Sunday, August 5, 2018

कुइरेको जय होस् (हराएको मानिस भाग-४)

अन्ततः भरिया काइँलाले आफूभन्दा गह्रुँगो र अचेत मानिसलाई डोकोमा बोकेर त्यत्रो ठाडो र अजंगको पहाड चढ्यो। माथि पुग्दासम्म उसको फोक्सो त खलाँतीजस्तो भइसकेको थियो। उसका पिँडुला फत्रक्क भएर गलिसकेका थिए। माथि एउटा झ्याम्म परेको रुख थियो, जहाँ ऊ सधैँ सुस्ताउन रोकिन्थ्यो। तर, त्यस दिन उसले त्यो बिसौनी देखेन।
त्यसैको छेउमा कटुसको बोटको मुनि मूल फुटेको थियो। ऊ सधैँ त्यसको अमृतजस्तो मीठो र स्वादिलो पानी पिएर आफ्नो थकाइ माथ्र्यो। त्यस दिन त झन् उसलाई बेस्मारी तिर्खा लागेको थियो। तर, उसले त्यसको पनि वास्ता गरेन। किनभने उसलाई थाहा थियो, उसको डोकोमा भएको अचेत युवकको सास कुनै पनि वेला रोकिन सक्छ।
बस्ती सुरु भइसकेको थियो । फाट्टफुट्ट घरहरू देखिन थालेका थिए । केही मानिस भरिया काइँलालाई देखेर जिल्ल परे । केही घन्टाअघि उनीहरूले उसलाई डोकाभरि सामान बोकेर गएको देखेका थिए । भोलिपल्ट साँझतिर मात्र फर्कनुपर्ने काइँला फर्केको थियो । अनि उसको डोकामा त मानिस पो थियो ।
‘कसलाई बोकेर ल्याइस् ए काइँलो ?’
एकजना बूढा मान्छे उसलाई हेरेर कराए । काइँला रोकिएन तर उसले स्याँस्याँ गर्दै भन्यो, ‘खै, को हो काका ? तल खोल्सामा भेटेँ । जिम्दै छ जस्तो लागेर ल्याएको । स्वास्थ्य चौकी पु-याउन पाए बाँच्ला कि भनेर ।’
उत्सुक भएर बूढा मान्छे पनि उसको पछि लाग्यो । हेर्दाहेर्दै केही बेरमै गाउँका थुप्रै मानिस काइँलाको पछिपछि लागे । गुनगुन गदै, हेर्दाहेर्दै उसको पछाडि सानोतिनो जुलुस नै बन्यो । भरिया स्वास्थ्य चौकीमा पुग्यो । उसले डोको बिसायो । भित्रतिर हेर्दै करायो, ‘डाउडर साब, ए डाउडर साब ।’
हुन त त्यो दुर्गम गाउँको चौकीमा डाक्टर हुँदैनथ्यो । हेल्थ असिस्टेन्ट हुथ्यो । तर, पनि सेतो कोट लगाउने, रक्तचाप नाप्ने, स्टेथेस्कोप झुन्ड्याउने, सानोतिनो चिरफार र चोटपटकको ओखतीमुलो गर्ने मोतीप्रसाद धौभडेल सारा गाउँलेका लागि डाउडर नै थियो । हल्लाखल्ला सुनेर ऊ बाहिर निस्क्यो । काइँला अरू गाउँलेको सहयोगले डोकाबाट घाइते युवकलाई झिकेर सुताउँदै थियो । धौभडेलको आँखा त्यस अचेत युवकमा प-यो ।
काइँलाले भन्यो, ‘खोलाँ लडिराथ्यो डाउडर साब । एस्सो हेर्दा सास फेरिरहेको देखेर यहाँ ल्याइद्या । सहरतिरा मुन्से जस्तो छ ।’
धौभडेलका अनुभवी र अभ्यस्त आँखाले हेर्नासाथै त्यस युवकको अवस्था एकदमै चिन्ताजनक छ भन्ने बुझिहाल्यो । ऊ हतारिएको स्वरमा बोल्यो, ‘भित्र ल्याऊ भित्र ।’
अनि ऊ हतारिँदै भित्र लाग्यो । गाउँलेहरूले युवकलाई झ्याल्टुङ पार्दै उचालेर भित्र लगे । भित्र सानो कोठाको सानो कुनामा भएको एउटा सानै बेडमा उसलाई सुताए । अटाई नअटाई अरू गाउँले पनि भित्र छिरिसकेका थिए । सबै उत्सुक थिए । धौभडेलले युवकको अवलोकन गर्दै अरूहरूलाई भन्यो, ‘यहाँ भीड नगर्नुहोला । कृपया तपाईंहरू सबैजना बाहिर गइदिनुस् त ।’
अनि ऊ युवकको जाँच गर्न थाल्यो ।
गाउँलेहरू बाहिर गए । उनीहरू काइँलालाई प्रश्नहरू गर्न थाले । काइँलाले बारम्बार एउटै उत्तर दिइरह्यो । अब गाउँलेहरू आफैँ गुनगुन गर्न र लख काट्न थाले ।
‘हाम्रा तिरा त कोइ होइन होला नि ?’
‘काँ हुनु हाम्रा तिरा ? लुगाफाटो हेर्दै सहरतिरा जस्तो छ ।’
‘सहरतिरा ठिटो काँट यो अनकन्टाराँ आइपुगेछ त ?’
‘खै यता त कुइरे हिँड्ने बाटा नि छैनन् ।
किन आएछ ?’
‘कालले कुत्कुत्याएर काँकाँ पुराम्छ मुन्सेलाई ?’
‘कसको छोरो होला, घराँ कति पिर
गरिरा होलान् ।’
‘बाँच्छ कि बाँच्दैन कुन्नि ?’
‘नमरोस् बरा, यस्तो लाउँलाउँ खाउँखाउँ भन्ने उमेर देखिन्छ ।’
केही बेरमा गम्भीर मुद्रामा धौभडेल बाहिर निस्क्यो । गाउँलेहरूको गुनगुन बिस्तारै मत्थर हुँदै गएर सबै शान्त भए । उनीहरू आँखामा प्रश्नवाचक भाव लिएर धौभडेललाई हेर्न थाले । एउटा बूढाले सोध्यो, ‘के भो डाउडर साब ?’
‘कसैले बेस्मारी मारपिट गरेको हुनुपर्छ बिचरालाई । चोटपटक नलागेको कुनै अंग नै छैन । टाउकोमा तीन ठाउँमा त टाँका लगाइदिएँ काका । बाहिर देखिएका जति घाउ पनि सफा गरिदिएको छु । तर, उसको हात गोडा र करङ ठाउँठाउँमा भाँचिएका हुन सक्छन् । हुनेजति पट्टी गरिदिएँ । तर, भित्री चोटपटक पनि लागेको छ । रगत पनि निकै बगेको छ । भित्रको रक्तस्राव झनै डरमर्दो हुन्छ । यहाँ हेर्न सकिँदैन । उसको यहाँ अरू उपचार हुन सक्दैन काका । अवस्था एकदमै नाजुक छ । अहिलेसम्म सास त चलिरहेको छ । तर, कुनै पनि वेला केही पनि हुन सक्छ । अलि ठूलो अस्पतालमा पु¥याउन सके कुन्नि, नत्र त…।’
धौभडेलले बाँकी शब्दहरू त्यसै छोडिदियो ।
उसले काका भनेको बूढा मान्छे सोचमग्न भएर बोल्यो, ‘याँट त मोटर बाटो भेट्नै आठ–नौ घन्टा लाग्छ । कसरी पु-याउनु ठूलो अस्पताल ?’
सबै मौन भए । त्यसैवेला अचानक अलि पर कतैबाट भटभट भटभट गरेको आवाज आयो । सबैको ध्यान त्यता गयो । एउटा गाउँले उत्साहित भएर करायो, ‘चिलगाडी ।’
अर्कोले पनि आँखा नचाउँदै भन्यो, ‘हो त । त्याँ माथि घोप्टेडाँडाँ चिलगाडी आथ्यो । कुइरेहरू आका थे नि के–के जाति खिच्न ।’
काका पनि उत्तेजित भयो, ‘हो त । तिनैलाई लिन आको हो । जान लाका होलान् ।’
अनि उसले काइँलालाई भन्यो, ‘दुगुर काइँला दुगुर । तिनेरलाई रोक् त गएर । हामी यो मुन्सेलाई ल्याम्दै गर्छम् ।’
काइँलालाई थाहा थियो घोप्टे डाँडो त त्यहीँ नजीकै छ । कस्सिएर कुद्यो भने ऊ चिलगाडी उड्नुअघि माथि पुग्न सक्ने सम्भावना छ । ऊ फेरि कुद्न थाल्यो । अरू चारजना बलियाबांगा गाउँले धौभडेलसँग भित्र गए । उसले त्यस युवकलाई स्ट्रेचरमा हालिदियो । र भन्यो, ‘भित्र रगत बगेको हुन सक्छ । सकेसम्म धेरै नहल्लाई लग्नुहोला है ।’
बलिया गाउँलेहरू उसलाई बोकेर माथितिर लागे । बाटो साँघुरो थियो । ठाडो पनि थियो । धौभडेलले भनेजस्तै सकेसम्म सावधानीका साथ उनीहरू बिस्तारै माथितिर उक्लिन थाले । काइँलाचाहिँ उहिल्यै मोड काटेर हराइसकेको थियो ।
संसार पनि बडो अचम्मको छ । यो थरिथरी मान्छेहरू मिलेर बनेको छ । एकातिर ती मानिस थिए, जसले पक्कै त्यस युवकलाई चिनेका जानेका थिए होलान् । त्यसैले ती मानिसले उसको ज्यान लिने नियतले त्यसरी कुटपिट गरेको हुनुपर्छ । अनि अर्कोतिर यो गाउँका मानिस । एउटा यस्तो मान्छेको ज्यान बचाउन हरसम्भव प्रयत्न गरिरहेका थिए, जसलाई उनीहरूले चिनेका पनि छैनन् । देउता पनि, राक्षस पनि हामी मानिसकै रूपमा, हाम्रै संसारमा, हाम्रै वरिपरि त घुम्दा रहेछन् नि । कसले कुन वेला, कहाँ र कसलाई भेट्छ भन्ने मात्र आ–आफ्नो भाग्यको कुरो हुँदो रहेछ ।
घोप्टेडाँडामा बसेको त्यो एयरबस हेलिकोप्टर थियो । त्यसको थाप्लोमा भएको रोटर फनफनी घुमेर तीव्र भइरहेको थियो । पाइलटले ‘इन्जिन अन’ गरेको दुई मिनेट भइसकेको थियो । उसले एकपटक ‘हाइड्रोलिक सिस्टम’ र इन्जिनको तापक्रमलगायत अरू सबै कुरा ठीक छ कि छैन भनेर पक्का ग-यो । अब ‘पावर’ ६० प्रतिशतबाट बिस्तारै बढ्दै थियो । भित्रपट्टि तीनजना ‘कुइरे’हरू बसेका थिए । पाइलटले उनीहरूलाई भन्यो,
‘वी आर अल सेट टु गो नाउ ।’
ती कुइरे एउटा विदेशी चलचित्रको छायांकनका लागि स्थलगत निरीक्षण गर्न आएका थिए । घोप्टेडाँडाको माथिपट्टि जहाँ अहिले हेलिकोप्टर ओर्लेको थियो, त्यही चौरमा चालीसवटा जति पाल टाँगेर छायांकन टोली बस्न सक्ने उनीहरूले निधो गरेका थिए । छायांकन गर्नका लागि उनीहरूले खोजेका जस्तै ठाउँ त्यहाँ वरिपरि फेला पारेको हुनाले उनीहरू खुसी भएका थिए । अबको केही महिनापछि आएर बीस–एक्काइस दिन त्यहाँ छायांकन गर्ने योजना बनाएर उनीहरू फर्कन लागेका थिए ।
पाइलट अब हेलिकोप्टरलाई उडाउन ठिक्क मात्र के परेको थियो, अचानक उसका आँखा परबाट चौरमा प्रकट भएर त्यतै कुदेर आइरहेको एउटा मान्छेमा परे । त्यो मान्छे दुवै हात हावामा उचालेर केही भन्दै थियो । ऊ जिल्ल प¥यो । उसलाई दोमन भयो । हेलिकोप्टरको इन्जिन बन्द गर्नु भनेको फेरि केही समय खेर फ्याल्नु थियो । यो वेला यतातिर मौसमको भर हुँदैन । केही गरी रोकिनुपरेछ भने दिनभर फस्न सकिन्थ्यो । तर, त्यो मानिस परबाट जुन हिसाबले आइरहेको थियो, वास्ता नगरी उडिहाल्न पनि उसको मनले मानेन ।
काइँला डाँडाको माथिपट्टि पुग्दा चिलगाडी उड्न तयार भइसकेको देख्यो । यो उड्यो भने उसले त्यति दुःख गरेर ल्याएको युवकको प्राणपखेरु पनि सँगै उड्छ भन्ने उसलाई थाहा थियो । ऊ दुवै हात हावामा उठाएर हल्लाउँदै, सकेजति ठूलो स्वरमा चिच्याउँदै त्यतै कुद्न थाल्यो, ‘ए पख्…पख्… नउडा नउडा…एकछिन पख् ।’
हेलिकोप्टरभित्रबाट कुइरेहरूले पनि उसलाई देखे । उनीहरूको टोलीनेताले भन्यो, ‘होली सिट् । इज हि ट्राइङ टु डाइ अर ह्वाट् ?’
ऊसँगै भएकी युवतीले सोचमग्न हुँदै भनी, ‘आई गेस देयर इज सम इमर्जेन्सी ।’
पाइलटले मनमनै केही निर्णय ग¥यो र भन्यो, ‘आई एम स्टपिंग द रोटर्स ।’
उसलाई थाहा थियो, ‘रोटर्स’ पूर्ण रूपले रोकिन दुई मिनेटको हाराहारी लाग्छ । त्यो मान्छे हेलिकोप्टरसम्म आइपुग्न त्यति नै समय लाग्ला । नभन्दै काइँला नजिकै आइपुग्दा हेलिकोप्टर शान्त भइसकेको थियो । पाइलट ओल्र्यो । उसले सोध्यो, ‘के भयो ?’
काइँला बोल्नै नसक्ने गरी स्याँस्याँ गरिरहेको थियो । कुइरेहरू पनि ओर्ले । बिस्तारै आफ्नो सासलाई नियन्त्रित गरेर काइँलाले पाइलटलाई सबै स्थिति अवगत गरायो । पाइलटले दोभाषेको काम गर्दै कुइरेलाई त्यो कुरा सुनायो । एउटा मानिसको जीवन–मरणको कुरा सुनेर उनीहरू केही बेर कुर्न राजी भए । त्यसको केही बेरमै स्ट्रेचर बोकेर आउनेहरू पनि माथि आइपुगे । अचेत युवकलाई हेलिकोप्टरमा हालियो । धौभडेलले पाइलटलाई युवकको अवस्थाबारे जानकारी गराइदियो । पाइलटले भन्यो, ‘हामी काठमाडाैँ नै जान लागेका हौँ । म एयरपोर्टमा एम्बुलेन्स मगाइदिन्छु ।’
हेलिकोप्टरको रोटर फेरि घुम्न थाल्यो । धुलो उड्न थाल्यो । तर, गाउँलेहरू त्यसको परवाह नगरी उभिइरहे । हेलिकोप्टरले भुइँ छाड्न थालेपछि उनीहरूले हात हल्लाएर अभिवादन गरे । दुई मिनेट चानचुनमा हेलिकोप्टरले भुइँ छोड्यो र अकासिन थाल्यो । अनि हेर्दाहेर्दै त्यो विशाल चिलगाडी बिस्तारै माथिमाथि चढ्न थाल्यो । पहिले चिल, त्यसबाट काग, अनि ढुक्कुर, भँगेरा, फिस्टो जस्तो सानोसानो हुँदै गयो र एउटा डाँडा पछाडि हरायो । केही बेरमा त त्यसको आवाज पनि सुनिन छाड्यो । एकजना गाउँले लामो सास फेरेर आफैसँग बोल्यो, ‘को होला, कसले यस्तो दुर्गति बनाएका होलान् ? हेर्दा त हुनेखाने नै देखिन्थ्यो ।’
काइँलाले धौभडेललाई हेर्दै सोध्यो, ‘डाउडर साब, त्यो मान्छे बाँच्छ होला ?’
धौभडेलले अनिश्चित स्वरमा भन्यो,
‘भन्न सक्दिनँ काइँला । हामीले गर्न सक्ने योभन्दा बढी केही थिएन । आशा गरौँ, बाँच्ला ।’
काइँलाले आकाशतिर हेरेर दुवै हात जोड्दै भन्यो, ‘लौ परमेश्वर रक्षे गर, कसैको छोरा होला…कसैको दाजुभाइ होला, कसैको बूढा होला ।’
बूढा मानिसको मुखबाट निस्क्यो, ‘कुइरेको
जय होस् ।’
क्रमशः…

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...