Monday, August 20, 2018

एम्बुलेन्स सेवा १०२ (हराएको मानिस भाग ५)

हेलिकोप्टर काठमाडौंतिर उडिरहेको थियो। पाइलटलाई मौसम बिग्रेला भन्ने डर थियो। यो वेला केही भन्न सकिन्न। तर, काठमाडाैं आइपुग्ने वेलासम्म मौसमले धोका दिएन। त्यो हेलिकोप्टरमा पाइलटबाहेक दुईजना कुइरे र एकजना कुइरी थिए।
अनि थियो, एउटा अचेत युवक। घोप्टेडाँडामा गाउँलेहरूले कतैबाट उद्धार गरेर ल्याइदिएको युवक। उसको अवस्था एकदमै नाजुक थियो। एउटा कुइरे किन्डलमा कुनै किताब पढिरहेको थियो भने अर्को बाहिर आकाश हेरेर टोलाइरहेको थियो। कुइरी वेलावेला सहानुभूतिपूर्ण आँखाले त्यस युवकलाई हेर्थी, मनमनै केही प्रार्थना गरेर छातीमा क्रस बनाउँथी।
‘सेभ हिम जिजस।’ 
उसको मुखबाट निस्क्यो। यात्रा अवधिभर कोही केही बोलेको थिएन। सबैको मन एकतमासको भइरहेको थियो। अब पाइलट हेलिकोप्टरमा भएको स्याटेलाइट फोनबाट १०२ नम्बरमा सम्पर्क गर्न खोजिरहेको थियो, निरन्तर। उसका एक विज्ञापन व्यवसायी मित्र रञ्जित आचार्यको पहलमा ‘नेपाल एम्बुलेन्स सेवा’ सञ्चालन भएको छ भन्ने उसलाई थाहा थियो।
तर, त्यो सेवा उसले आजसम्म प्रयोग गर्न भने परेको थिएन । कसैलाई पनि सकेसम्म त्यो सेवा प्रयोग गर्न नपरेकै राम्रो हो । अत्याधुनिक उपकरणसहितका ती एम्बुलेन्समा अस्पताल पु-याउनुअघि आवश्यक उपचार गर्न तालिम दिइएका प्यारामेडिक विज्ञ पनि हुन्थे । एम्बुलेन्स सेवासँग सम्पर्क भयो ।
आकाशबाट यसरी फोनमा सम्पर्क गर्न सक्नु केही वर्षअघि भए कल्पना पनि गर्न सकिन्नथ्यो । दूरसञ्चारको विकास र प्रविधिले मानिसको जीवन धेरै सहज बनाएको छ भनेर सोच्दै उसले आफ्नो परिचय दियो र घाइते युवकको अवस्थाबारे पनि बताइदियो । १०२ को मानिसले सोध्यो, ‘कतिबेरमा पुग्नुहुन्छ ?’
उसले भन्यो, ‘बीस मिनेटको हाराहारीमा हामी ल्यान्ड गर्नेछौँ ।’उताबाट एम्बुलेन्स सेवाको ‘डिस्प्याचर’ले गम्भीर भएर भन्यो, ‘हाम्रा केही एम्बुलेन्समा भेन्टिलेटर पनि छन् । म सकेसम्म तीमध्ये एउटालाई हेलिप्याडतिर पठाइदिन्छु ।’ १०२ नम्बरमा सम्पर्क गर्न सकिने एम्बुलेन्सहरूमा जिपिएस पनि जडान गरिएका हुनाले कुन वाहन कहाँ छ भनेर पनि तत्काल निक्र्योल गर्न सकिन्थ्यो ।
ऊ भेन्टिलेटर भएको एम्बुलेन्स खोज्न मनिटरमा आँखा घुमाउन थाल्यो । सिनामंगलको अस्पतालमा एउटा बिरामी पु¥याएर आफ्नो स्टेसनतिर फर्किरहेको एम्बुलेन्स भर्खर एयरपोर्ट नाघेर तिलगंगानेर पुगेको रहेछ । विमानस्थलबाट त्योभन्दा नजिक अरू कुनै बाहन थिएन । उसले त्यस एम्बुलेन्सका ‘पाइलट’सँग सम्पर्क गर्ने उपक्रम ग-यो ।
हो, उनीहरू एम्बुलेन्सको चालकलाई ‘ड्राइभर’ हैन, ‘पाइलट’ भन्ने गर्थे । उता आकाशमा भएको हेलिकोप्टरको पाइलटले फेरि आफ्नो मित्र रञ्जितलाई सम्पर्क गर्न थाल्यो । रञ्जित कुनै उत्पादनका लागि विज्ञापनको आइडियामा आफ्नो टिमसँग माथापच्ची गरिरहेको थियो । अरूको फोन भए पछि उठाउँथ्यो होला, तर पाइलट उसको मिल्ने साथी थियो । तीन घन्टीमा रञ्जितले फोन उठायो र चहकिलो स्वरमा भन्यो, ‘ओहो ! पाइलट साब, लङ टाइम ।’
पाइलट हतारिँदै बोल्न थाल्यो, ‘इमर्जेन्सी । क्रिटिकल अवस्थामा भएको एउटा बिरामी लिएर ल्यान्ड गर्दै छु । मैले १०२ मा जानकारी गराइसकेको छु । एम्बुलेन्स पठाइदिन्छु भनेका छन् । जस्ट इन केस, तिमीलाई पनि इन्फर्म गरेको ।’उसको स्वरबाटै रञ्जितले पनि अवस्थाको गम्भीरता बुझिहाल्यो । उसले भन्यो, ‘त्यसो भए त पुगिहाल्छ । डन्ट वरी । तैपनि म एकपटक बुझ्छु ।’
एम्बुलेन्सको पाइलटले खबर पाउनासाथ साइरन र बत्ती अन ग-यो, अनि आफ्नो दक्षताको प्रदर्शन गर्दै फनक्क युटर्न मा-यो । उसले आफ्नो पूरै खुट्टाको दबाब एक्सिलरेटरमा दियो । एम्बुलेन्स ताँदोबाट छुटेको तीरजसरी हुत्तिएर एयरपोर्टतिर हुइँकियो । उता रञ्जितले पनि डिस्प्याचरसँग सम्पर्क गरिसेकेको थियो । डिस्प्याचरले एम्बुलेन्स बाटोमा भएको र हेलिकोप्टर ल्यान्ड हुनुअघि पुग्ने जानकारी दिँदै थियो ।
नभन्दै हेलिकोप्टरले भुइँ छुँदा एम्बुलेन्स तयार थियो । त्यसमा भएका तीनैजना इएमटी प्यारामेडिक सतर्कताका साथ स्कुप स्ट्रेचर बोकेर हेलिकोप्टरतिर लम्किए । नामैले बताएअनुसार यो किसिमको स्ट्रेचरमा विशेषगरी ढाडमा चोटपटक लागेको बिरामीलाई नसमाती, नहल्लाई चढाउन सकिन्छ । स्ट्रेचरको दुइटा फक्ल्याँटो परेको भागलाई बिरामीको शरीरको दायाँबायाँ दुईतिर मुनिबाट ख्वप्ल्याक्क पारेर छिराई ट्याक्क जोड्न सकिन्छ ।
अनि सतर्कताका साथ उसलाई लैजान सकिन्छ । डिस्प्याचरले एम्बुलेन्सलाई खबर गर्दा नै त्यहाँको अवस्थाको गम्भीरताबारे जानकारी दिइसकेको थियो । इएमटी कर्मचारीले अचेत युवकलाई दक्षताका साथ स्कुप स्ट्रेचरमा हाले र एम्बुलेन्सतिर दौडाए । एम्बुलेन्स त्यस युवकलाई लिएर फेरि नजिकैको अस्पतालतिर कुद्यो । एयरपोर्टको ढोकाबाट बाहिर मूल सडकमा निस्कने ठाउँमा निकै धेरै ट्राफिक थियो । पाइलटले दुवैतिर हे-यो । सिनामंगलतिर जाने बाटोमा त झनै धेरै लामो जाम थियो ।
त्यही वेला उसको फोन बज्यो । उताबाट रञ्जित बोल्दै थियो, ‘सिनामंगल चोकमा माइक्रोले बाइकलाई ठक्कर दिएकाले अवस्था ठीक छैन । गौशाला रातोपुल हुँदै जानुपर्ला । म ट्राफिक प्रहरीसँग समन्वयमा छु । कता छिटो पु-याउन सकिन्छ फेरि भनुँला ।’
‘हस् ।’ संक्षिप्त उत्तर दिएर पाइलटले दाहिने मोड्यो । उसको ठ्याक्कै अगाडि भएको एउटा गाडी सुस्त गतिमा चलिरहेको थियो । त्यसको अगाडि लमतन्न बाटो खाली थियो । त्यो गाडीले बाटो अड्काइरहेको थियो । त्यसका चालकले साइरनको आवाज सुनेको थिएन । सुनोस् पनि कसरी, ऊ त झ्याल डम्म पारेर एसी चलाएर ठूलो स्वरमा गीत बजाइरहेको थियो । जिम मरिसन गाइरहेको थियो,
‘देयर इज अ किलर अन द रोड…’
एम्बुलेन्सको पाइलट मनमनै सोच्दै थियो, ‘पहिले त एम्बुलेन्सका लागि मान्छेहरू बाटो बनाइदिन्थे । आजकल त साइड पनि छाड्दैनन् । यो सहरका मानिसमा मानवता भन्ने कुरा पनि किन यसरी मर्दै गएको होला ?’
गोल्फ कोर्स सकिने ठाउँनिर उसले बल्लबल्ल त्यो संगीतप्रेमी चालकलाई उछिन्यो र गति बढायो । गौशाला पुग्ने वेला फेरि त्यत्ति नै लामो जाममा ऊ फस्यो । राष्ट्रपतिको कुनै कार्यक्रमका लागि त्यताबाट ‘सवारी’ चल्न लागेको रहेछ । अर्को साइड पनि पूरै सवारीसाधनले भरिएको थियो । मोटरसाइकल र स्कुटरहरू दाहिने, देब्रे, आफ्नो र अरूको साइडमा कुनै पक्षपात नगरी कुनाकुनामा कोच्चिन भ्याइसकेका थिए ।
हलचल गर्न नसक्ने गरी त्यो अव्यस्थित जाममा फसेको एम्बुलेन्स प्रतिवादमा रोएको जसरी प्याँप्याँ गरिरह्यो । मानौँ त्यो निर्जीव वाहन भनिरहेछ, ‘ए सजीव मानव हो । म मेरो गर्भमा एउटा बिरामी मानिस बोकिरहेको छु । केही मिनेट तलमाथि भएर तिमी स्वस्थ्य मानिसलाई फरक पर्दैन । तर उसको सास जान सक्छ । लौ न बाटो छोड ।’
तर, उसको साइरनको भाषा सायद आजकलका मानिसहरूले बुझ्न छाडिसेका थिए । एम्बुलेन्समा भएका इएमटी कर्मचारीमध्ये एकको आँखा त्यहाँ जोडिएको मनिटरमा प-यो । त्यसले अचेत युवकको हृदयको गति देखाइरहेको थियो । ऊ आत्तियो र भन्यो, ‘छाँटकाँट राम्रो छैन । इट्स गोइङ डाउन ।’ अरू दुईजना पनि त्यतै लागे । अर्कोले भन्यो, ‘हे भगवान् ! यो जाम कतिवेला खुल्ने हो ?’
पाइलट असहाय भावले कतैबाट एम्बुलेन्सलाई छिराउन सकिन्छ कि भनेर हेर्न थाल्यो । यता प्यारामेडिकहरू आत्तिन थाले । किनभने युवकको हृदयको गति झनै कमकम हुन थालिसकेको थियो । सवारी चलिसकेको थिएन । जाम खुल्ने अझै कुनै संकेत नै थिएन ।
झन् एम्बुलेन्सकै अगाडिको देब्रेतिरबाट कोच्चिन गएको मोटरसाइकलको लेगगार्डले एउटा चिल्लो गाडीको छेउमा कोतरेको हुनाले दुवै वाहनचालक ओर्लेर एकअर्कालाई तथानाम गालीगलोज गर्दै बाझ्न थालिसकेका थिए । अब उनीहरूले एकअर्कासँग मुक्कामुक्की गर्न मात्र बाँकी थियो ।
यता मनिटरले युवकको हृदयको गति बन्द भएको देखायो । एकजना प्यारामेडिकले हतारहतार स्टेथेस्कोप कानमा लगाएर युवकको छातीमा टाँस्यो । ‘छैन ।’ उसले सानो स्वरमा भन्यो । ‘सिट्, अब के गर्ने ?’ अर्कोले सोध्यो । ‘डिफिब्रिलेटर ?’ पहिलोले निर्णय ग-यो । मनिटर र स्टेथेस्कोपले फेला नपारे पनि मानिसको मुटुले पूरै काम गर्न नछाडेको हुन सक्छ ।
त्यस्तो वेलामा उसको छातीमा दुइटा प्याड लगाएर करेन्ट हान्ने उपाय हुन्छ । त्यही उपकरणलाई डिफिब्रिरिलेटर भनिन्छ । मानिस र अवस्था हेरेर कति करेन्ट लगाउने भन्ने कुरा फरक पर्छ । परम्परागत उपकरणमा कति करेन्ट प्रवाह गर्ने भन्ने ठ्याक्कै थाहा नहुने हुनाले चिकित्सकले थोरैबाट बिस्तारै मात्रा बढाउँदै लैजानुपर्ने हुन्थ्यो ।
तर, १०२ को एम्बुलेन्समा अत्याधुनिक र स्वचालित डिफिब्रिरिलेटर जडान भएको थियो । त्यसैले प्याडलाई बिरामीको छातीमा जोड्नासाथ अवस्थाअनुसार कति अन्तरालमा कतिपटक झट्का दिने भन्ने त्यसले आफैँ पत्ता लगाउँथ्यो ।
यसो हुँदा सामान्य जानकारी भएको मानिसले पनि यसको प्रयोग गरेर कसैको ज्यान जोगाउन सक्थ्यो । १०२का प्यारामेडिक त झन् आधारभूत तालिम भएकाहरू नै भए । उनीहरूले तेजीका साथ हृदयगति बन्द भएको युवकको छातीमा उपकरण जडान गरे । लामो सास फेरेर पशुपतिनाथलाई सम्झँदै एकजनाले डिफिब्रिरिलेटरको स्विच अन गरिदियो ।
वरिष्ठ शल्य चिकित्सक डाक्टर सरोज धिताल आजकल पहिलेजति धेरै शल्यक्रिया गर्दैनथ्योे । एकदमै जटिल अवस्थाका बिरामीको शल्यक्रियामा मात्र संलग्न हुन्थ्यो । उसको अस्पतालमा उसले आफैँले बनाएको समूहमा एक से एक कुशल शल्यचिकित्सक थिए । त्यस दिन पनि उसले एउटा त्यस्तै जटिल र लामो शल्यक्रिया सफलतापूर्वक सकाएको थियो ।
केही बेर विश्राम गरेपछि सबै वार्डहरूको निरीक्षण गरेर ऊ घर जान तल ओर्लेको थियो । आफ्नो गाडीतिर जानै लाग्दा अलि परबाट आइरहेको एउटा एम्बुलेन्सको आवाज उसको कानमा प-यो । ऊ सतर्क भएर रोकियो । लामो सेवाको अनुभवले होला, उसको छैटौँ इन्द्रियले उसलाई कुनै गम्भीर बिरामी ल्याइँदै छ भन्ने संकेत दियो । ऊ फरक्क फर्कियो र लबीमा पुग्यो । उसले ड्युटीमा भएको कर्मचारीलाई अलर्ट गराउन थाल्यो ।
एम्बुलेन्सको आवाज क्रमशः ठूलो हुँदै नजिक–नजिक आइरहेको थियो । नभन्दै त्यसको केही बेरमै एम्बुलेन्स सेवा १०२ को वाहन अस्पतालको हातामा छि-यो । अस्पतालका कर्मचारी तयार नै थिए । एम्बुलेन्सबाट अस्पतालको स्ट्रेचरमा सारेर युवकलाई भित्रतिर लैजाँदालैजाँदै प्यारामेडिकले डाक्टर धिताललाई जानकारी गरायो, ‘बीचमा हामीले डिफिब्रिरिलेटर चलाएपछि हि केम ब्याक ।’
डाक्टर धितालले आफ्ना कर्मचारीलाई निर्देश दियो, ‘ओटीमा लैजानुस्, छिटो । मलाई लाग्छ, इन्टरनल हेमोरेज छ । अपे्रसनको लागि टिमलाई तयार गर्नुस् । म ज्वाइन गर्छु ।’ ‘डाक्टरसाब…, यो त पुलिस केस होइन र ?’ ‘हो । पुलिसमा पनि खबरचाहिँ गर्नुस् । तर, उसको उपचार म सुरु गर्छु । कुर्न सकिँदैन । हाम्रो सबैभन्दा पहिलो प्राथमिकता बिरामीलाई बचाउन खोज्नु हो । बाँकी कुरा हुँदै गर्छ ।’
भर्खर निकै लामो र जटिल शल्यक्रिया गरेर निस्केको डाक्टर धिताल फेरि अर्को त्यस्तै शल्यक्रियाका लागि आफूलाई तयार पार्न थाल्यो । ओटीतिर जानुअघि उसले घरमा फोन ग-यो । र, भन्यो, ‘सुलो…, एउटा इमर्जेन्सी आयो । मेरो घर आउने ठेगान नहुने भयो है ?’
क्रमशः

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...