Translate

Wednesday, July 25, 2018

चतुर्मुखी ब्रम्हा (हराएको मानिस २)


बिहान राम्ररी हुन पनि पाएको थिएन । एउटा केटा आफ्नो साइकलमा थरिथरि पत्रिका बोकेर आफ्नो नियमित काममा कुदिरहेको थियो । ऊ साइकल चलाउँदाचलाउँदै बडो दक्षताका साथ चाङबाट चाहिने पत्रिका छानेर निकाल्दै, मुठो बनाउँदै घरघरमा हु¥याइरहेको थियो । ऊ त्यसै गरी एउटा पत्रिका कुनै सानो र साधारण टिनले बारेको चिया पसल अघि फ्यालेर अघि बढ्यो ।
थापासरको चिया पसल ।

चिया पसलको साहुलाई टोलभरिका मान्छेले थापासर भन्छन् । सर भन्ने उपाधि पाउँदा ऊ पनि दंग पर्छ । भनिन्छ, उसको हातमा अनौठो जादू छ । उसले जस्तो मीठो चिया अरु कसैले बनाउनै सक्दैन । त्यसैले उसको चिया पसलमा बिहान देखि बेलुकासम्म मानिसहरु नभएको दिनै हुँदैन । उसले दिनभरिमा कति कप चिया बनाउँछ भन्ने गनेरै साध्य हुँदैन । थापासर सँधै मुस्काइरहन्छ, बोल्दैन । उसको भागको बोल्ने काम चाहिँ उसकी श्रीमतीले गर्छे । उसलाई चाहिँ कसैले म्याडम भन्दैनन् । ठाडै थपिनी भन्छन् । चियापसलमा आउने ग्राहकहरु हरेक विषयका ज्ञाता हुन्छन् । संसारभरका कुराहरुमा त्यहाँ छलफल हुन्छ । थपिनी ती सबैलाई निरुत्तर बनाउन सक्छे । उसको ज्ञानको भण्डार त्यही चिया पसल हो । ऊ बिहान पसल खोलेका बेलादेखि बेलुका बन्द नहुन्जेलसम्म निरन्तर बोलिरहन सक्छे । उसको गलामा भगवानले लाउडस्पीकर हालेर पठाएको छ । तर धेरै कम मानिसले मात्र उसको अनुहार देख्न पाउँछन् । ऊ अधिकांश समय चिया पसलको टिनले बारेको भित्री कोठामै हुन्छे । त्यहीँ बसेर ऊ लोग्नेलाई सघाउँछे । आलू र अण्डा उसिन्ने, छोडाउने, सेल पकाउने, चना तार्ने लगायतका सबै काम उसैले गर्छे । तर त्यहाँ आउनेहरुका लागि सबैभन्दा ठूलो आकर्षण थापासरको चिया नै हुने गर्छ ।


जस्तापाताले छाएको त्यो सानो चिया पसल खुल्नु अघि नै बिहानीको हिंडाइमा निस्केका बूढा मानिसहरु, कलेज भ्याउन हतारिएर निस्केका युवा लगायत अरु केही मानिस उभिन भ्याइसकेका हुन्छन् । एकपटक नयाँ आइफोन निस्कने बेला अमेरिकको कुनै पसल अघि लागेका मानिसहरुको लामको फोटो हेर्दै थपिनीले भनेकी थिई,
“ए बूढा हेर त, अम्रिकाँ नि हाम्रो जस्तै पसल हुँदो रछ ।”
थापासर मुसुक्क हाँसेको थियो ।

त्यसदिन पनि थापासरले पसल खोल्दा दुई जना सेवानिवृत्त सरकारी हाकिमहरु आइपुगिसकेको थिए । उनीहरुमध्ये एकजना सहसचिव थियो । अर्का शाखा अधिकृतबाट माथि नगई रिटायर्ड भएको थियो । ऊ आफूलाई ‘रिटायर्ड हर्ट’ भन्थ्यो । आफूभन्दा नालायकहरुले प्रगति गरेकोमा चित्त दुखेर ऊ ‘हर्ट’ भएको थियो ।
“आज पसल खोल्न किन ढीला गरेको थापासर ?”

सहसचिवले निहुरिएर भुईँमा फ्याँकिएको पत्रिकाको मूठो टिपिसकेको थियो । उनीहरु आफ्नो नियमित कुनाको टेबलमा गएर बसे । त्यसको दुबैतिर तीनजना अट्ने लामो बेञ्ची थियो । थापासरलाई थाहा थियो, चाँडै त्यहाँ कोरम पुग्नेछ । टोलका सहकारीका अध्यक्ष, उपाध्यक्ष र एकजना डाक्टरसाहब केही बेरमै त्यहाँ आइपुग्छन् । छैठौं सिटमा चाहिँ उनीहरुको उमेरसमूहभन्दा निकै कान्छो एकजना युवा हुन्छ । यी छ जना थापासरका नियमित मध्येका पनि सबैभन्दा नियमित ग्राहकहरु हुन् । एघार बजेसम्म उनीहरुको अखडा त्यहीं हुन्छ । थापासर फटाफट दूधका पोकाहरु च्यात्दै उमाल्ने भाँडोमा खन्याउन थाल्यो । पालैपालो सहकारीका अध्यक्ष, उपाध्यक्ष, डाक्टरसाप र कलिलो टिठो पनि आइपुगे । उपाध्यक्षले चुरोट सल्कायो सहसचिवले बोकेर ल्याएर टेबलमा राखेको पत्रिका सम्याउन थाल्यो ।

टोलका अरु केही मानिसहरु पनि आइसकेका थिए । त्यही बेला एउटा अर्को पत्रिकावालाले पनि आफ्नो पत्रिका हु¥याएर गयो । थापासरको चिया पसलमा चारवटै प्रमुख दैनिक पत्रिका आउँछन् । त्यहाँका ग्राहकहरुले आआफ्नो रुचि अनुसारका पृष्ठहरु बाँडेर किस्ताबन्दीमा पढ्छन् । थापा सर आफै चाहिँ कहिले पढ्दैन । उल्लेख्य कुराहरुका बारे ग्राहकहरुले नै यति धेरै टीकाटिप्पणी गरिसकेका हुन्छन्, उसलाई सबै थाहा भइसक्छ । उसलाई ती पत्रिकाहरु भोलिपल्ट समोसा र पकौडा प्याक गर्न काम लाग्छ । थापासरले पहिलो लटको चिया छ वटा ग्लासमा खन्यायो र आफ्ना नियमित ग्राहकहरुको अगाडि लगेर राख्यो ।
डाक्टरसापलाई मधुमेह छ, चिनी नहालेको ।
अध्यक्षज्यूलाई कडा चाहिन्छ ।
सहसचिवज्यूलाई रंग थोरै, बढी गुलियो ।
अरु दुई जना जस्तो भए पनि केही भन्दैनन् ।
कलिलो केटोलाई दूध नहालेको चाहिन्छ ।
उसले सँधैजस्तै अरुलाई भन्यो,
“कालो चिया खान थाल्नुस् भन्या तपाईँहरु मान्नु हुन्न । नेपालमा ‘डेरी प्रडक्ट’ सेवन गर्नु भनेको आत्महत्या गर्नु हो । मन्द विष सेवन गरे बराबर हो । स्वास्थ्यको ख्याल राख्नु पर्छ ।”
अनि उसले चुरोट सल्कायो र बुङबुङ धूँवा उडायो ।
उपाध्यक्षले पत्रिकाको अन्तिम पृष्ठ पल्टायो । उनको आँखामा आश्चार्यको भाव आयो । उसले भन्यो,
“पूरै पेजमा मान्छे हराएको सूचना ।”
यसै पनि यस्ता कुराले अरु मानिसको ध्यान तान्छ । झन् पूरै पृष्ठ भन्नासाथ अरुहरुलाई अझ बढी कौतुहलता हुनु स्वाभाविकै हो । अध्यक्षले सोध्यो,
“को हराएछ ?”
उपाध्यक्षले पूरै पाना सबैलाई देखायो । एउटा आकर्षक युवकको ठूलो फोटो सहित विज्ञापन छापिएको थियो । सबै मनमनै त्यो पढ्न थाले । कलिलो केटो चाहिँ ठूलो स्वरमा वाचन गर्न थाल्यो,

मानिस हराएको सूचना
राजेशराज कोइराला । तसवीरमा देखिएको वर्ष २६, गहुँगोरो वर्णको युवक यही आषाढ १५ गते बेलुका देखि हराइरहेको हुँदा कसैले निजलाई देख्नु भएको भए वा निजको बारे कुनै जानकारी छ भने कृपया नजीकको प्रहरी चौकी वा निम्न फोन नम्बरमा सम्पर्क गर्नु होला । कुनै पनि सूचना दिने मानिसलाई रु २५ लाखको नगद पुरस्कार टक्राइनेछ ।
छोरा राजेश, तिमी जहाँ भए पनि तुरुन्त घर फर्क । बाबा तिम्रा हरेक कुरामा सहमत छु । तिमीले जे चाहन्छौ, त्यही हुनेछ । तर घर फर्क छोरा ।
त्यसको मुनि दुईवटा मोवाइल फोनको नम्बर छापिएको थियो । सबै जना एक छिन त्यो हेरेर अचम्म परे । डाक्टरले भन्यो,
“पच्चीस लाख ? आम्मामामा....सानोतिनो बम्पर चिठ्ठै पर्ने रहेछ पाउने मान्छेलाई ।”
सबै हाँसे ।

अलिपरको टेबुलमा बसेर चिया सुर्काइरहेको मानिस पनि त्यो कलिलो केटोको वाचन सुनिरहेको थियो । ऊ अर्को कुनै पत्रिका पल्टाइरहेको थियो । उसको आँखा त्यसको भित्री पृष्ठमा तलको कुनामा छापिएको अर्को सानो विज्ञापनमा प¥यो । त्यो पनि थियो, मानिस हराएकै सूचना ।
युवक हराएको सूचना
प्रेमकृष्ण महर्जन ।
वर्ष २६
वर्णः गहुँगोरो
आषाढ ७ गते बिहान घरबाट कलेज जान निस्केको मेरो भतिजो सम्पर्क बिहीन अवस्थामा रहेको छ । प्रेमका बारेमा कसैसंग केही सूचना छ भने कृपया नजीकको प्रहरी चौकी वा तलको नम्बरमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिएको छ ।
पत्रिका पढ्ने मान्छे पल्लो टेबुलतिर हेरेर बोल्यो,
“यो पत्रिकामा पनि एउटा मान्छे हराएको सूचना रहेछ ।”
उसको कुरा सुनेर ढोकैको छेउमा बसेर सेल टोकिरहेको एउटा मान्छेले भन्यो,
“मान्छे हराउने सिजन नै रहेछ कि क्या हो । यहाँ पनि एउटी स्वास्नीमान्छेले आफ्नो लोग्ने हराएको विज्ञापन छपाएकी छ ।”
सबै अब उसतिर आकर्षित भए । उसको अगाडि फिँजारिएको पत्रिकामा छापिएको थियो,

मेरा श्रीमान जनकध्वज विष्ट पछिल्लो केही हप्तादेखि हराइरहनुभएको हुनाले निजको बारे कसैलाई केही जानकारी छ भने कृपया निम्न नम्बरमा खबर गरिदिनु होला ।
भाद्र २९ गते अफीसबाट घर आउँदै गरेपछि उहाँ सम्पर्क बिहिन हुनुहुन्छ । सही सूचना प्रदान गर्नुहुनेलाई आभारका साथ उचित पुरस्कार प्रदान गरिनेछ ।

त्यसै बेला चिया पसलमा चौथो पत्रिका आइपुग्यो । भनिरहनु नपर्ला,  त्यस पत्रिकामा पनि एउटा अर्को हराएको मानिसको विज्ञापन छापिएको थियो । मानिस हराएको चौथो विज्ञापनको व्यहोरा थियो,

भाइ कमल । जहाँ भए पनि तुरुन्तै घर आऊ ।
तिमी गएको दिन देखि म बिरामी छु ।
२८ वर्षको गहुँगोरो वर्णको मेरो भाइ कमलसिंह परियार पछिल्लो सात दिन देखि हराइरहेको हुनाले निजको बारे कुनै सूचना र जानकारी हुने मानिसले तलको फोन नम्बर वा नजीकको प्रहरीमा खबर गरिदिन
भए अनुगृहित हुने छु ।
–बिमलसिंह परियार
फोन नम्बर ९८........

चिया पसलमा अरु विषय गौण हुन पुग्यो । सबै जना एकै दिन विज्ञापन छापिएका ती चार हराएका मानिसको बारे कुरा गर्न थाले ।

हुन त लाखौं मानिस अटेसमटेस गरेर बाँचिरहेका यस सहरमा एकै–एकै समयमा चारजना मानिस हराउनु कुनै उदेकमर्दो घटना त नहुनुपर्ने थियो । तर एकै दिन तिनका बारे फरकफरक पत्रिकामा सूचना छापिनु भने पक्कै पनि अचम्मको संयोग थियो । तर त्यो भन्दा ठूलो अर्को कुरा थियो जसले यो साधारण जस्तो लाग्ने घटनालाई अत्यन्तै असाधारण बनाएको थियो ।

राजेशराज कोइराला, प्रेमकृष्ण महर्जन, जनकध्वज विष्ट र कमलसिंह परियारका नाममा भिन्नभिन्न पत्रिकामा फरकफरक मानिसले छपाएका चारै वटा फरक सूचनामा तसवीर चाहिँ एउटै मानिसको थियो ।

सुकेको वनमा लागेको डढेलो जसरी दिउँसोसम्ममा यो कुरा सहरभरि फैलिन भ्यायो । ट्विटर, फेसबुक, अनलाइन समाचार र टिभीका बुलेटिनहरुमा हराएको मानिसको विज्ञापनको कुरा प्रमुख आकर्षणको रुपमा छायो । चारवटा भिन्नै नाम र थर दिइएर एक जना मानिस हराएको सूचनाका कारण दिनभरि काठमाण्डौमा चर्चा परिचर्चाको बजार तातिरह्यो । यो कसरी सम्भव छ ? एउटै मानिसको चारथरि फरकफरक थर कसरी हुनसक्छ ? उसका बाबु कोइराला हुन् भने काका कसरी महर्जन भए ? अनि उसका दाजु कसरी परियार भए ? अनि ऊ छायाँ विष्टको श्रीमान हो भने छायाँ विष्टको बाँकी मानिसहरुसंग कुनै नाता कसरी हुन सक्छ ? के उहाँ विज्ञापन छाप्ने पत्रिकाहरुबाट कुनै ठूलै गलती भएको हो त ?  कि विज्ञापन छपाउनेहरुको नियतमा कुनै खोट छ ? हो चारैजना विज्ञापनदाता र चारवटै पत्रिकाले यसलाई कुनै गलती मानेका छैनन् । त्यसो हो भने के यसको पछाडि कुनै गम्भीर षडयन्त्र लुकेको छ ? हो भने त्यो षडयन्त्र के हुन सक्छ ? कसको के फाइदाका लागि यो सब गरिएको हो ? जसको फोटो छापिएको छ, त्यो मानिसकोे वास्तविक पहिचान के हो त ? आज राजधानीमा दिनभर यस विषयमा चर्चा परिचर्चा चलेको छ । तर त्यो मानिसको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । के त्यो मानिस जीवित छ ? के उसको कसैले अपहरण गरेको हो ?

आखिर को हो र कहाँ छ त यो चतुर्मुखी ब्रम्हा ?
(क्रमश.......)

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment