Monday, August 20, 2018

कामिनी विष्ट (हराएको मानिस भाग ६)

इन्सपेक्टर विनोद खड्काले गम्भीर मुद्रामा अस्पतालको बेडमा सुताइएको अचेत युवकलाई एकैछिन हेरिरह्यो । अनि छेउमा उभिएको डाक्टर धितालसँग सोध्यो,
‘केही पनि थाहा छैन यो मानिसको बारेमा ?’
ओठ लेप्य्राउँदै डाक्टर धितालले भन्यो,
‘नथिङ। उससँग आफ्नो परिचय खुल्ने केही कागजपत्र पनि थिएन। उसको अवस्था एकदमै खराब थियो। त्यसैले हामीले कुनै रिस्क लिन नसकेर तुरुन्तै अप्रेसन गर्यौं।’
अचेत र गम्भीर अवस्थामा अस्पताल ल्याइएको त्यस युवकको शल्यक्रिया सफल भएको थियो। डाक्टर धितालको लामो अनुभवका आधारमा उसलाई त्यस युवकको ज्यानचाहिँ बच्यो भन्ने लागिरहेको थियो। इन्सपेक्टर विनोदले डाक्टर धिताललाई पुलुक्क हेर्दै सोध्यो,
‘उसलाई कहिले होस आउला डाक्टर साहब ?’
‘ठ्याक्कै त म भन्न सक्दिनँ। तर सबै रिकभरी मैले सोचेअनुसार भयो भने सम्भवतः चाँडै।’
‘चाँडै भन्नाले ? कुनै टाइमफ्रेम ?’
‘बाह्र, चौबीस……छत्तीस वा अढ्चालीस घन्टा पनि हुन सक्छ। निश्चित त कसरी भन्नू।’

त्यस युवकको अप्रेसन हुँदै गर्दा प्रहरीमा जानकारी दिने औपचारिक प्रक्रिया पूरा गरेपछि इन्सपेक्टर विनोद खड्का खटिएर आएको थियो । अब मूल कुरो थियो त्यस युवकको परिचय । उसको बारे केही पनि थाहा थिएन । विनोदले लामो सास फेरेर आफैसँग प्रश्न ग-यो,
‘को होला त यो मानिस ?’
डाक्टर धितालले उत्तर दियो,
‘खै, अनुहारमा लागेको चोटपटकले गर्दा त उसको आफ्नै बाबुआमाले पनि चिन्न गाह्रो हुने अवस्थामा यहाँ ल्याइएको थियो ।’
इन्सपेक्टर विनोदले फेरि युवकलाई हे-यो । अब उसका घाउचोटहरू सफा गरिएको हुनाले अनुहार अलि स्पष्ट देख्न सकिन्थ्यो । उसलाई त्यो अनुहार कताकता परिचितझैँ लाग्यो । के उसले त्यस युवकलाई पहिले कतै देखेको छ ? तर, निकै बेर सोच्दा पनि ठ्याम्मै यसै भनेर उसले ठहर गर्न सकेन । उसले डाक्टर धिताललाई भन्यो,
‘मलाई किनकिन यो मान्छेको अनुहार परिचित लागिरहेको छ ।’
डाक्टर धिताल पनि केही सोच्दै बोल्यो,
‘अचम्मको कुरो त उसलाई देखेको वेलादेखि नै मलाई पनि त्यस्तै लागिरहेको छ । आइ ह्याभ सिन हिम समह्वेयर । तर कहाँ होला ?’
उनीहरू दुवैलाई त्यस्तो लाग्नु अस्वाभाविक थिएन । त्यस युवकको केही दिनअघि पत्रिकाहरूमा चारवटा विभिन्न नाम, थरसहित चारवटा विभिन्न फोटो छापिएको थियो । तर, छापिएका फोटा र उसको अहिलेको अनुहारको अवस्थाले गर्दा तिनमा भएका समानताहरू पुरिएका थिए ।
विनोदले आफूसँग आएको एउटा प्रहरीलाई भन्यो,
‘सइ साप्, फोटो खिच्नुस् । सर्कुलेट गर्नुपर्छ । डाक्टर साहेब, एउटा फोटो प्रिन्ट गरेर अस्पतालको मूल ढोका र लबीमा पनि सूचना राखिदिनुहोला ।’
डाक्टर धितालले सहमतिसूचक टाउको हल्लायो । सइ विभिन्न कोणबाट त्यस युवकको फोटो खिच्न थालिसकेको थियो ।
०००
अस्पतालको अर्को पाटोमा भएको भिभिआइपी क्याबिनको ढोका खुल्यो । आफ्नै उमेरका एक अधबैँसे मानिससँग सर्वेश्वरराज कोइराला करिडरमा निस्क्यो । त्यो अर्को अधबैँसेको अनुहारमा चिन्ताका रेखाहरू स्पष्टसँग देख्न सकिन्थ्यो । सर्वेश्वरले उसलाई हे-यो, उसको काँधमा आश्वासनको हात राख्दै भन्यो,
‘किन चिन्ता गरिरहेको प्रयाग ? भाउजू चार दिनमै तंग्रिएर घर आउनुहुन्छ ।’
प्रयाग मुस्काउन खोज्यो । उसले आफ्नो चिन्ताले सुकेको च्यापु हल्लाउँदै घुटुक्क थुक निल्यो अनि ओठ चाट्यो । सर्वेश्वरले फेरि भन्यो,
‘त्यसमाथि पनि आजकल एपेन्डिसाइटिसको अप्रेसन भनेको एकदमै साधारण कुरा हो । चिन्ता लिनैपर्दैन ।’
प्रयाग मुस्कायो ।
‘ल म अहिले गएँ । केही प-यो भने फोन गर्नू । नत्र म भोलि आउँछु ।’
सर्वेश्वर लिफ्टतिर लाग्यो । प्रयाग भित्र क्याबिनतरि फर्कियो । लिफ्टबाट सर्वेश्वरले जितबहादुरलाई फोन ग-यो,
‘म निस्कँदै छु । गाडी अगाडि ल्याऊ जितबहादुर ।’
लिफ्टबाट लबीमा निस्केर बाहिरतिर गइरहेको सर्वेश्वर अचानक टक्क अड्यो र बिस्तारै पछाडि फर्कियो । उसले आफ्ना आँखाका कुनाबाट केही परिचित कुरा देखेको थियो । उसको आँखा रिसेप्सनअघि भित्तामा भएको एउटा सूचना पाटीमा प-यो । त्यहाँ पिन लगाएर अड्काइएका विभिन्न साना–ठूला सूचनाहरूको बीचमा एउटा ‘ए फोर’ साइजको कागज पनि टाँसिएको थियो । कम्प्युटरबाटै प्रिन्ट गरिएको कुनै श्वेतश्याम फोटो र केही अस्पष्ट अक्षरहरू टाढाबाट तिरिमिरि देखिन्थे । ऊ उत्तेजित भएर त्यता लाग्दालाग्दै कोटको माथिल्लो खल्तीबाट पढ्ने चस्मा निकालेर नाकको डाँडीमा अडाउन भ्याइसकेको थियो । नजिकबाट अस्पतालको बेडमा सुताइएको अचेत युवकको त्यो फोटो देख्नासाथ उसको मुखबाट ठूलो र आत्तिएको स्वर निस्क्यो,
‘राजेश ?’
उसले एकै सासमा त्यहाँ लेखिएको व्यहोरा पढ्यो । त्यस लावारिस युवकलाई कसैले चिनेको वा उसको बारे थाहा भए अस्पताल प्रशासनसँग सम्पर्क गर्नुहोला भन्ने आशयको त्यो व्यहोरा पूरै पढ्नुअघि नै ऊ रिसेप्सनमा भएकी महिलासँग विक्षिप्त भएर कराउन थाल्यो,
‘मेरो छोरा……। राजेशराज कोइराला……यो मेरो छोरा हो, बुझ्नुभयो तपाईंले ? कहाँ छ ऊ ? कति दिनदेखि म बहुलाजसरी उसलाई आकाश–पाताल खोजिरहेको छु । मेरो छोरा यहाँ…….अनि सर्वेश्वरराज कोइरालाको छोरालाई….हाउ क्यान यु से लावारिस ? कहाँ छ मेरो राजेश ?’
हेर्दाहेर्दै केही मान्छे जम्मा हुन भ्याइसकेका थिए । रिसेप्सनकी महिला अलमल्ल पर्दै बोली,
‘सर प्लिज काम डाउन ।’
उसले एउटा नम्बरमा फोन लगाउन थाली । उताबाट डाक्टर धिताल बोल्नासाथ उसले हतारिँदै भनी,
‘सर, यहाँ एकजना मान्छे त्यो युवकको बारे…..’
सर्वेश्वरले बाजले कुखुरा झम्टेजसरी उसको हातबाट फोन झम्ट्यो र माउथपिसमा बाघ गर्जेझैँ करायो,
‘एकजना मान्छे होइन । सर्वेश्वरराज कोइराला । तपाईं को हो ? कहाँ छ मेरो छोरा ?’
त्यहाँ भेला भएका तमासेहरूमध्ये एउटाले मोबाइल फोनमा खच्याक्क फोटो खिच्यो । उसले पनि केही दिनअघि पत्रपत्रिकामा त्यस युवकको फरक–फरक परिचयसहितका विज्ञापनहरू हेरेको थियो । ऊ अलि पर कुनामा गयो र ती फोटाहरू हालेर एउटा ट्विट गर्न थालिहाल्यो ।
‘चारथरी विभिन्न जातका मानिसले आफ्नो फरक नाता क्लेम गरेको रहस्यमयी र बेपत्ता युवक भर्खर काठमाडौं मोडेल अस्पतालमा फेला परेको छ ।’
उसलाई ट्विटरमा पछ्याउने एक लाखभन्दा धेरै ट्विटेहरूले यो खबर तुरुन्तै देखे । तीमध्ये धेरैले त रिट्विट पनि गर्न थाले । सुकेको जंगलमा लागेको डढेलोजसरी यो कुरा केही क्षणमै लाखौँ मानिससम्म पुग्यो ।
डाक्टर सरोजले सर्वेश्वरराज कोइरालाको नाम सुन्नासाथ उसको स्मृतिमा लागेको कुहिरोको पर्दा एकैपटक छ्यांगै भएर खुल्यो । पत्रिकामा केही दिनअघि छापिएको त्यो युवकको फोटो र हल्लाखल्ला उसले सम्झियो । उसले हतारहतार भन्यो,
‘रिल्याक्स सर्वेश्वरजी । ऊ हाम्रो केयरमा छ । तपाईं कृपया चौथो तल्लाको पोस्ट अपरेटिभ वार्डमा आउनुहोला ।’
डाक्टर धितालले फोन राख्यो र कौतूहल आँखाले आफूलाई हेरिरहेको इन्स्पेक्टर खड्कालाई भन्यो,
‘सर्वेश्वरराज कोइराला । यो युवक आफ्नो छोरा हो भन्दै छ । ऊ यहीँ आउँदै छ ।’
अब विनोद खड्कालाई पनि त्यस युवक आफूलाई किन परिचित लागेको भन्ने थाहा भइहाल्यो । उसले भन्यो,
‘चतुर्मुखी ब्रह्मा । सिट्….मैले अघि नै सम्झिनुपर्ने ।’
उनीहरू दुवै मौन भएर सोच्न थाले । एकैछिनमै स्याँस्याँ गर्दै सर्वेश्वरराज कोइराला आँधी छिरेकोजसरी वार्डमा छि-यो ।
‘खै मेरो छोरा ? कहाँ छ मेरो राजु ? मेरो छोरालाई तलमाथि भयो भने म यो अस्पताल बन्द बनाइदिन्छु । म को हुँ भन्ने कुरा तपाईंहरूलाई थाहा छैन । मलाई चिन्नुभएको छ ? सर्वेश्वरराज कोइराला हुँ म ।’
सर्वेश्वरराज कोइराला निकै पहुँच भएको धनाढ्य र प्रभावशाली मानिस हो भन्ने कसलाई थाहा थिएन र ? डाक्टर सरोजले त्यस युवकलाई राखिएको भित्री कोठातिर इसारा गर्नै आँटेको वेला इन्स्पेक्टर खड्काले उसलाई उछिन्यो र सर्वेश्वरराज कोइरालालाई कठोर स्वरमा भन्यो,
‘तपाईं गिरिजाप्रसादै कोइराला हुनुहोला । तर, अस्पतालको पोस्ट अपरेटिभ वार्डमा छु भन्ने कुरा हेक्का राख्नुस् ।’
सर्वेश्वरले हान्ने राँगाले जसरी विनोद खड्कालाई हे-यो । विनोद खड्काले पनि उसलाई त्यसै गरी हे-यो । ऊ अलि सनकी र आफ्नै पाराको मानिस थियो । उसकै ब्याचकाहरू एसपीसम्म हुन्जेल ऊ इन्स्पेक्टर मात्रै रहनुको प्रमुख कारण त्यही थियो । उसले आँखा नझिम्क्याइ सर्वेश्वरलाई हेरिरह्यो । यस्तो लाग्थ्यो मानौँ दुवै पहिले कसले झिम्क्याउँछ भनेर आँखाजुधाइ खेलिरहेका छन् । अन्ततः सर्वेश्वरले नै पहिले आँखा झिम्क्यायो । यसपटक उसले अलि भद्र, सानो तर गम्भीर स्वरमा भन्यो,
‘माफ गर्नुस् । आफ्नो एक्लो छोरो हप्तौँदेखि हराइरहेको हुनाले म आवेगमा आएँ । कृपया एउटा बाबुको मनोदशा बुझ्ने प्रयास गरिदिनुहोला । मलाई उससँग भेट्न दिनुस् ।’
‘एकैछिन हजुर, एकैछिन । जसलाई तपाईं आफ्नो छोरा भनेर क्लेम गरिरहनुभएको छ, अरू केही मानिसहरूले पनि उसलाई आफ्नो कोही भनेका थिए । र, उसलाई यहाँ निकै गम्भीर अवस्थामा ल्याइएको थियो । यो पुलिस केस हो ।’
सर्वेश्वरले बोल्न खोज्यो । पानीबाट झिकेर बगरमा लडेको माछाले जसरी दुईपटक मुख प्याकप्याक खोल्दै र बन्द गर्दै भन्यो,
‘पुलिस केस ? किन पुलिस केस ? के ग-यो मेरो राजुले ?’
‘उसले के ग-यो भन्ने कुरा त अहिले हामीलाई थाहा छैन । तर, उसलाई चाहिँ निर्घात कुटपिट गरिएको थियो । उसलाई समयमा यहाँ नल्याइपु-याएको भए र डाक्टर धितालले समयमै रिस्क लिएर अप्रेसन नगरेको भए सायद यतिवेलासम्म ऊ मरिसक्थ्यो ।’
सर्वेश्वरराज डाक्टर धितालतिर फर्कियो, हात जोडेर विनीत भावले भन्यो,
‘तपाईंको यो उपकार म सात जन्म तिर्न सक्दिनँ डाक्टर । मेरो राजुको अवस्था कस्तो छ ?’
‘ही सर्भाइभ्ड । तर, अझै बेहोस छ ।’
‘के म एकपटक टाढैबाट भए पनि उसलाई हेर्न सक्छु ?’
विनोद खड्कालाई दोमन भयो । उसको तालिमप्राप्त पुलिसिया मगजले यो सबै कुरामा केही न केही गडबड छ भनिरहेको थियो । एउटै मानिसको चारवटा फरक नाम र थर त हुनै सक्दैन । उसलाई आफ्नो भनेर दाबी गर्ने चारजनामध्ये तीनजना त गलत नै हुन् । के थाहा चारैजना नै गलत हुन् । सही भए एकजना मात्र सही हुन सक्थ्यो । त्यो को हो त ?
सर्वेश्वरले उसको मनोभाव बुझेझैँ भन्यो,
‘म तपाईंको अवस्था बुझ्न सक्छु । तर, एउटा बूढो बाबुलाई कृपा गरेँ भन्ने सोचेर मलाई एकपटक मात्र उसलाई हेर्न दिनुस् इन्स्पेक्टर ।’
टाढाबाट हेर्दैमा त के फरक पर्ला र भनेर विनोद खड्का पग्लिनै मात्र के आँटेथ्यो, ठूलो स्वरमा रुँदै कराउँदै त्यहाँ एउटी युवतीको प्रवेश भयो । ऊ अन्दाजी बीस–बाइस वर्षकी युवती थिई । उसले पहेँलो रङको कुर्ती र सेतो जिन्सको पाइन्ट लगाएकी थिई । कुमकुमसम्म कपाल काटेकी थिई । धेरै दिनदेखि रोएको जस्तो उसका आँखाका डिलहरू सुन्निएका थिए । अनुहारमा कुनै मेकअप थिएन । तैपनि, उसको अनुहारमा आभा थियो । उसका आँखा ठूलाठूला थिए । रङ गोरो । ऊ निकै सुन्दर थिई ।
‘मेरो जनक…..कहाँ हुनुहुन्छ उहाँ ? मैलै थाहा पाइसकेँ उहाँ यही अस्पतालमा हुनुहुन्छ रे ।’
उसले हातेब्यागबाट एउटा फोटो निकालेर तेस्र्याई । त्यो फोटो, भित्र अचेत लडिरहेको युवकको थियो ।
विनोद खड्काले उसलाई प्रश्न ग-यो,
‘तपाईं को हो ?’
‘कामिनी विष्ट । उहाँकी श्रीमती ।’

मात्र चार घन्टा

नयाँ पत्रिकाबाट,  धाराबाहिक आख्यान 'हराएको मनिस'को भाग १० सर्वेश्वरले ट्वाँ परेर आफ्नो अगाडि बसेर बुङबुङ चुरोटको धुँवा उडाइरहेको...