलाई थाहा थियो । ऊ धुकचुकाउँदै त्यहाँ प्रवेश ग¥यो । त्यतिबेला उसको मनोदशा ठ्याक्कै संसद भवनभित्र पस्नेबेला मा. सांसदहरुको जस्तै भैरहेको थियो । उनीहरुलाई जस्तै फाफुरालाई पनि थाहा चाहिँ थिएन, किन र केका लागि ऊ त्यहाँ पसिरहेको छ । त्यहाँ गएर के गर्ने भन्ने उसलाई पनि छेउटुप्पो केही थाहा थिएन ।
यो अवसर उसलाई पनि फाफुरीको डलरखेती गर्ने कार्यालयको जागीरका कारणमात्र प्राप्त भएको थियो ।

त्यहाँ मगमग कफीको वासना आइरहेको थियो । चारैतिर हेर्दै फाफुरा एउटा कुनातिरको टेबलमा गएर बस्यो । चटक गरेजसरी एउटी सुन्दरी हातमा मोटो गाता भएको फाइल बोकेर आई । ऊ त्यो फाइल फाफुराको अगाडि राखेर मुसुक्क हाँसी । फाफुरा पनि मुसुक्क हाँस्यो । एकछिन कुरेर उसले मधुरो स्वरमा भनी,
“युअर अर्डर सर ?”
अनि पो फाफुरा झल्याँस्स भयो । त्यो उसले फाइल भन्ठानेको कुरालाई त मेन्यू पो भन्छन् । एक दुईपटक ऊ पहिले पनि त्यसमा फसिसकेको छ । सिमसिम राजाको पालामा एकपटक उसले त्यस्तै ठूलो रेष्टूराँमा जाने अवसर पाएको थियो । त्यहाँ इटालियन खानाहरु पाइँदो रहेछ । इटालियन खाना खानु र पचाउनुभन्दा तिनको नाम पढ्नु र उच्चारण गर्नु बढी कठीन र समय लाग्ने हुँदो रहेछ । त्यसैले अर्थमन्त्रीले भित्र के छ भन्ने थाहा नपाए पनि बजेट भाषणको पूर्णपाठ पढेजसरी केही नबुझेपछि फाफुरा अलमल्ल परेको थियो । हातको पछाडि प्याट्ट हानेर छाला तानेर जोर कि बिजोर गरेर उसले एउटा आइटममा औंला राखेर त्यही मगाएको थियो । तलपट्टि लेखिएको त्यो आइटम त रेष्टूराँको मालिक्नीको नाम पो परेछ । त्यसै गरी अर्कोपटक कुनै जापानी रेष्टूराँमा उसले मगाएको आइटमको अर्थ ‘१०% सेवा शुल्क र १३% भ्याट’ परेको थियो । त्यसैले उसले त्यसलाई पल्टाउने धृष्टता गरेन र गर्धन अह्ररो पारेर भन्यो,
“एउटा कफी”
सुन्दरीले सोधी,
“ह्विच कफी सर ?”
अब परेन आपद ? कुन कफी भन्नू ? फाफुराले थाहा पाएको भन्या त मिल्क कफी र ब्ल्याक कफी हो । उसले भन्यो,
“ब्ल्याक कफी ।”
सुन्दरीले आफै फाइल पल्टाएर फाफुरालाई देखाउँदै भनी,
“सर ब्ल्याकमा पनि हामीसंग यी भेराइटीहरु छन् । सरलाई कुन ?”
बल्लबल्ल आएको ग्राहकलाई किन यसरी चोरलाई केरेको जसरी केरेर हैरान पारेको होला भनेर छटपटाउँदै फाफुराले त्यसमा हेर्यो । माथिपट्टि अमेरिकानो लेखेको देखियो । आम नेपाली सरह फाफुरालाई पनि अमेरिका र अमेरिकन भनेपछि जे पनि गज्जव हुन्छ भन्ने विश्वास छ । त्यसैले उसले अमेरिकानोको माग गर्यो तर तै पनि कहाँ उसले छुट्कारा पाउन सक्नु ? सुन्दरीले फेरि ब्रम्हास्त्र प्रहार गरी,
“सिंगल शट कि डबल शट सर ?”
यो टर्चर अब असह्य भैसकेको थियो । हुनेभए फाफुरा त्यहाँबाट कुलेलम् ठोक्थ्यो । तर उसलाई एलिट बन्नु थियो । त्यति सजिलो कहाँ हुन्छ र ? पैसा तिरिसकेछि केका सिंगल नि, डबलै बजाउने हो । लामो सास फेरेर उसले भन्यो,
“डबल शट ।”
त्यससंगै उसले एउटा अर्को मन बनाइसकेको थियो । यसमा पनि प्रतिप्रश्न आयो भने चाहिँ टेबुलमा भएको नून खसाल्ने भाँडो टिपेर उसको नाकमा हिर्काउने अनि भत्ता पचाउन हाजिर गरेपछि संसद भवनबाट मा. सांसदज्यूहरु जसरी त्यहाँबाट टाप ठोक्ने । तर सुन्दरीको ग्रहदशा बलियो रहेछ । ऊ मुसुक्क हाँसेर गई, फाफुरा पनि ठूलै संकटबाट पार पाए जसरी सोफामा लमतन्न पर्यो । उसले चारैतिर आँखा घुमायो । पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य र इशान आठै दिशामा मानिसहरु थिए । तिनमध्ये हरेक दिशामा एक न एकजना मानिस काखेसुुसाँख्यमा घोप्टो परेर केही गरिरहेका देखिन्थे । आकाश र पाताल त्यहाँबाट देखिन्नथ्यो नत्र दशै दिशामा भन्दिन्थ्यो होला फाफुराले । ती सबैजसो नेपाली नै थिए । कताकता परिचित पनि लाग्थे एकदुई जना त । त्यही बेलामा सुन्दरी उसको कफी लिएर आइपुगी । फाफुराले उसलाई सोध्यो,
“काखे सुुसांख्यमा काम गरिरहेका यी मानिसहरु को हुन् ?”
उसले जिल्ल पर्दै भनी,
“काखे के भन्नुभो ?”
“सुसां.........मेरो मतलब ल्यापटप । ल्यापटपमा व्यस्त यी मानिसहरुको बारे तपाईँलाई केही थाहा छ ?”
सुन्दरीले जिल्ल पर्दै भनी,
“उहाँहरु सबै यस देशका चर्चित र गण्यमान्य लेखकहरु हुनुहुन्छ । तपाईँलाई थाहा छैन ?”
अलि ध्यान दिएर हेरेपछि पो फाफुराले सबै नभए पनि दुई तीन जनालाई त चिनिहाल्यो । यत्तिका लेखक भेला भएको भनेपछि पक्कै त्यहाँ कुनै सम्मेलन हुन लागेको हुनुपर्छ । उसको भाव बुझेजसरी सुन्दरीले भनी,
“उहाँहरु किताब लेख्न यहाँ आउनुहुन्छ ।”
त्यही बेला एकजना अर्का मानिस भित्र छिरे र एउटा कुनामा बसे ।
“ऊः अर्का एक उदीयमान लेखक आउनुभो ।” सुन्दरी उदीयमान लेखकको अर्डर लिन गई । फाफुराले हेर्दाहेर्दै उदीयमान लेखक महोदयले पनि काखेसुुसांख्य निकाल्न भ्याइसकेका थिए । अर्डर दिनासाथ उनी पनि त्यसैमा घोप्टो परिहाले ।
केही दिन अघि भृकुटी मण्डपमा भएको पुस्तक मेलामा जल्दाबल्दा फाफुराले केही लेखकहरुको गहन वैचारिक मन्थन सुन्न पाएको थियो । एकजना चर्चित लेखकले किताब लेख्न कफी शपमा बस्दा हजार शव्द लेख्न हजारै रुप्याँ खर्च हुने कुरा बताएका थिए । त्यो सुन्दा फाफुरालाई लागेको थियो, किताब लेखेर त आजकल टन्नै गाँठ पो कमाइँदो रहेछ कि क्या हो । अनि नभन्दै त्यहाँ लेखकहरुको मारामार भीड देख्दा फाफुराको मगजमा पनि एउटा गज्जबको आइडिया बिजुली चम्केजसरी चम्क्यो । आफ्नो आइडिया सुनाएर फाफुरीलाई चमत्कृत पार्न ऊ हतारिएको थियो ।
साँझ घर आउनासाथ फाफुराको अनुहार देखेरै फाफुरीले सोधी,
“के भयो फ्याफ्स ? मुसा खान तयार भएको बिरालोको जस्तो अनुहार लगाएर बसेका छौ नि ?”
फाफुराले छाति ताक्क फुलाउँदै भन्यो,
“मलाई एउटा काखे सुुसाँख्य यन्त्र किन्देऊ त खुरुक्क ।”
“काखे सुसाँख्य ? किन ? तिमीलाई के काम त्यसको ?” अनि अचानक सातो गएको भावले उसले भनी,
“कतै भिओआइपी गरेर कल बाइपास गर्ने सुर त कसेनौ ?”
फाफुराले उसलाई अँगाले मारेर मायालु पारामा सम्झायो,
“त्यस्तो ठूलाबडाले गर्ने काम म कहाँ आँट्न सक्छु र । तिमीलाई मैले केही ख्याँस्न सकिनँ भनेर गुनासो हुन्थ्यो नि हैन ? आज मेरो दिमागमा गज्जबको आइडिया आएको छ । त्यो पनि नाम र दाम दुबै कमाउने ।
फाफुरीले जिल्ल पर्दै सोधी, “त्यस्तो कहाँ सम्भव छ र ? यो देशमा त कि नाम कमाउन सकिन्छ कि दाम । दुबै त त्यस्तै हो ।”
“मैले सोचेको काममा दुबै कुरा छ फाफुरी । बस् एउटा काखे सुसाँख्य चाहियो ।”
“मेरो जस्तो तीक्ष्ण दिमागमा नआएको कुरा तिम्रो बोधो मगजमा कसरी आएछ । हुन त कहिलेकहीं अचम्म पनि हुन्छ संसारमा । पहिले आइडिया सुनौं न । साँच्चै काम लाग्ने रहेछ भने एउटा किन, दशवटा काखे सुसांख्य नै किन्दिउँला नि ।”
फाफुराले मुसुक्क हाँस्दै भन्यो, “तिम्रो पोइले अब किताब लेख्छ ।”
फाफुरीले जिल्ल पर्दै उसलाई हेरी र सोधी, “के लेख्छ रे ? फेरि एकपटक भन त ।”
“किताब । पुस्तक, फाफुरा विल बी अ राइटर नाउ ।”
फाफुरी रिसोलिंग गरेको टायर हावा फुस्केर पंक्चर भएको जस्तो भई । अमीलो मुख लगाएर फाफुरालाई हेर्दै उसले भनी,
“अनि तिमीले त पैसा आउने काम पो गर्न लागें भनेको हैन र ?”
“हो नि ।”
ओठ लेप््रयाउँदै उसले भनी,
“किताब लेखेर पनि कसैले पैसा कमाएको छ ?”
“मेरी प्यारी अल्पज्ञानी फाफुरी, तिमी कुन राजाको पालोमा बाँचिरहेकी छौ ?” घोकसेवाको गाइड लेखेर करोडौं कमाउनेहरुको बारे तिमीलाई थाहा छैन र फाफुरी ? तर म गाइड हैन, आख्यान लेख्छु । अहिले उपन्यासको बजार छ ।”
अनि उसले पटापट एकदुइजना यस्ता लेखकको नाम लियो, जसले आख्यान लेखेरै बखान गर्न नसक्ने द्रव्यार्जन गरेको कुराले बजार तातेको छ । त्यो सुनेर एकछिन त फाफुरी गम्भीर भई । तर उसले कहाँ हार्न जानेकी थिई र । एउटा फुल्न लागेको साहित्यको प्रखर प्रतिभालाई कोपिलामै निमोठ्न ऊ तयार थिई,
“हेर, तिमीले भनेको मान्ने नै हो भने पनि, अहिले त्यो क्षेत्रमा ठूलो प्रतिस्पर्धा छ । आजकल जो कसैले पनि कि त किताब लेख्न रिसर्च गरिरहेको छ, कि त लेखिरहेको छ, कि लेखिसकेको छ । हाम्रै अफीसका तीनजना कर्मचारी पार्ट टाइममा उपन्यास लेखिरहेका छन् । ‘किचकन्नीको सीधा खुट्टा’, ‘मेलम्ची एक मृगतृष्णा’, र ‘मोनो रेलको ड्राइभर’ । हामीले खाजा खान जाने रेष्टूराँको साहूजी ‘भ्यारभ्यारेदेखि तीनतारेसम्म’ भन्ने आत्मकथा लेख्दै छन् । मेरो काका पर्र्ने एकजना पनि उमेरको हदबन्दी लागेर सरकारी सेवा निवृत्त हुनासाथ छाप्ने भनेर ‘कीरा परेको भ्रष्टाचारीहरु’ भन्ने यथार्थपरक गैर आख्यान लेख्न एउटा खुट्टा उचालेर बसेका छन् । मेरी साथी पिंकी ‘फ्लर्ट एक कला’ भन्ने किताबमा काम गर्दै छे । आफैले आफैलाई चिन्न बाँकी भएका एक अर्का मानिस छन् जो गीता, रामायण र भागवतको व्याख्या गरेर पाठकहरुको गिदी फ्राइ गर्न बुरुक्बुरुक् भइरहेका छन् । दीर्घबाहूको पुरानो अप्रकाशित जासुसी उपन्यास आउँदैछ, ‘बज्रजोगिनीको खजाना’ । त्यसपछि ती घाग जेष्ठ नागरिकले थोकको भाउमा जासूसी उपन्यासको बाढी ल्याएर नेताहरुको अथक प्रयासपछि बल्लबल्ल सुधारिन लागेको यो समाजलाई नभाँड्लान् भन्ने छैन ।११ कक्षा पढिरहेको हाम्रै नातेदारको छोराले अँग्रेजीमा किताब लेखिसक्यो । अझ त्यति मात्र हो र ? उता सिनेमा चल्न छाडेपछि त्यहाँका एक दुईजना लेखकहरु पनि यतै हाम्फालेका छन् । मापसे चेक गर्ने प्रहरीको कथा ‘हाहागर’ र ‘गुलेली’ जस्ता सिङ्ग न पुच्छरका उपन्यासहरु लेखेर साहित्यको हुर्मत लिइरहेका छन् । नपत्याए उनीहरुभन्दा अघिदेखि उत्कृष्ट साहित्य रचना गरिरहेका ओझेलमा परेका चर्चित लेखकहरुलाई सोध त । त्यसैले हेर फाफु, स्वरोजगार, बेरोजगार, शिक्षित, अर्धशिक्षित, अवकाशप्राप्त, सेना, प्रहरी, अण्डरवल्र्ड, व्यापारी, उद्योगी, मानव तस्कर, बगलीमार, स्कूले विद्यार्थी देखि जेष्ठ नागरिकसम्मका मानिसहरुले गरिरहेको काममा भिडेर तिमीले के पाउँछौ ?”

फाफुरीको यो धाराप्रवाह, तार्किक र प्रेरणादायी भाषणले फाफुराको सारा उत्साह खोलाले हतियार बगाए जसरी बगाइदियो । हुन पनि हो, कथं कदाचित् अहिले मुलुकमा किताब लेखिरहेका र किताब नलेखिरहेकाहरुको ग्याँग फाइट भयो भने, किताब नलेखिरहेकाहरु धूलोपिठो हुन्छन् । फेरि फाफुराको मगजमा तीन दिनको घटनामा आधारित कथावस्तु फुरेको थियो । तर एक दिनको कथा लेख्नै एघार वर्षसम्म तयारी गरेका लेखकहरुसंग यो लिखुरानन्द फाफुराले के सक्नू ? तयारीको तेंत्तीसवर्षसम्म यो काठमाण्डौको प्रदूषणमा ऊ टिक्छ भन्ने कुराको के ग्यारेण्टी छ र ?

अब फटाफाट लेख्नसक्ने भनेको त आत्मकथा हो । तर न त फाफुराको कारण यो देशको सार्वभौमसत्ता बचेको छ, न उसको र फाफुरीको बिहेमा कुनै ठूला मानिस मरेको एकवर्ष पछि आशीर्वाद दिन आएका छन् । ऊ जस्तो रत्नपार्कमा सुत्ने आम मानिसको जीवनमा न कुनै रोमाञ्च छ, न रस । त्यो बाहेक सबै नेपालीले फररर लेख्न सक्ने भनेको कविता र गजल हो तर त्यो लेखेरमात्र के गर्नू र । भएजतिका राम्रा कविहरु त धमाधम खोलापारि हरियो घाँस छ रे भनेर उतै चर्न गइसकेको बेला फाफुरा त्यो बाँझो धरतीमा कसरी बाँचोस् ?

यी सबै कुरालाई गम्भीरतापूर्वक मनन गरेपछि फाफुराले मान्न करै लाग्यो उसको मनमा फुरेको विचारलाई  किताबको रुप दिनु भन्या र संसद भवनको पानी टंकीलाई विश्वकपमा परिणत गर्नु भन्या उत्तिकै हावादारी आइडिया हो । तसर्थ फाफुराले आफूभित्र सल्बलाइरहेको र बाहिर निस्कन छटपटाइरहेको त्यो मार्खेजलाई थाप्लामा ट्वाङ्ग पारेर खौ हानेर फेरि सुताइदियो । तर फाफुरा आफै चाहिँ त्यस रात झिमिक्क पनि निदाउन सकेन । रातभर उसले घुँडाबाट आँशु चुहाइरह्यो ।

फाफुरी भने सँधै झैं प्रेसर कुकुरको सिठ्ठीजस्तो आवाज निकालेर घुरेर निदाइरही । आफ्नो एक वक्तृत्वकलाका कारण भएको ‘कोलाटरल ड्यामेज’ले नेपाल मात्र नभएर विश्व साहित्यको क्षेत्रमा नै कत्रो अपूरणीय क्षति भयो भन्ने कुरा उसलाई के थाहा ?

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment