Tuesday, September 4, 2018

बाइमिस्टेक र वैरागाटाइटिस

केही हप्तादेखि फाफुरी चुनाव जितेपछिको मेयरजसरी गायब भएकी हुँदा कतिपय पाठकहरुले उसको खोजीनीति गर्न थाल्नुभएछ । एक–दुईजनाले त फाफुरी नहुने हो भने फाइँफुट्टी नै नपढ्ने भनेर घुर्की पनि लगाउनुभयो । उहाँहरुलाई बिना फाफुरीको फाइँफुट्टी भनेको ‘पानी नहालेको सिंगल माल्ट ह्स्किी’जस्तै खल्लो भयो रे । अब कानमा तेल हालेर विज्ञ पाठकहरुको गुनासो नसुनेर यो देशको सरकारजस्तो थेत्तर भएर बस्न फाफुराको नैतिकताले कहाँ दिन्छ र? त्यसैले यसपटक फाफुरीको शानदार ‘रि–इन्ट्री’ भएको छ । तर त्यो भन्दा पहिले फाफुरी किन हराएकी थिई भन्ने कुरा पनि फाफुरा यहाँहरुलाई बताउन चाहन्छ । डलरखेतको जागिरका कारण तालुमा आलु फलेर ऊ विदेश भ्रमणमा गएकी थिई । 
यता देशमा उसको अनुपस्थितिमा एउटा अद्भूत र ऐतिहासिक कुरा भयो । बाइमिस्टेक 

त्यो सकिएको भोलिपल्टै उसको स्वदेश फिर्ती सवारी थियो । भनिरहनु नपर्ला, उसको स्वागत गर्ने एक सदस्यीय समितिको अध्यक्षमा फाफुरा निर्विवाद मनोनीत भयो । विमानस्थलतिर जाने बेला ऊ सोच्दै थियो, बाइमिस्टेक सकिइसकेको हुनाले अब त ट्राफिक पनि सहज होला । तर उसको सपना सपनै रह्यो । किनभने अलि व्यस्त र काम धेरै भएका पाहुनाहरु मात्र बाइमिस्टेक सकिनासाथ फर्केका रहेछन् । फाफुराजत्तिकै फुर्सदिला केही पाहुनाहरु त बल्लबल्ल आएको बेला मज्जाले घुमघाम गरेरै जाऊँ भनेर यतै अलमलिइरहेका रहेछन् । हुन पनि हो, दामोदर काकाजस्तो पटकपटक आइरहने कहाँ हुन् र उनीहरु ? झन् यसपटक त भिजिट नेपाल वर्ष पनि हो । त्यही अवसरमा पर्यटन मन्त्रीज्यूले उहाँहरुलाई एकदिन रत्नपार्कमा लगेर दिनभर टोपीले मुख छोपेर सुताउने योजना बनाएका रहेछन् ।
फाफुरा रत्नपार्कको ब्राण्ड एम्बेसडर भएको नाताले त्यो टोपी पनि फाफुराको हातबाटै प्रदान गरिने भएको थियो । साथमा काठमाण्डौको विशिष्ट बनिसकेको एक–एक झोला नकुहिने फोहोर पनि उपहार स्वरुप मेयरको हातबाट प्रदान गर्ने योजना बनेको थियो । त्यसका साथै एकएक माना झुर्‍या बदाम र चार–चारवटा सुन्तलाले भव्य सम्मान गर्ने योजना पनि थियो । तर दुर्भाग्यवश पाहुनाहरुलाई रत्नपार्कमा सुताउने गौरवशाली कार्यक्रम भव्यताका साथ सुसम्पन्न हुन सकेन । यसपटकको लम्बेतान झरीले रत्नपार्कको चौरको घाँस सुक्न नपाएको हुनाले जोरपाटीको खाल्डो पुर्न नभ्याएर गोकर्णको रिटिट्र खारेज भएजसरी नै त्यो कार्यक्रम पनि रद्द भयो । के गर्नु, फाफुरालाई बाइमिस्टेक समारोह समितिको सल्लाहकार पनि बनाएको भए उसले त्यस्ता नाथे समस्याको चुट्की बजाएर हल निकालिदिन्थ्यो । संसारले महत्व बुझ्न बाँकी त्यत्रो जादूमयी फ्लेक्स भन्ने आविष्कारको उपयोग नेपालले चिनिसकेको थियो । त्यही फ्लेक्समा हरियो, राम्रो र लहलहाउँदो घाँसको फोटो छापेर रत्नपार्कमा ओच्छ्याइदिएको भए ती पाहुनाहरुलाई सजिलैसँग ‘घाँसमा सुताउन’ सकिन्थ्यो । 
जे होस्, ट्राफिकासुरसँग लड्दै भिड्दै फाफुरा विमानस्थल पुग्यो । विदेशबाट नेपाल आइपुग्न जति समय लागेको थियो, त्यसको दोब्बरमात्र समयमा फाफुरी आफ्नो लगेज बटुलेर बाहिर निस्की । त्यतिबेलासम्म उसको जूनजस्तो चहकिलो मुहारमा घर पुग्दानपुग्दै खग्रास लागिसकेको थियो । भोलिपल्ट बिहानदेखि त फाफुरी पूरै चाउरिएको मरिचजस्तो भई । ज्वरो आएको छैन, टाउको दुखेको छैन, तैपनि फाफुरी कमिसन नखाएको मन्त्री जसरी झोक्राउन थाली । उसलाई डाउडर नजँचाइ भएन भन्ने फाफुरालाई लाग्यो । तर त्यहीबेला डाउडरहरुको हड्ताल रहेछ । अब परेन फसाद ? आफूले जँचाइरहेका अस्पताल र चिनेका डाउडरहरु त सबै आन्दोलनमा रहेछन् । बल्लबल्ल कसैले उपकार गरेर एकजना घरैमा आएर जाँचिदिने डाउडरको नम्बर दियो । फाफुरा दंग पर्‍यो । किनभने यो सहरका ट्याक्सीहरु आफूलाई मनपरेको बाहेक अरु ठाउँमा मरे जाँदैनन् । जानैपरे ढाड सेक्ने रकम माग्छन् । झन् विमानस्थल जाने, बिरामी लैजाने वा त्यस्तै आपत परेको थाहा पाएपछि त उनीहरुको लालचको हार्मोन अझ बढी सकृय भइहाल्छ र रेट चौब्बर बनिहाल्छ । त्यसैले हड्तालको बेला, त्यो पनि घरमै आइदिने डाउडरप्रति फाफुरा कृत्यकृत्य भयो ।
‘माइक्रोस्ट्याण्डको अगाडि वीरेन्द्र स्टोर छ । त्यसको छेउकै हरियो टिनको ढोका भएको घर हो डाउडर साबको । त्यसको भुइँ तल्ला । यति भनेपछि मंगलग्रहबाट पहिलोपटक पृथ्वीमा आएको एलियन पनि नझुक्किइकन आइपुग्छ ।’
फाफुराले आफ्नो डेराबारे बतायो र कुर्न थाल्यो । 
पचपन्न छप्पन्न मिनेटजति बितेको थियो, उसको डेराको कोठा अगाडि केही खसेकोजस्तो ठूलो आवाज आयो । फाफुरा हत्तारिँदै बाहिर हेर्न गयो । एकजना अधवैंशे मानिस ढोकै अगाडि बूढानीलकण्ठ भएको रहेछ । उसले माछा मारेको छेउमा एउटा कालो व्याग थियो ।
उसको घाँटीमा स्टेथेस्कोप पनि झुण्डिएको थियो । त्यति भएपछि त ऊ नै डाउडर रहेछ भन्ने चिन्न फाफुराजस्तो जासूसी मगज भएको मानिसलाई धेरै बेर लागेन । तर डाउडर त बेहोश थियो । फाफुराले सकीनसकी डाउडरलाई बोकेर भित्र लग्यो । निकै बेर हल्लाउने, पानी छम्किने गर्दा पनि डाउडर व्यूँतेन । अन्तमा केही नलागेर फाफुराले आफ्नो पच्चीसौं जन्मदिनमा किनेको, एकमात्र, तर अहिलेसम्म प्वाल नपरेको मोजा निकाल्यो । अघिल्लो महिनामात्र पानी आएको बेला धोएको हुनाले मोजा सफा नै थियो । त्यो सुँघाएपछि डाउडरले चिमचिम गर्दै आँखा खोल्यो । चारैतिर हेर्दै उसले झिनो स्वरमा सोध्यो,
‘म कहाँ छु ?’
‘तपाईं बिरामी जाँच्न आउनुभएको छ डाउडर साब ।’
केही सम्झेझैं उसले भन्यो,
‘ए हो हो । अब सबै याद आयो । म बिरामी जाँच्न आएको हो ।’
फाफुराले उसलाई सोध्यो,
‘तपाईं कसरी बेहोश हुनुभयो ?’
डाउडरले भन्यो,
‘खै, कसरी भन्नू अब । मैले पनि केही बुझेको छैन । आजकल एकदम कमजोरी अनुभव हुन्छ । कान जतिबेला पनि टुँ.. गरिरहन्छ । चौबीसै घण्टा भन्भनी रिगटा लागिरहन्छ । बेलाबेला यसैगरी ठामको ठाम भुक्लुक–भुक्लुक ढल्छु । कति औषधि खाइसकें, केही फाइदा हुन्न । के भएको भनेर थाहा पाउन सके त मार्दिनू । तर मेरो कुरा छोडिदिनुस्, बिरामी देखाउनुस् । बल्लबल्ल पाएको ग्राहक ।’
फाफुराले उसको कुरा नबुझेर सोध्यो,
‘किन बल्लबल्ल पाएको ?’
उसले भन्यो,
‘खासमा म क्वाक हो । धानमा पाइने किर्कौंला हुन्छ नि । सुन्नुभएको छ ? हेर्दा ठ्याक्कै धानजस्तो हुन्छ तर धानैचाहिँ होइन । म पनि त्यस्तै किर्कौंला डाउडर हो । अरु डाउडरहरुले बेलाबेला हड्ताल गरिदिन्छन् र हामीजस्ता क्वाकहरुको मुखमा माड लाग्छ । तिनको जय होस् ।’
फाफुरालाई थाहा थियो, अंग्रेजीमा भनेपछि भाषणदेखि गालीसम्म सब राम्रो मानिन्छ । नेपालीमा गर्‍यो भने अश्लील भनिने गालीहरु अंग्रेजीमा गर्दा स्वतः स्तरीय र पाच्य मान्ने हाम्रो संस्कार छ । त्यसैले क्वाक भन्या पनि राम्रै कुरा हुनुपर्छ । उसले डाउडर क्वाकलाई फाफुरी टोलाएर बसिरहेकी कोठामा लग्यो । डाउडर क्वाकले फाफुरीको नाडी छाम्यो, स्टेथेस्कोप कानमा नलगी घाँटीमै राखेर उसको ढाड र छातिको चाल जाँच्यो । झोलाबाट रक्तचाप नाप्ने यन्त्र निकाल्यो, जुत्ताको तुना फुस्काएर त्यसले टनक्क पारेर यन्त्रलाई फाफुरीको पाखुरामा बेर्‍यो, र मुस्काउँदै भन्यो,
‘राम्ररी कस्सिएन भने बिपी जाँच्दा गणेशमान देखिन बेर लाग्दैन । हुन त यसको हावा भर्ने पम्पु पनि फेर्ने बेला भइसक्या छ । तर अहिलेलाई मैले यसमा पुरानो साइकलको भोंपू हर्न लगाएर काम चलाइरहेको छु । अलिअलि तलमाथि परे पनि ब्लडप्रेसर राम्रै देखाउँछ ।’
त्यो भोंपू पाँचपटक थिचेपछि उसले मुखैले ‘फुस्स्स्स्स्स्स्स्स्स्स्स्स’ गरेर लामो आवाज निकाल्यो । फाफुराले त्यसको कारण सोध्नु अघि नै उसले भन्यो,
‘फुस्स्स्स्स्स्स्स्सको आवाज नआई बिपी देखाउँदैन । त्यसैले मुखैले भए पनि कराउनुपर्छ । हुन त अपान वायुले अझ ठ्याक्कै देखाउँछ तर अहिले मलाई त्यो आएको छैन ।’
अनि उसले अन्त्यमा मोबाइलको बत्ती बालेर फाफुरीको घाँटी र जिब्रो पनि नियाल्यो ।
‘प्रकृया त सबै पुर्‍याउनै पर्‍यो नि,’ उसले गर्वका साथ भन्यो । फाफुरी केही नबोली यथास्थितिवादको नमूना बनिरहेकी थिई । डाउडरले सोध्यो,
‘कहिलेदेखि उहाँ यस्तो हुनुभएको ?’
‘तीन दिनअघि विदेश यात्राबाट फर्केपछि डाउडर साप् ।’
डाउडरले सामान थन्क्याउँदै भन्यो,
‘ए, पहिले नै भन्नुपर्दैन त । उहाँको रोग पत्ता लाग्यो । यसलाई वैरागाटाइटिस भन्छन् । विदेश गएर आएका नेपालीहरुलाई यो रोग लाग्छ ।’
भारतबाट आउनेलाई डेंग्यू र मलेरिया लाग्नसक्छ भन्ने त फाफुराले सुनेको हो । अफ्रिकाबाट आउनेलाई इबोला लाग्नसक्छ भन्ने पनि कतै पढेको हो । चरी रुघा र सुँगुरे रुघाको पनि बेलाबेला नाम सुनेको हो । तर यो वैरागाटाइटिस भनेको त उसले कहिले पनि सुनेको थिएन । उसले सोध्यो,
‘वैरागाटाइटिस रे ?’
डाउडर क्वाकले सम्झाउने भावमा भन्यो,
‘विदेश गएर आउनेहरुलाई हामी कति हजार वर्ष पछाडि रहेछौं भन्ने थाहा हुन्छ । त्यसैले हरेक कुरामा त्यो तुलना गर्दा वैराग लाग्ने भएकोले यसलाई वैरागाटाइटिस भन्छन् । तपाईं कुन र कति विकसित मुलुक गएर आउनुभएको छ, त्यसको आधारमा यो रोगको लक्षण कति समय रहन्छ भन्ने फरक पर्छ ।’
फाफुराले सोध्यो,
‘यसको उपचार के हो त डाउडर ?’
क्वाकले भन्यो,
‘माइग्रेनजस्तै वैरागाटाइटिसको कुनै खाने औषधि र लगाउने भ्याक्सिन त अहिलेसम्म बनेको छैन । हुन त यसका लक्षणहरु विस्तारै यहाँको वातावरणमा भिज्दै गएपछि आफैं हराएर जान्छ । तर, चाँडै निको हुने हो भने सकेसम्म धेरै धूलो र धूँवामा हिँडाउने, नेपाली
समाचारहरु धेरैभन्दा धेरै पढाउने–देखाउने इत्यादि गरे बिरामी चाँडै यहाँको वास्तविकता स्वीकार्न सक्षम हुन्छ । अनि यहाँका राम्राराम्रा कुराहरु सुनाएर मनोवैज्ञानिक परामर्श पनि गर्न सकिन्छ ।’
यति सल्लाह दिएर डाउडर क्वाक एउटा धुर्वे बजाएर गयो । फाफुरा सोच्न थाल्यो, भोलिपल्ट देखि उसलाई गौशालादेखि जोरपाटी, कलंकीदेखि नागढुंगा लगायतका अन्य बाटोहरुमा यात्रा गराउनुपर्ला । रानीचौर घुमाउन लैजानुपर्ला । फाफुरी ट्रान्जिटमा दिल्ली विमानस्थलमा पाएको अनावश्यक दुःख, नेपाली पासपोर्ट देखेर अरु ठाउँमा गरिएको अनावश्यक प्रश्नहरुले दुःखी भएकी रहिछ । डाउडरको सल्लाह सम्झेर उसले फाफुरीलाई भन्यो,
‘हेर फाफुरी, नेपाली हुनुमा गर्व गर्न सिक ।  हामी त बाइमिस्टेक पनि राम्रो काम गर्नेहरु हौं ।’ 
‘के नाप्यो र बाइमिस्टेकले ? फाइदा के भो त हामीलाई ?’
फाफुराले उसलाई सम्झाउने भावमा भन्यो,
‘हेर फाफुरी, पहिलो कुरा त दुईचार दिनै टिक्ने गरी किन नहोस्, मूलबाटाका खाडलखुडल पुरिए । ३६५ दिनको सट्टा ३६० दिनमात्र जनताले मूलसडकमा ढिकिच्याउँ खेल्नुपर्‍यो, यो उपलव्धि होइन ? अनि जोरबिजोर सवारीसाधन चलाउनका कारण प्रदूषणमा कमी आयो । महँगो डलर खर्चेर किनेको इन्धनको बचत भयो । हिँडडुलमा प्रतिवन्ध लाग्नाका कारण मानिसहरुले स्वतन्त्रताको महत्व कस्तो हुन्छ भन्ने बुझ्न पाए । देशभरका पर्यटकीय स्थलको दर्शन तीनकुनेको भ्रमणले नै पुग्यो । काठमाडौ बसीबसी देशभरका हेर्न र देख्नपर्ने सबै ठाउँको दर्शन एकै ठाउँको फ्लेक्समा भयो । भलै दुई दिनमै ती बम्बैका लड्डू जसरी बिलाए । त्यसले ती आम जनताको कति समय र पैसाको बचत भयो ? त्यहाँ लगायत सहरभरि प्रधानमन्त्रीका विशाल अनुहार अंकित फ्लेक्स प्रिण्ट, खम्बामा झुण्डाउने देशविदेशका झण्डा र अन्य कुराहरुका लागि तिमी हामीमध्येकै कुनै नेपालीले कति कमायो होला ? एउटा नेपालीको आयमा अर्को नेपाली हुनुको नाताले हामी खुसी हुनु पर्‍यो कि परेन ?’
फाफुरी सोचमग्न भई । फाफुराले त्यही मौकामा ‘सकर पन्च’ प्रहार गर्‍यो,
‘अबदेखि विदेश जाँदा तिमीलाई कसैले हियाउन सक्नेछैन किनभने तिमी बाइमिस्टेक सम्मेलन गर्न सक्षम देशकी वीराङ्गना नागरिक हौ । अब सगरमाथा वा बुद्धमात्र भजाएर खानु पर्दैन । बाइमिस्टेकको ढोल बजाउन पाइन्छ । हाम्रा परराष्ट्र मन्त्रीज्यूले उद्गारै प्रकट गरिसके, बाइमिस्टेक सफलतापूर्वक आयोजना गर्नाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक रुपमा उच्च मूल्याङ्कन भएको छ रे । यति उच्च कूटनीतिक मूल्याङ्कन भएको देशका नागरिकहरुलाई अब कसले छुने भन त ?’
फाफुरी केही बोल्न सकिन । 
पहिलोपल्ट उसलाई निरुत्तर बनाउन पाएकोमा दंग परेको फाफुराले मनमनै नारा लगायो,
‘बाइमिस्टेकको जय होस् ।

मात्र चार घन्टा

नयाँ पत्रिकाबाट,  धाराबाहिक आख्यान 'हराएको मनिस'को भाग १० सर्वेश्वरले ट्वाँ परेर आफ्नो अगाडि बसेर बुङबुङ चुरोटको धुँवा उडाइरहेको...