Translate

Tuesday, September 11, 2018

दश लाख यूरो

हराएको मानिस (भाग ९)


कसैले बाहिरबाट ढोका ढक्ढकायो । सर्वेश्वरराज कोइराला र इन्सपेक्टर बिनोद खड्काको कुराकानी एकछिनको लागि रोकियो । बिनोदले ढोकातिर हेरेर ठूलो स्वरमा भन्यो,
‘कम इन ।’
अस्पतालको एकजना कर्मचारी भित्र छि¥यो । उसको हातमा एउटा ट्रे थियो । त्यसमा दुई कप कफी । उसले त्यो ल्याएर उनीहरुको बीचमा राखिदियो र भन्यो,
‘डाक्टर धितालले पठाइदिनुभएको । अनि तपाईंहरुलाई अरु केही चाहिन्छ भने त्यो पनि सोध्नु भन्नुभएको छ ।’
बिनोदले अलि कमै मात्र प्रयोग गर्ने आफ्नो नम्र स्वरमा भन्यो,
‘डाक्टर साहबलाई धन्यवाद भनिदिनू । हामलिाई केही चाहियो भने भनौंला । अहिलेलाई यो कफी काफी छ । धन्यवाद भाइ ।’
कर्मचारी गयो । कोठामा बाँकी दुबैजना केही नबोली कफीको चुस्की लगाउन थाले । हिमालयन बिन्जको अमेरिकानोले उनीहरुलाई अलि स्फूर्ति प्रदान ग¥यो । खड्का उठ्यो र खुट्टा तन्काउँदै झ्यालतिर गएर बाहिरको कोलाहल हेर्न थाल्यो । सर्वेश्वरले बसेकै ठाउँमा अलि लमतन्न परेर जीउ तन्क्यायो । खड्काले पछाडि नफर्कीकनै सोध्यो,
‘अनि के भयो ?’
सर्वेश्वर कहाँबाट सुरु गरुँ भनेर सोच्न थाल्यो । केही बेर मौन रहेर उसले भन्यो,
‘त्यसदिन म सम्भवतः जीवनमा पहिलो पटक आफ्नो छोरा कुन बेला घर आउँछ भनेर पर्खिरहेको थिएँ । रातको दुई बजिसकेको थियो । तर राजेशको अत्तोपत्तो थिएन । मैले आफ्ना स्टाफहरुसंग कुरा गरेर ऊ जहिले पनि ढीला आउँछ भन्ने थाहा पाइसकेको थिएँ । कहिले एक बजे, कहिले तीन बजे, कहिले बिहान हुनेबेला र कहिलेकहीं त ऊ दुइतीन दिन पनि घर आउँदैन भन्ने थाहा पाएर म आफूलाई आजसम्म कु–पिता भएकोमा धिक्कारिरहेको थिएँ ।’

ààà

लातभियामा सर्वेश्वर कोइरालाको अफीस राजधानी रिगाको सबैभन्दा अल्गो जेड टावर्स भन्ने भवनको तीसौं तल्लामा थियो । त्यसदिन सर्वेश्वरराज कोइराला लन्चमा निस्कनु पाँच मिनेट अघि एउटा अजंगको मान्छे सीधै उसको अफीसमा पुग्यो । छ फीट पाँच इन्चको हाराहारीको त्यस मानिसको अनुहारमै एक किसिमको कठोरता थियो । उसका आँखाहरु क्रूर थिए । कपाल छोटो काटेको त्यस मानिसको काँध गोरुकोजस्तो चौडा थियो । उसले ब्लेजर र खैरो पाइन्ट लगाएको थियो । सर्वेश्वरकी सुन्दरी सेक्रेटरी नतालीले आफ्ना ठूलाठूला आँखाले उसलाई हेर्दै लातभियनमा भनी,
‘म तपाईंलाई के सहयोग गर्न सक्छु ?’
उसले सर्वेश्वरकी सेक्रेटरीलाई लोभी आँखाले हे¥यो । अनि रुद्रघण्टी नै पकलक्क बाहिर आउला जसरी थुक निल्यो र भन्यो,
‘मेरो नाम योहान्स हो । योहान्स ब्रेन्सिस । स्टेट प्रहरीको जुनियर लेफ्टििनेन्ट । मलाई मिष्टर ‘सार्वेश्वोर’संग भेट्नु छ ।’
उसले आफ्नो आइडी निकालेर देखायो । सेक्रेटरीले उसलाई ध्यान दिएर हेरी र औपचारिक मुस्कानका साथ भनी,
‘तपाईंको वहाँसंग अप्वाइन्टमेन्ट छ अफीसर ?’
‘छैन । तर मेरो भेट्नु जरुरी छ ।’
सेक्रेटरीलाई थाहा थियो, सर्वेश्वरसंग बिना अप्वाइन्टमेन्ट भेट्नु भनेको असम्भव हुन्थ्यो । हुन त यो मानिस स्टेट प्रहरी थियो तर उसको ओहदा त्यति माथिल्लो थिएन । मेजरभन्दा माथिको भए एकपटक खबरसम्म गर्ने बारे ऊ सोच्थी होला । त्यसैले उसले नम्र भएर भनी,
‘अफीसर, वहाँ त अहिले एकदमै व्यस्त हुनुहुन्छ । के काम थियो मलाई भन्नुभयो भने शायद म अरु कसैसंग यहाँलाई...’
योहान्सले उसलाई बाँकी बोल्नै नदिई भन्यो,
‘मेरो काम उहाँसंगै मात्र हो । तपाईं उहाँलाई यतिमात्र भनिदिनुस्, मेरो लागि अहिले केही मिनेट समय निकाल्नुभएन भने उहाँले आफ्नो छोराको लागि केही वर्ष समय निकाल्नु पर्नेछ । त्यो पनि जेलमा भेट्न जानको लागि ।’
नतालीको गुलाबी अनुहार एकैपटक सेतो भयो । उसले योहान्सलाई अलि पर सोफामा बस्न अनुरोध गरी । ऊ लापरवाह चालले त्यतै गयो र थ्याच्च बस्यो । नतालीले स्वचालित रोबोटजसरी फोन उठाई र सानो स्वरमा केही भनी । उताको कुरा सुनेर उसले फोन राखी र बसेको कुर्सीबाट उठी । योहान्सले उसको लामा र सर्लक्क परेको खुट्टाहरु देख्यो र मनमनै तिनको तारीफ ग¥यो । नतालीले लगाएको मिनी पेन्सिल स्कर्ट छोटो र कस्सिएको थियो । त्यही कपडा र रंगको कोट कम्मरको माथिल्लो भागसम्ममात्र आउने थियो । त्यसको भित्र सफा वेदाग र पातलो कपडाको शर्ट थियो । त्यसको टाँक माथिसम्मै बन्द भए पनि कपडा पातलो भएकोले भित्रको कालो परिधानको माथिल्लो भागको बुट्टा देख्न सकिन्थ्यो । नताली योहान्सतिर पुगुन्जेलमा उसका अभ्यस्त र लोभी आँखाले यतिका कुराहरु हेर्न भ्याइसकेको थियो । नतालीले उसको छेउमा पुगेर नम्रतापूर्वक योहान्सलाई भनी,
‘दश मिनेट समय निकाल्नुभएको छ । कृपया मेरो पछि आउनुहोला ।’
योहान्सको उत्तर नकुरी ऊ फर्केर एकातिर बढी । योहान्स जुरुक्क उठ्यो र लामो बरण्डामा आफूभन्दा पाँचसात पाइला अघि हिंडिरहेकी नतालीको कलात्मक हिसाबले लच्किएको नितम्बमा आँखा गाडेर पछि लाग्यो । उसको स्कर्टमा हिंडडुल गर्न सजिलोका लागि पछाडि अलि माथिसम्म चिरा बनाइएको थियो । योहान्सले बरण्डा लामो बनाउने इन्जिनियरलाई धन्यवाद दियो । त्यसको पल्लो छेउमा एउटा ठूलो काँचको ढोका थियो । नतालीले आफ्ना आँखा त्यहाँ बीचतिर भएको एउटा सानो यन्त्रको नजीक लगी । ढोका बिना आवाज सर्लक्क भित्तातिर बिलायो । योहान्सले रेटिना स्क्यानरलाई चिनिहाल्यो । वास्तवमै सर्वेश्वरराजलाई अनावश्यक मानिसले भेट्नसक्दैन रहेछ । त्यहाँबाट दाहिने मोडिनासाथ भएको ढोका खोलेर नताली उभिई र योहान्सलाई सम्झना गराई,
‘दश मिनेट अफीसर ।’
योहान्स मुस्कायो र भन्यो
“मलाई थाहा छ ।’
नतालीलाई चाहिँ बरु त्यतिबेला थाहा थिएन, पाँच मिनेटपछि सर्वेश्वरले उसलाई त्यसदिनको सारा अप्वाइण्टमेन्ट रद्द गर्ने आदेश दिनेछ र योहान्सलाई दिएको दश मिनेट चार घण्टामा पनि सकिनेछैन । योहान्स नतालीको छेउबाट उसलाई छोइएला जसरी भित्र छिर्नेबेला नतालीको मधुरो र महँगो अत्तरको वासना उसको नाकबाट फोक्सोसम्मै पुग्यो । योहान्स भित्र छिर्नासाथ ढोका बाहिरबाट बन्द भयो । अत्तरको वासना पनि बिस्तारै बिलायो । योहान्सले देख्यो, सर्वेश्वरको अफीस झण्डैझण्डै एउटा भलिबल कोर्टजत्रो थियो । त्यहाँ भएका सबै फर्निचरहरु निकै महँगा थिए । कोठाको अर्कोपट्टि स्नूकर खेल्नै मिल्ला जत्रो टेबल पछाडि सर्वेश्वर सत्ताइस इन्चको आइ म्याकमा केही हेरिरहेको थियो । उसको पछाडि भित्ताको साटो भुईदेखि छतसम्म पूरै शीशा जडिएको थियो । त्यो शीशा यति बेदाग र चमकदार थियो, यस्तो लाग्थ्यो पछाडि अरु केही छैन । तीस तल्लाबाट देखिने रिगा सहरको मनमोहक दृश्यले जोकसैलाई पनि मुग्ध बनाउँथ्यो । सर्वेश्वरले पुलुक्क आफूतिर आइरहेको योहान्सलाई हे¥यो र उठ्यो । आफ्नो हात अघि बढाउँदै उसले भन्यो,
‘अफीसर, तपाईंले मेरो छोराको विषयमा केही अति जरुरी कुरा छ भनेकोले मात्र मैले समय निकालेको हूँ । यदि यो कुरा महत्वपूर्ण रहेनछ भने म तपाईंको जनरलसंग कुरा गर्न बाध्य हुनेछु ।’
सर्वेश्वरको हात आफ्नो मोटो र खश्रो हातमा समातेर हल्लाउँदै योहान्सले भन्यो,
‘विश्वास गर्नुस्, त्यसको कुनै आवश्यकता हुनेछैन ।’
‘हामी दुबैका लागि त्यही राम्रो हुनेछ अफीसर । बस्नुस्, र..’
घडी हेर्दै सर्वेश्वरले वाक्य पूरा ग¥यो,
‘शूट ।’
योहान्सले खल्तीबाट फिलिप मोरिस चुरोटको कुच्चिएको बट्टा निकाल्यो । सर्वेश्वरले उसलाई कठोर स्वरमा भन्यो,
‘मलाई धूम्रपानसंग सख्त एलर्जी छ अफीसर र यो अफीस नो स्मोकिंग जोन हो ।’
योहान्सले केही नभनी बट्टा फेरि खल्तीमा हाल्यो र सर्वेश्वरको आँखामा हेरेर बोल्न थाल्यो,
‘मिष्टर कोइराला, हिजो बिहान मेरो एउटा भरपर्दो सुराकीको सूचनाको आधारमा मैले लागूपदार्थको कारोवार गर्ने एउटा बिचौलियालाई समातें ।’
सर्वेश्वरले उसलाई रोक्दै भन्यो,
‘यसको मसंग के...’
‘कृपया मेरो कुरा पहिले पूरै सुन्नुहोस् । तपाईंले नै मलाई मात्र दश मिनेट समय दिनुभएको छ ।’
सर्वेश्वर आफ्नो आरादायी मेचमा पछाडि ढल्कियो र भन्यो,
‘ओ के ।’
योहान्स फेरि बोल्न थाल्यो । 
‘नियमित औपचारिकताका लागि मैले उसको अपार्टमेन्ट उधिनें । त्यहाँ उसले बडो जतन गरेर लुकाएर राखेको एउटा डायरी मेरो हात लाग्यो । त्यसमा लेखएका कुराहरु सबै एउटा कोडमा थिए । मैले निकै प्रयास गर्दा पनि केही पत्ता लगाउन सकिनँ । अब उसैले बताउनुपर्ने भो मलाई । तर समस्या के भने, पहिले त उसले त्यसको बारे केही बताउनै मानेन । तर, हामीसंग मानिसलाई बोल्न लगाउने उपायहरु छन् । मैले जब उसको नङ र मासुको बीचमा आलपिन छिराउन थालें, उसको सारा वहादुरी हावा खायो । उसले तेश्रो पिनभन्दा धेरै खप्न सकेन । सब ओकल्यो । उसले आफूले सामान ल्याउने मानिसहरु, सप्लाई गर्ने मानिसहरु लगायत आफ्ना महत्वपूर्ण र नियमित ग्राहकहरुको नाम ठेगाना लेखेर राखेको रहेछ । त्यो डायरीमा उसका ग्राहकहरुको लिस्टमा सबैभन्दा बढी इन्ट्री कसको नाममा छ होला, अन्दाज गर्न सक्नुहुन्छ मिष्टर कोइराला ?’
दुबै कसले पहिले आँखा झिम्काउँछ भनेजसरी एकआर्कालाई हेरिरहे । कोही केही बोलेन । सर्वेश्वरको दिमाग घुम्न थालिसकेको थियो । उसले कहिले पनि ड्रग्सको काम गरेको थिएन । तर यो कुरा आफूसंग कुनै न कुनै रुपमा सम्बन्धित त छ । नत्र योहान्स यसरी उसलाई भेट्न आउँदैनथ्यो । उसले अघि रिसेप्सनमा नतालीलाई भनेको कुरा फेरि सर्वेश्वरको मगजमा गुञ्जियो,
‘तपाईं उहाँलाई यतिमात्र भनिदिनुस्, मेरो लागि अहिले केही मिनेट समय निकाल्नुभएन भने उहाँले आफ्नो छोराको लागि केही वर्ष समय निकाल्नु पर्नेछ । त्यो पनि जेलमा भेट्न जानको लागि ।’ 
योहान्सले भन्यो,
‘सबैभन्दा बढी इन्ट्री भएको नाम, राजेशराज कोइराला । योर सन ।’
सर्वेश्वरलार्ई कसैले आफ्नो जीउभरि चि......सो पानी खन्याइदिएकोजस्तो भयो । यति हुँदा पनि आफ्नो छोराको त्यससंग कुनै सम्बन्ध होला भनेर स्वीकार्न एउटा बाबुलाई गाह्रो भइरहेको थियो । ऊ ट्वाल्ल परेर योहान्सलाई हेरिरह्यो । ऊ यसरी भेट्न आउनुको मतलब कुनै डिल गर्नलाई नै हो । 
यसपटक योहान्सले घडी हे¥यो र जुरुक्क उठेर भन्यो,
‘ओह, आइ एम सरी । माइ टेन मिनेट्स आर ओभर ।’
अनि ऊ ठमठम गर्दै ढोकातिर लम्कियो । उसले ढोका खोल्न लाग्दामात्र सर्वेश्वर मानौं होसमा आयो । उसले आतुर स्वरमा भन्यो,
‘अफीसर, पख्नुस् ।’
योहान्स मुसुक्क हाँस्यो र फर्कियो,
‘यस्..?’
ऊ सर्वेश्वरको टेबुलतिर जाँदाजाँदै सर्वेश्वरले फोन उठायो र भन्यो,
‘नताली, मेरो आजको सबै अप्वाइन्टमेन्ट रद्द गरिदेऊ । यस्, यू हर्ड राइट । क्यान्सल अल गडड्याम्न्ड अप्वाइन्टमेन्टस ।’
उसले सबै दोष त्यही फोनको हो भनेजसरी त्यसलाई बजा¥यो । योहान्स उसको अगाडिको कुर्सीमा फैलिएर र लच्किएर बस्यो । उसले फेरि चुरोटको त्यही कुच्चिएको बट्टा निकाल्यो । यसपटक सर्वेश्वर केही बोलेन । योहान्सले त्यसबाट एउटा बाङ्गोटिङ्गो भइसकेको खिल्ली थुत्यो र आरामसंग त्यसलाई सोझ्याउन थाल्यो । उसले खल्तीबाट लाइटर निकाल्यो र चुरोट सल्कायो । सर्वेश्वर चुपचाप बस्यो । उसले केही बेरपछि गम्भीर स्वरमा सोध्यो,
‘कम टू द प्वाइण्ट नाउ । ह्वाट डू यू वान्ट ?’
योहान्स ब्रेन्सिसले एक मुश्लो धूँवासंगै ओकल्यो,
‘वान मिलियिन यूरो ।’
क्रमशः

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment