Tuesday, June 19, 2018

काठमाडौंमा स्वस्थ्य रहन

कालु पाँडेले भन्थे रे – यो संसारमा असम्भव भन्ने कुरै छैन । फाइँफुट्टीराजलाई अघिल्लो साता त्यसमा पूरै विश्वास भयो । पख्नुस् पख्नुस्.........मेलम्ची आयो कि भनेर धारा खोल्न दौडिनुहोला । अथवा मेट्रो, थोत्रो, मोनो, स्टेरियो, स्काइ वा त्यस्तै कुनै रेल चल्यो कि भनेर चढ्न दौडिनुहोला । नभए विद्यासरले काठमाडौंका लागि केही गरे भनेर हेर्न जानुहोला । त्यस्तो केही भएको छैन । त्यसो भए भुत्रो असम्भव कुरा सम्भव भयो त भनेर तपाईँको तालुको रौं ठाडो भएको हो भने एकछिन शान्त हुनुहोस् र फाफुराको कुरो पहिले सुन्नुहोस् ।

सधैँ साढे पाँच बजे उठ्ने फाफुरा त्यस दिन बिहान ढिलासम्म उठेन । वल्र्ड कप हेरेर राति ढिला सुतिस् होला भनेर चाहिँ नभन्नुस् नि फेरि । फाफुरालाई नेपाली दाजुभाइ भिड्ने एउटा अर्को बहाना चाहिएको छैन । त्यसो भए कुखुरोभन्दा पहिले उठेर के ख्याँस्छस् फाफुरो भनेर सोध्नुहोला । उसलाई छ बजे चिया नखाई हुन्न । त्यसैले उठ्नासाथ उसको पहिलो काम भनेकै आँखा मिच्दै घर अगाडिको किराना पसलतिर जानु हुन्छ । त्यहाँ डेरीले युरिया मलको झोलका पोकाहरु ल्याएर पछारिसकेको हुन्छ । फाफुराले त्यो ल्याएर चिया पकाउँछ अनि फाफुरीलाई उठाउँछ । पहिले पहिले चिया भन्दै सुर्काउने फाफुरी आईएनजीओमा जागीर खाएदेखि त्यसलाई बेड टी भनेर सिप गर्न थालेकी छ । 
तर त्यसदिन ऊ, चिया खान उठिन । ओलम्पिकमा चिया पकाउने प्रतिस्पर्धा हुने हो भने नेपालले अहिलेसम्म थुप्रै स्वर्ण पदक बटुलिसकेको हुन्थ्यो । फाफुराले पकाएको चियाको वासनाले अर्धजलमा सुतेको मानिससमेत नउठी सुख पाउँदैन । तर, त्यस दिन फाफुरी ‘एकछिन सुत्न देऊ’ भनेर उतापट्टि फर्केर पुनः सुकला भई । मनतातो हुन्जेल कुरेर तै पनि ऊ नउठेपछि फाफुराले अर्को कप पनि आफैँ बजाइदियो । दस बजे बल्लबल्ल उठेकी फाफुरी बेस्मारी टाउको दुख्यो, जीउ गल्यो र गाह्रो भयो भनेर फतफताउन थाली । हो, यसैलाई फाफुराले अचम्मको कुरा भनेको हो । 
जीउ गल्ने त सम्भव छ तर टाउको कसरी दुख्यो उसको ? केही नभएको रित्तो ठाउँ कसरी दुख्न सक्छ ? तर, आफूलाई लागेको यो कुरा मुखले भनेर आफ्नो टाउकामा तीन टाँका लगाउन फाफुरालाई कुनै रहर थिएन । दिउँसो एक बजेसम्म पनि फाफुरी केही नभएको खाली ठाउँ दुख्यो नै भनिरही । उसलाई खुवाएको सिटामोल पनि नेपालका ठेकेदारहरु जस्तै अटेरी परेछ । पक्कै त्यो सिटामोलको घरमा कुनै ठूलै नेता भाडामा बस्या हुनुपर्छ – पटक्कै काम गरेन । अब त डाक्टर नदेखाई भएन । फाफुराको डेराबाट अलि नजीकै एउटा नयाँ अस्पताल खुल्याथ्यो । आजकल ती सबैलाई डाइग्नोस्टिक तथा रिसर्च सेन्टर भन्ने चलन छ । खै के रिसर्च गर्ने हुन् भन्ने चाहिँ फाफुराजस्ता अल्पज्ञानीलाई थाहा हुँदैन । तीमध्ये कति त जस्तो स्थानमा, जस्तो भवनमा हुन्छन् तिनले कसरी अस्पताल तथा रिसर्च सेन्टर बन्ने स्वीकृति पाए भन्ने आफैँमा एउटा गहन रिसर्चको विषय हुनसक्छ । तर, त्यस्तो रिसर्च गरेर कसैलाई केही फाइदा नहुने भएको हुनाले होला त्यतातिर कसैले टाउको दुखाउँदैन । फाफुराको डेरा नजीकको अस्पताल चाहिँ कमसेकम त्यस्तो ठाउँमा थिएन । त्यहाँ कोको डाक्टर कुनकुन बेला हुन्छन् बुझेर नाम लेखाउन जान फाफुरा ठिक्क परेको बेला फाफुरीले भनी – “हरे, मेरो उल्लु पतिदेव । तिमी कुन संसारमा छौ ? आजकल त हरेक गतिलो अस्पतालको वेबसाइट हुन्छ । त्यहाँ गएर हेर्नासाथ सबै जानकारी पाइन्छ । अनि कतिको त यहीँबाट डाक्टरसँग समय मिलाउन सकिन्छ ।”
उसले आफ्नो हातेफोनमा त्यो अस्पतालको नाम खोजी । त्यो अस्पतालको नाम अर्कै केही भए खै आजकल फुटबलको मौसम भएकोले होला एउटा उज्जण्ड भूतपूर्व फूटबल खेलाडीको नामसँग मिल्दोजुल्दो जस्तो लाग्छ । जे होस्, फाफुरीले भनेजस्तै त्यहाँ डाक्टरहरुको नाम, उनीहरु हुने समय पनि उल्लेख भएको रहेछ । अनि कतिबजे समय लिने भन्ने विकल्प पनि त्यहीँ थियो । फाफुरीले साढे चार बजे नाम दर्ता गरी । अंगे्रजी भाषामा ‘तपाईँको डाक्टरसँगको समय पक्का भयो’ भन्ने सन्देश पनि आयो । फाफुरालाई त त्यो देख्दा पीसी सरकारले जादू गरेर हात्ती गायब गरेको जस्तै लाग्यो । वाह ! हाम्रो देश अब सिंगापुर बन्न धेरै बाँकी रहेनछ भनेर ऊ आश्वस्त पनि भयो । 
चार बजेर पन्ध्र मिनेटमा पुग्ने गरी टाउको दुखेकी फाफुरीलाई उसैको स्कुटरमा पछाडि राखेर फाफुराले त्यो अस्पतालमा लग्यो । त्यहाँ पुगेर फाफुराले आफू ती फलानो डाक्टरसाहेबलाई जँचाउन बिरामी लिएर आएको जानकारी गरायो । तर, रिसेप्सनमा भएकी महिलाले जिल्ल पर्दे भनिन्, 
“उहाँ डाक्टरसाहेब त आज एक बजे आएर बिरामी धेरै नभएको हुनाले दुई बजे गइसक्नुभयो ।” 
फाफुराले उनलाई बत्तीसै दन्त प्रदर्शन गर्दै भन्यो, 
“तपाईँ झुक्किनु भयो होला । हामीले त साढे चार बजेलाई समय लिएका छौँ ।” 
उनले जिल्ल पर्दे भनिन्, “कोसँग समय लिनुभएको थियो ?” 
फाफुराले छाती फुलाउँदै भन्यो,
“इन्टरनेटसँग ।”
“इन्टरनेट भन्ने त यहाँ कोही कर्मचारी छैन ।”
“तपार्इँले कुरो बुझ्नुभएन । हामीले तपाईँहरुको वेबसाइटमा गएर त्यहाँ भनेअनुसार फारम भरेर समय मिलाएका थियौँ । अनि डाक्टरसाहेबसँग समय पक्का भयो भनेर पनि भनेको थियो ।” 
उनले ओठ लेप्य्राउँदै भनिन्, 
“खै त्यो त अब एडमिन्स्ट्रेसनसँग कुरा गर्नुस् । हामीलाई थाहा भएन । तर, तपाईँले भनेका डाक्टरसाहब त गइसक्नु भयो ।” 
फाफुरा दम्पती जिल्लाराम खाए । नहुने कुरा किन त्यसरी वेबसाइटमा राखेर मानिसलाई उल्लु बनाएको होला भन्ने सोचेर फाफुरालाई रिस पनि उठ्यो । तर, अब डाक्टर नै नभएपछि जोसँग जे कुरा गरे पनि केही हुने थिएन । दुवै त्यहाँबाट फर्केर अर्को अस्पतालमा गए । त्यो अस्पतालमा नाम लेखाउने ठाउँमा भएको मानिसले दंग पर्दै भन्यो, 
“आज हाम्रो ओपीडीको नयाँ भवनको उद्घाटन पनि हुँदैछ । त्यसका लागि प्रमुख अतिथि माननीयज्यू आउँदै हुनुहुन्छ । पहिलो बिरामीको माननीयज्यूले नै आफ्नो वरद् बाहुलीबाट जाँच गरेर उद्घाटन सुसम्पन्न गर्नै कार्यक्रम छ ।”
फाफुरा दम्पतीको सातोपुत्लो उड्यो । तै पनि झीनो आशा लिएर उसले सोध्यो,
“माननीयज्यू डाक्टर पनि हो र ?”
“माननीय भनेपछि डाक्टरभन्दा ठूलो र जान्ने भएन स्वतः ?”
“तै पनि, डाक्टर नभई कसरी बिरामी जाँच्न मिल्छ त ?” 
“तपार्इँले नेताज्यूहरुलाई कम आँक्नुभएको ? अझ अर्को महीना हाम्रो नयाँ अपरेसन थिएटरको उद्घाटन गर्ने बेला त प्रमुख अतिथिले पहिलो पेसेन्टको शल्यक्रिया नै गर्ने योजना छ ।”
“त्यस्तो पनि हुन्छ र ?”
“किन नहुनु ? नयाँ नेपालको नयाँ चलनको बारेमा तपाईँलाई केही थाहा रहेनछ ।  आजकल प्रमुख अतिथिज्यूहरुले कुनै पनि कुराको उद्घाटन गर्ने तरिका फरक भैसक्यो बन्धु !  सिनेमाको उद्घाटन क्यामरा चलाएर, बाटोको सिलान्यास डोजर कुदाएर, बक्सिङको शुभारम्भ मुक्का ठोकेर, शौचालयको उद्घाटन मूत्रविसर्जन गरेर, बारको उद्घाटन टकिला सट हानेर गर्ने अग्रगामी छलाङ मारिसक्यो देशले । तपाईँ कुन दुनियाँमा हुनुहुन्छ महाशय ? अब हेर्नुुुस् न, चाँडै नै हवाइजहाज उडाएर, रेल कुदाएर र पानीजहाज चलाएर प्रमुख अतिथिज्यूहरुले उद्घाटन गरेको पनि हामीले हाम्रै पालामा देख्न पाउँछौँ ।” 
फाफुरा केही बोल्नै सकेन । त्यो मान्छेले भन्यो,
“ल भन्नुस्, एक नम्बरमा नाम राखिदिऊँ ? त्यो भाग्यमानी र गौरवशाली बिरामीलाई बम्पर उपहारका रुपमा औषधि किन्दा दस प्रतिशत छुट दिने पनि व्यवस्था छ । बन्ने हो भाग्यमानी ?”
फाफुराले हात जोडेर विनम्र निवेदन गर्यो,
“भैहाल्यो । जनि गरेर मेरी प्राणपियारीको नाम दुई नम्बरमा राखिदिनु होला ।”
निकैे बेर कुरेर उनीहरुको पालो आयो । डाक्टर साहबले सबै समस्या सुनेपछि टाउका देखि पैतालासम्मका हुनसक्ने जति जाँच गर्न लगाए । उनले नै सुझाएका काठमाडांैका चारै दिशाका विभिन्न ल्याबहरुमा गएर  ती सबै जाँच गराएर रिपोर्ट लिएर फाफुरा दम्पती उनलाई भेट्न गए । 
“कुनै खास समस्या त देखिंदैन । रिपोटै सबै नर्मल छ ।” अनि उनले गम्भीर भएर सोधे,
“खानपीन कस्तो छ तपाईँहरुको ?”
फाफुराले उत्तर दियो, 
“खानपीनको त कुरै नगर्नुस् डाक्टरसाहेब । त्यसमा त कुनै समस्या नै छैन । बडो स्वस्थ्य खानपान छ हाम्रो । हरेक बिहान खाली पेटमा युरिया र कास्टिक सोडामा पकाएको एक एक कप चिया खान्छौँ ।”
“कास्टिक सोडा रे ?” डाक्टर साहब जिल्ल परे । 
“हो डाक्टर साहब ! पहिलेपहिले भान्छा र ट्वाइलेटको पाइप जाम भयो भने कास्टिक सोडा हालेर खोलिन्थ्यो । त्यस्तो चमत्कारी कुरालाई डेरीहरुले जनताको खाद्य नली, पेट र आन्द्रा जाम नहोस् भनेर सेतो झोलमा हालेर दूध भनेर उपलब्ध गराइरहेका छन् ।”
“अनि अरु के खानुहुन्छ ?” उनले गम्भीर भएर सोधे । फाफुराले नालीबेली लगायो,
“सिजनअनुसार उपलव्ध भएसम्म आँप वा केराको स्वादमा हामी कार्बाइड खान्छौँ । हप्ता दुई हप्तामा माछामाछा वासना आउने फर्मालिन भन्ने रसायन पनि खान्छौँ । बाटोघाटोमा हिँड्दा दिउँसो दिनको पाँच सयदेखि सात सय ग्रामसम्म शक्तिवर्धक सडक विस्तार तथा मेलम्ची चूर्ण सेवन गर्छौं । अनि अनुलोम विलोमको माध्यमबाट प्रशस्त कार्बन मोनोक्साइड पनि खान्छौँ ।  त्यतिले नपुगेर आजकल त राजस्थानी चूर्ण पनि सय ग्राम जति बजाइन्छ ।”
डाक्टर साहब गम्भीर भए । त्यही बेला फलाफुरीले थपी,
“राजस्थानमा त बिकानेर पनि पर्छ । त्यहाँबाट उँडेर आउनै परेपछि भुजिया र दालमोठ आउनू नि हैन डाक्टरसाहब !  उताबाट आउने त हावाले पनि हामीलाई हेप्छ हेर्नुस् न ।”  
फाफुराले आफू र देशको राजखानीमा बस्ने आफूसरहका सौभाग्यशाली नागरिकको खान्कीको नालीबेली जारी राख्यो,
“अरु त सबै पचाइसकिएको कुरा हो डाक्टर साहेब । तर यो नयाँ आयातित पदार्थ चाहिँ अलि गरिष्ट हो कि भन्ने लाग्छ । कतै त्यै नपच्या त हैन भन्ने शंका छ डाक्टरसाहेब ।”
सबै कुरा आफैँलेमात्र बुझ्ने अक्षरजस्तै केही कागजमा कोर्दै डाक्टर साहेबले सोधे,
“अरु अरु?”
फाफुराले सोच्दै भन्यो,
“त्यसबाहेक धाराको पानीको साथमा दिनको केही लाख थान कोलीफर्म जीवाणु त छुट्दै छुट्दैनन् । ती जीवाणु मरुन् भनेर तरकारीको साथमा कीटनाशक औषधि पनि नियमितरुपमा सेवन गर्छौँ डाक्टर साहेब । अनि कहिलेकहीँ यसो बाहिर महिष मांस पिण्ड वा ‘चिकन लेदर फ्लेभर्ड’ मम खाँदा टेपवर्मलगायतका अन्य स्वास्थ्यवर्धक कीरा पनि ग्रहण गरिरहेका हुन्छौँ । हामीलाई गर्व छ डाक्टर साहेब, यसरी हाम्रो पेट युगले मागेको जस्तै समावेशी बन्दै गइरहेको छ । तर, अब तपाईँ आफैँ भन्नुहोस्, स्वास्थ्यको यति धेरै हेर विचार गर्दागर्दै पनि विगत केही दिनदेखि मेरी श्रीमतीलाई बिसन्चो चाहिँ किन भएको होला त ?”
डाक्टर साहब गम्भीर भए र उनले भने,
“काठमाडौंमा स्वस्थ्य रहन खासमा भन्ने हो भने पटक्कै गाह्रो छैन । मात्र तीनवटा साना कुरा नियमित रुपमा नटुटाई गरे पुग्छ ।”
फाफुराले प्रशन्न हुँदै सोध्यो,
“के तीनवटा कुरा डाक्टर साहेब ?”
डाक्टर साहबले भने,
“खाना नखानुस्, पानी नपिउनुस् र सास नफेर्नुस् । यति तीनवटा कुरा नियमितरुपले गर्न सक्नुभयो भने केही दिनमै तपाईँहरुले सबै समस्याबाट सँधैका लागि मुक्ति पाउनुहुन्छ र त्यो मेरो ग्यारेन्टी हो ।”

भिखारी भत्ता

यो देशमा रत्नपार्कमा टोपीले मुख छोपेर सुत्ने त वातावरण नै छैन ।  यत्तिका लामो समयसम्म फाइँफुट्टीराजको फाइँफुट्टी पढिसकेपछि त तपाईँहरुल...