Monday, September 3, 2018

सक्किगोन्त (फाफुरा २६)

यो पालि पानी धेरै पर्‍यो । फाफुराको निन्द्रा पुगेको छैन । किनभने उसको आरामगृह रत्नपार्कका घाँसहरु सुक्नै पाउँदैनन् । बीचबीचमा कुनबेला घाम लाग्ला र टोपीले मुख छोपेर लमतन्न परौंला भनेर मौका कुर्नुपर्छ । केही दिन अघि त्यसै गरी पाएको अमूल्य समयमा फाफुरा निदाउन मात्र लागेको थियो, कसैले छेउमै बसेर ठूलो स्वरमा गीत गाउन थाल्यो ।
फाफुरा आलोचना सुनेको कम्निस्जस्तो आवेगमा आउनु कुनै नौलो कुरो भएन । उसले त्यो मानिसलाई हकार्‍यो,
‘ए भाइ । गीतै गाउने भए नेपाल आइडल वा भ्वाइस अफ नेपालमा जाऊ न । किन यहाँ बसेर कराइरहेको ? को हौ तिमी ?’
उसले अचम्म मान्दै सोध्यो,
‘तिमीले मलाई चिनेनौ ? म झिल्के हूँ ।’
‘को झिल्के ?’
उसले गर्वले छाति फुलाउँदै भन्यो,
‘यस्सै राम्रो, उस्सै राम्रो ।’
फाफुराले अचानक आफू सानो हुनेबेलादेखि सुनेको एउटा गीत झलक्क सम्झ्यो । उसले फेरि सोध्यो,
‘तिमी त्यही झिल्के नेपाली हौ ? यस्सै राम्रो उस्सै राम्रो ?’
झिल्के बत्तीसै दाँत देखाएर हाँस्यो र भन्यो,
‘हो, बल्ल तिमीले मलाई चिन्यौ । हेर, लेख्ने मानिसले जुनसुकै भावमा लेखेको भए पनि उसले नजानिंदो पारामा हामी समस्त नेपालीहरुको पहिचान यो गाीतको एकै लाइनमा लेखिदिएको छ । हामी के हौं, को हांै र किन यस्ता हौं भन्ने कुराको त्योभन्दा सटिक वयान लाखौं शव्द खर्च गरेर पनि लेख्न सकिन्न । केही शव्दमै एउटा ठूलो ग्रन्थ लेखिएको छ । त्यो पनि अकाट्य र सर्वमान्य ।’
फाफुरालाई उसको कुरा सुन्नासाथ लाग्यो, पहिले त उसले त्यस गीतको यो मूलमर्म नै बुझेको रहेनछ । तर खास झिल्केले त्यति भन्नासाथ उसको उर्वर मगजले गूढज्ञान प्राप्त गरिहाल्यो । अनि नियालेर आफ्नो वरिपरि हेर्दा, अरुलाई र आफैलाई पनि छिन्द्रान्वेसी आँखाले हेरेर नापतौल गर्दा उसले त्यस गीतको खास अर्थ बुझ्न थाल्यो ।
‘म त झिल्के यस्सै राम्रो
यस्सै राम्रो उस्सै राम्रो
नेपाली हुनाले ।’
निर्विवाद, निर्विकल्प, अकाट्य र सत्य, यस्सै राम्रो उस्सै राम्रो । बाँकी कुनै कुरा, संशय, विवाद, आत्ममूल्यांकन, परिमार्जन र सुधारको कुनै ठाउँ पनि छैन, आवश्यकता पनि छैन । म त झिल्के यस्सै राम्रो । अझ यस्सैले मात्र नपुगेर उस्सै पनि थपिएको छ । यस्सै र उस्सै पनि आधा स थपेर झनै जोडदार बनाइएको छ । म त झिल्के, दायाँबायाँ, भित्र बाहिर, माथि तल, चारैतिर, दशै दिशाबाट राम्रो । नेपाली हुनाले । यति भइसकेपछि हामीलाई अरु केही पनि चाहिएन । केही चाहिने त संसारका अरु मानिसहरुलाई हो । विकासले नपुग्ने विश्वका अरु नागरिकहरुलाई होला । किनभने तिनीहरु झिल्के हैनन् । तिनीहरु न यस्सै राम्रो न उस्सै राम्रो । त्यसैले राम्रो हुने प्रयास गरिरहन्छन् । हामीलाई त बालै फरर नि । हामी त जन्मजात यस्सै राम्रो, उस्सै राम्रो नेपाली हुनाले ।
फाफुराले झिल्केलाई धन्यवाद दियो । झिल्के दंग परेर अथ्र्याउन थाल्यो,
‘हेर, हामी खुसी छौं । किनभने हामी यथास्थितिवादी हौं । हामी सन्तुष्ट छौं । किनभने हामी झिल्के हौं । झिल्के यस्सै राम्रो उस्सै राम्रो । नरकपालिकाले फोहोर उठाउन सकेको छैन । बाटाभरि असरल्ल छरिएका छन् गन्हाउने र कुहिएका फोहोरहरु । हामी त्यसैलाई कुल्चँदै हिंड्छाैं । घरमा बटुलका फोहोरहरु रात परेपछि गाडी वा स्कुटरमा हालेर लैजान्छौं । बाटोमा पल्याकपुलुक हेरेर सडकको छेउमा फुत्त मिल्काउँछौं । अनि घर आएर सगर्व ट्विट गर्दै सरकारलाई गाली गर्छौं । जसरी सरकारलाई नागरिक प्रति आफ्नो कत्र्तव्यको मतलब छैन, त्यसरी नै नागरिकको रुपमा आफ्नो कत्र्तव्यसंग हामीलाई पनि मतलब छैन । किन होस् ? म त झिल्के यस्सै राम्रो ।’
फाफुरा झिल्केसंग अझ बढी सहमत भयो । हुन पनि हो । हामी महामारी फैलन सक्छ भन्ने चेतावनी सुन्छौं तर रत्तिभर पनि चिन्तित हुन्नौं । महामारी र रोगव्याधसंग हामीलाई के डर ? वीर गोर्खाली पो हौं त हामी । हामी नेपालीको रोगप्रतिरोधात्मक क्षमता कति बलियो छ, त्यो हामीलाई नै थाहा छ । कुइरे पो आउँ र जण्डिसजस्ता सानातिना कुराले थलिन्छ । हामी त हैजासम्म पचाउने शूरवीर हौं ।’
ऊ पनि गुन्गुनाउन थाल्यो,
‘म त झिल्के यस्सै राम्रो, यस्सै राम्रो उस्सै राम्रो ।’
झिल्केले उसको गीत सुनेर भन्यो,
वाह भाइ, तिमी त भीम निरौलाभन्दा पनि राम्रो गाउँदारहेछौ ।’
फाफुरा दंग पर्दै सोच्न थाल्यो । सत्ता र शक्तिमा हुनेहरु सरकारी ढुकुटी रित्याएर आफ्नो र आफ्नो आसेपासेहरुको वरत्रपरत्र सुधारिरहेका छन् । ठेकेदारहरु काम समयमा नगरी आरामले सुतिरहेका छन् । तोकिएको समयभन्दा पाँचसात वर्ष ढिला गरेर झारातिराइ सकिएका निर्माणहरु हप्तादश दिनमै भत्किए बिग्रिए पनि कसैलाई बाल छैन । चुनाव जितेकाहरु गाँजा खाएर त्यसको सुरमा घोषणापत्रमा लेखेको र भाषणमा खोकेको कुराहरु बिर्सेर मैमत्त छाडा साँढेहरुजसरी घुमिरहेका छन् । कृतिम अभाव र महँगी बढ्दो छ । हरेक कुरा सिण्डिकेटको चंगुलमा छ । न्याय, शिक्षा र स्वास्थ्यजस्ता कुराहरु आम र गरीव नागरिकहरुको पहुँचभन्दा निकै पर पुगेका छन् । हरियाली मासिएको छ, पर्यायवरण बिग्रेको छ, खोलानाला पुरिएका छन्, धान फल्ने खेतका धापहरुमाथि गगनचुम्बी चिहानहरु उम्रिएका छन्, बाटाघाटाहरु हिंड्न नसक्ने भएका छन् । तर बिमस्टेकका विदेशीहरु हिंड्ने बाटा चाहिँ रातारात दुईचार दिन टिक्ने गरी टालटुल पारिएका छन् । कुरुप बनाएर लफण्ड्याइएका स्थानहरुलाई फ्लेक्सले ढाकेर क्षणिक दृष्टिभ्रम सिर्जना गर्न खोजिएको छ । ती कुराहरु गौण हुन्छन् । 
किनभने, म त झिल्के यस्सै राम्रो उस्सै राम्रो ।
झिल्के फेरि दार्शनिक पारामा भन्न थाल्यो,
‘यस संसारमा सबै समस्याको जड असन्तुष्टि हो । त्यसैले झिल्केहरुले सन्तुष्ट रहन सिकेका छन् । हामी कति अत्यासलाग्दो समयबाट हिंडिरहेका छौं । कोही कसैप्रति उत्तरदायी वा जवाफदेही छैन । कुनै कुरा नियन्त्रणमा छैन । कसैले कसैलाई टेर्न पर्दैन । ठगी भयो भनेर तरकारी बजार अनुगमनमा जाने सरकारी टोलीलाई व्यापारीहरुले थुनिदिन्छन् । ठग्न पाइएन भनेर हाकाहाकी यातनायात व्यवसायीले हडताल गरिदिन्छन् । चोर्न पाइएन भनेर इन्धन व्यवसायीहरुले सब कुरा ठप्प पारिदिन्छन् । त्यो सबै हेर्ने, सोच्ने वा सुधार्ने हामीलाई के आवश्यकता छ र । हामी त यस्सै राम्रो उस्सै राम्रो ।’ 
पाफुरा उसको दिव्य विचारबाट झनै प्रभावित भयो । हो नि त, दिनदिनै भनेजसो बालिका तथा महिलाहरु यौनपिपाशुका सिकार भइरहेकाछन् । हाम्रो समवेदनालाई त्यसले खासै उद्वेलित बनाउँदैन । हामी फेसबुक र ट्विटरमा ‘बलात्कारीलाई फाँसी दे’ भनेर एउटा पोष्ट गरेपछि मान्छे हुनुको आफ्नोे दायित्व पूरा भयो भन्ठान्छौं । त्यो आक्रोश पोष्ट गरेको पन्ध्रबीस सेकेण्डमै हाम्रो अर्को पोष्ट हुन्छ, ‘छक्का.......’। कतै क्रिकेट चलिरहेको हुन्छ । हाम्रो समवेदना त्यति नै क्षणिक हुन्छ । कसैले कतै सडकमा नागरिक भेला आह्वान गरेको छ भने हामी किन जानु त्यहाँ ? फेसबुकमा लेखिसक्यौं त । अरे बाबा, ट्विट समेत गरिसक्यौं । अरु के गर्नु अब ? उल्टै बरु तिनलाई परिचालित भीड भन्न बेर लगाउन्नौं हामी । पीडित हाम्रो नातागोता वा परिचित नभएसम्म हामीलाई त्यसले पोल्दैन । किन बिथोल्दैन त अपरिचित नै भए पनि अर्को एउटा मानिसको पीडाले हामीलाई ? हाम्रो सोचमा वा समवेदना जगाउने ग्रन्थीमा के खराबी छ भनेर हामी किन घोत्लिनुप¥यो ? त्यसको आवश्यकता नै छैन । किनकि म त झिल्के यस्सै राम्रो, उस्सै राम्रो ।
झिल्के फाफुरालाई भन्न थाल्यो,
‘संसार कहाँ पुगिसक्यो, हामी कहाँ छौं ? यस्ता कुराले हामीलाई किन अत्यास लाग्नु र ? हामीले आत्ममूल्याङ्कन गर्ने, कतै बाटो बिराइरहेका त छैनौं भनेर सोच्ने के आवश्यकता छ र ? सुध्रिने, सपारिने वा परिमार्जन हुने भनेको त खोट भएको कुरालाई पो लागू हुन्छ । हामी त खोटरहित, सबै कुरा जान्नेबुझ्ने महान प्रजाति हौं । हामीले आफूलाई चिनिसक्यौं । हामीले त पहिले नै मानिसकेका छौं । हामीलाई थाहा छ, म त झिल्के यस्सै राम्रो । हामी जहाँ छौं, जे छौं, जसरी छौं र हामी जस्ता छौं, त्यसैलाई नै सबैभन्दा अन्तिम सत्य मानेर ढुक्क भैसकेका छौं हामी । अब बाँकी के नै छ र प्रमाणित गर्नु । त्यसैले आऊ एकपटक फेरि हामी दुई भाइ मिलेर हाम्रो पहिचानको यो गीत गाऊँ ।’
फाफुरा उसको स्वरमा स्वर मिलाएर छाति फुलाएर गाउन थाल्यो । एकैछिनमा उनीहरुसंग वरिपरिका सारा भीड पनि गाउन थाले । रत्नपार्कबाट सुरु भएको त्यो कोरस जहाँजहाँसम्म पुग्यो, त्यहाँका सारा झिल्केहरु पनि गगनभेदी स्वरमा गाउन थाले,
‘म त झिल्के यस्सै राम्रो
यस्सै राम्रो उस्सै राम्रो नेपाली हुनाले ।’ 
यस्सै मात्र होइन उस्सै पनि राम्रो । बात खलास् । ‘एण्ड अफ डिस्कसन’। 
सक्किगोन्त ।

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...