Translate

Tuesday, August 14, 2018

गौरवगाथा

फाफुरा २४
तपाईंँहरुलाई झरी र बर्खा कस्तो लाग्छ ? फाफुरालाई त वर्षातको समय र यो झरीको मौसम भनेपछि कन्सिरी देखिका रौंहरु ठाडा भएर आउँछन् । ‘पानी परेको पनि मन नपराउने तँ फाफुरा कस्तो साइँदुवा होस्’ भनेर तपाईँहरु कुर्लिनु होला । खासमा झरी भनेको कारवाला, कवि, किसान र प्रेमीप्रेमिकाहरुका लागि मात्रै रमाइलो कुरो हो ।। उनीहरुका लागि मात्र यो मौसम प्रेरणदायी, उर्वर र उपलव्धिमूलक हो । फाफुराको लागि त वर्षा असाध्यै प्रत्युत्पादक हुन्छ । किनभने यो मौसममा रत्नपार्कको चौरमा टोपीले मुख छोपेर सुत्न सम्भव हुँदैन ।


आँपको रुखमा केरा फल्न सम्भव हुन  सक्छ, गूगल ब्वाइलाई गूगलले पेटेन्ट अधिकारका लागि करोडौं डलर ति¥यो भन्ने सम्भव होला । सगुन डटकमले फेसबुकलाई विस्थापित गर्न सम्भव होला । यो देश सम्बृद्ध हुनेछ भन्ने कुरा सम्भव होला । पानी जहाज र रेल चल्ने कुरा सम्भव होला । राष्ट्रपति सवारी हुँदा काठमाण्डौका सडक जाम हुन छाड्ने पनि सम्भव होला । अरु त अरु, बरु केपी ओलीले काँगे्रस प्रवेश गर्ने कुरा पनि सम्भव होला । तर रत्नपार्कमा टोपीले मुख छोपेर नसुती फाफुराको मगजमा कुनै फाईँफुट्टी फुर्ने सम्भव हुँदैन । त्यसैले फाफुरा यसपटक हाम्रो दैनिक आवत जावत र सवारीसंग सम्बन्धित काठमाण्डौ नरकपालिकाका केही विशिष्टताहरुका बारेमा भलाकुसारी गर्ने मूडमा छ । हाम्रो हिंडडुलको गौरवगाथा ।

काठमाण्डौे एउटा प्रजातान्त्रिक सहर हो । प्रजातन्त्रमा सबैलाई समान छुट हुनुपर्छ । त्यसैले यस नरकपालिकामा  बाटोमा हिंड्ने र गुड्नेहरुका बीच कुनै पनि भेदभाव हुँदैन । यहाँ फुटपाथबाट भटभटे गुडाउन पाइन्छ । त्यसको साटो फुटपाथ भएको वा नभएको ठाउँमा पनि पैदल यात्रीहरुलाई सडकको बीचमा मस्तसंग हिंड्न खुल्ला छुट प्रदान गरिएको छ । विदेशीहरुको हामी उच्च सम्मान गर्छाैं । त्यसैले दूतावासहरुलाई फूटपाथ ढाकेर पर्खाल लगाउन छूट दिइएको छ । सडक छेउमा पसल हुनेहरुले फुटपाथलाई आफ्नै बाउको बिर्ता सरह उपभोग गर्दै सामान फिंजाउन छुट दिइएको छ । सडकमा हिंड्दा दुई, तीन या चारजना पनि संगै हिंडेको भए बाटोतिर तेर्सो परेर हिंड्न पाइन्छ ।सैद्धान्तिक रुपमा हर्न बजाउन निषेध गरिएको भए पनि यस्तो अवस्थामा व्यावहारिक रुपमा कुनै बन्देज हुने छैन । मन लागिन्जेल प्वाँ प्वाँ गर्न पाइन्छ । त्यसको बदलामा बाटो ढाकेर हिंडिरहेका यात्रुहरुले सुनेको नसुन्यै गरेर हिंडिरहने,  फर्केर हेर्दै चालकलाई आँखा तर्ने,  माझी औंला देखाउने, आमाचकारी गाली गर्ने वा अवस्था हेरेर प्वाङपुङ बक्सिंग हान्नेसम्मका कारवाही गर्न पाउनेछन् ।

यहाँ सबै सवारी चालकहरुले नबिराइकन पालना गर्ने एउटै नियम छ । त्यसलाई ‘पपुटा’ नियम भनिन्छ । ‘पपुटा’ अर्थात् ‘पल्याक–पुलुक टाप’ । यहाँ कुनै पनि नियम भनेको ट्राफिक प्रहरीले देख्ने ठाममा मात्र पालना गर्ने कुरा हो । सजायँको डर नहुने ठाउँमा कसैले कुनै नियम मान्नुपर्ने कर छैन । सवारी चालकहरुले ‘पपुटा’ मान्छन् भने ट्राफिकहरु पनि अर्को नियम पालना गर्छन् भन्ने चाहिँ हेक्का राख्नुपर्छ । त्यसलाई ‘बपनि माजा’ भन्छन् । अर्थात ‘बल्ल प¥यो निरमाया माकुरी जालैमा’ । यो उनीहरुको प्रिय लोकगीतबाट लिइएको हो । उनीहरु पनि चालकहरुलाई नियम पालना गराउनभन्दा तिनीहरुलाई समात्न पाउनुमा बढी रमाइलो मान्छन् । त्यसैले उनीहरु बेलाबेलामा मौसम अनुसार फरकफरक कुरामा कडाइ गर्नेमा विश्वास गर्छन् । एउटा कुरामा कडाइ गर्ने अवधिमा अरु कुरामा मतलब गरिन्न । नम्बर प्लेटको अवस्था, सिट बेल्ट लगाए नलगाएको, लेन पेलेको, प्रदूषण पास गरेको नगरेको बारे जाँच गर्ने इत्यादि यो प्रवृत्तिको गौरवशाली उदाहरण हो । ‘बपनि माजा’ अन्तर्गत उनीहरु मोडमा, झाडीमा, अँध्यारो कुनामा, एकतर्फी बाटोको अन्तिम छेउमा माकुरीका लागि जाल बुनेर लुकेर बसेका हुन्छन् । हातमा चिटको प्याड र कलम हमेशा तयार अवस्थामा हुन्छ । यता जालमा सिकार प¥यो, उता उनीहरु बुर्लुक्क उफ्रेर चटक गरेजसरी उत्पत्ति भै हाल्छन् । त्यति थाहा पाएर पनि पुराना खेलाडीहरु ‘आज त म फेला पर्दिनँ’ होला भनेर ‘पपुटा–पपुटा’ खेलिहाल्छन् । बग्गीखाना जानुभयो भने त्यहाँ हरेक दिन जरिवाना तिरेर अनुमतिपत्र छुटाउन हुनेहरुको अपार भीड देख्नुहुन्छ । ती मध्ये कुनै महेन्द्र बाहुबली छाती फुलाएर भन्दै हुन्छ,
“यही महीनामा लेन पेलेर यहाँ आएको मेरो तेश्रो पटक हो ।”

लेन पेल्नेको भन्दा बढी इज्जत मापसे वालाको हुन्छ । मापसे कारवाहीमा परेर अनुमतिपत्रमा प्वाल पर्नु भनेको साथीभाईको बीचमा पौरुषताको बयान गर्ने कुरा हो । जसरी प्रहरीको काँधमा लाग्ने फुलीमा जति धेरै तारा लाग्दा ऊ त्यति नै ठूलो अधिकारी मानिन्छ, त्यसरी नै सवारी चालकहरुको अनुमतिपत्रमा जति धेरै प्वाल भयो, ऊ त्यति नै ठूलो ‘मर्द’ मानिन्छ । कुनै अमरेन्द्र बाहुबली अर्को सुरापानको पारखीलाई इख्याउँदै भनिरहेको हुनसक्छ,
“तपाईँको लाइसेन्समा जम्मा दुइटा प्वाल ? मेरोमा त चारवटा भैसक्यो ।”
सार्वजनिक यातानायातका सवारी चालकहरुको हकमा त यो सहर झनै बढी उदार र प्रजातान्त्रिक छ । अधिकांश त्यस्ता सिण्डिकेट ठूला नेता, तिनका आसेपासे वा तिनले पालेका डन भनिने गुण्डाहरुको हातमा हुने भएकाले तिनलाई जे गर्ने पनि छूट हुन्छ । त्यसैले सडकमा हिंड्दा वा सवारी चलाउँदा त्यस्ता सार्वजनिक सवारी साधनहरुसंग मानिस गोविन्द केसीको अनशन संग सरकार डराएभन्दा बढी डराउनुपर्छ ।

यो सहरमा जेब्रा क्रस र योग्य नेता दुबै उत्तिकै दुर्लभ वस्तु हुन् । हरेक स्थानमा बाटो काट्न जेब्रा क्रस बनाइदिन सम्बन्धित सरकारी निकाय कसैको बाबुको नोकर हैन । आवश्यकता हेरेर होइन, सडक विभागका कर्मचारीहरुले आफ्नो मूड अनुसार जनि गरेर कतैकतै त्यस्ता जेब्रा क्रस बनाइदिन सक्छन् । हुँदाहुँदा कतिसम्म त भने बाटोको दुबैतिर पर्खाल भएको ठाउँमा बनाइएका जेब्रा क्रसहरुका बारे समेत कसैले प्रश्न उठाउन पाउँदैन । कुनै दिन आकाशतिर फर्केको जेब्रा क्रस बनेछ भने पनि त्यसमा अचम्म नमाने हुन्छ । यदि तपाईँलाई हरेक बाटो काट्ने स्थानमा जेब्रा क्रसजन्य विलासिताको सोख छ भने बीस मिटरको कालो कपडामा सेतो धर्का पोतेर आफै काखी च्यापेर हिंड्नुहोला । जहाँ बाटो काट्नु छ, त्यहाँ फुकाएर पारीसम्म फैलाउनुस्, बाटो काट्नुस्, पारी पुगेर फेरि बेर्नुस् । आफ्नो जेब्रा क्रसको सुरक्षा आफै गर्नुहोला । जेब्रा क्रस भएको स्थानमा पनि त्यहींबाट बाटो काट्नुपर्छ भन्ने तानाशाही व्यवस्थाको काठमाण्डौ घोर भत्र्सना गर्छ । तपाईँको कारमा पो ब्रेक हुन्छ । ब्रम्हाले अझैसम्म ब्रेक हालेर मान्छे बनाएका छैनन् । मानिस अरु ठाउँबाट बाटो काट्न स्वतन्त्र छन् । त्यसै गरी सवारी चालकहरु पनि जेब्रा क्रसमा झनै गति बढाउन र बाटो काटिरहेकाहरुलाई पेल्न स्वतन्त्र छन् ।

कतैकतै जनि गरेर बनाइएका आकाशे पुलको सम्बन्धमा पनि लोकतान्त्रिक नियम लागू हुन्छ । तपाईँ हामीलाई अरु काम छैन र ? हाम्रो अमूल्य समय बीसौं खुड्किला चढ्न, पुल तर्न र फेरि त्यति नै खुड्किला ओर्लनमा खर्च गर्न थाल्यौं भने देश चाहिँ कसले बनाउँछ ? कहिले बनाउँछ ?  कसरी आउँछ सम्बृद्धि ? त्यसैले वटुवाहरु त्यस्ता पुललाई बहिष्कार गरेर सडकबाटै बाटो काट्न स्वतन्त्र छन् । हो, फुर्सद भएको बेला माथि चढेर तल गुडिरहेका गाडी हेर्न हामी त्यसको प्रयोग गर्न सक्छौं । नत्र त्यस्ता पुलहरु भनेको सामान फिंजाएर बेच्न बस्ने व्यापारीहरुका लागि सुरक्षित गरिएको मान्नुपर्छ । महानगरमा अर्को दुइटा कुराको पनि अभाव स्पष्ट अनुभव हुन्छ । एक, यहाँका मेयर । दुई सार्वजनिक शौचालय । त्यसैले आकाशे पुलका कुना च्यापेर लघुशंका गर्ने छुट पनि नागरिकहरुलाई दिइएको छ । साँझ बिहान घरका फोहोरहरु लगेर मिल्क्याउनका लागि पनि काठमाण्डौका सडक तथा खोलाहरु उपयुक्त स्थान हुन् । मन खोलेर यो सुविधाको उपयोग गर्न सकिनेछ ।

यहाँ गाडी किन्ने मानिसहरुले मात्र दुइवटा कुरा जाँच गर्ने चलन छ । हर्न बज्छ कि बज्दैन, अनि झ्यालको ऐना सजिलोसंग खुल्छ कि खुल्दैन । किनभने हाम्रो सबैभन्दा ठूलो आवश्यकता भनेको तारन्तार छिनछिनमा थुक्नु हो । पाँच या दश मिनेटमा एक पटक थुक्न पाएन भने हाम्रो गाथमा आराम हुँदैन । आफ्नो स्वास्थ्यको हेरचाह गर्नु हाम्रो अधिकार हो । त्यसैले पैदल यात्रु, मोटरसाइकल चालक वा चारपाँग्रे चालक सबैले कुनै पनि बेला दायाँ बायाँ नहेरी पिच्च पार्न सक्नेछन् । अगाडि गइरहेकोले त्यसरी थुक्दा तपाइँलाई प¥यो भने त्यो तपाईँको दोष मानिनेछ । किनभने त्यसलाई छल्ने पूर्वतयारी गर्न नसक्नु थुक्ने मानिसको दोष हैन । तपाईलाई त भगवानले अगाडि आँखा दिएकै छन् नि । उसको पछाडि आँखा छ र ? यसै गरी तपाईँ आफूले पनि थुकेर पछाडिको मानिसलाई पार्न सक्नुभयो भने हिसाबकिताब फच्या भएको मानिनेछ । सक्नु भएन भने तपाईको आफ्नो नालायकी हो । तसर्थ चाँडै नै ड्राइभिंग सिकाउने स्थानहरुमा थुक कसरी छल्ने भनेर पनि अभ्यास गराइने व्यवस्था हुँदै छ । भटभटे चलाउँदा चलाउँदै खल्तीबाट मोबाइल फोन निकाल्ने, गति कम नगरी चिम्सा आँखाले नम्बर हेर्ने र फोनलाई हेलमेटको चेपमा अडाएर आफ्नो अति महत्वपूर्ण वार्तालाप गर्ने अद्भूत कलाका लागि ओलम्पिकमा प्रतिस्पर्धा हुने हो भने स्वर्ण पदक नेपाली बाहेक अरुले चिहाउनै पर्दैन ।

राति सवारी चलाउँदा हाइ बिममै चलाउनु पर्छ । जसले जति माथि फर्काएको जति चहकिलो हेडलाइटल प्रयोग गर्न सक्यो, त्यो त्यति नै वहादुर मानिनेछ । उताबाट आउनेको आँखा तिरमिर पार्न सक्नु वीरताको द्योतक मानिनेछ । यसलाई नियन्त्रण गर्न खोज्दा वीर बत्ती बालकहरुको तर्क हुने गर्छ, ‘हरेक बाटोमा खम्बामा उज्यालो  बत्ती हाल्न सक्नुप¥यो नि त सरकारले ।’ यसलाई नजीर मानेर भोलिदेखि चोर र लुटेराहरुले प्रहरीले गस्ती नगरेका हरेक गल्लीमा चोरी र लूटपाट गर्न पाउने आफ्नो अधिकार पनि सुरक्षित गर्न सक्न्ेछन् ।

महानरकपालिकाका यी र यस्तै अरु विशिष्ट पहिचानहरुको बारे मनमनै गम्दै हिंडिरहेको फाफुराले मेलम्चीले खनेर छोडेको एउटा खाल्डो हेक्का गर्न सकेन । झरीको पानीले भरिएको खाल्टोमा च्यूँडोसम्म डुबेको फाफुरा सोच्दै थियो, संसारमा अरु कहाँ यस्तो प्राकृतिक ज्याकुज्जीको व्यवस्था भएको सहर होला र ? उसले मनको गहिराइदेखियहाँका नीतिनिर्माता, सम्बन्धित निकायहरु र विशेष गरी यस नरकपालिकाका सबैभन्दा ठूला पदाधिकारीलाई मुरीमुरी धन्यवाद दियो ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment