Translate

Sunday, August 5, 2018

भरिया काइँला (हराएको मानिस भाग-३)

(‘हराएको मानिस’ शृंखलाको अघिल्लो दुई भागमा यहाँहरूले पढ्नुभयो, काठमाडाै‌बाट प्रकाशन हुने चारवटा विभिन्न प्रमुख पत्रिकाहरूमा एकै दिन चारवटा नाम र थर भएको एक युवक हराएको सूचना छापिन्छ । ती चारैवटा सूचनामा तस्बिरचाहिँ एउटै मानिसको हुन्छ । त्यसैकारण दिनभर त्यो चर्चा परिचर्चाको विषय बन्छ । सबैको जिज्ञासा एउटै हुन्छ । त्यो मानिस को हो ? एउटै मानिसको चारथरि फरक–फरक परिचय हुनु कसरी सम्भव छ ? त्यस्तो अनौठो मानिस एकैपटक किन हरायो ?
त्यसको पछाडि के रहस्य हुन सक्छ ? पक्कै पनि चारमध्ये तीन परिचय त गलत हुन् । उसको खास परिचय के हो त ? त्यो कुरा उसैले मात्र बताउन सक्छ । तर, ऊ त हराइरहेको छ । कहाँ होला त त्यो हराएको मानिस ? के ऊ ज्युँदै त छ ? भए के ऊ फेला पर्ला ?)

काठमाडाै‌बाट निकै टाढा कुनै एक दुर्गम पहाड ।
कोलाहलभन्दा निकै पर, सुन्दर प्रकृतिको काख । हेर्दा यस्तो लाग्छ, मानौँ स्वर्ग भनेकै यही हो । आकाश सफा छ, नीलो छ । विशाल आकाशमा विचरण गरिरहेका बादलका टुक्राहरू सिमलको भुवाजस्ता सेता, बेदाग र पवित्र देखिन्छन् । हरिया रुखहरू, अनेकौँ प्रकारका जंगली फूलहरू । आँखाले भ्याउन्जेल देखिने एउटा पहाडलाई ढाकेजस्ता अरू पहाडका पत्रहरू । चराहरूको चिरबिर । यस्तो लाग्छ मानौँ यहाँ कुनै समस्या नै छैन । तर, समस्या कहाँ हुँदैन र ?
एउटा अग्लोे पहाड र झ्याम्म परेका रुखहरूको बीचमा धागोजस्तो नागबेली बाटो देख्न सकिन्छ । त्यो पहाडको माथि पारिपट्टि सम्भवतः कुनै गाउँ हुनुपर्छ । बाटो कहिले घुमेर रुखहरूको बीचमा हराउँछ । अनि अचानक अलि तल फेरि प्रकट भएको देखिन्छ । विकट पहाडमा पनि मानिसले आफ्ना पाइलाहरू चाल्न कहाँ छोड्न सक्छ र ? त्यही बाटामा एउटा मानव आकृति देखिन्छ ।
एकजना भरिया, ढाडमा ठूलो डोकोमा अटाइनअटाई सामानहरू बोकेर ओरालो झर्दै छ । उसले एउटा मैलो कमिज, त्यसको माथि इस्टकोट र पाइन्ट काटेर बनाइएको कट्टु लगाएको छ । उसको शरीर, हात र खुट्टा बलिष्ठ छन् । उकाली ओराली गर्दागर्दा उसका पिँडुलाहरूमा माछा सलबलाएजस्ता मांसपेसीहरू देखिन्छन् । उसका पैताला पटपट फुटेका छन् । ती पैताला उसले हरेक दिन छिचोल्ने बाटोका पत्थरसँग प्रतिस्पर्धा गरेर तिनैजस्ता कठोर भइसकेका छन् । उसले एकजोर चप्पल लगाएको त छ । तर, त्यो चप्पलको अवस्था पनि उसकैजस्तो छ । तर, पनि उसको अनुहारमा चिन्ताका कुनै रेखा छैनन् । ऊ प्रशन्न मुद्रामा आफँैमा मग्न छ । ऊ ठूलो स्वरमा गीत गाउँदै ओरालो झरिरहेको छ,
“कान्छाले कान्छीलाई लग्यो, वनको बाटो लाल्टिनै बालेर…”
उसको स्वरमा प्राकृतिक माधुर्य छ ।
गीत गाउँदै भरियाले ठाडो, लामो र घुमाउरो ओरालो झरेर सकायो । ओरालो सकिएपछि अब उसको सामु निकै परसम्म सीधा बाटो थियो । ऊ रोकियो । इस्टकोटको खल्ती छामछुम पारेर उसले एउटा बांगोटिंगो भएको चुरोट निकाल्यो र हे-यो । त्यसको सुर्ती पनि अलिअलि झरिसकेको थियो । अर्को खल्तीबाट सलाईको बट्टा निकालेर भरियाले चुरोट सल्कायो र आनन्द मानेर धुँवा उडाउन थाल्यो ।
आधा जति चुरोट तानेर उसले त्यसलाई निभायो र ठुटोलाई फेरि खल्ती मै हाल्यो । ऊ अब समथर बाटामा अघि बढ्न थाल्यो । उसको चाल अझै तेज भयो । उसलाई थाहा थियो, एक घन्टा तेर्पाइँ–तेर्पाइँ हिँडेपछि दम्स्याइलो बाटो सकिन्छ । त्यहाँ फेरि अहिले झरेकोभन्दा निकै ठाडो र अजंगको पहाड उसलाई कुरिरहेको हुनेछ । उसलाई आफूले बोकेका सामानहरू त्यही पहाड चढेर धुवाँकोटसम्म पु-याउनुथियो ।
धुवाँकोट पुग्दा साँझ झमक्कै परिसक्छ भन्ने पनि उसलाई राम्ररी थाहा छ । ऊ हिँडिरहेको गोरेटाको एकापट्टि एउटा सानो खोलो बगिरहेको थियो । अहिले हेर्दा सानो, घुँडासम्म पनि मुस्किलले पानी आइपुग्ने त्यो शान्त खोला बर्सातको वेलामा दुर्वाशा ऋषिको रूप धारण गर्छ । त्यतिवेला उसको आकार पनि भीमसेनको जत्रो हुन्छ । यो गोरेटो मात्र नभै पारिपट्टिका बुट्यानहरू सबै खोलाले आफ्नो गहिराइमा लुकाइदिन्छ । त्यस्तो वेला धुवाँकोट जानुप-यो भने माथितिरैबाट माने देउराली हुँदै चार घन्टा लामो बाटो हिँड्नुपर्छ ।
भरिया आफ्नै सुरमा रमाउँदै अघि बढिरहेको थियो । वरिपरिका सबै उसले सधैँ देखिरहेका, अभ्यस्त भैसकेका र नजानिँदा गरी उसको चेतले स्वीकार गरिसकेका कुराहरू थिए । अचानक ऊ टक्क अडियो । सबै नियमितताका बीचमा उसलाई केही अनियमित लाग्यो । ऊ सोच्न थाल्यो, किन केही अप्ठ्यारो लागिरहेको छ उसलाई ? सबै थोक त उस्तै छ, सधैँजस्तै । ऊ चारैतिर हेर्न थाल्यो । उसले सधैँ देखिरहेको पहाड, उसले सधैँ हेरिरहेको आकाश, उसले सधैँ सुनिरहेको खोलाको कलकल आवाज अनि उसले सधैँ हिँडिरहेको गोरेटो ।
सबै उही छ, उस्तै छ । तर, पनि भर्खरै केही अनौठो र अमिल्दो कुराको आभाष उसको अवचेतन मस्तिष्कले गरेको थियो । भर्खर अघि बढेको बाटाको पछाडितिर उसका आँखा घुम्न थाले । पचास अथवा सय पाइला पर विस्तारै बाटाबाट दायाँतिर उसको आँखा स-यो । अनि उसले देख्यो, त्यहाँ एउटा ठूलो ढुंगाले छेलिएको कुनै वस्तु छ, जुन त्यहाँको नियमितताभन्दा बाहिरको हो । ऊ चिम्सा आँखा पारेर फेरि आफू आएकै बाटो फर्कन थाल्यो । अलि नजिक पुग्दा उसलाई लाग्यो, त्यो एउटा मानव आकृति हुन सक्छ । उसको मुखबाट स्वयं निस्क्यो,
“आच्या…मान्छे पो हो कि क्या हो ?”
ऊ अझै हतारिँदै अघि बढ्यो । नभन्दै त्यो कुनै मानिस नै थियो । आधा खोलामा र आधा बगरमा घोप्टो परेर लडिरहेको मानिसको आकृति देखेर उसको आङ ढक्क फुल्यो । के त्यो मानिस ज्युँदो थियो ? उसले खुट्याउन सकेन । ऊ अझै नजिक गयो । अब ऊ त्यो मानिसको टाउकोनिरै पुगेर उभियो । उसको मुटुको वेग अचानक तीव्र हुन थाल्यो । उसले ध्यान दिएर हेर्न थाल्यो । त्यो मानिस यतातिरको होइन भन्ने उसको लुगाले नै बताउँथ्यो ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment