Tuesday, July 31, 2018

म्याकाफूइँ

फाफुरा २२

माकाफुइँ भन्या त तपाईँहरुलाई थाहै छ । म्याकाफुइँ भनेको चाहिँ त्यसभन्दा उपल्लो स्तरको र केही विशिष्ट व्यक्तिहरुले लगाउने फुइँ हो । त्यो लगाउनका लागि तपाईँसँग एउटा कसैले टोकेर छोडेको जुठो स्याउ हुनुपर्छ । त्यत्ति हो ।
फाफुरी त्यस दिन किन हो कुन्नि, हाजिर जवाफ खेल्ने मुडमा थिई । उसले बिना कुनै सन्दर्भ र चेतावनी फाफुरालाई प्रश्न गरी,
“ल भन अहिले यो देशमा सबैका लागि सबैभन्दा आवश्यक कुरा के हो ?”

हुन त अचानक असान्दर्भिक कुरामा आउने झटारे प्रश्नको फ्याट्टै उत्तर दिनु अधि ओशो र सदगुरुजस्ता विद्वान्हरुले पनि केही बेर सोच्छन् । तर, फाफुरा त फाफुरा भैहाल्यो, उसले आँखा पनि झिम्म नगरी भन्यो,
“स्थायित्व, विकास, योजना, एकता र भाइचारा ।”
फाफुरी हाँसी र भनी –
“तिमी कहिले देखि राजनीतिज्ञहरुले गर्ने जस्तो स्वैरकाल्पनिक कुरा गर्न थाल्यौ ? मैले अलमल्याउने बहलाउने फुस्लाउने कुरा गरेकी होइन । भौतिक अस्तित्व भएको एउटा कुनै वस्तु भन जुन हुनासाथ नेपालीको हरेक समस्या असारको अन्त्यमा बजेट गायब भए जसरी गायब हुन्छ ।”
त्यस्तो कुरा त कुनै जादूमयी जिनिसमात्र हुन सक्छ । फाफुरा यसपटक सद्गुरु मोडमा गयो । केही बेर सोच्यो र भन्यो,
“अलादीनको चिराग । तिमीले भनेको जस्तो नेपालीको हरेक समस्याको समाधान गर्न त त्यही घोट्नुपर्छ ।”
फाफुरीले आँखा नचाउँदै भनी, 
“प्रतीकात्मक रुपमा तिमीले भनेको कुरा सही हो । तर, आजकल अलादीनको चिरागलाई अर्कै नामले चिनिन्छ । हाम्रो देश चलाउने महानुभावहरुले त्यसको महत्त्व बुझिसक्नुभएको छ र प्राप्त पनि गरिसक्नुभएको छ । अब उहाँहरुमात्र होइन हरेक नेपालीलाई पनि त्यो वस्तु पनि उपलव्ध गराउनु पर्छ । त्यसलाई भन्छन् म्याकबुक ।”
फाफुरा अब अटल बिहारी वाजपेयी मोडमा गयो । आँखा चिम्लेर सोच्न थाल्यो । फाफुरीको कुरो सही थियो । उसले सम्झियो, जुठो स्याउको चित्र अंकित म्याक भन्ने जिनिस हातमा हुनासाथ कुनै पनि मानिस स्वयं म्याकाफुईँ लगाउन लायक बन्छ । म्याक, फाफुरीले भनेझैँ हरेक समस्याको समाधान गर्ने अलादीनको चिराग हो । फाफुरीले दिएकी यो दिव्य ज्ञानको बारे घोत्लिँदै गर्दा उसले भन्न थाली,
“हेर फाफु, तिमीले जति फाइँफुट्टी हाँके पनि तिम्रो प्रगति नभएको र तिमीलाई कसैले गम्भीरतापूर्वक नलिएको कारण मैले थाहा पाइसकेँ । तिमी सिमसिमे राजाको पालामै बाँचिरहेका छौ । दिनभर रत्नपार्कमा टोपीले मुख छोपेर सुतेर दिमागमा फुरेका अन्तर्राष्ट्रिय स्तरका फाइँफुट्टीलाई कागजको खेस्रामा कलमले लेख्छौ । त्यसलाई कुनै अर्को मानिसले टाइप गर्छ । यो क्रममा तिम्रा कुराहरु पनि निकास हुनेबेला मोटो हात्तीजस्तो बजेट कार्यान्वयनमा आउनेबेलासम्म दुब्लाएर भोको मुसो भएको जसरी चुहावट हुँदाहुँदा अर्थ न वर्थको हुन भ्याइसक्छ । त्यसैले अबदेखि तिमी पनि पेपरलेस हुन सिक्नुपर्छ । तिमीले पनि अब म्याकमा लेख्न थाल्नुपर्छ ।”
उसको कुरालाई गम्भीरतापूर्वक मनन गर्दै फाफुराले भन्यो,
“तिम्रो कुरो सही हो फाफुरी । तर, मैले त आजसम्म कम्प्युटर चलाएको भनेकै एक दुइपटक प्याकम्यान भन्ने खेल खेल्दा हो । त्यो पनि साइबरमा गएर अरुले खोलिदिएको । त्यसमाथि म्याक भनेको त अरुभन्दा चलाउन पनि गाह्रो हुन्छ भन्ने सुनेको छु ।”
फाफुरीले कुरोलाई पन्छाउँदै भनी,
“त्यो त झनै राम्रो कुरा भयो नि । आजकल म्याक भनेकै चलाउन नजान्नेहरुको खेलौना भएको छ । तिमीजस्तै ग्राहकहरुको जगजगी छ । चलाउनै नजान्ने र पहिले कहिले म्याक नदेखेकाहरुको पहिलो रोजाइ बनेको छ म्याक । त्यसमाथि सामाजिक संजालमा बसेर ट्रम्पलाई अमेरिका चलाउन सिकाउन सक्ने महान प्रजातिका हामी नेपालीलाई जाबो एउटा म्याक चलाउन सिक्नु कुन आइतवार हो र ? एक महीनाभित्र त हामी टिम कुकलाई म्याकमा के के कमजोरीहरु छन् र तिनलाई कसरी सुधार्ने भन्ने पनि सिकाउन थाल्छौँ ।”
फाफुरा उसको यो कुरामा सहमत भयो । ऊ धाराप्रवाह बोल्न थाली,
“म्याक बोकेर हिँड्नुमात्र पर्छ, मानिसले तिमीलाई गम्भीरतापूर्पक लिन थाल्नेछन् । तिमी ठूलाबडामा गनिन्छौ फ्याफ्स । हाम्रो अफिसको लेखापाल मोहन त अब प्रमोसन भएर आफूलाई म्याक मोहन भन्न थालेको छ । तिमी पनि म्याक फाफुरा हुन्छौ । अनि त तिम्रो पनि म्याकाफुइँ नै अर्के हुन्छ फाफु ।”
नभन्दै त्यसको भोलिपल्ट उसले फाफुराको लागि एउटा म्याकबुक बोकेर आई । उसको अफिसले आफ्ना कर्मचारीहरुलाई ‘हाइ–टेक’ बनाउनका लागि किस्ताबन्दीमा म्याक किन्न निर्ब्याजी ऋण उपलब्ध गराएको रहेछ । 
यसरी फाफुराको पनि इज्जत बढेर ऊ म्याक फाफुरा भयो । म्याकबुक भन्ने त्यो जिनिस खोलेर हेर्नासाथ पहिले त फाफुरा अचम्ममा पर्‍यो । यत्रो हल्लाखल्ला गरेको के के न होला भन्ने कुरा बनाउने मानिसलाई आफ्नो ‘जब’ नै राम्ररी आउन्न रहेछ । पहिलेपहिलेकाहरुले टाइप राइटर बनाउँदा त्यसमा साधारण बाह्रखरी पनि नजानेर  ए बी सी डी समेत उल्टापाल्टा हालेका थिए । प्रविधिमा यति धेरै विकास भइसकेपछि पनि यो म्याकबुक भन्ने कुरामा पनि त्यो गलती सुधारिएको थिएन । अँग्रेजीका अक्षरहरु समेत क्रमबद्धरुपमा राख्न नसक्नेहरुले किन यत्रो ठूलो फूर्ति गरेका होलान् भनेर फाफुरा जिल्ल पर्‍यो । तर, जेसुकै भए पनि म्याकाफुइँ देखाउन पाउने भएपछि यसका सय अवगुण पनि आँखा चिम्लिन सकिन्छ भन्दै फाफुरा म्याकबुक काखी च्यापेर रत्नपार्क तिर लाग्यो । नवविवाहित सुन्दरीलाई जसरी म्याकबुकलाई अँगालोमा च्यापेर फाफुरा टोपीले मुख च्यापेर सुत्यो । भनिरहनु नपर्ला जसरी सांसदहरु संसद् भवनमा गएर सुकला भएपछि उहाँहरुलाई देश विकास गर्ने उत्पात उत्पात आइडियाहरु फुर्छ, रत्नपार्कमा यसरी सुतेपछि फाफुराको दिमागमा पनि गजबका फाइँफुट्टी फुर्छ । झन् यसपटक त म्याक च्यापेर सुतेको, उसलाई म्याकफाइँफुट्टी फुर्ने नै भयो ।
फाफुरीले भनेजस्तै कुनै एउटा विशेष योजना बनाएर हरेक नेपालीलाई एउटा म्याकबुक उपलब्ध गराउनुपर्छ । त्यसो भयो भने हाम्रा सबै समस्या समाधान हुनेछन् । म्याकबुक बोकेर हिँडेको मानिसलाई धुलो र धुँवाले छुन सक्तैन । त्यसो भएपछि घाँटी, छाती र श्वासप्रश्वासका रोगबाट पनि म्याकनेपालीहरु मुक्त हुनेछन् । म्याकबुक बोकेको पैदल यात्रु वा सवारी चालक सडकमा भएका खाल्डाखुल्डीमा पनि खस्दैन । कर्मचारीहरु म्याकबुक भएपछि काम चोर्न छाड्नेछन् । उनीहरुले बिनारसीदको सेवा शुल्क पनि लिन छाड्नेछन् । ठेकेदारहरुलाई पनि म्याकबुक दियो भने उनीहरुले काममा ढिलासुस्ती गर्दैनन् । योजना र नक्सा म्याकबुकमा बनायो भने कच्चा काम पनि हुनेछैन । म्याक भएको घरमा चोर पस्न सक्दैन । म्याक बोकेर हिँडेको मानिसलाई कुकुरले टोक्दैन, आँधीले रोक्दैन, पहाडले छेक्दैन । म्याकमा लेखिएका पुस्तकहरुले बुकर्स पुरस्कार पाउने छन् । म्याकमा लेखिएका चलचित्रहरुले अस्कर उडाउँनेछन् । त्यसैले हरेक नेपालीसँग एक एक म्याक हुनै पर्छ । त्यसो भएपछि थाप्लोमा तीस हजार पाँच सय सड्चालीस रुप्याँको ऋणसँगै हरेक नेपालीको एउटा अर्को कुरा साझा हुनेछ । नेपालीलाई एकताको सूत्रमा बाँध्न म्याकबुक आजको अपरिहार्य आवश्यकता हो । 
तर, एउटै समस्या चाहिँ सरकारी कार्यालय, कर्मचारी, नेता र मन्त्रीहरुको हो । उनीहरुका लागि म्याक भनेको बाँदरको पुच्छर लौरो न हतियार हुनेछ । किनभने म्याकबुक भन्ने कुरा हत्पत बिग्रिँदैन रे । परेन फसाद ? बिग्रँदै नबिग्रने कुराको सरकारी निकायमा त कुनै कामै छैन नि ! उनीहरु त हरेक कुराको मर्मतमा छ्याकन खान ओस्ताद जात हुन् । आफू बस्ने कुर्सीको पाङ्ग्रादेखि हवाइजहाजको पखेटासम्म पटक पटक मर्मत गरेर छ्याकन हसुर्ने उनीहरुलाई लत लागिसकेको छ । सडक बन्न नपाई बिग्रन्छ, मर्मत र सम्भार सुरु भै हाल्छ । ट्राफिक लाइट जडान भएको सातादिन पनि टिक्तैन । सरकारी भवन बन्दाबन्दै लच्किन र भत्किन थाल्छन् । सरकारी कार्यालयका सानातिना उपकरण, सरकारी पदाधिकारीले चढ्ने गाडीलगायत हरेक कुरामा पटकपटक मर्मत भन्दै बिचराहरुले कति दुःख गरेर आफ्नो सेकुवा, चिकन चिल्ली, बियर र ह्विस्कीजस्ता बाँच्नका लागि नभई नहुने आधारभूत आवश्यकताको लागि जोहो गर्नुपर्छ । अनि फेरि यसमा त भाइरस पनि छिर्न सक्दैन रे । सरकारी कर्मचारी, नेता वा मन्त्रीलाई त म्याक अभिशापै हुने रहेछ । किनभने आफ्नै प्रजाति पनि छिर्न नसक्ने म्याकबुक त उनीहरुलाई कसैले सित्तैँमा दिए लिनेछैनन् ।  
त्यसैले बरु एउटा म्याकबुक चाहिँ जसरी भए पनि यो देशको लागि उपलब्ध गराउनुपर्छ भन्ने कुरा म्याकफाफुरालाई लाग्यो । किनभने यो देशमा अहिले असाध्यै धेरै भाइरस लागेको छ । यो देशलाई अहिले भाइरसले धर्धरी रुवाएको छ । भाइरसमात्रै होइन यो देशलाई दाइरस, काकारस, भतिजारस, कार्यकर्तारस र चाप्लुसरस पनि स्याउँस्याउँ लागेको छ । यी स्याउँस्याउँलाई रोक्न जुठो स्याउवाला म्याकले सक्ला कि ?

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...