अघिल्लो ६ भागमा तपाईंले पढ्नुभयो :
काठमाण्डौका चार प्रमुख दैनिक पत्रिकामा एकैदिन एउटै युवकका विभिन्न चार फोटा र परिचयका साथ मानिस हराएको सूचना छापिन्छ । त्यसले बजारमा ठूलै तरंग ल्याउँछ । त्यस युवकलाई काठमाण्डौभन्दा निकै पर कुनै दुर्गम पहाडमा एउटा भरियाले अचेत र गम्भीर घाइते अवस्थामा फेला पारेर स्वास्थ्यचौकी पु-याउँछ, जहाँ उसको उपचार सम्भव हुँदैन ।
संयोगवश सिनेमा छायांकनका लागि हेलिकोप्टर लिएर ठाउँ हेर्न आएका केही कुइरेहरू फर्किन लागेको हुनाले त्यस युवकलाई हेलिकोप्टरमा हालेर काठमाण्डौ पठाइन्छ । डाक्टरले उसको शल्यक्रिया गरेर आन्तरिक रक्तस्राव रोकिदिन्छ । प्रहरीले त्यस युवकको एउटा फोटोसहित विवरण वितरण गर्छ । ऊ होसमा नआउँदै सर्वेश्वरराज कोइराला आफ्नो हराएको छोरा दाबी गर्न आइपुग्छ । त्यसै वेला कामिनी विष्ट नामक युवती पनि त्यो युवक आफ्नो पति हो भन्दै आइपुग्छे ।
अबको कथा:
विनोद खड्काले आफ्नो अघिल्तिर उभिएकी सुन्दरी युवतीलाई हे-यो । युवती आँखामा याचनाको भाव लिएर उसैलाई हेरिरहेकी थिई । उसले प्रश्न ग-यो,
‘तपाईं को हो ?’
‘कामिनी विष्ट । उहाँकी श्रीमती ।’
इन्स्पेक्टर खड्काले आफ्ना आँखा चिम्सा पारेर युवतीमा फोकस गर्दै भन्यो,
‘एक मिनेट, तपाईंले पत्रिकामा आफ्ना श्रीमान् हराइरहेको भन्ने आशयको विज्ञापन छपाउँदा त तपाईंको नाम छाया विष्ट थियो ।’
‘हो इन्स्पेक्टर साहब । मेरो खास नाम छाया हो । सरकारी कागजपत्र सबैमा त्यही नाम छ । तर, मलाई आफ्नो छाया भन्ने नाम मन पर्दैनथ्यो । त्यो कुरा उहाँलाई थाहा थियो । हाम्रो बिहेपछि उहाँले नै मायाले कामिनी भन्ने नाम दिनुभएको हो ।’
यति भन्दाभन्दै उसका ठुल्ठूला आँखाबाट मोतीका दानाजस्ता आँसुका केही थोपा टिलपिल गर्न थाले । उनीहरूको कुरा सुनिरहेको सर्वेश्वरराज कोइराला अचानक बम्क्यो,
‘ह्वाट् ननसेन्स ।’
अनि ऊ लम्किँदै कामिनी विष्टतिर आयो र कुर्लियो,
‘त्यो मेरो छोरा हो । राजेशराज कोइराला । ऊ तिम्रो श्रीमान् भए तिमी मेरी बुहारी हुनुप-यो । के म तिम्रो ससुरा हुँ ?’
कामिनीले उसको आँखामा आँखा भिडाएर भनी,
‘तपाईं को हो, म चिन्दिनँ । मलाई मतलब पनि छैन । तपाईं किन मेरो श्रीमान्लाई आफ्नो छोरा भनिरहनुभएको छ भन्ने मलाई थाहा छैन ।’
सर्वेश्वरले इन्स्पेक्टर बिनोदलाई हेर्दै भन्यो,
‘मलाई यो केटीको चालामाला ठीक लागिरहेको छैन इन्स्पेक्टर ।’
कामिनीले पनि उसलाई हेर्दै भनी,
‘अनि मलाई पनि यो मान्छेले कुनै ठूलै जाल बुनिरहेको जस्तो लागिरहेको छ ।’
त्यही वेला एउटा अन्दाजी ४५ वर्षको एउटा मानिस चारैतिर हेर्दै त्यहाँ आइपुग्यो । उसले डाक्टर धिताललाई सोध्यो,
‘मैले फेसबुकमा देखेको । मेरो भतिजा यहाँ अस्पतालमा छ रे ! के भएको छ उसलाई ? कहाँ छ मेरो प्रेम ?’
इन्स्पेक्टरले त्यो मानिसलाई सोध्यो,
‘तपाईं को हो ?’
उसले आफ्नो फोनमा फेसबुकमा कसैले हालेको एउटा पोस्ट देखाउँदै भन्यो,
‘रामकृष्ण महर्जन । प्रेमको काका । यी हेर्नुस् यही हो मेरो प्रेम । कति दिनदेखि खोजिरहेको थिएँ, म उसलाई ।’
उसका आँखा रसाए, थर्थर कामेको स्वरमा उसले भन्यो,
‘दाइले मर्ने वेला उसलाई अबदेखि यो तेरै छोरा हो भनेर मेरो जिम्मा लगाएर गएको थियो । आठ वर्षको थियो प्रेम । मैले उसैका लागि भनेर बिहे गरिनँ । प्रेम हराएको वेलादेखि पिरले मेरो त आधा मासु भइसकेको थियो । उसलाई केही भयो भने मैले माथि गएर दाइलाई के मुख देखाउँथेँ होला ? ऊ ठीक छ नि ?’
आशालु आँखाले आफूलाई हेरिरहेको रामकृष्णलाई डाक्टर धितालले भन्यो,
‘होस नआउन्जेल केही भन्न सकिन्न महर्जनजी ।’
रामकृष्णले आँखा चिम्ल्यो र हात जोडेर प्रार्थना ग-यो,
‘मेरो प्रेमको रक्षा गर भीमसेन महाराज ।’
एकैछिन कोही केही बोल्नै सकेन । अनि त्यही वेला प्रवेश भयो, यो रहस्यमयी घटनाको चौथो र महत्वपूर्ण पात्रको । विमलसिंह परियार, अन्दाजी ३० वर्षको, हृष्टपुष्ट शरीर भएको युवक । उसको छाती नाङ्लो जस्तो फैलिएको र उचालिएको थियो । उसले आधा बाहुले टिसर्ट लगाएको थियो । त्यसको पनि मोहोता दुईपटक जति दोब्य्राएर माथितिर सारेको थियो । उसका पाखुराका पाँसुला भुक्लुक्क परेर निस्केका थिए, जसमा एकापट्टि महादेवको र अर्कोपट्टि गोमन सर्पको ट्याटु थियो । ऊ नियमित व्यायाम र शारीरिक सुगठनको अम्मली थियो भन्ने कुरा हेर्दै थाहा हुन्थ्यो । उसको कपाल ठुटो पारेर काटिएको थियो ।
कन्चटतिर जिरो नम्बरको मेसिन लगाएर ताछेको हुनुपर्छ । त्यहाँ अंग्रेजीको ‘जेड’ अक्षरजस्तो देखिने गरी धर्का बनाइएको थियो । उसले एकापट्टि कानको लोतीमा सुनको ठूलो मुन्द्रा लगाएको थियो । उसको चाल पनि एकदमै आत्मविश्वासी थियो । करिडरको पारिबाट ऊ नजिक आउँदासम्ममा इन्स्पेक्टर विनोदले यी सबै कुरा अध्ययन गर्न भ्याइसकेको थियो । विमलसिंह परियार नजिक आइपुग्यो । सबै उसलाई एक टक हेरिरहेका थिए । उसले पनि पालैपालो सबैसँग आँखा जुधायो । अन्त्यमा विनोद खड्कालाई हेरेर ऊ बोल्यो,
‘मेरो भाइलाई हेर्न आएको म ।’
सबै एकपटक आश्चर्यचकित भए । हेर्दा त्यस्तो अजंगको विमलसिंहको स्वर कसैले आँखा चिम्लेर सुन्ने हो भने पक्कै कुनै स्वास्नीमानिस बोलिरहेको भन्ने ठान्थ्यो ।
‘तपाईंको भाइ ? को हो तपाईं ?’ इन्स्पेक्टर विनोदले सोध्यो ।
विमलसिंह परियारले मुखले केही बोलेन । आफ्नो खल्तीबाट एउटा दोबारेर राखेको पत्रिकाको पाना निकाल्यो र त्यसलाई फिँजाएर सबैको आँखा अगाडि देखायो । त्यो केही दिनअघि पत्रिकामा उसले छपाएको विज्ञापन थियो ।
भाइ कमल । जहाँ भए पनि तुरुन्तै घर आऊ ।
तिमी गएको दिनदेखि म बिरामी छु ।
२८ वर्षको गहुँगोरो वर्णको मेरो भाइ कमलसिंह परियार पछिल्लो सात दिनदेखि हराइरहेको हुनाले निजका बारेमा कुनै सूचना र जानकारी हुने मानिसले तलको फोन नम्बर वा नजिकको प्रहरीमा खबर गरिदिनुभए अनुगृहित हुनेछु ।
–विमलसिंह परियार
फोन नम्बर ९८……..
इन्स्पेक्टर विनोद बोल्न थाल्यो,
‘इन्ट्रेस्टिङ । भेरी भेरी इन्ट्रेस्टिङ । यहाँ एकजना अचेत बिरामी ल्याइएको छ । डाक्टर धिताल भन्नुहुन्छ, अप्रेसन सफल भएको छ, तर होसमा नआउन्जेल केही भन्न सकिन्न । अनि यहाँ पालैपालो चारजना उसका आफन्त आइपुग्नुहुन्छ । त्यो मानिस कसैको छोरा हो, कसैको श्रीमान् हो, कसैको भतिजा हो र कसैको भाइ हो । तर, चारैजनाको एकअर्कासँग कुनै नाता छैन । त्यसमाथि एकजना कोइराला, एकजना महर्जन, एकजना विष्ट र एकजना परियार । ’
चारैजनाले एकअर्कालाई आग्नेय आँखाले हेरे । विनोद खड्का फेरि बोल्न थाल्यो, ‘यसको मतलब तपाईंहरू चारजनामध्ये कोही एक मात्र सही हुनुहुन्छ । बाँकी तीन गलत । अथवा चारैजना गलत हुन सक्नुहुन्छ । तर, चारैजना सही हुन सक्नुहुन्न । तपाईंहरू किन र केका लागि यो सब गरिरहनुभएको छ, मलाई अहिले थाहा छैन । तर, त्यो थाहा नपाउन्जेल त्यस युवकको कस्टडी कसैलाई पनि दिन सकिन्न । यति कुरा राम्ररी बुझ्नुभएहुन्छ ।’
यतिन्जेल केही नबोलिरहेको सर्वेश्वरराज उत्तेजित भएर बोल्न थाल्यो,
‘यो अति भइसक्यो । तपाईंहरूले मलाई चिन्नुभएको छैन । हेर्नुस्, अब म के गर्छु ?’
अनि उसले आफ्नो मोबाइल फोन निकालेर एउटा नम्बर डायल ग-यो । उताबाट कसैले फोन उठाएपछि इन्स्पेक्टर खड्कालाई हेर्दै ऊ बोल्न थाल्यो,
‘आइजिपी साहब । म सर्वेश्वरराज कोइराला …, जय नेपाल हजुर…।’
विमलसिंह परियार कुर्लन थाल्यो,
‘हेरौँ कसको बाउको तागत रहेछ, मेरो भाइलाई केही गर्ने । मेरो जिमखानाका पचासजना भाइ अहिले पनि यहीँ तल बसिरहेका छन् । प-यो भने म अरू दुई सयजनालाई ‘युँ’ बोलाउन सक्छु ‘युँ’ ।”
उसले चुट्की बजायो ।
रामकृष्ण महर्जन पनि पाखुरा सुर्कंदै बोल्न थाल्यो,
‘हामी पनि यही काठमाण्डौको रैथाने नेवारहरू हो । हाम्रो पनि मान्छे छ । निहुँ नै खोज्ने हो भने हामी पनि गुठी, गुठियार सबै उठाएर ल्याउन सक्छौँ । के भन्ठान्या हामीलाई ?’
कामिनी विष्ट केही नबोली रुन थाली । रुँदा ऊ अझ मायालाग्दी देखिई । उसले विनोदको हात च्याप्प समाती र सुँक्कसुँक्क गर्दै भन्न थाली,
‘मेरो त न घर न माइती, कोही पनि छैन । मेरो जे भने पनि, जो भने पनि यो संसारमा उहाँबाहेक अरू कोही छैन । मेरो सर्वस्व नै उहाँ हो । केही गरी उहाँलाई केही भयो वा कसैले मबाट खोसेर लग्यो भने मैले त झुन्डेर मर्नेबाहेक अरू केही उपाय बाँकी रहँदैन इन्स्पेक्टर साहब । बिन्ती, मेरो मद्दत गर्नुहोस् । यहाँ कुनै ठूलो खेल हुँदै छ । मेरो सोझोसाझो श्रीमान्ले कसैको केही बिगार गर्नुभएको छैन भन्ने कुरामा मलाई पूरा विश्वास छ । यति ठूलो षड्यन्त्रको म एक्लैले प्रतिकार गर्न सक्दिनँ ।’
विनोद खड्का जतिसुकै कठोर प्रहरी भए पनि आखिर ऊ मानिस नै थियो । त्यति राम्री युवतीको ठुल्ठूला आँखाबाट बगेका आँसुले उसलाई पगाल्नु कुनै ठूलो कुरा भएन । त्यसैले त्यतिवेला उसको सहानुभूति सबैभन्दा बढी कामिनी विष्टप्रति नै थियो । तर पनि ऊ उसलाई पूर्ण रूपले सही नै हो भन्न सक्दैनथ्यो । उसले कामिनीको हातबाट आफ्नो हात छुट्यायो र भन्यो,
‘सत्य के हो, झूटो के हो भन्ने कुरा कुनै न कुनै वेला अघि आइहाल्छ । तपाईं साँचो हुनुहुन्छ भने कुनै चिन्ता गर्नुपर्दैन । म कसैलाई पनि अन्याय हुन दिन्नँ । मेरो काम नै त्यही हो । मेरो पेसाको धर्मबाट म डेग चल्नेछैन ।’
कामिनीको अनुहारमा अलिकति आश्वस्त भएको भाव आयो । त्यही वेला सर्वेश्वरराजले फोन विनोदतिर बढाउँदै भन्यो,
‘तपाईंको आइजीपीसाबसँग कुरा गर्नुस् ।’
विनोदले फोन लियो र तनक्क तन्केर भन्यो,
‘जय नेपाल साब ।’
अनि उसले आइजीपीसाबलाई त्यहाँको सबै वस्तुस्थितिबारे जाहेर ग-यो । आइजीपीसाबले गम्भीर भएर सबै कुरा सुन्यो । अनि उसले बिनोदलाई आदेश दियो,
‘तपाईं आफ्नो हिसाबले जे गर्नुपर्ने हो गर्नुस् । एउटा कुरा ध्यानमा राख्नू । सर्वेश्वरराज कोइराला चानचुने मानिस हैन । त्यसैले बी केयरफुल । तर, त्यसको मतलब देशको कानुन उसका लागि फरक हुँदैन ।’
विनोदले सबैलाई हेरेर भन्यो,
‘यहाँ प्रहरीको पहरा हुनेछ । उसलाई होस आएर खास कुरो थाहा नहुन्जेल तपाईंहरूमध्ये कसैले पनि त्यस युवकलाई हेर्न वा भेट्न पाउँदैन । त्यतिन्जेलमा बरु मलाई सहयोग गर्नुस् । म पालैपालो तपाईंहरूसँग डिटेलमा कुरा गर्न चाहन्छु ।’
उसले डाक्टर धिताललाई सोध्यो,
‘कुराकानी गर्न एउटा कोठा दिन सक्नुहुन्छ डाक्टरसाब ?’
डाक्टर धितालले खुसीखुसी आफ्नो अफिस उपलब्ध गरायो । विनोदले सबैभन्दा पहिले सर्वेश्वरराजलाई नै बोलायो ।
‘मलाई तपार्इं आफ्नो छोराको बारे सबै कुरा बताउनुस् । ऊ कसरी, कहिले र किन हरायो ?’
सर्वेश्वरराज आफ्नो छोरा राजेशराज कोइरालाबारे बताउन थाल्यो ।
क्रमशः
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment